Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

नेपालमा एकैदिन थप ३५ को मृत्यु,  ४ हजार ९२८ जनामा  संक्रमण

नेपालमा एकैदिन थप ३५ को मृत्यु,  ४ हजार ९२८ जनामा  संक्रमण

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ८३१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१२ हजार ५८७ जनाको पीसीआर र ९६३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

२४ घण्टामा थप ८ सय ८८ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५६१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार १२७, भक्तपुरमा १८२ र ललितपुरमा २५२ जनामा गरी कुल १ हजार ५६१ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कुन उमेरसमूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०(२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार २६७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उमेर समूह अनुसार यस्तो छ कोरोना संक्रमितको विवरण(

उमेर संक्रमित
०(९ वर्ष – ८९
१०-१९ वर्ष – २९५
२०-२९ वर्ष – १२६७
३०-३९ वर्ष – १२६०
४०-४९ वर्ष – ८७४
५०-५९ वर्ष – ५५२
६०-६९ वर्ष – २९०
७०-७९ वर्ष – ११६
८०-८९ वर्ष – ४०
९०-१०० वर्ष( ३
अज्ञात – ४५

नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ३४ हजार नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ । यसअघि हिजो बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ थियो ।

यी हुन् ५ सय बढी सक्रिय संक्रमित रहेका १२ जिल्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका हाल १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसैगरी १० वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रे, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर छन् ।

आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमित कहाँ कति ?

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ४ सय ४४ जना स‌क्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १०७ जना संक्रमित भेन्टिलेटरमा र ३३७ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ३६ जना संक्रमित आईसीयूमा र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा हाल आईसीयूमा १० जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा १५६ जना आईसीयूमा र ६७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८७ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा २३ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा २० जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा १, झापामा ६५, ताप्लेजुङमा ८, धनकुटामा ३, भोजपुरमा १, मोरङमा १३७, संखुवासभामा १, सुनसरी ५४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ६०, पर्सामा १५०, बारामा ३०, महोत्तरीमा २४, रौतहटमा २१, सप्तरीमा ८, सर्लाहीमा २१ र सिरहामा १२ जनामा कोरोना पाइएको छ।

बाग्मती प्रदेशको काठमाडौंमा मात्र १ हजार १२७ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५१, चितवनमा १३०, दोलखामा ९, धादिङमा १७, नुवाकोटमा ३५, भक्तपुरमा १८२, मकवानपुरमा ४, रसुवामा ११, रामेछापमा १९, ललितपुरमा २५२, सिन्धुपाल्चोकमा २१ र सिन्धुली २५ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११२, गोरखामा १९, तनहुँमा ९, नवलपरासी पूर्वमा २७, पर्वत ५, मनाङ १, म्याग्दी ५, लमजुङमा ९, बागलुङमा ७ र स्याङजामा १८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १८, कपिलवस्तुमा ४१, गुल्मीमा २६, दाङमा १८१, नवलपरासीमा ४१, पाल्पामा ८६, प्यूठानमा ११, बर्दियामा २४, बाँकेमा ४८९, रुकुम पूर्व ३, रुपन्देहीमा ५२८ र रोल्पामा ३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा ३, जुम्ला १४, डोल्पा १, दैलेखमा ६, रुकुम पश्चिममा ५, सल्यानमा १२, सुर्खेतमा १३६ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १३, कञ्चनपुरमा ६३, कैलालीमा ३३९, डडेल्धुरामा ८, डोटी ३५, दार्चुला २, बझाङमा ९, बाजुरामा १ र बैतडीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

नेपालमा एकैदिन थप ३५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । २४ घण्टामा मृत्यु भएकाहरुको संख्या २६ र रिपोर्ट प्राप्त ३५ रहेको मन्त्रालयले जनाएको हो ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २४६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया