ताजा अपडेट
कैलालीमा बढ्यो तस्करी, १२ करोडको सामान जफत

धनगढी । नेपाली बजारमा महंगीले आकाश छोइरहँदा भारती बजारबाट नेपाली बजारमा चोरी पैठारी गरी सामान भित्रिने क्रम बढेको छ । जिल्ला भन्सार कार्यालय कैलालीका अनुसार प्रहरीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ११ करोड ८० लाख ९८ हजार १२ रुपैयाँको सामान बरामद गरी भन्सारको जिम्मा लगाएको छ ।
यो अवधिमा एक हजार तीन सय ४९ वटा तस्करी तथा चोरी पैठारीको मुद्दा दर्ता भएको जिल्ला भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ८४ लाख चार सय ८६ रुपैयाँको मालसामान भन्सार छली ल्याइएको भनी एक हजार चार सय ७६ वटा मुद्दा दर्ता भएको थियो । पछिल्लो समयमा प्रहरीले दैनिक रुपमा भन्सार छलीको सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाइरहेको छ ।
भन्सार कार्यालयका मुद्दाफाँटका नायब सुब्बा पहलबहादुर केसीका अनुसार कपडा, चिनी, मिठाई, चकलेट, सूर्ती, बिडी, मलखाद, मोबाइल, मोबाइल पार्टस्, आलु, प्याज, गहुँ, प्लाष्टिक झिल्ली, कूलर, ब्रोइलर कुखुरा, हार्डवेयरका सामान, ब्याट्री, सवारी साधनका पार्ट पुर्जा लगायतका सामानहरु बढि चोरी पैठारी हुने वस्तुमा हुन् । उनले चोरी पैठारीमा प्रयोग गरिएको मोटरसाइकल, गाडी समेत प्रहरीले भन्सार कार्यालयमा बुझाउने गरेको बताए ।
भारतसंग कैलालीको सीमाना जोडिएको क्षेत्रबाट मात्रै नभई कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका सीमाना जोडिएका नाका क्षेत्रबाट चोरी पैठारी हुन थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले सीमा नाकामा प्रहरीले सक्रियता बढाएको कारणले पनि भन्सार छलीका सामान बरामद हुने दर बढेको बताए । उनले भारतसंग सीमाना जोडिएको जिल्लाका हरेक नाकामा प्रहरी खटिएको बताए ।
उनले नाकामा खटिएको प्रहरीले दिनहुँ चोरी तस्करी गरी ल्याएको सामान बरामद गर्ने गरेको बताए । जिल्ला प्रहरीले गत आर्थिक वर्षमा सात करोड ९० लाख तीन हजार पाँच सय ९२ रुपैयाँको भन्सार छलीको मालसामान भन्सारमा बुझाएको थियो । सो वर्ष सबैभन्दा बढी बैशाख महिनामा भन्सार छली ल्याएको एक करोड २१ लाख एक हजार ९३६ रुपैयाँको मालसामान बरामद गरी भन्सारलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरीले समेत भन्सार छलिका सामान फेलापारी भन्सार कार्यालयको जिम्मा लगाउने गरेका छन् । जिल्ला भन्सार कार्यालय कैलालीले पनि चाडपर्वको बेला बजारमा माग बढी हुने भएकाले व्यापारीहरुले बढी सामान आयात गर्ने गरेको र यो समयमा चोरी पैठारी पनि बढी हुने गरेको जनाएको छ । नायब सुब्बा केसीले प्रहरी कार्यालयले अहिले दैनिक जसो भन्सार छलीको सामान ल्याएर भन्सार कार्यालयमा बुझाइरहेको बताए ।
उनले चाडपर्वको बेला माग बढी हुने भएकाले स्वाभाविक रुपमा चोरी पैठारी पनि बढ्ने गरेको बताए । जिल्ला भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा फागुन मसान्तसम्म दर्ता भएका मुद्दा मध्ये सात सय २० वटा मुद्दाको फैसला भएको छ । ती मुद्दाहरुमा छ करोड ४९ लाख ७४ हजार रुपैयाँको सामान तस्करी गरी ल्याएको अभियोगपत्र दर्ता भएको थियो ।
यसैगरी, भन्सार कैलालीले तस्करी गरी ल्याएका सामानको चार सय ६० वटा लिलाम गरेको छ । यसबाट भन्सारले एक करोड दुई लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको भन्सार कैलालीका मुद्दा फाँटका नायब सुब्बा केसीले बताए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
-
साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार
-
बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो
प्रतिक्रिया