Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २४ बैशाख २०८१

निर्मलाका लागि एक शब्द बोलेनन प्रधानमन्त्री ओली, निर्मलाको बलात्कारी खै ? टिसर्ट लगाउने ६ युवा पक्राउ

निर्मलाका लागि एक शब्द बोलेनन प्रधानमन्त्री ओली, निर्मलाको बलात्कारी खै ? टिसर्ट लगाउने ६ युवा पक्राउ

धनगढिमा भएको जनसभामा निर्मलाको बलात्कारी खै ? भन्दै टिसर्ट लगाएका युवालाई प्रहरीले पक्राउ गर्यो । कार्यक्रममा निर्मलाको बलात्कारी खै ? र  ‘जस्टिस फर निर्मला’ लेखेका टिसर्ट लगाएका युवालाई पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालय लगियो । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी पन्तको हत्यामा संलग्न अझै पक्राउ नपरेकाले दोषीलाई कारबाहीको मागसहित ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएको प्रतिक्रिया उनीहरूको थियो ।

उनीहरूले निर्मलाको बलात्कार गरी हत्या भएको दुई वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए । तर पौने घण्टा भाषण गर्नुभएका प्रधानमन्त्री ओलीले त्यस घटनाबारे एक शब्द पनि बोल्नुभएन । सुदूरपश्चिम आएर पनि प्रधानमन्त्री ओलीले निर्मला घटनाबारे एक शब्द बोल्नुभएन । २०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाको  उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो । बलात्कार र हत्या प्रकरणको अनुसन्धान अहिलेसम्म चलिरहेको छ ।

थरुहटप्रति कडा अभिव्यक्ति, ‘केही गर्न सक्ने अवस्थामा छैनौँ’

लामो समयदेखि आन्दोलनरत थरुहट थारुवान आन्दोलनकारीप्रति प्रधानमन्त्री ओली कडा रुपमा प्रस्तुत हुनुभयो । उहाँले जेलमा रहेका नेताहरुका लागि केही गर्न नसकिने बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘यहाँ जात–जातको बीचमा मारमारको अवस्था ल्याए । टीकापुर काण्डको विभिन्न ढङ्गले रचना गरियो । नक्कली मान्छे ल्याए, उचाले, नागरिकको बीचमा कसैले थारुको नारा लगाए, कसैले पहाडियाका । नागरिक–नागरिकमा विभाजन ल्याउन खोजे ।’ उहाँले अगाडि थप्नुभयो, ‘अहिले पनि कतिपय थारु नेता जेलमा छन् । कसैलाई वारेण्ट होला । यी सबै हामीले हेरिरहेका छौँ । पहिले नै अदालती प्रक्रियामा गइसकेका, पहिले नै असहज कुरामा फसिसकेकालाई किनारामा नलगाइ केही गर्न सकिने हुँदैन, कानुनी हिसाबले ।’

त्यस्तै उहाँले पहिचानको राजनीति गरेर विध्वंश मच्चाउने काम भइरहेको टिप्पणी गर्नुभयो । तराईमा जारी पहिचानको राजनीतिलाई रुवाण्डा नरसंहारसँगै जोड्दै ओलीले थारु जातिले विकासमा सरकारलाई सहयोग गर्नुपर्ने समेत बताए ।

मन्त्रीद्वारा मुख्यमन्त्रीको आलोचना : ‘तपाईँ कस्तो मुख्यमन्त्री हो ?’

वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको आलोचना गर्नुभएको छ । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्रीको आलोचना गर्नुभएको हो । आलेले मुख्यमन्त्री भट्टमा सामान्य संस्कारसमेत नरहेको बताउँदै भन्नुभयो, ‘तपाईँ कस्तो मुख्यमन्त्री हो ? देशको प्रधानमन्त्री आउँदा स्वागतसमेत नगर्ने ।’ 

आज प्रधानमन्त्री ओली धनगढी आउँदा प्रदेश प्रमुख विमानस्थल पुग्नुभएको थियो भने मुख्यमन्त्रीले आफूलाई जानकारी नभएको भन्दै स्वागतमा जानुभएको थिएन ।

प्रधानमन्त्रीको स्वागतमा सुदूरपश्चिमका मुख्यमन्त्री गएनन् प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी विमानस्थल पुग्नुभएन । मुख्यमन्त्रीबाहेक प्रदेश सरकारका अन्य मन्त्रीहरु पनि धनगढी विमानस्थल पुगेनन् । नेकपा ओली समूहले प्रदेश सरकारलाई कार्यक्रमबारे कुनै जानकारी नगराएकाले स्वागतका लागि नपुगेको बताइएको छ । जनसभा आयोजकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री मातहतका मुख्य सचिव र सचिवहरूलाई स्वागतको लागि पत्राचार गरेको जनाएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीहरुलाई कुनै औपचारिक जानकारी नआएपछि प्रधानमन्त्रीको स्वागतमा नगएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव सिंह ओलीले जानकारी दिनुभयो । उहाँले गुटको भेला भएका कारण पनि जानकारी नगराइएको हुन सक्ने बताउनुभयो । यसैबीच प्रधानमन्त्री ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेश प्रमुख विमानस्थल पुग्नुभएको थियो । प्रदेश प्रमुख शर्मिला पन्तले विमानस्थल पुगेर प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको थियो । प्रदेश प्रमुख पन्तसँगै कैलालीका प्रमुख जिल्ला अधिकारी यत्रराज बोहरा, सुरक्षा निकायका प्रमुख र नेकपाका नेताहरु विमानस्थल पुगेका थिए । 

जिल्ला प्रशासन कार्यालयको आग्रहमा मुख्यमन्त्रीले प्रधानमन्त्रीका लागि गाडी भने पठाउनुभएको थियो । 

कार्यक्रमका लागि कार्यकर्ता ल्याउन पठाइएका बस रित्तै फर्किए

 

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन भएको सभाका लागि नेता तथा कार्यकर्ता ल्याउन पठाइएको बस रित्तै फर्किएका छन् । जनसभाकाा लागि नेता कार्यकर्ता ल्याउन कैलालीको कैलारी गाउँपालिकाको हसुलिया पुगेका चार बस रित्तै फर्किएका हुन् । 

प्रधानमन्त्री ओलीविरुद्ध विरोध र प्रदर्शन, कालो बेलुन र झण्डा देखाइयो

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरिएको छ । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्न धनगढीका पुगेपछि प्रधानमन्त्री ओलीलाई विरोध स्वरुप कालो बेलुन र झण्डा देखाएर प्रदर्शन गरिएको हो । अनेरास्ववियु कैलालीले हिमालयन बैंक र सनराइज बैंक अगाडि कालो झण्डा देखाएको हो । साझा युवा सङ्गठनले कालो बेलुन पनि उडाएको थियो । 

‘प्रधानमन्त्रीज्यू ! उत्ताउलाहरूको प्रदेशमा स्वागत छ’

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधसहित स्वागत गरिएको छ । विवेकशील साझा पार्टी, सुदूरपश्चिम प्रदेश कार्यालयबाट साझा युवा सङ्गठनले विरोधसहित स्वागत गरेको हो । सङ्गठनले बेलुन उडाएर प्रधानमन्त्रीको विरोधसहित स्वागत गरेको हो । बेलुनमा ‘प्रधानमन्त्रीज्यू, उत्ताउलाहरूको प्रदेशमा स्वागत छ ।’ लेखिएको थियो ।

कोरोना सङ्क्रमणको सुरुवाती अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमवासी उत्ताउला भएको र उनीहरुकै कारण नेपालमा कोरोना सर्ने सम्भावना बढेर गएको प्रतिक्रिया दिनुभएको थियो । त्यो अभिव्यक्तिको सुदूरपश्चिममा आलोचना भएको थियो । यस्तै अनेरास्ववियुले पनि धनगढीमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको थियो ।  

प्रतिक्रिया