Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

पुरानो भाइरसले नछोड्दै नयाँ

पुरानो भाइरसले नछोड्दै  नयाँ

ल्याङल्याङ अर्थात् थकान, कमजोरी र सासमा समस्या भएका बिरामी आज पनि अर्थात् १० महिनापछि टेकु अस्पताल धाइरहेका छन्। भाइरस तथा रोग नयाँ भएकाले कसैले यस्तै र यति दिनमा भन्न सक्ने अवस्था छैन। तथ्यांकमा सबैभन्दा बढी प्रभावित युवा नै छन्। केहीमा कोभिडमुक्त वा उपचारपछि स्वास्थ्यमा निरन्तर लक्षण देखिने गरेको वा केही हप्ताको अन्तरालमा ल्याङल्याङ वा पहिलेजस्तै गुणस्तरीय जीवनमा फर्कन सकेको देखिँदैन।

खोजमा लक्षण सामान्य भए दुई हप्ता र कडा भए पाँच हप्तामा पूर्णरूपमा स्वास्थ्यलाभ भएको देखाउँछ। तर अचम्म के छ भने १८ देखि ३० वर्ष उमेरकामा श्वासप्रश्वासदेखि मानसिक समस्यासम्म देखिई चिन्तित छन्। अहिले पनि चार लाख संक्रमित अमेरिकीहरू तीन हप्तापछि काममा फर्कन सकेका छैनन्, जसमा १८ देखि ३४ वर्षका करिब एक लाख छन्।

जाडोमा बढ्न सक्ने  

जाडोयाममा तापक्रम घटेसँगै गम्भीर बिरामी र मृत्यु बढ्दै जानुका कारणमा होम आइसोलेसनमा बस्ने बढी र गम्भीर भए मात्र समस्या लिएर अस्पताल जानु, जाडोमा कोरोना संक्रमित दीर्घरोगीलाई निमोनिया, वायु प्रदूषणको दोहोरो संक्रमण, संक्रमण समुदायस्तरमा पुगेकाले वृद्धवृद्धामा पनि संक्रमण भई गम्भीर समस्या थपिनु, अक्सिजन चाहिने संक्रमितको संख्यामा वृद्धि नहुनु र जटिल प्रकृतिका बिरामी थपिँदै जानु पर्छन्।

त्यसो त स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनसम्मिलित एक सर्वेक्षणले सेप्टेम्बर महिनामै नेपालमा कोरोना संक्रमित १२ प्रतिशत अर्थात् ३९ लाख रहेको निष्कर्ष निकालेको छ। त्यसपछि झनै संक्रमण र संक्रमित बढिरहेका छन्। नेपालमा यस्ता बिरामी बढी हुन सक्ने आकलन छ। तर आजसम्म आईसीयू र भेन्टिलेटर पुगिरहनु अर्थात् जटिल कम हुनु राम्रो पक्ष हो।

नयाँ कोभिड 

लन्डनमा गम्भीर समस्या ननिम्त्याउने कोभिड भाइरसको नयाँ संस्करण पत्ता लागेसँगै विश्वमा फरकफरक लक्षण देखाउने ६ प्रकारका कोभिड भाइरस भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। टाइप१ फ्लुजस्तै तर ज्वरो नभएको साथै टाउको दुख्ने, स्वाद थाहा नपाउने, मांसपेसी दुख्ने, खोकी, घाँटी दुख्नेजस्ता लक्षण देखिन्छ। टाइप२ मा ज्वरोसँगै फ्लुका लक्षण साथै टाउको दुख्ने, स्वाद थाहा नपाउने, खोकी, घाँटी दुख्ने, कमजोरी र भोक हराउनेजस्ता लक्षण देखिन्छ। टाइप३ मा ग्यास्ट्रोइन्टेस्टाइनल, टाउको दुख्ने, स्वाद तथा भोक हराउने, झाडापखाला, घाँटी दुख्नेजस्ता लक्षण देखिन्छ तर खोकी देखिएको पाइँदैन।

टाइप४ मा गम्भीर प्रकारको कमजोरीपन मुख्य समस्या देखिन्छ र टाउको दुख्ने, मांसपेसी दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने र छाती दुख्नेजस्ता लक्षण देखिन्छन्। यस प्रकारका संक्रमित गम्भीर बिरामी पर्ने गर्छन्। टाइप५ मा सिभियर लेभल कन्फ्युजनसँगै टाउको दुख्ने, मांसपेसी दुख्ने, ज्वरो र छाती दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखिन्छ। टाइप६ गम्भीर खालको संक्रमण हो र पेट र श्वासप्रश्वाससम्बन्धी साथै टाउको दुख्ने, स्वाद थाहा नपाउने, भोक हराउने, रुघाखोकी, ज्वरो, कमजोरीपन, मांसपेसी तथा छाती दुख्ने, कन्फ्युजन, भाडापखाला, पेट र श्वासप्रश्वासमा समस्या लक्षण देखिन्छ।

पीसीआर शतप्रतिशत होइन

सामान्यतः पीसीआर मेसिनलाई ४० देखि ४५ साइकल रन गराइन्छ। सिटी २० भन्दा कम भएकालाई भाइरसको मात्रा बढी भएको मानिन्छ। पीसीआर रिपोर्ट गलत आउनाका कारणहरू संक्रमणको विन्डो पिरियड अर्थात् सम्पर्क भएको पाँचदेखि सात दिनभित्रै पीसीआर गरिनु नमुना अर्थात् स्वाब संकलनमा त्रुटि (मुखबाट लिएको स्वाबमा ३० र नाकबाट लिएको स्वाबमा ६६ प्रतिशत सेन्सिटिभ छ। सफल बनाउन दुवै स्थानबाट स्वाब लिन जरुरी छ। ल्याबको कट अफ भ्यालु र किट उपयुक्त तापक्रम नहुँदा आरएनए भाइरस अस्थिर छ। स्वाब, वातावरण तथा सामग्रीमा इन्हिविटर भए गलत पीसीआर हुन्छ। तसर्थ रिपोर्ट जे आए पनि वा परीक्षण नगरी शंकास्पद लक्षण देखिनासाथ १० दिन आइसोलेसनमै बस्नपर्छ।

पोस्ट कोभिडका खोज

लन्डनस्थित किङ्स कलेजले प्रकाशित एक प्रतिवेदनमा निको भएका संक्रमितमा कोरोना संक्रमण भएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिएमा दीर्घ कोभिड लाग्ने खतरा हुने उल्लेख छ। संक्रमणको पहिलो साता बिरामीलाई यदि थकाइ महसुस, टाउको दुख्ने, श्वास लिन कठिन÷गाह्रो, आवाज गह्रौं, मांसपेसी तथा शरीर दुख्नेजस्ता लक्षण देखिए उसलाई दीर्घ कोभिड हुने संकेत मान्न सकिन्छ। पीसीआर रिपोर्ट नेगेटिभ आइसक्दा पनि रुघा, खोकी, सास लिन गाह्रो, मांसपेसी दुख्ने र धेरै थकाइ लाग्ने जस्ता समस्या भइरह्यो भने ती दीर्घ कोभिडका लक्षण हुन सक्छन्। बेलायत र स्विडेनका गरी ४० हजार संक्रमितलाई सहभागी गराई भएको खोजमा २० प्रतिशत व्यक्तिले एक महिनासम्म र दुई प्रतिशतले १० हप्तासम्म पनि पूरा निको नभएको अनुभव सुनाएका थिए।

युनिभर्सिटी कलेज अफ लन्डनको अध्ययनमा कोभिड– १९ को संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्णरूपमा समाप्त पारिदिन सक्ने बताएको छ। सुन्ने क्षमता घट्नु र कानमा आवाज गुन्जिनुको लक्षण पनि कोरोना र फ्लुका बिरामीमा देखिन सक्छ। अर्को खोजमा निको भएका २० प्रतिशतमा एन्जाइटी, डिप्रेसन र अनिद्राजस्ता मानसिक समस्या देखिने गरेको छ। अक्सफोर्ड विश्वविद्यालयको खोजमा संक्रमण भएको दुईदेखि तीन महिनासम्म पनि असर देखिइरहेको छ। संक्रमणबाट मुक्त भइसकेका ६४ प्रतिशत व्यक्तिलाई निकै समयसम्म कोरोनाको असर श्वास लिन गाह्रो, थकान, बेचैनी र डिप्रेसनजस्ता लक्षण भइरहेको देखाएको छ। 

कोभिड संक्रमणबाट निको भएकामा पल्मोनरी फाइब्रोसिससँगै फोक्सोसम्बन्धी अन्य समस्या देखिन थालेका रिपोर्टहरू सार्वजनिक भइरहेका छन्। लक्षण नै नदेखिनेमा पनि फोक्सोमा बादलजस्ता सेता प्याच क्षति भएको क्यालिफोर्नियास्थित स्क्रिप्स ट्रान्सलेसन रिसर्च इन्स्टिच्युटले जनाएको छ। संक्रमणअघि फोक्सोसम्बन्धी कुनै समस्या नभएकामा यस्तो देखिन थालेपछि सक्रमणका बेला भएको निमोनियाको असर लामो समय रहने गर्छ कि भन्ने त्रास उत्पन्न भएको छ।

हजारौं निरन्तरको कोभिडबाट ग्रस्त भएका छन् र संक्रमित वृद्धि हँुदै जाँदा दीर्घ कोभिड बेहोर्नेको संख्या पनि बढ्ने देखिन्छ। निरन्तरको लक्षणले श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियो भ्यास्कुलर प्रणाली, आन्द्रा, कलेजो, मिर्गौला र छालासम्म प्रभाव पारिरहेका छन्। जसलाई कोभिड भएको पत्ता नै छैन, तिनमा दीर्घ प्रभाव हप्तौंसम्म भेन्टिलेटरको सहारामा बाँचेकामा भन्दा पनि ज्यादा देखिएका छन्।

  अन्त्यमा, विश्वकै लागि कोरोना नौलो भाइरस भएकाले केकस्तो दीर्घकालीन असर पार्छ भन्ने पर्याप्त ज्ञान छैन। भाइरसमुक्त हुनु भनेको शारीरिक तथा मानसिक रूपमा पूर्ण स्वस्थ हुनु हो भन्ने होइन। अनुभवमा पूर्ण शारीरिक जाँच प्रयोगशाला परीक्षणसहित पछि पनि समस्या नदेखिएको अवस्थामा विस्तारै शारीरिक व्यायामलाई प्राथमिकता दिँदै जाने, ध्यान गर्ने र आफ्नो काममा केन्द्रित हुने गर्दा समयक्रममा पोस्ट कोभिड असर सुधार हुँदै जान सक्ने भए पनि युवा हँु भनेर कोरोना संक्रमणबाट बच्न हेलचेक्रयाइँ गर्नु हँुदैन। तथापि संक्रमणमुक्त भएकामा कम्तीमा ६ महिना खोप लगाएपछिको अवस्थाजत्तिकै हुने न्यु इङल्यान्ड अफ मेडिसिनमा डिसेम्बर २३ मा प्रकाशित छ। अमेरिकी राष्ट्रिय क्यान्सर संस्थानको ३० लाख बढीको अध्ययनमा ०.३ प्रतिशतमा मात्रै एन्टिबडी हँुदाहँुदै पनि कोरोना संक्रमण भएको र ३ प्रतिशतमा एन्टिबडी नै नभएको देखिएको छ। अन्नपुर्ण पोष्ट 

–डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।

 

प्रतिक्रिया