ताजा अपडेट
व्यक्ति केन्द्रीत स्वार्थ देखेर लज्जाबोध भएको छः ईश्वर पोखरेल
काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न आव्हान गरेका छन् । काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखापरेका राजनीतिक विसंगति विरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।
स्वर्गीय रिमालले आफ्ना रचनाहरुमा सधै राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दै जबर्जस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरु चुलिँदै गएकाले त्यसविरुद्ध उभिनुपर्ने बताएका हुन् । उनले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन “सपना देख्नेहरूलाई सराप्नेहरू पनि रहेको” भन्दै व्यंग्य गरे ।
उनले भने– “जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबैभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरूलाई सराप्नेहरू पनि छन् । सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन् । तर गोपालप्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुहुन्थ्यो । उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो । धावा बोल्नुभयो । राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरु प्रशस्त देखिन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु चुलिएका छन् । तर निराश हुनुहुँदैन । त्यसको विरुद्धमा उभिनुपर्दछ ।”
उनले राजनीतिक दलका अगुवाहरुमा विकसित हुँदै गएको व्यक्ति केन्द्रीत स्वार्थ देखेर आफुलाई लज्जाबोध हुने गरेको बताए । उनले राजनीतिक वृत्तमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गरे । उनले भने, “राजनीतिक अगुवाहरुले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौ, मैले पाइन, पाउनुपर्ने । नेतृत्व पंक्तिमा रहेका मान्छेहरूको यही कोलाहाल देखिन्छ । यसले एक खाले मान्छेलाई राजनीतिसँग वितृष्णा जगाउँछ ।”
उनले स्वर्गीय रिमाललाई आफुले क्रान्ति आमन्त्रण गर्ने एउटा स्वप्नदर्शी व्यक्ति र आधुनिक प्रवर्तकको रुपमा चिनेको बताए । आफ्ना रचनाका कारण अहिले पनि कालजयी विचारमा बाँचिरहेको उल्लेख गर्दै उनले रिमालको सामाजिक, शैक्षिक, साहित्यिक जागरणमा पुर्याएको योगदानको चर्चा गरे ।
कार्यक्रममा स्वर्गीय रिमालकी पत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो । वरिष्ठ पत्रकार टंक पन्तद्वारा सम्पादित पुस्तक “गोपालप्रसाद रिमाल” पत्रकार गोविन्दप्रसाद दुलालले लेखेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया