Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २४ बैशाख २०८१

प्रधानमन्त्री ओलीका यी १५ ठट्टा

प्रधानमन्त्री ओलीका  यी १५ ठट्टा

नेकपाको एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अर्को खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति आफ्नो स्वाभाव अनुसार आक्रोश, कटाक्ष, ठट्टा, व्यंग्य र आरोपसहित अभिव्यक्ति दिँदै नेता तथा कार्यकर्ताको ध्यान आफूतिर केन्द्रित गर्ने प्रयासलाई निरन्तरता दिएका छन्।

संसद विघटनसँगै नेकपा राजनीतिक रुपमा विभाजित भएलगत्तै हरेक दिनजसो भइरहेका भेलाहरुलाई सम्वोधन गर्न पुगिरहेका ओलीले प्रचण्ड र नेपाल लक्षित भाषणबाट हाँसो, तालीसँगै नेता तथा कार्यकर्ताहरुको समर्थन आफूतिर खिच्ने स्पष्ट प्रयास ओलीले गरेको देखिन्छ।

मुलुक गम्भीर मोडमा पुगेका बेला ओलीको यसकिसिमका भाषणहरु सुन्दा कुनै हास्यव्यंग्य कार्यक्रम हेरेजस्तो भान भएको टिप्पणी सामाजिक सञ्जालमा बढेका छन्।

कसैले ओलीलाई भारतीय कलाकार कपिल शर्माको ‘सो’को संज्ञा दिएका छन् भने कसैले नेपालकै मुन्द्रेको ‘कमेडी सो’सँग तुलना गरेका छन्।

शनिबार प्रज्ञा प्रतिष्ठानमा नेकपा (ओली खेमा) काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित भेला सकिएलगत्तै ‘अरु त त्यस्तै हो आज जतिको कहिल्यै हाँसिएन’ भन्ने प्रतिक्रिया दिने नेता कार्यकर्ताहरु पनि भेटिए।

ओलीका ताली र हाँसो बटुलेका शनिबारको भाषणको केही अंशः

यो वर्ष कम्युनिष्ट अन्दोलन ‘माइल स्टोन’

भेलामा सम्वोधनको सुरुवातमै सन् २०२१ नेपालको इतिहासमा ऐतिहासिक वर्ष हुने र यो वर्षमा शुद्धिकरणको अभियान सफल हुने ओलीले दाबी प्रस्तुत गरे। उनले आफू नेतृत्वको कम्युनिष्ट आन्दोलनलाई नदीको छालका रुपमा चिनाए। उनले भने,‘त्रिसुलीको छालले फोहोरलाई किनारामा पुर्‍याउँछ। अर्को छालले किनारामा रहेको त्यो फोहोरलाई अलि बाहिरै पुर्‍याउँछ। नेपालको कम्युनिष्ट आन्दोलनले महान सुद्धिकरणको अभियान सफलतापूर्वक अघि बढाउनेछ।’ उनले आफू नेतृत्वको आन्दोलन ‘माइल स्टोन’ हुने दाबी गरे।

सुन्तला खान सुन्तलाघारी जाने, सल्लाघारी होइन

नेकपाको अर्को पक्ष पद नपाएका कारण आफ्नो पार्टीबाट चोइटिएर गएको र आफूविरुद्ध सडकमा प्रदर्शन सुरु गरेको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले त्यसबारे शनिबार पनि स्पष्ट पार्ने कोशिस गरे। उनले व्यंग्य गर्दै प्रचण्ड–नेपाल पक्षलाई भने, ‘पद चाहिएको थियो भने यता आउनु पर्थ्यो, पेरिसडाँडामा दुईचार जना भेला गराएर पद आउँछ? सुन्तला खाना सुन्तलाघारीमा जानुपर्छ। सल्लाघारीमा गएर हुन्छ?’ उनले अर्को पक्षलाई ठूलो पद चाहिएका बेला खडेरी परेको ठाउँतिर लम्किरहेको भन्दै व्यंग्य गरेका हुन्।

छोरीबुहारीका लागि हामी लडेका होइनौँ

प्रचण्डले आफ्ना परिवार र आफन्तको पदका लागि सुरुवातदेखि नै आफूसँग लड्दै आएको र त्यो सफल नभएपछि आफूविरुद्ध खनिएको ओलीले आरोप लगाउँदै आएका छन्। उनले प्रचण्डविरुद्धको जबाफीपत्रमा आफ्नी छोरीलाई जिताउन मतपत्र च्यातेको आरोप लगाएका थिए। शनिबार पनि ओलीले त्यो प्रसंग उप्काएका छन्। उनले भने, ‘हाम्रो उद्देश्य संकिर्ण, व्यक्तिगत वा पारिवारिक होइन। हामीले छोरीबुहारीका लागि लडेका छैनौँ, देशका जनताका लागि लडेका छौँ। देशका जनताका बाबुआमा, भाइबहिनी, दिदीबहिनीका लागि लडेका छौँ।’

खिया लागेका दुई नटबोल्ट फुक्लिएपछि पार्टी गतिशील

पार्टी एकता गरेर राजनीतिक स्थिरता दिने कोशिस गर्दागर्दै त्यसमा असफल पार्ने कोशिस भएको तर अब सफलताले गति लिने दाबी उनले गरे। जाम कहाँ भएको रहेछ? समस्या कहाँ भएको रहेछ? खिया कहाँ लागेको रहेछ? जस्ता प्रश्न तेर्साए उनले । उनले भने, ‘दुई वटा खिया लागेका नटबोल्ट फेर्दा पार्टीको गाडी गतिका साथ अघि बढ्यो। हामीले फेरेको पनि होइन। आफै फुक्लिएको हो।’

बरमझियाको बुढाको पेडा पसल हो र? असली र नक्कली?

अर्को पक्षले पार्टी फुट्यो भनेर कराउँदै निर्वाचन आयोगमा हामी असली हौँ भनेर लेखेको निवेदन आफूले पाएको ओलीले बताए। उनले प्रश्न गरे, ‘यो बरमझियाको बुढाको पेडा पसल हो? असली र नक्कली? असली बुढो मै हुँ, असली बुढो मै हुँ भनेर पेडा पसल अघि लेखेर टाँस्न मिल्ने हो?’ अर्को पक्षले असली पेडा मै हुँ भन्दै पेरिसडाँडामा १२/१५ जनालाई भेला गराएर पत्रकार सम्मेलन गरेको आरोप उनको थियो। उनले आफैलाई लक्षित गर्दै थप प्रश्न गरे, ‘जसको घर हो, ऊ निवेदन हाल्न जान्छ? मेरो घर हो भनेर? जसको जमिन हो मेरो भन्दै निवेदन हाल्न जान्छ? हामीले बनाएको पार्टी मेरो भन्दै निवेदन हाल्न जान पर्दैन।’

भेट्नो कुहिएर झरेका दुई वटा फलहरुले रुखै मै हुँ भन्न मिल्छ?

पार्टीकै आधिकारिकताकै प्रसंगमा व्यंग्य हान्नेक्रम उनी त्यतिमा रोकिएन। उनले प्रश्न गरे, ‘भेट्नो कुहिएर झरेका दुई वटा फलहरुले रुखै मै हुँ भनेर दाबी गर्ने? आफूहरुले अर्को पक्षलाई अहिले पनि बैठकमा आउन भनिरहेको, प्रचण्डलाई अहिले पनि अध्यक्षमा राखिरहेको उनले भने। उनले माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि वरिष्ठ नेताहरुमा राखिरहेको दाबी गरे। उनले भने,‘ अरु पनि केही साथीहरु हाम्रो बैठकमा आउनु भएको छैन। कारण होला।’

सिसीमा औषधि बिक्री गर्न रत्नपार्कतिर गए हुन्छ

ओलीले आफूहरुले कुनै पनि हतारो नगरेको दाबी गरे। उनले सर्वदलीय भेला, सर्वदलीय बैठक भन्दै सानातिना कार्यक्रम पेरिसडाँडाले घोषणा गरेको बताए। उनले भने, ‘अलिअलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बिक्री गर्न बस्नेले पनि जम्मा गर्छ। उहाँहरुको हालत त्यो भन्दा बढी हुने छैन। टाउको दुखेको, पेट दुखेको, गानोगोला भएको, जुकाम, खाँसी, पिनास परेको, गलेका खसखस सबैको औषधि बिक्री गर्न अब उहाँहरुले रत्नपार्कमा मान्छे जम्मा गरे हुन्छ।’ ओलीले अर्को पक्षसँग राजनीति नभएको, देश र जनताको ऐजेण्डा पनि नभएको आरोप लगाएका छन्।

अलिअलि खानपिन गरेर केपी ओलीलाई निकाले भन्न मिल्छ?

ओलीले आफ्नो भाषणको निशानामा प्रचण्ड र नेपाललाई राखिरहे। त्यसक्रममा उनले आफूलाई हटाएको प्रसंग पनि झिके। उनले भने, ‘कार्की बैङ्कवेटमा अलिअलि खाइपिन भयो होला। केपी ओलीलाई पार्टीबाट निकाल्यौँ भनियो। निर्वाचन आयोगमा पनि मलाई निकालेको पत्र गएछ। निर्वाचन आयोगका आयुक्तहरु कति दिन हाँस्नु भयो होला? मलाई थाहा छैन।’ उनले थपे,‘ जसको कटेरो उसको पुच्छर बाहिर?’

देख्दा छाती त्यति ठूलो तर चित्त कति सानो?

प्रधानमन्त्री ओलीले सदाझैँ आफ्नो सरकारको कामकारवाहीको फेहरिस्त सुनाए। तर सरकारले गरेको राम्रो कामको प्रसंशा अर्को पक्षले कहिल्यै नगर्ने उनको आरोप छ। उनले भने,‘देख्दा छाती उत्रैउत्रै छ। देख्दा छाती ठूलो छ। तर चित्त? कति सानो! राम्रो काम भयो भनेर पनि भन्न नसक्ने? राम्रो कामको प्रचार नै भएन।’ उनले यो बीचमा दुनियाँ आश्चार्यचकित हुनेगरी सरकारले काम गरेको सुनाए।

भारतका हरेक मान्छेलाई नेपालका प्रधानमन्त्रीबारे कण्ठै छ

सरकारकै कामकारवाहीको प्रसंगमा अर्को ठट्टा गरे। उनले भने, ‘पहिले नेपालको प्रधानमन्त्रीको बाहिर चर्चा हुँदैन थियो। अहिले भारतका हरेक मान्छेलाई नेपालको प्रधानमन्त्री को छ भनेर सोध्नु भयो भने? हरेकालाई मेरो बारेमा कण्ठै छ।’ योसँगै अन्तर्राष्ट्रिय मञ्चहरुमा आफूहरु चिनिन थालेको उनले दाबी गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जीङ फीङले नेपालको राष्ट्रिय आकांक्षाबारे प्रसंशा गर्दा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल भने चुप लागेको आरोप लगाए।

अदालतले जुँगा, कपाल र कुम हेरेर निर्णय गर्दैन

ओलीले पार्टी र सरकारका मामिललामा आगामी दिनमा निर्वाचन आयोग र सर्वोच्च अदालले गर्ने निर्णय आफ्नै पक्षमा हुने दाबी गरेका छन्। उनले नेपालको अदालत ‘चार्ली च्याप्लिन’को खेल जस्तो नभएको भन्दै को असली हो भन्ने अदालतले चिन्न सक्ने दाबी गरेका हुन्। उनले भने,‘अदालतले जुँगा हेरेर, जेल लगाएको कपाल हेरेर, कुम हल्लाएकैबाट को असली भन्ने चिन्छ ? अदालत चार्ली च्याप्लिनजस्तो नचिन्ने होइन ।’

केटाकेटीले खेलाउना लिएझैँ पार्टी कब्जा गर्न खोजे

ओलीले प्रचण्डलाई बच्चाको खेलाउनाप्रतिको लोभसँग पनि तुलना गरेका छन्। उनले भने, ‘मैले दुई वटा बच्चा देखेको थिएँ। एउटा बच्चाले एउटा राम्रो गुडिया बोकेर आयो। अर्को बच्चाले त्यो गुडिया एक छिन मलाई खेलाउन देऊ भने। अर्कोले एकछिन आफ्नो हातमा भएको गुडिया अर्को बच्चालाई दिए। एकछिन दुवै जना मिलेर गुडिया खेलाए। तर एकपछि अर्को बच्चाको गुडिया मेरो हो भन्न थाले एक बच्चाले। कस्तो प्रचण्डको डुब्लिकेट! एकता के गरिएको थियो, एकैछिन कार्यकारी अध्यक्ष के दिइएको थियो, प्रचण्डले पार्टी मेरै हो भन्न थाले!’

एकैछिन बिरालो बनेर हुन्न, घरवालाले ढाडे फेला पारिहाल्छन्

उनले प्रचण्डलाई ढाडेको संज्ञासमेत दिन भ्याएका छन्। उनले भने, ‘एउटा चोर घरभित्र पसेछ। अध्याँरामा भाँडो ट्याङ्ङ ठोक्किएछ। भाँडा ठोक्किएपछि घरवालाले चोर आयो कि क्या हो भनेछ? चोरले म्याउँ गरेछ। ए, बिरालो पो रहेछ भनेछन् घरवालाले र चुप लागेछन्। तर त्यसपछि अध्याँरोमा चोरले थुप्रै भाँडाहरु एकै पटक ढालेछ। घरवालाले लाइट बालेर हेर्दा बिरालो नभएर ढाडे अर्थात चोर देखिएछ। त्यसको गति के भयो होला त्यो तपाईँ बिचार गर्नुहोस्।’ उनले एकछिन अध्याँरोमा झुक्काउन खोज्ने, एकछिन म्याउँ भनेर उम्किन खोज्नेहरुलाई उम्किन नदिने र उनीहरुलाई ठेगान लगाउने अडान लिए। उनले प्रश्न गरे, ‘पद चाहियो भन्ने अनि चुनावमा जुन पदमा हार्‍यो, त्यही लिन खोज्ने?

कमरेडहरुले पनि पहिले नै माला लगाउन खोज्ने ?

ओलीले अर्को पक्षलाई रेस्लिङ खेलसँग पनि तुलना गरे। उनले भने,  ‘उहाँहरुले बहुमत छ भन्दै हुनुहुन्छ। गफै त हो सम्धी ! कुन महाधिवेशनले भन्यो ? उहाँहरुसँग बहुमत छ भनेर । कुनै एउटा जिल्ला र निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनुहोस् त ! दाबी पनि कस्तो ?’ उनले थपे, ‘रेस्लिङ खेलमा कहिले हो कहिले लगाउने कुरा पहिले नै खोजेर लगाउँछन्। तर रिङमा पुगेर मुक्का खाएपछि थाहा पाउँछ । हाम्रा कमरेडहरुले पनि पहिले नै माला लगाउन खोज्ने ? कुन महाधिवेशनले दियो बहुमत ? कि बहुमत घरमा भन्या हो?’

बैंकको खातामा रहेको रकम झ्वाम्म पार्दै छन्

ओलीले पार्टीको खातामा रहेको रकम अर्को पक्षका नेताले झ्वाम पारेको बताएका छन् । उनले भने, ‘पार्टीका खातामा ३० लाख रहेछ । एउटा मान्छे गएर झ्वाम गराएछन् । यिनीहरुको ध्यान कहाँ छ भन्दा बैंकमा राखेको पैसामा छ । कार्यकर्ताले मुस्किलले जोडेको जमिनमा छ । उनले थपे, ‘हामी यता धेरै जान चाहन्नौँ । हामी पो पार्टी हौँ भनेर हिँडेका रहेछन् ।’

प्रतिक्रिया