ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा

साँफेबगर, अछाम – अछाम जिल्लास्थित साँफेबगर नगरपालिकाले स्थानीय उत्पादनको बजार पहुँचलाई सुनिश्चित गर्दै उपभोक्तालाई सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग औपचारिक सम्झौता गरेको छ। यो सम्झौता साँफेबगर नगरको खाद्य सुरक्षाको अभिवृद्धि, कृषक उत्पादनको बजारीकरण र स्थानीय आर्थिक सुदृढीकरणतर्फको महत्त्वपूर्ण र ऐतिहासिक कदम मानिएको छ।
उक्त सम्झौतामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रबन्धक मेघनाथ न्यौपाने र साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले हस्ताक्षर गर्नुभएको हो भने सम्झौतामा साक्षीको रूपमा साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्मा र कम्पनीका तर्फबाट सहायक विभागीय प्रबन्धक माधव मिश्रले हस्ताक्षर गर्नुभएको हो ।
साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले यो सम्झौता केवल कागजी प्रक्रिया मात्र नभएर साँफेबगरलाई खाद्य आत्मनिर्भर नगर बनाउने सपना साकारतर्फको ठोस पाइला भएको बताउनुका साथै स्थानीय कृषकका उत्पादनलाई सिधै बजारमा पुर्याउनु स्थानिय सरकारको प्राथमिकता रहेको बताउनु भयो । सम्झौतापछि हाम्रो बुलेटिन संग कुरा गर्दै नगरप्रमुख कुँवरले भन्नुभयो, "हाम्रो नगर कृषि प्रधान छ, तर किसानका उत्पादन बजार अभावका कारण खेर गइरहेका छन्। यस सम्झौता मार्फत अब स्थानीय उत्पादन सिधै डिपोको माध्यमबाट बजारमा पुग्नेछ। बिचौलियाको सञ्जाल हट्दैछ, किसानले आफ्नै उत्पादनको सही मूल्य पाउनेछन् र उपभोक्ताले गुणस्तरीय वस्तु सुलभ दरमा प्राप्त गर्नेछन्।"
सम्झौता अनुसार खाद्य कम्पनीले नगर क्षेत्रमा ‘बिक्री तथा खरिद कक्ष’ स्थापना गर्नेछ जसबाट दैनिक उपभोग्य खाद्यान्न—जस्तै चामल, गेडागुडी, तेल, नून लगायत—नियमित रूपमा बिक्री गरिनेछ। त्यस्तै, नगरमै उत्पादन हुने रैथाने बालीहरू—जस्तै चिनो, कागुनो, कोदो, भटमास, फापर, मार्सी चामल, गहुँ, धान आदि—को संकलन, भण्डारण, खरिद तथा बजारीकरण गरिनेछ।
नगरपालिकाले तीन महिनासम्म धान्न सक्ने क्षमता भएको गोदाम, विद्युत, इन्टरनेट, पानी र स्थान उपलब्ध गराउनेछ। कम्पनीले डिपोमा कम्प्युटर बिलिङ प्रणाली, जनशक्ति व्यवस्थापन तथा मौज्दात व्यवस्थापनको जिम्मा लिनेछ। विद्यालय दिवा खाजामा कम्पनीको पौष्टिक चामल प्रयोग हुने सुनिश्चित गरिनेछ भने त्यसको ढुवानी व्यवस्थापन पालिकाले गर्नेछ।
रैथाने बालीको मूल्य दुवै पक्षको सहमतिमा निर्धारण गरिनेछ। नगरपालिकाले कृषकलाई उत्पादनतर्फ प्रोत्साहित गर्न तालिम, अनुदान तथा सहुलियत सुविधा पनि प्रदान गर्नेछ। साथै, खाद्यान्न मौज्दातको अनुगमन र निगरानी पनि नगरपालिकाले नियमित रूपमा गर्दै जानेछ।
यो सम्झौता पाँच वर्षका लागि लागू हुनेछ र आवश्यक परेमा परिमार्जन वा नवीकरण गर्न सकिने प्रावधान राखिएको छ। सम्भावित विवाद उत्पन्न भए आपसी छलफलमार्फत समाधान गरिने उल्लेख छ।
सम्झौताबाट किसानलाई उचित मूल्य, उपभोक्तालाई सस्तो दरमा खाद्यान्न, र नगरपालिका तथा खाद्य कम्पनीबीचको समन्वयद्वारा दीर्घकालीन खाद्य सुरक्षाको प्रत्याभूति हुने अपेक्षा गरिएको छ। नगरप्रमुख कुँवरले भने, “अब नगरका जनता भोकै बस्नु पर्ने दिन सकिनेछ, स्थानीय उत्पादन स्थानीय बजारमै बिक्नेछ, र हामी आत्मनिर्भरता तर्फ अघि बढ्नेछौं।”
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीचको यो सहकार्यले स्थानीय कृषि उत्पादनलाई सम्मान गर्ने, रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्ने, र सामाजिक सुरक्षा र पोषण कार्यक्रमलाई प्रभावकारी बनाउने बहुआयामिक लाभ दिनेछ। यसले किसान, उपभोक्ता र संस्थागत समन्वयको सफल मोडेलका रूपमा आफूलाई स्थापित गर्ने आधार तयार गरेको छ। अब चुनौती यसको प्रभावकारी कार्यान्वयन र दीर्घकालीन निरन्तरतामा हुनेछ। यदि सफल भयो भने, यो योजना साँफेबगर नगरपालिका मात्र होइन, अछामका अन्य स्थानीय तहहरूका लागि अनुकरणीय नीतिगत अभ्यास बन्नेछ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया