Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

जनता ढाँटेको प्रिय लोकतान्त्रिक गणतन्त्र !

जनता ढाँटेको प्रिय लोकतान्त्रिक गणतन्त्र !

पदम भुल 

सामान्यतया गणतन्त्र भन्नाले जनताको तन्त्र अथवा ( जनताको राज्य) भन्ने बुझिन्छ जहाँको शासन तन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति सहजै जिम्मेवार तहमा पुग्न सक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। "लोकतन्त्र" जहाँ  सामान्य जनता वा तिनको बहुमतका इच्छाले चल्ने शासन शासनतन्त्रलाई लोकतन्त्र भनिन्छ । आज विश्वका धेरैजसो देशहरू गणराज्य र लोकतान्त्रिक पनि छन । तेस्तै लिखित र बनावटमा भने हाम्रो देश नेपाल पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बनिसकेको छ । कतिपय अवस्थामा नेपालको संविधानको हिसाबले बिश्वको सबैभन्दा लोकतान्त्रिक संविधान पनि भनिन्छ ।

उसो त संविधान को मर्मलाई औपचारिकता दिन झुटो भएपनि प्रकृया भने मिलाएको पनि देखिन्छ । जहाँ ब्यबस्थित सौचालय छैन, खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ,जहाँ महिलालाई दास, कामगार को रुपमा प्रयोग गरिन्छ,दिन दहाडै महिला हिँसा बलात्कार, अपमान जस्ता घटना ले चरम सिमा नाघेको छ त्यहाँ लैंगिक हिंसा मुक्त लैङ्गिक समानता भनिएको छ, जुन देशमा नागरिक लाइ जातको आधारमा पशुको ब्यबहार गरिन्छ, त्यतिमात्र होइन पानि छोएको निहुँमा मारिन्छ,प्रेम गरेको निहुँमा मारिन्छ, एउटै धर्म संस्कृति मान्ने हरुको बिचमा मठमन्दिर प्रवेश गरेको निहुँमा मारिन्छ कुटिन्छ छुवाछुत जस्तो जघन्य अपराधलाई प्रोत्साहन दिइएको छ, त्यहाँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको छ, जहाँ पैसा र पहुँच अनि ताकत को आधारमा राजनितिक रुपमा पदासीन हुन्छ, जहाँ बौद्धिक क्षमता र योग्यताको आधारमा नभएर धन दौलत गुण्डागर्दी शैलिमा देशको स्थानीय देखि सर्वोच्च पदमा पदासिन हुन्छ, त्यो गणतन्त्र मानिन्छ । जनताको चाँसो र गुनासो एकातिर हुन्छ यता राजनितिक खिचातानी, कुर्सिको लागि गुट उपगुट अन्तमा फुट हुने घृणित चर्तिकलाले देश डुबेको छ,त्यो लोकतन्त्र भनिएको छ । मेरो बिचारमा भने यो लोकतन्त्र गणतन्त्र मान्ने कि झुटतन्त्र, लुटतन्त्र  मान्ने ! मनमा हजारौं प्रश्न उब्जि रहन्छन ।

जनता भोक भोकै मरेका छन,गाँउमा खाने गास र बस्ने बास छैन यिनै गरिबको नाम बेचेर बिदेशी डलर कमाई रातारात करोडपति बनेका छन । युवाहरु बेरोजगारी समस्या ले बिदेशमा खुन पसिना बगाएर जिवन मरणको दोसाँधमा सङ्घर्षरत छन, सोरोजगार कार्यक्रम को नाममा राजनितिक कार्यकर्ता लाइ पालनपोषण हुदैछ, दुर दराजमा नुन पुगेको छैन, यहाँ कुन्टल का कुन्टल सुनको चलखेल भैरहेको छ, कसैले स्वतन्त्र हिसाबले बोल्ने ठाउँ छैन,निर्धक्क हिड्ने अवस्था छैन,नेताले लुटेको छ, शिक्षकले लुटेको छ, ठेकेदार ले लुटेको छ, ब्यापारिले लुटेको छ, गाँउका छोटेराजा हरुले लुटेको छ, असहाय निमुखा बेसाहारा हरुले मानविय जिवनशैली कस्तो हुन्छ भन्ने अनुभव गर्न पाएका छैनन, त्यहाँ समृद्धि का कुरा छन, लोकतन्त्र भनिएको छ । के हजारौं को बलिदानी अरोबौ जनधनको क्षति बाट प्राप्त गरेको यहि हो हाम्रो लोकतान्त्रिक गणतन्त्र ! कहिले पाँउछन जनताले शान्ति र समृद्धि । लोकतान्त्रिक गणतन्त्र भएको देशका नागरिक हु भन्ने आभाष कहिले हुन्छ यो बिडम्बनाको कुरा हो ।

जब सम्म मान्छे स्वतन्त्र निर्धक्क भएर हिड्न डुल्न हाँस्न बोल्न पाउदैन, सम्पूर्ण अधिकार सम्पन्नशाली हुदैन, जब सम्म सहज तवरले पद र पावरमा पुग्न पाउदैन,जब सम्म कसैको मातहतमा नरहि आफ्नो मत राख्न पाउदैन तब सम्म त्यो नत गणतन्त्र हुन्छ नत लोकतन्त्र हुन्छ, तेसैले जब सम्म ब्यवहारिक रुपमा लोकतान्त्रिक गणतन्त्र हुन सक्दैन तबसम्म यो झुट तन्त्र हो भन्ने लाग्दछ । यो अधिनायकबादि शासन प्रणाली र दमन शोषण नै हुन्छ, अहिले कागजि रुपमा लोकतान्त्रिक गणतन्त्र नेपाल भनिए पनि केहि हद सम्म त होला तर बास्तविकत लोकतान्त्रिक गणतन्त्र नेपाल भन्ने ठाँउ भने छैन । अहिले सम्म को हिसाबले व्यवस्था बदलिए पनि अवस्था भने जस्ताको तस्तै छ,दमन शोषण अन्याय अत्याचार मा कुनै बदलाव देखिदैन । 
सर्वहारा वर्गको लागि लोकतान्त्रिक गणतन्त्र को आभाष नभए पनि भ्रष्टचारी हरुको लागि भने संघियता र गणतन्त्र फलिफाप बसेको छ, गाँउमा पानिको धारा निर्माण गर्दा होस,बाटो घाटो,पाटि पौवा,कुलो पँधेरो,स्कुल मठ मन्दिर, लगायत विकासका लागि आउने कतिपय रकम, सके पारिवारिक सेटिङ, नभए राजनितिक पार्टिको सेटिङ नभए मनमिल्ने कमिसन घोसखोर को सेटिङ गरेर आफुखुसी विकास निर्माणको नाम मा कमिसन खाने, बिकास होस या नहोस पैसा कमाउने प्रवृति ले भने ब्यापक मार्केट पाएको छ, खुल्लमखुल्ला कहि करको नामले लुटिएका छन, अदृश्य रुपमा कोहि डरले लुटिएका छन,कोहि सामाजिक रुपमा लुटिएका छन् कोहि सांस्कृतिक धार्मिक वा शैक्षिक रुपमा लुटिएका छन, सरकारको नेतृत्व ले लुटेको छ, राज्य सरकारले लुटेको छ, स्थानीय सरकार ले लुटेको छ । जता ततै लुटा लुट चलेको !

भ्रष्टाचार अदृश्य हैन खुल्लमखुल्ला भैरहेको छ, जानकार सबैछन कोहि आफन्तको नाताले चुप छन कोहि राजनितिक पार्टिको नाताले चुप छन,कोहि साथिभाई को नाताले चुप चाप छन, कोहि बिचारा मलाई केहि गर्छकि भन्ने डरले चुपचाप छन,कोहि कोहिले थोर थोरै खान पाएर चुप छन, कोहि एकदिनको दारु पार्टी मा सामेल भएर चुप छन, कसैले तेसको पोल खोले मेरो पोल खोलिन्छ भन्ने कारण चुप छन । आवाज उठाउने आँट र साहस भएका युवाहरु जिवन गुजारा परिवाको पालनपोषण का निम्ति गाँउघर छोडेर बाहिर छन । लेख्न त यो सहज तवरले मेरो कलम चल्यो तर मनभरि यो प्रवृत्तिको पिरले मन जलेको छ । कहिले काँही आफैंलाई वाक्कदिक्क लागेर आउँछ, बोलेर मात्र थाकिन्छ तर बोलेको आवाज कसैको मनमा बस्न सक्दैन भनेर ।

अर्को कुरा अचम्म त यो पनि लाग्छ आफ्नै आँखा अगाडि यो ब्रहमलुट हुन्जेल सम्म पनि हामि जनता र युवापुस्ता चुपचाप किन मौन छौं, यो माया मोह र लालचमा मौलाएको भ्रष्टाचार ले "समृद्ध नेपाल शुखि नेपाली" को सट्टा कंगाल देश दुखि नेपालि हुन बेर लाग्दैन जस्तो लाग्न थाल्यो । हुनत जसले समाजमा हुने विकृति विसङ्गतिप्रति टिप्पणी गर्छन, अन्याय अत्याचार विरुद्ध कुनै पाप नचिताइ बोल्छन तिनले समाजमा एक्लो हुन पर्छ, तर पनि गलत ब्यक्तिको प्रवृत्ति भन्दा सच्चा ब्यक्तिको मौनता त्यो भन्दा बढी "घातक" हुन्छ । तेसै अर्थमा बोल्न मन लागि हाल्छ, अबको युवापुस्ता र समग्र देशभक्त समाजप्रति सकारात्मक सोच राख्ने सबैले आ-आफ्नो क्षेत्रमा भ्रष्टाचार अन्याय अत्याचार र हक अधिकार संगै कर्तब्य पुरा गर्न एकताबद्ध भएर अगाडि बढ्न पर्दछ, राजनितिक आस्था र टाढा नजिक नभनि यसरि हामिले आवाज बुलन्द गर्यौ र ब्यवहार परिवर्तन गर्न सक्यौं भने हामिले चाहेको देश समाज र लोकतन्त्र गणतन्त्र को महसुस गर्न सकिन्छ भन्ने आशा भने मरेको छैन । 

         
      ( लेखक पदम भुल सामाजिक अभियन्ता पनि हुन ।)

प्रतिक्रिया