Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

सभापतीका उम्मेद्वार स्वाँरको अपिल एवंम्, साधारण सदस्य देखी जिल्ला सभापती सम्मको यात्रा

सभापतीका उम्मेद्वार स्वाँरको अपिल एवंम्, साधारण सदस्य देखी जिल्ला सभापती सम्मको यात्रा

आदरणीय क्षेत्रिय प्रतिनिधि तथा नेपालि कांग्रेस प्रति आस्थावान साथीहरू,
२०२८ सालमा महेन्द्र हाई स्कुल बयालपाटा अछाममा ९ कक्षामा अध्ययन गर्दै गर्दा मेरो  बिद्यार्थीको राजनिति यात्रा सुरु भएको थियो । २०२९ सालमा स्वबियुमा कोषाध्यक्ष भएर काम गरेको थिए । एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्न डोटी पुग्दा त्यहाँ पनि नेबिसंघको राजनितिमा सक्रिय रहेको म २०३१ सालमा कोषाध्यक्ष भएर काम गरेको थिए ।

सक्रिय राजनिति भने २०३२ सालमा गाँउ फर्क राष्ट्रिय अभियानमा लाग्दै सुरु भयो । त्यसबेला मलाई सरकारले पक्राउन गर्न पुर्जी समेत जारी गरेको थियो । २०३४ सालमा साँफेबगरमा बयालपाटामा अस्पताल संचालन गरिनुपर्छ भन्ने बिषयमा बिबाद हुदाँ ४ जनाले सहादत प्राप्त गरेको आन्दोलनमा म पनि सक्रिय थिए । पञ्च्यातका बिरुद्ध हुदैँ २०३६ सालको जनमत संग्रहमा र २०४२ सालको सत्याग्रहमा समेत सक्रिय हुँदै आफ्नै बुवाले संचालन गरेको पसलबाट धेरै सामान बहुदल र निर्दलमा पार्टीको लागि सहयोग गर्ने गरेको थिए ।

२०४३ साल माघ १० गते बाट अछाम जिल्लामा मदिरा बन्द गर्ने अभियान संक्रिय रहेर नेतृत्वदायी भुमिका निर्वाह गर्दै अछाम जिल्ला मदिरा मुक्त हुन सफल बनाउन आफुले सकेजतिको भुमिका निर्वाह गरेको थिए । पञ्च्यात, जनमत संग्रह र सत्याग्रहमा सक्रिय रहेको मलाई माघ २५ गते पक्रेर अछाम कारागार चलान गरियो । २ महिना अछाम र १ महिना बाजुरा जेल जीवन बिताएँ । म पछि जिल्लामा अरु नेता पनि जेल परेका थिए भने बाजुरामा जेल पर्नेमा म एक्लै थिएँ । २०४६ सालको जनआन्दोलनमा पनि मैले सक्रिय सक्रिय भुमिका निर्वाह गरेको थिएँ । पार्टीले स्थानिय तहमा भाग लिने निर्णय गरेका बेला गगंबहादुर कुवँर सभापती रहेका हुँदा अछाम जिल्लाको तत्कालिन ५ नम्बर क्षेत्रमा जिल्ला पञ्च्यातको सदस्यमा म बिजयी भएको थिएँ । 

पार्टी, समाज र जनताका लागि मेरो सक्रियतालाई देखेर पार्टीले २०४९ सालमा मलाई जिल्ला विकास समितीको टिकट दियो र म विजयि पनि भएँ । जिल्ला विकास समितीको सभापती भएपछि अछाम जिल्लामा ६ सय बढी शिक्षकलाई स्थायी बनाउनमा मैले महत्पूर्ण भुमिका खेलेको छु र मेरो ५ बर्षे कार्यकालमा मैले समग्र अछामको विकास निर्माण शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरेको छु ।

माओवादीले जनयुद्धका नाममा देशैभर जनता आतंकित बनाउने काम गरेपछि मेरो १४ जनाको घरपरिवार अछामबाट विस्थापित हुँदा काठमाण्डौँ गएर डेरामा बस्यौँ धेरै दुख पाईयो, काठमाण्डौमा आन्दोलन थियो त्यसमा दैनिक सहभागी हुनुपर्थ्यो भाडा नुहदाँ दिउसो १२ बजेको घाममा पनि हिडेर आन्दोलनमा सहभागी भएको मलाई अझै स्मरण छ । त्यतिबेला मेरो आर्थिक अवस्था कम्जोर थियो, आम्दानीको श्रोत थिएन, माओवादीका काराण अछाममा टप लेभलमा संचालन भएको पसल पनि बन्द भयो । मैले ५ बर्ष काठमाण्डौंमै जसोतसो गुजारे र २०६२ मा बातावरण सहज भएपछि अछाम फर्किएर फेरी पार्टीमा सक्रिय भएर लागेँ । 

जव म पार्टी सभापती निर्वाचित भँए जिल्लामा पार्टीको अवस्था नाजुक थियो । पार्टीका कार्यकर्तालाई हेप्ने, कसैले केही गर्न नसक्ने अवस्था थियो । नेकपा एमालेको हाली मुहाली र भिम रावलको दब्दबा थियो । कार्यकर्ताले धेरै दुख पाएका थिए । एक कोठामा पार्टी कार्यालय थियो । हुन त त्यसबेलाको परिस्थिती पनि त्यस्तै थियो । म आफु निर्वाचित भएपछि त्यस कोठामा एक दिन पनि प्रबेश नगरी एक घर भाडामा लिएर आवश्यक सामान व्यावस्था गरेर कार्यालय व्यवस्थित गरे । मेरो सुरुवाती चरण थियो त्यो बेला पनि म गाँउ गाँउमा गएर पार्टीको संगठन निर्माण गर्न कार्यकर्तालाई सक्रिय बनाउन तत्कालीन ७५ गाविसमै कार्यक्रम राख्न लगाए । पार्टीलाई सक्रिय बनाए । कडा रुपमा काम गरयौँ । त्यसपछि स्थानिय चुनाव आयो त्यसमा पनि हाम्रो एक बर्षको उर्जाले काम गर्यो सक्रियताका साथ लाग्यौँ र जिल्लाका अधिकांश स्थानिय निकायमा बिजयी हासिल गर्यौँ । मंगलसेनमा पनि हाम्रो जित निश्चित थियो तर केहि कारणबस ६५ मतले पराजित भयौँ । १४ वडामा ९ वडा बिजयी भए पनि मेयर हार्यौँ । 

सही गलत छुट्याउने र पार्टीको नेतृत्व छनोट गर्ने जिम्मा क्षेत्रिय प्रतिनिधीकै हातमा छ । हाम्रा ईमान्दार क्षेत्रिय प्रतिनिधीले उर्जावान र पार्टीका लागि जिल्लामै बसेर दिनरात नभनी खट्ने व्यक्ती छनोट गरे भोलीको दिनमा कांग्रेस अछामको भबिष्य सुन्दर हुनेछ । अहिले पनि हामी अछामका सबै वडामा जित्ने लक्ष्यमा पुगेका छौँ । कांग्रेसमा युवाहरुको चार्मिगं पनि बढ्दै गएको छ । युवा साथिहरु क्षमतावान, चरित्रवान, नैतिकवान र आचरणयुक्त हुनुपर्छ । मेरो पनि धेरै युवालाई बिजयी गराउन साथ, सहयोग र प्रयत्न रहेको र रहने छ ।

अब मेरो कुरा गर्नु हुन्छ भने मैले १३ आँै महाधिबेशन पछि पार्टी सभापति भएर गरेको काम घाम जस्तै छर्लंग छ । पार्टीको आफ्नै भवन निर्माण भएको छ । कुनै सरकारी अनुदान बिना मैले मागेर भवन निर्माण सम्पन्न गर्न नेतृत्व गरे । केही गाँउपालिका नगरपालिका र वडाको अनुदान छ । धेरैजसो जनप्रतिनिधी र पार्टीका नेता कार्यकर्ताबाट उठेको लेबी त्यसमा लगाएका छौँ । अहिले पार्टी कार्यालयमा २ जना तलब खुवाएर स्टाफ राखेका छौँ । कार्यालयमा एक टेबुल र दराज बाहेक केही थिएन । मैले आफु सभापती भएपछि फर्निचर भरीभराउ छन् ति सबै पार्टीले किनेका होईन, मैले सहयोग मागेर ल्याप्टप, कम्प्युटर र प्रिन्टर जोडेका छौँ ।
हाल मेरो कार्यकालमा ५० लाखको हाराहारीमा पार्टीमा नगद जम्मा भएको छ । त्यो मेरै सक्रियताले भएको हो । बाँकी रहेका अधुरा काम पुरा गर्नुपर्ने छ । पार्टी र कार्यकर्तालाई अनुशासित भएर चलायमान बनाउनु नै अहिलेको अपरिहार्यता हो, त्यसका लागि एक पटक फेरी नेतृत्व गर्नुपर्छ भन्ने मैले ठानेको छु । 

वडाबाट विविध धर्म, संस्कृति र समुदायबाट समेत प्रतिनिधित्व गर्दै निर्वाचित भएर आउनु भएका तपाईंसम्पूर्ण क्षेत्रिय प्रतिनिधि साथीहरूलाई बधाई सहित जय नेपालको हृदयध्वनिले हार्दिक स्वागत गर्दछु । यस अवसरमा म नेपालको लोकतान्त्रिक विचारका प्रथम नेपाली भाष्यकार जननायक बीपी कोइराला, आन्दोलनको विशिष्ट क्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, लोकतान्त्रिक गणतन्त्र प्राप्तिको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइराला र वर्तमान संविधान निर्माणको नेतृत्व गर्ने सुशील कोइरालासहित विभिन्न क्षेत्र र समुदायबाट अनेक कष्ट झेल्दै जीवन समर्पण गर्ने सम्पूर्ण लोकतान्त्रिक योद्धाहरूप्रति सम्मान प्रकट गर्दछु । अहिंसा, शान्ति, सामाजिक न्याय, समुदायका बीच सद्भाव र लोकतन्त्रको मार्गमा मलाई उत्प्रेरित गर्नु हुने मेरा पिताजी चक्र बहादुर स्वाँरलाई यतिबेला सादर स्मरण गर्न चाहन्छु । नेपाली काँग्रेसको ७६ वर्षको कष्टकर यात्रामा जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरूप्रति म श्रद्धासुमन अर्पण गर्दछु ।

आफ्नो विगतलाई फर्केर हेर्दा मैले १३ - १४ वर्षको  किशोर अवस्थादेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करीव ५३ वर्ष सक्रियतापूर्वक व्यतित गरिसकेको छु । लोकतन्त्र प्राप्तिकालागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलका थुप्रै शृंखला अनुभव गरेको छु । नेपालि कांग्रेसको १३औं महाधिवेशनमा मलाई अत्याधिक मतले विजयि बनाउनु हुने यहाँहरु सबैलाई अझैपनि हार्दिक धन्यवाद व्यक्क्त गर्दै, यहाँहरुले ममाथि गर्नुभएको विश्वाशको कशिमा खरो उत्रिन मैले मेरो क्षमताले सकेजतिको हर सम्भब प्रयास गरेको छु । मेरो पाँच बर्षिय कार्यकालमा पार्टि कार्यालयको निर्माण, स्थानिय निर्वाचनमा विजयि हुँदै संमन्वय समिति नेपालि कांग्रेसको नेतृत्वमा गठन भएको, पार्टिको शुन्यमा रहेको आन्तरिक कोष चालिस देखि पचास लाखको हाराहारीमा पुर्याएको, बाढिपहिरो लगाएतका बिपत्तिमा जिल्लाबासि लाई नेपालि कांग्रेस अछामको तर्फबाट हरबखत आफै सक्रिय भएर सहयोग गरेको, जिल्लाको हरेक वडामा आफै पुगेर कार्यकर्तालाई भेटि उहाँहरुका समस्या सुनि समाधान गर्दै संगठन विस्तारमा अग्रिण भुमिका निर्वाह गरेको, जिल्लामा नेपालि कांग्रेसका केन्द्रिय तहका नेताहरुलाई बोलाएर पटक पटक प्रशिक्षण गराएको, पार्टिका क्रियाशिल सदस्यता निर्विवाद दर्ता र नविकरण देखि वडा हुँदै क्षेत्रिय अधिवेशन निर्विवाद, सर्वसंम्मत ढंगले सम्पन्न गरेका सबै मेरो कार्यकालमा भएका कार्यहरुका केहि अंश हुन । अघिल्लो कार्यकालको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको आधारमा यस पटक पनि मैले नेपाली काँग्रेस अछामको सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।

मैले सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै गर्दा केही निश्चित परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधार समेतलाई केन्द्रविन्दुमा राखेको छु ।
परिकल्पना
१. नेपाली काँग्रेस अछामलाई जिल्लाको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै अछामिजनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई जिल्लामा बहुमतका साथ विजयी गराउने ।
२. नेपाली काँग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने ।
३. नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली काँग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने ।
४. जिल्लाको भौगोलिक विविधता अनुरूप दुरदराजका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने ।
५. जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खसआर्य, अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गीलगायत सबैलाई सम्मानका साथ नेपाली काँग्रेसमा सक्रिय गराउने र समुदायका बीच थप सद्भाव कायम गर्ने ।
७. सुन्दर फूलवारी जस्तो विविधतापूर्ण समाजले अवलम्वन गर्दै आएको भाषा, साहित्य, कला, संस्कृति, धर्म र सम्पदाको संरक्षण गर्न नेपाली काँग्रेस अछामका सम्पूर्ण तहगत समितिहरू र सदस्यहरूलाई सक्रिय बनाउने ।
८. भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउदै अछामि जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउने ।
९. विगतमा भएका अनेक क्रुर हिंसाको मारमा परेका, आज पनि हिंसाबाट अन्यायमा परेका, वेपत्ता भएका वा पारिएका, कयौं अछामिका परिवारको आँशु रोकिएको छैन । न्यायका लागि निरन्तर करुण क्रन्दन सुनिरहेको अवस्था छ । ती करुण पुकारलाई सुन्न सरोकारबालालाई नेपाली काँग्रेसले बाध्यपार्ने क्षमताको विकास गर्ने  ।
ध्येय
उपरोक्त परिकल्पनालाई साकार गराउन निम्न ध्येयहरू समयवद्ध प्रक्रिया अपनाई ५ बर्षको समयावधिभित्र पूरा गर्ने प्रतिबद्धता गर्दछु ।
१. जिल्ला, क्षेत्र, प्रदेश, पालिका र वडाका पार्टी सचिवालय सञ्चालनलाई चुस्त, दुरुस्त गराउने र नियमित सम्पर्क र संम्वाद तथा सूचना आदानप्रदान गर्ने वातावरण निर्माण गर्ने ।
२. समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको नेतृत्व विकास तथा प्रवद्र्धनका साथ काँग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्ने ।
३. नेपाली काँग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन चरणबद्ध कार्ययोजनाहरू बनाउने ।
४. विदेशमा पसिना चुहाउन विवश युवाहरूलाई स्वदेशमा नै रोजगार सृजना गर्न समयबद्ध योजनाहरू बनाउने ।
५. पार्टीका सदस्यहरूमा पठन संस्कृतिको विकास गर्न वडा तहदेखि जिल्ला तहमा काँग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्य अध्ययनलाई सम्पूर्ण तहमा अनिवार्य गराउने ।
६. नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिंदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्ने र अनुशासित, इमानदार सदस्यहरूलाई प्रोत्साहित गर्ने ।
७. नेपाली काँग्रेस अछामको सभापतिका रूपमा पार्टीको आर्थिक पारदर्शिता र सुशासनलाई पूर्ण पालना गर्ने र गराउने ।
८. पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउने ।
९. विशेषगरी युवाहरूलाई आत्मसम्मानकासाथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने ।
१०. सम्पूर्ण तहका साथीहरूको र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली काँग्रेसभित्र अन्याय हुन नदिन र विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्ने ।
११. राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका आधारभूत मान्यतासहित बनेको संविधान र राजनीतिक प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न र आम रुपमा सुशासनको विशेष अनुभूति गराउन पार्टीलाई परिचालित गर्ने ।
उद्देश्य
उपरोक्त ध्येय प्राप्त गर्न पाँच बर्षभित्र प्राप्त गर्ने संरचनागत सुधारका उद्देश्य निम्न प्रकारका हुनेछन् ।
१. पार्टीभित्र नेतृत्व विकास,रुपान्तरण, पुस्ताहस्तान्तरण र पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यबस्था गर्न पार्टीको विधान संशोधन गर्न पार्टिको केन्द्रिय कमिटिमा दवाब दिने ।
२. नेपाली काँग्रेसले आफ्नो स्थापनाकालदेखि नै नेपाली समाजलाई समतामूलक लोकतान्त्रिक समाजमा रुपान्तरण गर्ने घोषित उद्देश्यको कार्यान्वयनका लागि वडा, पालिका, प्रदेश र जिल्ला स्तरमा  समाज रुपान्तरण सम्बन्धी उपयुक्त कार्यक्रमहरू तर्जुमा गरी संचालन गर्ने, गराउने ।
३. पार्टीका वडा, पालिका तथा प्रदेश स्तरमा उदाहरणीय र लोकप्रिय कार्यक्रम संचालन गरेका पार्टीका निर्वाचित जनप्रतिनिधिहरूको पार्टीबाट यथोचित मूल्यांकन गर्ने संस्थागत परिपाटी सुरु गर्ने ।
४. पार्टीका सवै तहका निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरी योजना तर्जुमा तथा कार्यान्वयन, सुशासन, सहकारिता, समन्वय तथा पार्टीका विविध बिषयहरू बारे नियमित रुपमा प्रशिक्षण शिबिरहरू संचालन गर्ने र सहकारी अभियानलाई तीव्रगराउदै पार्टीका सदस्यहरूलाई अभियानमा उत्प्रेरित गर्ने ।
५. पार्टीले के कस्ता नीति तथा कार्यक्रमहरू जिल्ला स्तरमा संचालन गर्दा उपयुक्त हुन्छ सोको निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्यांकनको कार्य नियमित गर्ने केन्द्रीय संयन्त्रको व्यवस्था गर्ने ।
अन्य सुधारहरू
१. पार्टीको जिल्ला र स्थानीय निकायसम्म जनताका पीरमर्का सुनी, बुझी यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउन जय नेपाल गुनासो सेवा प्रारम्भ गर्ने ।
२. पार्टीका पुराना नेता तथा कार्यकर्ताहरूलाई आ–आफ्ना गाउँठाउँमा उनीहरूकै रुची र सहभागितामा उपयुक्त कार्यक्रमहरू संचालन गर्ने । यसका लागि पार्टीका स्थानीय, जिल्ला र प्रदेश इकाईहरूलाई परिचालन गर्ने ।
३. आजको संसारमा सूचना र संचारको महत्वपूर्ण योगदान रहेको छ । म यसवेला तमाम संचारकर्मी मित्रहरूले मलाई दिनु भएको स्नेह र सहयोगकालागि कृतज्ञता प्रकट गर्दछु । नेपाली काँग्रेस पार्टीका तर्फबाट संचार क्षेत्रको विकास र संचारकर्मीको वृत्तिविकासमा विशेष पहल गर्नेछु ।
४. समग्रमा नेपाली काँग्रेस अछाममा स्वभाव, आचरण र व्यवहारमा सुधार गरी जनतासँग काँग्रेस र काँग्रेससँग जनता व्यावहारिक रूपमा सिद्ध गर्ने ।
५. रूख चिन्हसँग मतदातालाई र चारतारे झण्डासँग जनतालाई जोड्ने ।
उल्लिखित प्रतिबद्धतालाई सार्थक गराउन नै  मेरो उमेदवारीको अभिष्ट रहेको छ । मैले मेरो उमेरको करीव ५३ वर्ष स्वस्फूर्तरुपमा नेपालको लोकतान्त्रिक आन्दोलनमा व्यतित गरेको छु । नेपाली काँग्रेस जस्तो गौरवशाली पार्टीको यस जिल्ला अधिवेशनमा निकट देखि दुरदराजबाट अनेक कठिनाई झेल्दै सहभागी पार्टीका अग्रज, समकालीन र नवीन युवापुस्ताका साथीहरूले म माथि पूर्ण बिश्वास गर्नुहुने छ, र विवेकपूर्ण र तर्कपूर्ण मूल्यांकनका आधारमा सभापति पदमा मलाई मतदान गरी विजयी गराउनु हुनेछ भन्ने बिश्वास गरेको छु ।
धन्यवाद ।

भरत कुमार स्वाँर 
जिल्ला सभापति पदका उम्मेद्वार
नेपालि कांग्रेस अछाम


 

प्रतिक्रिया