ताजा अपडेट
सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/०८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ ।
प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेको थियो । सो बजेट कार्यक्रम पुस्तिका ९रातोकिताब० हालसम्म प्रदेश सभामा छलफलको लागि पेस नगरी बजारमा आएको कांग्रेसले दाबी गरेको हो ।
धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको राजीनामा समेत माग गरेको छ । कांग्रेसका सांसद तथा पूर्वमन्त्री प्रकाश देउवाले हालसम्म प्रदेश सभामा पेस नगर्दै बजारमा रातोकिताब पाउनु गम्भीर कुरा रहेको बताए ।
उनले भने, ‘हाम्रो हातमा पनि अफिसियली रूपमा आएको छैन । हामीले पनि बजारबाट पाएका हौँ । यो किताब व्यक्तिको मोबाइलमा, ह्वाटएपमा आएको छ । यो एकदमै गम्भीर कुरा हो ।’ प्रदेश सरकारले बजेट निर्माणमा प्रक्रिया समेत पुरा नगरेको सांसद देउवाको आरोप थियो ।
त्यस्तै कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमल बहादुर शाहले सरकार गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा माग गरे ।उनले भने, ‘हामी सडक र सदनमा सरकारविरुद्ध प्रतिरोध गर्छौ । सरकारले नैतिक रूपमा राजीनामा दिनुपर्छ ।’
तर प्रदेश सरकारले कुनै पनि माध्यममा हालसम्म रातोकिताब नराखेको जनाएको छ । सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले आधिकारिक रूपमा रातोकिताब सार्वजनिक नगरिएको बताए । उनले अर्थ सचिव सरुवा भएको कारण रातोकिताब सार्वजनिक हुन नसकेको भन्दै केही दिनमै सार्वजनिक गर्ने बताए ।
रातोकिताब सामाजिक सञ्जालमा आएको विषयमा मन्त्री पालले त्यसबारे अध्ययन गरिरहेको र आफू गृह जिल्ला बैतडी रहेको प्रतिक्रिया दिएका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया