ताजा अपडेट
विद्युत प्राधिकरणको नेतृत्वका लागि दौडधुप
४ भदौ, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७२ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ ।
प्राधिकरणका वर्तमान र पूर्वअधिकारीहरुसँगै अन्य सरकारी अधिकारी पनि घिसिङले छाड्न लागेको कुर्सीको दौडमा छन् । कतिपय दावेदारले प्रधानमन्त्री निकटका नेताहरुसँग भेटघाट बढाएका छन् ।
सरकारले पुनः जिम्मेवारी दिए थप एक कार्यकाल प्राधिकरण हाँक्न घिसिङ आफैं पनि इच्छुक छन् । लोडसेडिङ हटाएपछि प्राधिकरणसामु आएका ठूला चुनौतीहरुको विश्लेषण गरेर सरकारले जिम्मेवारी दिए आफू कार्यकाल दोहो¥याउन तयार रहेको घिसिङले बताउने गरेका छन् ।
यद्यपि, प्राधिकरणमा भित्रिने जोडबलमा लागेका उमेदवारहरु हेर्दा घिसिङको दोहोरिने सम्भावना न्युन रहेको पछिल्ला चलखेलका जानकारहरु बताउँछन् ।
हुनपनि, विद्युतको नेतृत्वमा आउन पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञावाली नै लागिपरेको चर्चा अझै सेलाइसकेको छैन । हुन त यसबारे समाचारहरु आएपछि उनले आफू त्यो दौडमा नरहेको भन्दै समाजिक सञ्जालमार्फत खण्डन गरेका छन् ।
उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि आवेदन दिएर अन्तरवार्ताका लागि छानिइसकेपछि ‘प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार’ पछि हटेका थिए ।
लगानी बोर्डमा सुशील भट्ट र विद्युत प्राधिकरणमा ज्ञवालीलाई नियुक्त गर्ने गरी मिलाइएको चर्चा थियो । सामाजिक सञ्जालमा भने ज्ञवालीले त्यसलाई नकारेका छन् । विद्युत प्राधिकरणमा नियुक्तिका लागि उनको लबिङ भने नरोकिएको नेकपा स्रोत बताउँछ ।
प्राधिकरणको नेतृत्वमा आउन चाहेका अर्का पात्र विद्युत विकास विभागका महानिर्देशक नवीन सिंह हुन् । लामो समयदेखि विद्युत विकास विभागमा रहेका उनलाई प्राधिकरण मात्र हैन, ऊर्जा मन्त्रालयका कर्मचारीले पनि खासै रुचाउँदैनन् ।
विभिन्न जलविद्युत आयोजनाको लाइसेन्स वितरणमा चलखेलको आरोप खेपेका सिंहले प्राधिकरणको नेतृत्व पाउने सम्भावना कम रहेको मानिन्छ । कमजोर कार्यसम्पादनका कारण हटाइएका सिंह पछि कुनै तरिकाले विद्युत विकास विभाग फर्कन सकेका थिए । अहिले उनी विद्युत प्राधिकरणको नेतृत्वका लागि नेता रिझाउन लागिपरेको स्रोत बताउँछ ।
यसबाहेक प्राधिकरणका पूर्वकार्यकारी तथा उपकार्यकारी निर्देशकहरु पनि प्राधिकरण फर्कन इच्छुक छन् । उनीहरुले दलका नेताहरुसँगको भेटघाट बढाएका छन् । यो दौडमा सबभन्दा बढी पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले कस्सिएको मन्त्रालय स्रोत बताउँछ । स्रोतका अनुसार, उनी पाएसम्म आफैं, नभए आफ्ना विश्वासिला पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाटलाई ल्याउन कस्सिएका छन् ।
प्राधिकरणकै केही बहालवाला अधिकारी पनि कार्यकारी निर्देशकका रुपमा काम गर्न इच्छुक छन् । उनीहरु खुलेर लबिङमा भने लागेका छैनन् । कुलमान घिसिङले दोहोरिने इच्छा देखाएपछि उनको टिममा काम गरेका बहालवाला उपकार्यकारी निर्देशकहरुलाई खुला पहल गर्न अप्ठेरो परेको छ ।
प्राधिकरणका एक पूर्वउपकार्यकारी निर्देशक घिसिङको इच्छा थाहा भएपछि उनलाई समर्थन गर्दै आफूले दावेदारी नराख्ने निर्णय लिएको बताउँछन् ।
कुलमानको पुनः नियुक्तिको चर्चा
सामाजिक सन्जालमा घिसिङलाई अर्को कार्यकालका लागि पुनः नियुक्ति गर्नुपर्ने माग उठेको छ । भदौ १ गते भएको प्राधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रममा आधिकारिक ट्रेड युनियनले समेत घिसिङलाई अर्को कार्यकाल पनि काम गर्न दिन माग गरेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन प्रमुख अतिथि रहेको कार्यक्रममा भएको त्यो मागले घिसिङको पुनः नियुक्ति सम्बन्धी बहस सुरु गरेको थियो । नेपाल विद्युत् प्रधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले ४ वर्षमा घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति गरेकाले प्राधिकरणको ३६ औं वार्षिकोत्सव पनि यही टिमले मनाउन पाउनुपर्ने बताएका थिए ।
‘हामी कर्मचारीलाई ४ वर्षअघि प्राधिकरणको ड्रेस लगाएर हिँड्न नसक्ने अवस्था थियो । अहिले म प्राधिकरणको कर्मचारी हुँ भनेर छाती फुलाउने अवस्था छ । यो कुलमान घिसिङकै नेतृत्वमा सम्भव भएकाले सरकारले मूल्याङ्कन अवश्य नै गर्नेछ भन्ने अपेक्षा छ,’ उनले भनेका थिए ।
कार्यक्रममै सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीले पनि १४ घण्टाको कहालीलाग्दो लोडसेडिङ अन्त्य गर्न सफल भएकाले प्राधिकरणको अहिलेको टिमलाई नै काम गर्न दिनुपर्ने बताएका थिए ।
घिसिङलाई दोहोर्याउन चौतर्फी माग भइरहे पनि दोस्रो कार्यकालका लागि उनी नियुक्त हुन्छन् भन्न सकिने अवस्था भने छैन । राम्रो काम गरेर सर्बत्र कमाएको प्रशंसा र मिडियाप्रेमी छवी नै पनि उनको लागि समस्या भएको प्राधिकरण स्रोत बताउँछ ।
‘कार्यसम्पादनको आधारमा घिसिङको कार्यकाल दोहोरिने सम्भावना पछिल्ला दिनमा नबढेको भने होइन’, स्रोत भन्छ, ‘कदाचित लोकप्रियता र कार्यसम्पादन रेकर्डले काम गर्यो भनेचाहिँ उनले मिडियाप्रेम त्यागेर अघि बढ्नुपर्ने हुन्छ ।’
अहिले प्राधिकरणको सञ्चालक समितिमा ऊर्जामन्त्री वर्षमान पुन आफैं छन् । तर, प्राधिकरणको हरेक नीतिगत निर्णयसहित मार्गदर्शन गरिरहेका मन्त्रीको भन्दा बढी घिसिङको चर्चा हुने गरेको छ ।
प्राधिकरणको सुधारमा सिंगै टिमको योगदान रहेपनि व्यक्ति केन्द्रित चर्चाका कारण घिसिङ दोहोरिन असहजता भएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।
‘उहाँ जत्तिको काम गर्ने मान्छे अहिले प्राधिकरणका लागि उपलब्ध छैनन्,’ ती अधिकारी भन्छन्, ‘केही कुरा सुधारेर अघि बढ्ने अठोट भयो भने कुलमान घिसिङ दोहोरिने सम्भावना नकार्न सकिँदैन ।’ अनलाइनखबर
प्रतिक्रिया