Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ मङि्सर २०७९
प्रचलनमा:

बलत्कारविरुद्धको कानुन नबुझेका ‘पलवादी’ हरु

बलत्कारविरुद्धको कानुन नबुझेका ‘पलवादी’ हरु

फर्सुराम पाण्डे

नायक पल शाहविरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरीपछि सामाजिक सञ्जालमा एउटा जबर्जस्त भाष्य निर्माण गर्न खोजिएको छ– ‘मन मिले चमत्कार नत्र बलात्कार !’ । लाग्दैछ, ती पलहरुको परिभाषाभित्र बलात्कार भनेको अपहरण गरेर, नाक–मुखमा पट्टी लगाइदिएर, हात–खुट्टा बाँधेर एउटा क्रुर पुराना हिन्दी फिल्ममा देखाउने सिन मात्र पर्छ ।

हाम्रो समाज र कथित प्रगतिशील युवापुस्ताले बनाएको यो बलात्कारको परिभाषाभित्र कतिसम्मको सीमित, संकुचित र अनुदार परिभाषा छ भन्ने कुरा पिडित नाबालिकाको चरित्रमाथि सामाजिक सञ्जालका माध्यमबाट उठिरहेको प्रश्नले नै प्रष्ट हुन्छ ।

सायद उनीहरुले सक्थे भने मुलुकी अपराध संहिताको दफा २१९ लाई नै संसोधन गरेर बलात्कारको परिभाषामा कम्तिमा माथिका विषयवस्तु उनीहरु राख्थे । सकेनन्, सायद त्यही भएर होला सामाजिक सञ्जालमा एउटा डर र आक्रोसको मनोवृत्ति स्ट्याटस र ट्विट्सहरुमा झल्किन्थ्यो ।

‘भित्र रहुञ्जेल चमत्कार अनि कुरा नमिलेपछि बलात्कार ?’ ‘मर्जीले आएपछि कसले छोड्छ त ?’ भन्नेजस्ता अभद्र प्रश्न कसरी एउटा मानिसको मानसपटलमा आउँछन् ? अचम्म छ ।

हुन त म कानुनको विद्यार्थी हुँ, तर म यहाँ कानुनी दफाको व्याख्यामा धेरै समय खर्चिन्न । किनकी कानुनले स्पष्टसँग १८ वर्षमुनिको व्यक्तिलाई नावालिग भन्छ । त्यसैले सहमति–असहमतिको कुरा छोड्दिनुस्, जेसुकै होस् त्यो जबरजस्ती करणी नै हो । प्रमाणित भएमा १० देखि १२ वर्ष जेल सजाय छ । अहिले त झन् जरीवानासमेत थप गर्ने कानुनको चर्चा छ ।

विवाहपूर्वको सहवासमा हाम्रो सांस्कृतिक मुल्य–मान्यता, प्रजनन् स्वास्थ्यसम्बन्धी विश्वव्यापी दृष्टिकोण, किशोर मनोविज्ञान, सही र वेठिक भन्ने विषयमा निर्णय लिन सक्ने स्वविवेक, भावनाले बहकिने पक्षहरु माथिको आत्मनिर्णय र सम्भावित परिणामहरु माथिको विश्लेषणको परिपक्वता आदिको आधारमा १८ वर्षभन्दा कम उमेरमा चेतना नहुने भएकोले सो राखिएको हो ।

त्यसैले १८ भन्दा मुनि लिएको सहमतिलाई शारीरिक स्वास्थ्यको दृष्टिकोणले मात्र नभई मनोवैज्ञानिक तवरबाट पनि न्यायोचित मान्न नसकिने भएरै यस्तो कानुन बनाइएको स्पष्ट छ । तर पनि शारिरिक रुपले नाबालिगको उमेर १८ वर्ष धेरै भयो, १६ भए उपयुक्त हुन्थ्यो भन्ने बहस ठिक होला, तर नावालिग मात्र नभएर जोसुकै वयस्कले पनि तत्काल कुनै प्रभोलनमा परेर मुन्टो हल्लाएको आधारमा मानेको सहमतिलाई सहमति मानिदिनुपर्ने भन्ने हुन्न ।

भारतीय अदालतले स्टेट अफ युपीविरुद्ध नौसदको मुद्दामा विवाहको प्रभोलन देखाएर गरेको यौन सम्पर्कलाई बलात्कार ठानेको छ । उक्त मुद्दामा केटीपक्ष फार्मेसीको विद्यार्थी हुन्छिन् र केटा भने जुनियर डाक्टर हुन्छन् । विवाहको प्रभोलनमा लामो समयको प्रेमसहित यौन सम्पर्क हुन्छ ।

तर केटा पक्षले यौनसम्पर्क पश्चात विवाहमा इन्कार गरेपछि केटीपक्षले हालेको मुद्दामा अदालतले केटालाई बलात्कारकै अभियोगमा दोषी ठहर गर्छ । नेपालको सर्वोच्च अदालतले भने यो प्रसङ्गमा खासै बोलेको नजिर भेटिदैन । हल्का केही अंश गीताकुमारी (परिवर्तित नाम) विरुद्ध अर्जुन कोइरालाको मुद्दामा बलात्कार नै भन्न नमिल्ने भन्ने आशय भेटिन्छ । सहर्ष स्विकारेको पाईदैन ।

तर अहिलेका ‘पलवादी’ चिन्तन बोकेको समाजको यो रफ्तारले अब बोल्नुपर्ने आवश्यक ठान्दछु । मुलुकी अपराध संहिताको दफा २१९ कै २(क) मा अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन भन्ने उल्लेख छ । जसमा ‘झुक्यान’ शब्दलाई अदालतले व्याख्या गर्न सक्ने स्पेस छ ।

अब सामाजिक कुरा गरौँ । हामीले जाहेरी फेहरिस्त पढ्यौँ । वेवसाइटमा छरिएका अडियो क्लिपहरु सुन्यौँ । हामीले पल शाहको तर्फबाट सेयर भएका अडियो क्लिपहरु पनि सुन्यौँ । जहाँ पल शाहले आफूलाई षडयन्त्र गरेर फसाइएको आरोप लगाएका छन् । तर त्यो अडियोले पनि उनको आफूभन्दा आधा उमेरकी किशोरीसँग भएको करणीलाई निर्दोष सावित गर्दैन, बरु थप पुष्टाईँ गरेको छ ।

उनका साथीहरुद्वारा उनलाई बदनाम गराउन खोजेको देखिए पनि करणीको बिषयमा भने साथीहरुले समिक्षालाई न्याय नै दिलाउन खोजेको देखिन्छ । जाहेरी, अनुसन्धान, अभियोजन, सुनुवाइ र फैसला आदि विचाराधीन बिषयमा अदालतको निर्णय नआई पुर्वाग्रही भएर कसैलाई अपराधी घोषित गर्नु र कसैलाई पिडित भन्नु न्यायोचित हुदैन ।

तर ‘भित्र रहुञ्जेल चमत्कार अनि कुरा नमिलेपछि बलात्कार ?’ ‘मर्जीले आएपछि कसले छोड्छ त ?’ भन्नेजस्ता अभद्र प्रश्न कसरी एउटा मानिसको मानसपटलमा आउँछन् ? अचम्म छ । पिडितलाई थप सामाजिक वहिष्कार गर्ने र अपराधीको मनोवल बढाउने काम गर्छन् यस्ता कुराहरुले ।

प्रेममा परेपछि आफ्नै उमेर बराबरको समेतले झुटको सहारामा उक्त कार्य तत्कालीन सहमतिमा गरेको रैछ भने पनि त त्यसले दिने पीडा असिमित हुन्छ । यसकै कारण थुप्रैले आत्महत्याको साहारा लिएको भेटिन्छ ।

शारीरिक बल प्रयोग गरेर, शारीरिक हिंसाद्वारा जबर्जस्ती यौनक्रियालाई मात्र बलात्कार बुझ्नु हुँदैन । हाम्रो समाजको यो रुपले महिलाको भएभरको इज्जत उसको योनिमा राखिदिने दुष्प्रयास गरिरहेको छ । पुरुषको आफ्नो शारीरिक बलको प्रयोगले महिलालाई सधै दबाउने, हिंसा र दासतामा राखिराख्ने, महिलालाई आफ्नो लिङ्गको शक्तिले सधैभरी शासित बनाइराख्ने मानसिकताको उपज हो यो ।

उक्त कार्यद्वारा समाजमा सँधै महिलालाई सामाजिक वहिष्कार गराउने चिन्तन हो । १८ बर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौनसम्बन्ध राखे पनि त्यसलाई जवर्जस्ति करणी मानिनेछ भन्ने प्रावधान किन राखियो र यसको आशय के हो भन्ने कुरामा कानून र पलहरुको समाजको बुझाइमा तालमेल मिलेको देखिएन ।

पल शाह र पिडित नावालिगको जाहेरी अनुसारको घटनालाई एउटा सामान्य जवर्जस्ती करणीको घटनाको रुपमा लिन मिल्दैन । यो समाजको यथार्थ ऐना हो । तितो यथार्थ हो । पलहरुले विहेको प्रभोलनमा यौन चाहना मेट्ने दुस्साहस हो ।

यदि पिडित महिला १८ बर्षभन्दा बढी उमेरको भएपनी एउटा उच्च पदको मान्छेको प्रशंसक भएको फाइदा उठाएर माया र विहे गर्ने आश देखाएर प्रस्ताव राख्छ भने त्यस्तो प्रशंसकले इन्कार गर्न गाह्रो पर्छ । किनकी यौन चाहना हुनु उमेरको प्रभाव हो ।

कला क्षेत्र मात्र होइन, जुनसुकै क्षेत्रमा पनि अनावश्यक प्रभाव र त्यस्तो प्रभावको फाइदा उठाएर पलहरुले केही सिक्न भनेर पछि लागेकालाई यौन दुर्व्यवहार गर्नु भनेको सामान्य विषय होइन । ती काउन्टर स्ट्याटस र ट्विट्सहरु र त्यसमा हुने गरेको कमेन्टले यो काम हुने गरेको डरलाग्दो वास्तविकता देखाउँछ ।

यसले वलात्कारलाई सामान्यीकरण मात्रै गर्दैन, समाजमा महिलाहरु वस्तुकरण हुँदै गएको देखाउँछ । किनकी यहाँ अपराधीलाई ध्यान दिनुभन्दा भएभरको दोष पिडित माथि दिइनुले समाजको यो मानसिकता कस्तो छ भन्ने बुझ्न सकिन्छ ।

एउटा नावालिग मात्र नभनौँ, के सही के गलत थाहा भएको वयस्कलाई पनि त विभिन्न प्रलोभन देखाइ लिएको सहमति कति वास्तविक सहमति थियो भन्ने विश्लेषण आम सर्वसाधारणबाट हुन सकिरहेको छैन । यसले हाम्रो समाजमा बलात्कार र हिंसामा आम बुझाइ कति सामान्य छ भन्ने देखाउँछ । यौन तृष्णाले पैसा, पहुँच र शक्तिको अगाडि वास्तविक सम्बन्धहरु कति सस्तो छन् भन्ने बुझ्न सकिन्छ ।

हो, थुप्रै घटना आजकल यो कानुनको सहाराले गलत प्रयोग भएको हुनसक्छ । थुप्रै मुद्दाहरु भेटिन्छन् । तर कुनै स्वार्थ प्रेरित नारीहरुले कुनै घटना घटाए भन्दैमा आम सम्पुर्ण नारीमा उही चश्माले हेरेर यो बिषयमा पिडितलाई ‘डिमोरलाईज’ गर्ने काम घिनलाग्दो छ ।

फेसबुक ट्रायलको माध्यमबाट आरोपितलाई चोखो र पिडितलाई थप कलंकित बनाउने कार्यले हाम्रो समाजमा अझै पनि नारीलाई दबाउने र पुरुषत्व हावी गराउने चिन्तनले गहिरो रुपले ग्रस्त छ भन्ने सहजै बुझ्न सकिन्छ ।

प्रेममा परेपछि आफ्नै उमेर बराबरको समेतले झुटको सहारामा उक्त कार्य तत्कालीन सहमतिमा गरेको रैछ भने पनि त त्यसले दिने पीडा असिमित हुन्छ । यसकै कारण थुप्रैले आत्महत्याको साहारा लिएको भेटिन्छ । कयौँ साथीहरु डिप्रेस्ड भएको अनौपचारिक कुराकानीमा हामी भेट्छौँ । किनकी हाम्रो समाजले विहेपूर्वको सहवासलाई अझै पनि स्विकार्दैन । यहाँ त आफूभन्दा दोब्बर जेठोले फसाँउदा समेत चेलीको चरित्र माथि गिद्देदृष्टि देख्दा त अचम्म लाग्छ ।

त्यसैले मलाई यहाँ समाजको संवेदनाहीन प्रसङ्गमा बोल्न मन लाग्यो । आरोप लगाउने पलहरुले किन पिडितको बुबाको बारेमा सोचेनन् ? कुन ह्रदयले, कुन तहको हिम्मतले उनी जाहरी लिएर गए ? आफ्नी अविवाहित छोरीलाई कसैले करणी गर्यो भन्ने विवरणमा सही गर्न कसरी सके होलान् ? जाहेरी दिनुपुर्व के के सोचे होलान् ?सानी छोरीलाई यस्ता कुरा नसिकाउनु उनको कमजोरी हो र ?

बहुमतको सोच यस्तै पल शाहजस्तो किन नहोस ? सम्झाएर कसरी सकियोस ? अलिकति फोहोर भए पो सफाइ गर्न सकिएला, अब फोहोरको पहाड नै भएपछि नाक थुनेर हिँड्ने त हो ।

तर यहाँ त पिडित बहिनी र परिवारले देखाएको साहसलाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ । भविष्यमा यस्तै पिडितहरुले यसरी नै अनुसन्धान, न्याय र अदालतसम्म जाने हिम्मत जुटाउने नजिर बनाउनुपर्छ । समाजले पिडितलाई कलंकित होइन न्याय दिनुपर्छ । भारतमा आइसकेको तर नेपालमा यो विषयमा अझै नबनिसकेको फौजदारी बिधिशास्त्र बन्नुपर्छ ।

त्यसैले पिडितले आफ्नो करिअर दाउमा राखेर जुन निर्णय लिइन् यो समाजको लागि एउटा शिक्षा हो । विहेको प्रभोलनले पाएको वा दिएको भनेको सहमति सहमति हैन । अनैतिक कार्य हो । अदालतले न्याय गरोस् ।

प्रतिक्रिया