ताजा अपडेट
प्रदेस सरकारको अनुदानबाट फेरी पन्छाईयो बयालपाटा अस्पताल
                                        
                                        सूदुरपश्चिम प्रदेस र कर्णालि प्रदेसका अघिकांस जिल्लाका बासिन्दालाई पन्ध्र बर्ष देखि निशुल्क उपचार सेवा दिँदै आईरहेको अछामको बयालपाटा अस्पताललाई फेरि पनि सुदूरपश्चिम प्रदेस सरकारले पन्छाएको छ । २०६५ सालदेखि बिरामिको नाम दर्तादेखि चेकजाँच, औषधि, खाना र आवाससहित अन्य कुनैपनि शीर्षकमा शुल्क नलाग्ने बयालपाटा अस्पताललाई केन्द्र सरकार र प्रदेस सरकारले पटक पटक अनुदानका लागि पन्छाउने गरेको छ ।
आम सर्बसाधारणको लागि बरदान सावित भएको बयालपाटा अस्पतालमा अनुदानका लागि गएको शुक्रबार अछाम क्षेत्र नं.१ क बाट निर्वाचित सांसद मेघराज खड्काले प्रदेस सभामा माग राखेका थिए । अछाम जिल्लाबाट निर्वाचित प्रतिनिधि सभामा २ जना र प्रदेस सभामा ३ जना सांसद सहित सुदुरपश्चिम प्रदेसको मन्त्रिपरिषदमा एक जना मन्त्रि छन् । तर बयालपाटा अस्पतालका समस्या बारे न त केन्द्रको रोष्टमबाट बोलेको सुनिन्छ न त प्रदेसको । विशेष गरी अछाम क्षेत्र न. १ का लागी हमेसा चुनावी एजेण्डा बन्दै आईरहेको बयालपाटा अस्पतालाले चुनाव पछी आश्वासन बाहेक केहि पाएन ।
सुदुरपश्चिम प्रदेसका मुख्यमन्त्रि कमल बहादुर शाह र भौतिक पुर्वाधार विकास मन्त्रि प्रकास देउवा सहितको टोलिले गत बैशाखमा मात्रै अस्पतालको अनुगमन गरेर अस्पताललाई आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विशेष गरी बाजुरा, डडेलधुरा, दार्जुला, बझाङ र कैलालीको पेरीफेरीमा घुमेको आ.ब. ०८०/०८१ को बजेटको पूर्णपाठमा अछाम जिल्लाको नाम केवल एक ठाउँमा समेटिएको छ । एउटै जिल्लामा करोडका दर्जन बढि योजना लगाएत बाख्रा च्यांग्रा पालनमा करोडौं विनियोजन हुँदा २१ जिल्लाका आम सर्व साधारणलाई निशुल्क उपचार दिदै आईरहेको बयालपाटा अस्पताल भने समेटिएन ।
आफ्नो स्थानिय तह संचालनको खर्चबाट हरेक बर्ष अनुदान दिदै आईरहेको साँफेबगर नगरपालिकाले मात्रै दिने अनुदानले बयालपाटा अस्पताललाई अपुग हुने गरेको बयालपाटा अस्पताल संचालक समितिका अध्यक्ष एवम् साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताए । अनुदानका लागि पटक पटक केन्द्र सरकार र प्रदेस सरकार संग पटक पटक निवेदन गर्दापनि यसरी अपमानित गरी पन्छाईन्छ भने आफुहरु यसका बिरुद्ध सम्पुर्ण जिल्लाका सेवाग्राहिले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको नगर प्रमुख कुँवरले बताए ।
२०६५ सालमा न्याय हेल्थ नेपालले स्थापना गरेको यस अस्पतालले अहिलेसम्म १२ लाख २० हजार भन्दा धेरै बिरामीको निःशुल्क उपचार गरेको छ । जसमा अस्पतालले सबैभन्दा बढी १० लाख १५ हजार जनाले ओ.पि.डि सेवा १ लाख ५० हजार जनालाई आकस्मिक र ७० हजार चार सय ७९ जनालाई अपरेशन सेवा दिएको छ । २५ प्रकारका सेवा दिँदै आएको यो अस्पतालले प्रसुती सहित हड्डीको शल्यक्रीया गर्ने गरेको अस्पतालले जनाएको छ ।
यहाँ उपलब्ध कुनैपनि उपचार सेवामा शुल्क लाग्दैन् । यो अस्पतालमा भर्ना हुने बिरामीको उपचार बापत लाग्ने सबै खर्च अस्पतालले व्यवहोर्ने गरेको अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दीप पाठकले बताए । ‘नाम दर्तादेखि औषधि र अन्य कुनैपनि सेवामा शुल्क लाग्दैन्,’ उनले भने,‘पन्ध्र वर्षदेखि निःशुल्क उपचार सेवा दिइरहेका छौं । ’ निःशुल्क र उच्च स्तरको भरपर्दो सेवा पाइने भएका कारण अस्पतालमा सुदूरपश्चिम प्रदेस र कर्णालि प्रदेसका २१ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गरेको उनले बताए । सबैभन्दा बढी अछाम, दैलेख, मुगु, हुम्ला, कालिकोट, दार्चुला, बझाङ, डोटी, कैलाली र बाजुरा जिल्लाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।
नेपाल सरकारसँगको साझेदारीमा सेवा दिँदै आएको बयालपाटा अस्पतालमा हाल ५० शैया रहेका छन् । यहाँ हरेक दिन कम्तिमा दुईसय बढी बिरामीहरु सेवा लिन आउने गरेका छन् । अत्याधुनिक तरीकाबाट माटोको नयाँ भवनहरु रहेको अस्पतालले कोरोना महामारी पछि आर्थिक संकट झेल्दै आईरहेको छ ।
अन्तराष्ट्रिय अनुदानमा ह्रास आएपछि विगत ३-४ बर्षदेखि बयालपाटा अस्पतालले आर्थिक समस्या खेपिरहेको छ । पटक पटक प्रदेस सरकार र केन्द्र सरकारलाई अनुदान माग्ने देखि अस्पतालाई प्रदेस सरकारले आफ्नो स्वामित्वमा लिईदिन अस्पताल संचालक समितिको टोलिले प्रदेस र केन्द्रमा समेत निवेदन गरेको थियो ।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया