ताजा अपडेट
शिक्षकहरूको आन्दोलनका देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित
काठमाण्डाै - शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौमा आएसँगै पठनपाठन प्रभावित भएको हो ।
देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
विद्यालय बन्दको घोषणा नै गरेर शिक्षकहरुले आन्दोलन थालेसँगै आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन रोकिने भएको छ । विधेयकको परिच्छेद–७ मा शिक्षकको सरुवा तथा बढुवाको अधिकार पालिकालाई दिइने प्रावधान छ । यसमा शिक्षकहरूको मुख्य असन्तुष्टि छ । उनीहरूले यो अधिकार जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने माग राखेका छन् ।
हिजो काठमाण्डौको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म हजारौँ शिक्षक आन्दोलनमा उत्रिए । शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको नेतृत्व र आह्वानमा आन्दोलन थालिएको छ ।
नेपाल शिक्षक महासङ्घले माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा मन्त्रालयले अस्ति मङ्गलवार वार्तामा बोलाएको थियो । तर शिक्षक महासङ्घ यो वार्तामा बसेन । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरी व्यवस्था मिलाएको महासङ्घले जनाएको छ ।
त्यस्तै, काठमाण्डौ महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलनमा जाँदा भएको शैक्षिक क्षतिलाई बिदाका दिन पढाएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएपछि बसेको महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले अहिले आन्दोलनमा जाने र यसको घाटा बिदाका दिन पढाएर पूरा गर्ने निर्णय गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अनुसार देशभर २७ हजार तीन सय ४३ वटा सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ जना शिक्षक कार्यरत छन् । शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार जना विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया