ताजा अपडेट
सुन तस्करमाथिको एउटा सफल अपरेसन : रफ्तारमा कुदेको कारमा रहेको बोराभरि पैसा
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनालीको मोबाइलमा २०७७ असार ३० गते एउटा एसएमएस आयो- 'भैरहवाबाट एक जना व्यक्ति कारमा बोराभरी पैसा लिएर बुटवल जाँदैछन्।'
भैरहवाबाट बुटवलको दुरी २८ किलोमिटर छ, त्यो दूरी कारमा २५ मिनेटको हाराहारीमा तय गर्न सकिन्छ।
ठूला कारोबार क्यासलेस भइरहेको अहिलेको समयमा मान्छेले किन बोराभरी पैसा बोक्यो? कतै यो पैसा दुई नम्बरी धन्दाको त होइन? मैनालीसँग यी प्रश्नको जवाफ खोज्ने समय समेत थिएन।
कारण बुटवलको शहरभित्र छिरेपछि त्यो कार भिडमा हराउन सक्थ्यो। बोरामा बोकेको पैसा अन्यत्र कतै पुग्न सक्थ्यो। समयमा कार नियन्त्रणमा नलिए दुई नम्बरी धन्दाको जालो पर्दाफास नहुन सक्थ्यो।
मैनाली आफैं काठमाडौंमा थिए। उनले तत्काल कोर्डिनेसन गरेर आफ्नो टीमलाई तीब्र गतिमा कार आउने बाटोमा कुदाए। उनको टीमले मैनालीलाई एसएमएस आएको १० मिनेटभित्रै बुटवलको मुख्य बजार चौराहामा कारलाई रोक्यो। डिक्की खोल्दा बोरा फेला पर्यो। बोराभित्र ७५ लाख रुपैयाँ बराबरका हजार र पाँच सयका बिटा थिए। कार थियो भैरहवामा बस्ने सुनिल सुनार (सोनी) को। र, त्यो उनी आफैंले ड्राइभ गरिरहेका थिए।
सुनारले रुपन्देहीको सिद्धार्थनगर-१२ मा सोनी ज्वेलर्स र सोनी गोल्ड एण्ड सिल्भर गरेर दुई वटा पसल सञ्चालन गरिरहेका छन्। उनका दुई जना श्रीमती छन्, एक जना पाल्पामा माइती भएकी नेपाली र अर्की भारतीय। दुवै जना भैरहवामा फरकफरक ठाउँमा बस्थे।
सुनारलाई कारोबारमा सघाइरहेका थिए अमित परियार र काकाले पनि।
'हामीसँग सुनारले सुनचाँदीको गैरकानूनी कारोबार गर्छन् भन्ने ६ महिनादेखिको सूचना थियो। त्यही भएर हामीले रंगेहात पक्राउ गर्न उनका पछि सुराकी छाडेका थियौं। त्यही कारण सुराकीले हामीलाई सटिक सूचना दिए र हामीले पनि सुनारलाई ७५ लाख नगदसहित पक्राउ गर्न सफल भयौं,' महानिर्देशक मैनालीले भने।
सुनारले लामो समयदेखि नेपालबाट भारततर्फ गैरकानूनी रूपमा सुन-चाँदी पठाइरहेका थिए। भन्सार नतिरी गैरकानूनी कारोबार गर्दा उनले हुण्डीको समेत काम गरिरहेका थिए। उनको यो गैरकानूनी धन्दाका बारेमा राजस्व अनुसन्धान विभागलाई सूचना आएको थियो।
त्यही सूचनाका आधारमा मैनालीले सुनार र सुनारका कम्पनीको ब्याकग्राउण्ड अध्ययन गरे। ती अध्ययनमा सुनार गैरकानूनी कारोबारमा संलग्न भएका प्रशस्त जानकारीहरु प्राप्त भए। त्यसपछि उनले सुनारका पछि भरपर्दो सुराकी परिचालन गरे।
र, त्यही सुराकीको सूचनाका आधारमा असार ३० गते पक्राउ परेका सुनारविरुद्ध विभागले थप छानविन गरेर मंगलवार दुई अर्ब ३९ करोड ५५ लाख रुपैयाँ बिगो असुल गर्न मागदाबीसहित मुद्दा दायर गरेको छ।
सुनार पक्राउपछि मुद्दा दायर गर्दासम्मको तीन महिना पनि पूरै फिल्मी शैलीमा बित्यो।
कारमा मात्रै होइन्, सुनारको घरमा समेत बोरामा थप पैसा छ भन्ने सूचना विभागसँग थियो। विभागले असार ३० गते सुनारलाई नियन्त्रणमा लिएपछि छानबिन टोली उनको घरमा पुग्यो। खानतलासी गर्दा घरमा भने खासै धेरै पैसा भेटिएन।
अरु सूचना सटिक हुने तर घरको बोरामा पैसा छ भन्ने सूचना किन सटिक भएन? प्रश्न उठ्यो। सँगै सुनार पक्राउ परेपछि पैसा कतै घरबाट बाहिरियो कि भन्ने शंका पनि उत्पन्न भयो।
त्यसको जवाफ खोज्ने क्रममा सुनारको घर नजिकै एउटा सीसीटीभी क्यामरा भेटियो।
सीसीटीभीमा हेर्दा सुनार पक्राउ परेपछि एउटा स्कुटीमा घरबाट बोरा बाहिर लैजाँदै गरेको फुटेज भेटियो।
बोरामा के थियो भनेर केरकार गर्दा घरका मान्छेले पसलबाट ल्याएको आँटा नराम्रो परेपछि फिर्ता गरेको भन्ने जवाफ दिए। कुन पसल भनेपछि उनीहरुले छिमेकको एउटा पसल देखाए। राजस्व अनुसन्धानको एउटा टोली त्यहाँ पुगेर केरकार गर्दा पसलेले पनि हो भन्ने स्वीकार गरे। तर, उनको पसलमा भएको बोरा र स्कुटरबाट बाहिर निस्कँदै गरेको बोराको रूपरङ नमिलेपछि विभागको टोलीले पसलेलाई केरकार अझ बढाए। केरकारमा पसलेले आफूकहाँ बोरा फिर्ता नआएको बल्ल स्वीकार गरे।
यति हुँदा पनि बोराबाट बाहिरिएको पैसा भने ट्रेस हुन सकेन। सुनारका काकाले त्यो बोरा लगेको र उनी त्यसयता फरार रहेको विभागले जानकारी दिएको छ।
'फरार काका र बोरा खोज्न हामीले प्रहरीसँग पनि सहयोग मागेका थियौं। कोरोना लगायतका कारणले खोज अझै सफल भएको छैन, तर हाम्रो प्रयास जारी छ,' विभागका एक जना अधिकारीले भने।
सुनार पक्राउ परेपछि उनको पसल र कार्यालयमा समेत राजस्वले छापा मार्यो। त्यहाँबाट पनि थप २५ लाख हाराहारी नगद बरामद भएको छ। यसरी सुनारबाट झण्डै एक करोड रुपैयाँ मात्रै नगद केही थान गाडी, उनको मोबाइल लगायतका सामान राजस्वले बरामद गरिसकेको छ।
यता चौराहाबाट पक्राउ परेका सुनिल र अमितलाई परीक्षणका लागि अस्पताल लैजाँदा कोरोना देखियो। कोरोनाका कारण परियारको स्वास्थ्य अप्ठ्यारो अवस्थामै पुगेपछि उनलाई बुटवलस्थित धागो कारखाना भित्रको अस्थायी कोभिड अस्पतालमा भर्ना गरियो।
पाल्पा माइती भएकी उनकी श्रीमती आएर अनुसन्धान अधिकृतसँग 'कोरोना लगाएर मेरा श्रीमानलाई मार्ने भयौ' भन्दै कराउन थालिन्। अनुसन्धानमा मानवीय पक्ष पनि जोडिएपछि राजस्व अनुसन्धान विभागलाई केही समय अप्ठ्यारो पनि पर्यो। तर अनुसन्धान त अनुसन्धान नै हो, छोड्न भएन।
परियार कोरोनामुक्त भए। विभागसँग थप सूचना थियो परियारसँग भारतीय नागरिकको परिचयपत्र समेत छ भन्ने। त्यसलाई कसरी भेरिफाइ गर्ने? परियार बेलाबेलामा क्यासिनो जान्छन् भन्ने जानकारी विभागमा आयो।
भैरहवामा टाइगर प्यालेस रिसोर्टमा एउटा क्यासिनो छ। क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ। यसको अर्थ यदि परियार टाइगर प्यालेस गएका छन् भने त त्यहाँ केही न केही भारतीय डकुमेन्ट छाडेका होलान्।
विभागको टोलीले टाइगर प्यालेससँग त्यहाँ क्यासिनो खेल्न आउने भारतीय गोल्डकार्ड धनीको सूची माग्यो। त्यो सूचीमा एउटा नाम देखियो, सुनिल सोनी। सुनिल सुनारसँग तस्वीर मिल्ने सुनिल सोनीले के आधारमा त्यो गोल्ड कार्ड लगेका थिए भनेर डकुमेन्ट माग्दा उनको भारतीय भोटर कार्ड फेला पर्यो।
विभागले त्यो भोटर कार्डलाई प्रमाणित गर्न भारतीय दूतावासमा पठायो। दूतावासले समेत उनी भारतीय नागरिक रहेको प्रमाणित गरेर विभागमा पठाएको छ। त्यसैगरी विभागले सुनारको मोबाइललाई केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठायो।
सुनारको बैंक कारोबार, लेजर, विधि विज्ञान प्रयोगशालामा भएको डिजिटल फरेन्सिक ल्याबमार्फत् उत्खनन् गरेका सूचनाका आधारमा सुनिल सुनार अर्थात् सुनिल सोनीले सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरेर राजस्व चुहावट गरेको पत्ता लाग्यो।
पछिल्लो डेढ वर्षमा उनले भन्सारबाट दुई अर्ब २३ करोड १३ लाख रुपैयाँको सुन तथा चाँदी भन्सारबाट चोरी निकासी तथा पैठारी गरेको र त्यसबापत १६ करोड ४१ लाख रुपैयाँ आयकर छलेको आरोपमा विभागले उनलाई दुई अर्ब ३९ करोड ५५ लाख रुपैयाँको मुद्दा सोमवार उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा दर्ता गरेको छ।
त्यसैगरी उनले बैंकमार्फत् गरेको कारोबारमा पैसा निक्षेप राखिदिने तथा उनले भुक्तानी दिएका कारोबारलाई थप ट्रेल गरेर विभागले अनुसन्धान अगाडि समेत बढाइरहेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव
-
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
प्रतिक्रिया