Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २१ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक

जयनगर–कुर्था रेल्वे ट्र्याकका १८ हजार क्लिप सञ्चालन नहुँदै चोरी

जयनगर–कुर्था रेल्वे ट्र्याकका १८ हजार क्लिप  सञ्चालन नहुँदै चोरी

जयनगर–कुर्था रेल्वे सञ्चालनमा नआउँदै रेल गुड्ने ट्र्याकका करिब १८ हजार क्लिप चोरी भएका छन् । क्लिपले रेलको पटरी र लिकलाई जोडेर राख्नुका साथै रेल चल्दा पटरीमा सन्तुलन कायम गर्ने काम गर्छ । जनकपुरस्थित रेल विभागका साइट इन्चार्ज विनोद ओझाका अनुसार सरकारले रेल ल्याउनुअघि र पछि पनि क्लिप चोरी भइरहेका छन् । २ असोजमा भारतबाट रेल ल्याउँदा ठाउँठाउँमा नयाँ क्लिप जडान गर्नुपरेको उनले बताए । त्यतिखेर चोरी भएका करिब पाँच हजार नयाँ क्लिप जडान गरिएको ओझाले बताए । 

‘हामीले अनुगमन गर्दा कुर्थादेखि जयनगरसम्म करिब १८ हजार थान क्लिप चोरी भएको पाइयो । स्थानीय बालिबालिका र ट्यापे केटाहरूले चोर्ने गरेको पाइयो,’ ओझाले भने, ‘चोरी भएका करिब पाँच हजार नयाँ क्लिप जडान गरेर गत असोजमा नेपाली रेल जनकपुरसम्म ल्याएका हौँ ।’

एउटा क्लिपको तौल एक किलो हाराहारीको हुन्छ । बालबालिकाहरूले चोरेर कवाडीलाई बेच्ने गरेको आशंका रेल विभागको छ । रेल्वेका कर्मचारीले दुईपटक क्लिप चोरिरहेको अवस्थामा केटाकेटीहरूलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले उनीहरूलाई सम्झाइबुझाई अभिभावकसँग अबदेखि क्लिपलगायतका कुनै सामान चोरी गर्दैनौँ भन्ने कागज गराएर छाडेको थियो । 

क्लिप मात्रै होइन, परबाहा स्टेसनमा रहेका दुईवटा बिजुलीका पोल, स्टेसन घरको झ्याल तथा ढोकामा लगाइएका फलामका ग्रिलसमेत उखेलेर चोरी भएका छन् । कुर्था स्टेसनमा यात्रुहरूलाई बस्नका लागि बनाइएको सिमेन्टको बेन्च तथा स्टेसनमा लगाइएको टायलमा क्षति पु¥याइएको ओझाले बताए । उनका अनुसार लेभल क्रसिङ (बाटो काट्न)का लागि विभिन्न स्थानमा बनाइएका फाटकका ब्यारियरसमेत उखेलेर क्षतिग्रस्त बनाइएको छ ।

रेल्वे ट्र्याकदेखि स्टेसन घरसम्मको पूर्वाधार भारतीय निर्माण कम्पनी इकोनले गरेको थियो । विभागलाई अझै हस्तान्तरण गरिनसकेका कारण चोरी भएका र भत्काइएका संरचना पुनर्निर्माणको जिम्मेवारी भारतीय निर्माण कम्पनीकै भएको इन्चार्ज ओझाले बताए । भारतीय कम्पनीले पुनर्निर्माणको काम गरिरहेको उनको भनाइ छ । 

चोरी भएका ठाउँमा नयाँ क्लिप राख्ने काम अन्तिम चरणको रहेको ओझाले बताए । उनका अनुसार क्लिपका कारण रेल सञ्चालनमा तत्काल असर पर्दैन । ‘अधिकांश ठाउँमा नयाँ क्लिप राखिसकेकाले रेल चलाउन ठूलो समस्या हँुदैन,’ उनले भने, ‘किनभने चार–पाँच दिनअघि मात्रै कुर्थादेखि भंगहासम्म निर्माण भइरहेको ट्र्याकका लागि ब्लास्ट (गिटी) बोकेर ९६ बोगी भएका दुईवटा माल रेल अहिलेकै ट्र्याकमा आउँदा कुनै समस्या भएन ।’

रेलदेखि ट्र्याकसम्मको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी 

सरकारले रेल्वे यातायातसम्बन्धी सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिने भएको छ । गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिसकेको छ । 

रेल्वेसम्बन्धी ऐन बनाएर छुट्टै रेल्वे सुरक्षा दस्ता गठन नभएसम्मका लागि सशस्त्रलाई सुरक्षा जिम्मेवारी दिन लागिएको हो । धनुषाको रेल्वे लिकमा क्लिप चोरी हुन थालेकाले तत्कालका लागि सशस्त्रलाई जिम्मेवारी दिने प्रस्ताव अघि बढाइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘नजिककैका सशस्त्र प्रहरी कार्यालयले रेलको लिकको पनि सुरक्षा हेर्ने जिम्मेवारी दिन लागेका छौँ,’ उनले भने, ‘पछि यसका लागि छुट्टै दस्ता बन्नेछ ।’ 

२ असोजमा जनकपुर ल्याएर धनुषाको जनकनन्दिनी गाउँपालिका– १ स्थित इनर्वा स्टेसनमा राखिएका दुईवटा नेपाली रेलको सुरक्षा पनि अहिले सशस्त्र प्रहरीले नै गरिरहेको छ । घामपानी र वर्षाबाट बचाउन रेललाई त्रिपालले छोपेर राखिएको रेल्वे विभागका साइटइन्चार्ज विनोद ओझाले बताए । 

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट इनर्वाका इन्स्पेक्टर तेजेन्द्र कार्कीका अनुसार रेलको सुरक्षाका लागि पाँचजना सशस्त्र प्रहरीलाई खटाइएको छ । लामो समयदेखि थन्क्याएका कारण कुनै समस्या त आएको छैन भनेर केही दिनअघि नेपाल र भारतीय प्राविधिकहरूले दुवै रेल केही किलोमिटर गुडाएरको उनले बताए । 

रेलसम्बन्धी अपराध गर्नेलाई सात वर्ष कैद

लिकका क्लिप चोर्नेदेखि रेलसम्बन्धी अपराधमा संलग्नलाई सात वर्षसम्म कैद सजायको प्रस्ताव नेपाल रेल्वे ऐन, २०७६ को विधेयकमा गरिएको छ । विधेयकको दफा ६९ (१)मा भनिएको छ, ‘कसैले रेल दुर्घटना हुन सक्ने गरी रेल्वे वा रेलमा कुनै वस्तु फ्याँक्ने, रेलको लिकमा ढुंगा, काठ वा अन्य कुनै वस्तु राख्ने, रेलको लिक वा सोसम्बन्धी किला, काँटा, स्लिपर आदि झिक्ने, ज्वाइन्टहरू खुकुलो पार्ने वा अरू कलपुर्जा चलाउने, हेरफेर गर्ने वा बन्द गर्ने काम गराउनुहुँदैन ।’ यस्तो कसुर गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान सोही दफाको उपदफा २ मा राखिएको छ । 

यससम्बन्धी गम्भीर किसिमका अपराध अदालतले हेर्ने तथा सामान्य प्रकृतिका प्रमुख जिल्ला अधिकारी र रेल्वे प्रशासकले समेत फैसला गर्न सक्ने विधेयकमा उल्लेख छ । सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउन लागेपछि रेल्वेसम्बन्धी अपराधको अनुसन्धान भने नेपाल प्रहरीले गर्नेछ ।

रेल सञ्चालन कहिलेदेखि अझै टुंगो छैन

कानुन र प्राविधिकसहितका कर्मचारीको अभावका कारण रेल कहिलेदेखि सञ्चालन हुने भन्ने अझै टुंगो छैन । यद्यपि, माघ पहिलो सातासम्म रेल सञ्चालनमा ल्याइसक्ने नेपाल रेल्वे कम्पनीको दाबी छ । तत्कालका लागि चालकसहितका प्राविधिक भारतबाट र प्रशासनिक कर्मचारी आफैँले भर्ना गर्ने योजना रेल्वे कम्पनीले बनाएको थियो । ६ महिनाको करारमा विभिन्न पदमा एक सय २९ कर्मचारी भर्ना गर्न कम्पनीले विज्ञापन पनि गरेको थियो । जसमा देशैभरिबाट करिब ३२ हजारले आवेदन दिएका छन् । 

मौखिक परीक्षाबाटै कर्मचारी छनोट गर्ने उद्देश्यले विज्ञापन गरिएको भए पनि पछि विवाद हुने डरले प्रक्रिया अगाडि बढाइएन । ‘पछि लोकसेवा आयोगकै माध्यमबाट स्थायी कर्मचारी भर्ना गर्ने निर्णय भएको छ,’ नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले भने । चालकसहितका प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग छलफल भइरहेको उनले बताए । 

त्यस्तै, रेल्वे सञ्चालनसम्बन्धी विधेयक पनि राष्ट्रिय सभामा विचाराधीन छ । संसद्बाट कानुन नबनेसम्म अध्यादेशबाट कानुन ल्याउनले तयारी भइरहेको भट्टराईले बताए । ‘कानुन र कर्मचारी व्यवस्थापन हुन्छ र माघको पहिलो सातासम्म रेल सञ्चालनमा आउँछ,’ उनले भने । रेल्वे सञ्चालनका लागि यात्रुलाई दिइने टिकटसमेत तयार भइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया