ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव
ध्वज बहादुर कुँवर
साँफेबगर-३, अछाम
डिमोक्रेसी(प्रजातन्त्र)को जन्मदाता बेलायत हो भने यसको परिभाषा अमेरिकन राष्ट्रपति अब्राहम लिंकनले दिएर गएका छन्, जस अनुसार जनता नै सर्वोपरि मानिन्छन्। नेपालमा यसको अभ्यास २००७ सालदेखि हुँदै आइरहेको छ। ७५ वर्षसम्मको लामो समय व्यतित हुँदा यहाँका जनताले धेरै किसिमका शासनहरू र व्यवस्थाहरू अभ्यास गर्दै आइसकेका छन्। प्रजातन्त्रको मुख्य पक्ष जो आवधिक निर्वाचन हुन्छ, जनताले चुनावमा भाग लिन र आफूले मन पराएको दल वा व्यक्तिको छनौट गर्न पाउँदछन्, यसलाई धेरै महत्त्वको विषय मान्नु पर्दछ। तर प्रजातन्त्रको अभ्यासको कुरा र नेपाली जनताले गरेको अभ्यास एक अर्कामा विरोधाभास भएको छ। हाम्रो देशमा पूरा अवधि कुनै पनि सरकार टिकेको इतिहास छैन। भर्खरै सम्पन्न भएको २०८२ को निर्वाचन २०८४ मा हुनुपर्ने थियो। तर हाम्रो देशको नेतृत्वले विवेक प्रयोग गर्न नसक्दा मध्यावधिका रूपमा निर्वाचन गर्न बाध्याकारी अवस्था सृजना भयो, जो सबैले थाहा पाएकै छ। निर्वाचनको ताजा परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनादेश प्रदान गरेको छ र रवि लामिछानेको सभापतित्वमा रहेको पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीको लागि सिफारिस गर्ने कुरामा कुनै विवाद छैन। एकातिर २०७९ मा स्थापित भएको पार्टी दुई तिहाई सदस्यहरू साथ लिएर प्रतिनिधि सभाको प्रमुख भूमिकामा आबद्ध भएको छ भने, स्थापनाको ८० वर्ष पार गर्न लागेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरू आफ्नो जमानत जोगाउन अन्तिम कसरतमा लागेको देखिन्छन। प्रजातन्त्र भन्नासाथ बेलायत र अब्राहम लिंकनको सम्झना ताजा भएकै नेपालमा प्रजातन्त्रको कुरा गर्दा नेपाली कांग्रेसको नाम सबैको मन मस्तिष्कमा समाहित हुन्छ। नेपाली कांग्रेसमा बी.पी. कोइरालालाई सम्झिनु र प्रधानमन्त्रीको रूपमा पाँच-पाँच पटक सत्ता प्राप्त गर्नुहुने शेरबहादुर देउवालाई सम्झिनु अस्वाभाविक मानिँदैन। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा बहाल हुँदा सत्ता र प्रतिपक्षको संस्कृतिमा क्रमभंग भएको कुरा जानकारहरूलाई अस्वभाविक लागेको थियो। तर सत्ता मोहमा फसेको कांग्रेस र अहमता बोकेका केपी ओलीको दम्भका कारण सम्पूर्ण देश हिंसाको शिकार भयो। सत्ता मोहमा फसेका दुवै दलको अकर्मण्यतालाई प्रजातन्त्रले दण्डित गर्यो अर्थात् नेपाली मतदाताहरूले चलाखी गरी मतपत्रको घण्टी चिन्हमा छाप लगाएर दण्ड दिए।
आजको दिनसम्म आइपुग्दा २०१७ सालमा श्री ५ महेन्द्रले चलाएको डण्डा र २०८२ को निर्वाचनमा मतदाताले दिएको जवाफ मिल्दोजुल्दो छ। उतिबेला राजाले प्रजातन्त्रको घाँटी निमोठेर वन्दी बनाए। यतिबेला मतदाताले अल्पमतमा राखिदिएर ठूला दल र ठूला नेताको हुर्मत लिए। अघिल्लो घटना सजिलो थियो, विरोध गर्ने ठाउँ थियो। तर आज त्यो सुविधा छैन। नेपालका वामपन्थीहरूका लागि कुनै चमत्कारिक व्यक्तित्व जस्तै मदन भण्डारीको उदय नभएसम्म भेला गर्ने र तङ्ग्रिन नसक्ने अवस्थाको सृजना भइसकेको छ। यस अर्थमा नेपाली कांग्रेसले आफूलाई प्रतिपक्षमा रहेर पनि प्रजातन्त्रलाई बलियो बनाउन सक्छ। उसँग नेता पनि छन् र नीति पनि छ। वर्तमान सभापति गगन थापाले उठाएका सवालहरू समय सान्दर्भिक छन्। जस्तै विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानले दिएको अनुमति हो। तत्काल निर्वाचनमा जानु थियो सो को परिणाम सबैका सामु छर्लङ्ग छ। नेपाली कांग्रेसको सभापति गगन थापा सर्लाहीमा चुनाव लड्दा नेपालको भूगोलले राष्ट्रिय एकताको सन्देश दिएको छ। प्रजातन्त्रका लागि बहुमत र अल्पमत दुवैको सम्मान वाञ्छनीय भई रहन्छ। नेपाली कांग्रेस अल्पमतमा रहेको आजको अवस्थामा सभापति गगन थापालाई नैतिक दबाबको चुनौती छ। मैले यसलाई अर्थात् चुनावको परिणाम आएपछि उहाँको नीजी जीवनमा लागेको आरोपलाई जटिल हो भन्ने सम्झेको छु।
यतिबेला मैले रा.स्व.पा.का सभापति रवि लामिछाने सँगको सुरूमा भएको घटना अगाडि सारेको छु। जुन कागज देखाएर गगनले रविलाई ठगी भन्ने मुद्दालाई तागत दिनुभयो, जवाफको रूपमा रविले पनि बाख्रा चोरको आरोप लगाउनुभयो। आज परिस्थिति भिन्न छ, सहकारी ठगीमा आरोप लागेका रवि सभापति हुनुहुन्छ र सत्तामा पुग्नुभएको छ। चोरको आरोप लागेका कांग्रेसका सभापति प्रतिपक्षमा छन् । सभापति भनेको राजनीतिक विषय हो तर दोस्रो भने नितान्त नैतिक प्रश्न हो। नैतिकताको प्रश्न सदन र सडकमा कुनै स्थानमा उठ्ने भएकोले सो को निराकरण सम्बन्धित निकायले गरिदिनुपर्दछ। सभापतिको हैसियतले गगन थापाले नेपाली कांग्रेसको नियमित अधिवेशन आह्वान गरून्। सशक्त प्रतिपक्षका रूपमा आफ्नो गरिमा कायम राख्न पार्टीले विजयी प्रतिनिधिहरूलाई अभ्यास गराओस्। आजको प्रतिनिधि सभा सोझो हिसाबले हस्तिनापुरको कौरव र पाण्डवका बीचको वाद र प्रतिवाद अर्थात् सम्वादको थलो बन्ने पक्का छ। यस परिस्थितिमा नेपाली कांग्रेसलाई अर्जुन र अर्जुन दृष्टि हुन आवश्यक हुन सक्छ। नेपाली कांग्रेसकी नेत्री सुश्री शैलजा आचार्यले भन्नुभए जस्तै नेपाली कांग्रेस दुबो जस्तै हो, यो कुनै बेला देख्न नसकिएला तर जसरी दुबोको जरा कहिल्यै सुक्दैन त्यस्तै नेपाली कांग्रेस अझ हराभरा भएर गहिराईमा फैलिँदै जानेछ। कांग्रेस छ रत प्रजातन्त्र छ।
अबको बाटो
स्व. प्रदीप गिरिजीले भनेर जानुभएको छ, नेपाली कांग्रेसका दुईटा युवा गगन थापा र विश्व प्रकाशले पार्टीको वागडोर सम्हाल्नु पर्छ। जसरी जुवामा नारिएका वयलले काम तमाम गर्दछन्, त्यसै यस पार्टीलाई सही गन्तव्यमा पुर्याउन गगन र विश्वको दायित्व हुनेछ। विशेष अधिवेशनले धेरै बुँदाहरू तय गरिसकेको छ। जसमा पार्टीको रणनीति देखि नयाँ सिद्धान्त समेत प्रतिपादित भएको छ। यस मानेमा सो को अनुमोदनका लागि नियमित महाधिवेशन आवश्यक हुन्छ। बढीमा ६ महिना भित्र नेतृत्वले आफ्नो अधिवेशन गर्न सके नयाँ नेतृत्व छनौट हुन्छ र नयाँ ऊर्जाका साथ परिवर्तित अवस्थामा जनता माझ जाा आम कार्यकर्ताहरूलाई सजिलो हुनेछ। पार्टीमा समस्या देखा परे जनताका बीचमा पुगेर समाधान खोज्नु प्रजातान्त्रिक प्रक्रिया हो। त्यसैले नेपाली कांग्रेसलाई मासवेश पार्टी भन्दछन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव
-
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
प्रतिक्रिया