संकटमा सैलुन व्यवसाय

काठमाडौं : जो पनि सुन्दर र आकर्षक देखिन चाहन्छन्। आकर्षक बन्न महत्वपूर्ण भूमिका सैलुन व्यवसायको पनि छ। विभिन्न आकर्षक डिजाइनमा कपाल कटाउन, दाह्री काट्न, फेसियल गराउन, कपाल कलर गराउन प्रायःजसो सर्वसाधारण सैलुन धाउनै पर्छ। तर, अहिले कोरोनाका कारण यो व्यवसाय पनि संकटमा परेको छ।

कपाल काट्ने एक सिपमूलक व्यवसाय हो। आफ्नो सिप प्रयोग गरेर व्यवसाय सञ्चालन गर्नेहरू अहिले विचल्लीमा छन्। परिवार पाल्न, घरधनीलाई भाडा बुझाउन र कामदारलाई मासिक तलब दिन ठूलो समस्या परेको एक सैलुन व्यवसायीको गुनासो छ। कोभिडले सैलुन व्यवसाय धराशयी बनाएको बाराका बिहारी ठाकुरको गुनासो छ।

कपनमा शिवम् नामबाट दुईवटा सैलुन पसल सञ्चालन गरेका बिहारीको चैत ११ गतेदेखि व्यवसाय पूर्ण रूपमा बन्द छ। व्यवसाय बन्द भएपछि उनलाई परिवार पाल्न धौधौ छ।

बिहारीका दुई भाइसँगै १४ जनाको परिवार कपनमा एउटा फ्ल्याट भाडामा लिएर बस्दै आएका छन्। यसका लागि मासिक साढे १७ हजार भाडा र दुईवटा १०÷१० हजार गरी २० हजार पनि तिर्नुपर्छ। ‘पसल बन्द हुँदा कोठा र पसलको भाडा तिर्न मुश्किल भयो’, बिहारीले भने, ‘एउटा पसलको एक महिनाको भाडा छुट पाउँदा खुसी लाग्यो तर अर्को पसलको घरधनीले छुट दिनुभएन।’

सामाखुसी हेयर स्टाइल सैलुनका सञ्चालक रामजनमलाई पनि बिहारीको जस्तै समस्या छ। रामजनमले कोठा र पसलको मासिक २२ हजार रुपैयाँ तिर्दै आएका थिए। सञ्चिती रकम सकिएकाले अब दैनिक गर्जो टार्न कठिन भएको उनले सुनाए। व्यवसाय बन्द भएपछि कामदार घर फर्केका छन्। वातावरण राम्रो होला भनेर कामदारलाई दुई महिना बसाएर राख्दा त्यो दुई महिनाको तलब दिन उनलाई सकस भएको छ।

विराटनगरको जनपथ मेकअप हेयर ड्रेसर सैलुनका सञ्चालक शिवशंकर ठाकुरले कोभिडअघि कमाएको पैसा सकिएको बताए। व्यवसाय बन्द भए पनि आफूबाहेक सबैलाई घर पठाएको शिवशंकरले जानकारी दिए।

शिवम्, सामाखुसी र जनपथ मात्र होइन कोरोनाले करिब शतप्रतिशत सैलुन व्यवसाय बन्द भएका छन्। भित्री गल्लीमा केहीले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर पसल सञ्चालन गरे पनि ग्राहक अभावमा सञ्चालन खर्च पनि नआउने उनीहरूको भनाइ छ।

केही समयअघि लकडाउन खुला भए पनि संक्रमण बढ्दा सरकारले व्यवसाय सञ्चालनमा रोक लगाएको छ। सैलुन सिप सिकेका नेपालीले नेपालमा मात्रै होइन, वैदेशिक रोजगारीमा समेत राम्रो कमाइ हुन्छ। सैलुन व्यवसाय बन्द भएपछि कतिपय सर्वसाधारणले आफै मेसिन राखेर दाह्री र कपाल काट्ने गरेका छन्।

नयाँ बसपार्कस्थित जय माँ दुर्गा हेयर इन स्टाइल ब्युटी सैलुनका सञ्चालक राजकुमार ठाकुरले पाँच महिनादेखि पसल र डेराको घरवेटीलाई भाडा तिर्न नसकेर घर फर्केका छन्। ‘छुट पाउन सके ठूलो राहत हुन्थ्यो’, नेपाल नाइ संघको बसपार्क इकाइ अध्यक्ष समेत रहेका राजकुमारले भने, ‘घरबेटीले भाडा पठाउ नत्र कोठा फोड्छु भनेर सातापिच्छे फोनमार्फत धम्काउँछन्।’अर्थविद् डा. चन्द्रमणि अधिकारीले सैलुन व्यवसाय सर्वसाधारणसँग अत्यन्त निकट सम्बन्ध बनाएर सञ्चालन गर्नुपर्ने भएकाले अत्यधिक जोखिममा परेको बताए। पछिल्लो समय तराई मधेसका लाखभन्दा बढी नेपालीले यो व्यवसायबाट रोजगारी पाइरहेको थिए। सरकारले कम्तीमा घरभाडा छुटका लागि पहल गरिदिनुपर्ने अधिकारीको सुझाव छ।

राज्यले सैलुन व्यवसायीको व्यवसाय जोगाउन विशेष ध्यान दिनुपर्ने उनले बताए। ‘यसमा आबद्घ सबै अहिले बेरोजगार छन्’, अधिकारीले भने, ‘यसमा निम्न र मध्यम वर्गका भएकाले सरकारले सहयोग प्याकेज दिनै पर्छ। नाई संघ र स्थानीय सरकारले समन्वय गरी सुरक्षा सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ।’

यसवाहेक केन्द्रीय सरकारले नीतिगत समन्वय गरी आवश्यक कोषको व्यवस्था गर्नुपर्छ। ‘केन्द्रीय सरकारले नीति र आर्थिक सहयोग गरेमा व्यवसाय पुनः लयमा फर्कन सक्छ’, अधिकारीले भने, ‘स्थानीय तहले नियमन गर्ने, आचारसंहिता कडाइका साथ लागू गराएर दुई तीन जना रहने ठाउँमा एकजनाबाट मात्रै व्यवसाय सञ्चाल गर्ने व्यवस्था मिलाउनुपर्छ।’देशभर १६ हजार ६ सय सैलुन छन्। सैलुन व्यवसायले झण्डै एक लाखको संख्यामा रोजगारी उपलब्ध गराएको छ।

सैलुनमा ५० हजारदेखि ५० लाखसम्म लगानी छ। अत्याधुनिक सपिङ मलमा सञ्चालन भएका सैलुनमा भने ५० लाखभन्दा बढी लगानी छ। साना सैलुनमा कम्तीमा ३ जना र ठूलामा १५ जनासम्मले रोजगारी पाएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले सैलुन व्यवसाय उच्च जोखिममा रहेको बताए। ‘यो व्यवसाय अन्य क्षेत्रको तुलनामा अत्यधिक नोक्सानीमा परेको छ’, उनले भने। सरकारले सैलुनलाई सेवा उद्योगमा राखेको छ। घरेलु तथा साना उद्योग कार्यालय र स्थानीय तहमै दर्ता हुने व्यवस्था छ।

राज्यले पूर्णरूपमा बेवास्ता गर्‍यो

राजाराम ठाकुर

-केन्द्रीय अध्यक्ष, नेपाल नाई संघ

कोरोनाबाट हामी तीन तरिकाले समस्यामा परेका छौं। हाम्रो व्यवसायलाई राज्यले पूर्णरूपमा बेवास्ता गरेको छ। व्यवसाय बन्द हुँदा जहान र आफ्नो जसोतसो पेट पाल्न सकिन्छ। तर, बालबालिकाको पेट कसरी भर्ने, त्यो टड्कारो समस्या छ। घरधनीले पनि राहत दिनुको साटो दैनिक धम्काएर भाडा माग्छन। हाम्रो त सुन्ने पनि कोही छैन।

भाडा छुट गर्न केही समयअघि सरकारको ध्यानाकर्षण गराए पनि त्यसलाई पनि बेवास्ता गरिएको छ। घरधनीसँग छुट माग्दा खाली गर भनेर धम्काउँछन्। सरकारले घरधनीलाई करछुट गरी पसलको भाडा मिनाहा, बैंकको ब्याज मिनाहा र तत्काल केही राहत दिएर दुई छाक टार्न सहयोग गर्नुपर्छ।

राहतका लागि भएभरका सबै निकायमा गुहार्‍यौं। तर, कतैबाट केही पाइएन्। अब त भोकले मर्नुभन्दा रोगले मर्नु राम्रो लाग्न थाल्यो।