ताजा अपडेट
सुदूरपश्चिममा विपदका घटनाबाट ६ महिलाको मृत्यु, १५ घाइते
                                        
                                        धनगढीः शुक्रबार विहान कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भयो। च्याउँ टिप्न निकुञ्ज पसेकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीय बेलमती बुढाले गैडाको आक्रमणबाट घटनास्थलमै ज्यान गुमाउनु परेको हो।
उनीसंगै अन्य दुई जना महिला पनि च्याउँ टिप्न निकुञ्ज प्रवेश गरेका थिए। उनीहरुले भागेर ज्यान जोगाएका छन्। निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिच ताल क्षेत्रमा महिलाको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। यो त केबल ताजा घटना मात्र हो। यस्ता अन्य विपदबाट यहाँका धेरै महिलाले ज्यान गुमाइसकेका छन्।
सुदूरपश्चिममा सर्पदंशसहित प्राकृति विपदबाट गरी एक महिनाको अवधिमा मात्र ६ जना महिलाले ज्यान गुमाइसकेका छन्। चालु आर्थिक सुरु भएको एक महिनाको अवधिमा यस्ता घटनाबाट थप १५ महिला घाइते भएका छन्। सो अवधिसम्म पहिरो र चट्याङबाट दुई महिलाको मृत्यु भएको छ।
जनावर आंतकबाट एक तथा सर्पदंशबाट तीन गरी चार महिलाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीले संकलन गरेको तथ्यांकले देखाएको छ। सो अवधिमा लेक लागेर थप एक महिला गरी कुल ६ जना महिलाको मृत्यु भएको छ।
त्यस्तै पहिरोबाट तीन र चट्याङमा परेर दुई गरी पाँच महिला घाइते भएका छन्। जनावर आंतकबाट पाँच, आगलागीबाट दुई, सर्पदंशबाट दुई र लेक लागेर एक गरी एक महिनाको अवधिमा १५ महिला घाइते भएको पीइओसीले संकलन गरेको तथ्यांकले देखाएको छ। त्यस्तै पहिरो, बाढी, सर्पदंश र लेक लागेर एक/एक गरी कुल चार जना पुरुषको मृत्यु भएको छ। साथै पहिरोबाट दुई, बाढीबाट एक, जनावर आंतकबाट ९, आगलागीबाट एक र लेक लागेर दुई गरी कुल १५ जना पुरुष घाइते भएका छन्।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया