Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

तरकारी माग्न आइरहन्थे हत्या गर्नेहरू

तरकारी माग्न आइरहन्थे हत्या गर्नेहरू

विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिँदा गाउँले भावविह्वल देखिन्थे । बस्तीभन्दा ७ घण्टा पैदल तल आएर अन्त्येष्टिमा सहभागी भएकाहरूले श्रेष्ठलाई दागबत्ती दिनुअघि घाँटी रेटिएको, टाउकामा चोट र जीउमा नीलडाम भएको शव हेर्नसमेत सकिरहेका थिएनन् । गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पनि त्यति नै देखिन्थ्यो ।

उत्तरी मोरङको मिक्लाजुङ–१ रमिते बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अपरिचितको समूहबाट मारिएका होइनन् । उनलाई लैजाने समूह घटनाअघि पनि घरमा तरकारी माग्न आइरहन्थ्यो । सशस्त्र द्वन्द्व भोगेको विकट बस्तीका बासिन्दालाई राजनीतिक आस्थाका कारण भूमिगत भएकाहरू अनौठा थिएनन् । गणतन्त्रपछि पनि गाउँसम्म बाटो आइपुगेको छैन । स्वास्थ्यचौकी र प्रहरी कार्यालय कोसौं टाढा छन् । सदरमुकाम पुग्नु परे दुई दिन खर्च हुन्छ । गाउँमा पूर्वाधार विकासका योजना नआएको असन्तुष्टिका कारण गाउँलेलाई भूमिगत भएकाहरूले हत्याको घटना नगराउँदासम्म ‘परिवर्तनकै लागि हिँडेका होलान्’ भन्ने लाग्थ्यो ।

अन्त्येष्टिमा सहभागी भएका एक छिमेकीका अनुसार श्रेष्ठलाई गत मंगलबार बिहान ७ बजे घरनजिकैको गोठबाट अपहरण गरिएको थियो । श्रेष्ठका दुईवटा गोठ छन् । बिहानै श्रेष्ठ एउटा गोठतिर लागे भने उनकी पत्नी धनकुमारी घरदेखि करिब एक किलोमिटर परको अर्को गोठतिर गएकी थिइन् । नेत्रविक्रम चन्द समूहका ६ जना कार्यकर्ता श्रेष्ठ भएको गोठमा पुगे । ६ मध्ये चार जनाले अनुहार छोपेका थिए । उनीहरूले श्रेष्ठलाई हात अगाडि बाँधेर घरदेखि उत्तरतर्फ हिँडाउँदै लगे । करिब ३० मिटर अगाडि छिमेकीको घर पुगेपछि श्रेष्ठले ‘मलाई त साथीहरूले लगे है माल्दाइ’ भने । त्यसपछि त्यहाँ दुई जना स्थानीय युवक निस्के । उनीहरूले अपहरणकारीको समूहलाई ‘हाम्रो सरलाई किन लगेको’ भनेर सोधे । उनीहरू ‘उहाँलाई सम्झाएर केहीबेरमै पठाइदिन्छौं’ भन्ने जवाफ दिँदै अगाडि बढे ।

‘त्यसअघि उनकी पत्नी धनकुमारी अर्को गोठतिर जाँदै गरेको देखेका थियौं,’ प्रत्यक्षदर्शी ती दुई युवकले बिहीबार कान्तिपुरसँग भने, ‘हामीले मेडमलाई तुरुन्त फोन गरेर सरलाई हात बाँधेर ६ जनाको समूहले लगेको बतायौँ र गाउँमा हल्ला गर्दै राजेन्द्र सरलाई लगेको बाटो पछ्याउँदै गयौं ।’ फोन गर्न र गाउँमा हल्ला गर्न १०/१२ मिनेटभन्दा बढी लागेको थिएन । श्रेष्ठलाई अघि लगाएर हिँडेको समूह आँखाबाट ओझेल भयो । ‘करिब एक किलोमिटर पर पुग्दा सरको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव देखियो । त्यस्तो देखेपछि गाउँका अरू व्यक्ति र प्रहरीलाई खबर गर्‍यौं,’ ती युवकले भने, ‘हामीले यस्तो होला भन्ने सोचेका थिएनौं । प्रतिकार गर्न पनि हामी दुई जना मात्रै थियौं । बस्ती नै पातलो छ । अरू दुईचार जना गाउँले भएका भए माल्दाइकै घर अगाडिबाट हामी सरलाई छुटाउन सक्थ्यौं ।’

घटनापछि शव उठाउन उर्लाबारीको मंगलबारे, टाँडी, जाँते हुँदै केही परसम्म ट््याक्टरमा र करिब डेढ किलोमिटर हिँडेर प्रहरी घटनास्थल पुगेको थियो । बस्तीसम्म मोटरबाटो नजोडिएकाले अघिपछि प्रहरीको गस्तीले बिरलै मात्र बर्खे गाउँ टेकेको थियो । अपहरणमा संलग्नमध्ये मुख नछोपेका दुई जना श्रेष्ठको घरमा पटकपटक आएका थिए । तरकारी मागेर लैजान्थे । ‘उनीहरूले आफ्नो नाम कहिल्यै पनि बताएनन्,’ पतिवियोगमा रहेकी धनकुमारीले भनिन्, ‘उनीहरू अघिल्लो दिन पाहुना आउँदै छन्, खसी चाहिएको छ भन्दै खसी किन्ने निहुँमा आएका थिए । आज खसी चरनमा गइसके, भोलि लैजानु भनेपछि फर्किएका थिए ।’

आइतबार साँझ पनि आफू घरनजिकको गोठमा पुग्दा खस्याकखुसुक आवाज आएको र लाइट बालेर हेर्दा ‘हामी हौं, किन लाइट बालेको’ भन्दै कराएपछि डरले घर फर्केको उनले बताइन् । त्यसदिन राजेन्द्रकुमार घरमा थिएनन् । ‘हामीले कसैको केही बिगार गरेका थिएनौँ,’ उनले भनिन्, ‘प्रायः घरमा आइरहने र सागसब्जी मागिरहने उनीहरूबाट यस्तो अपराध हुन्छ भन्ने कल्पना पनि गरेका थिएनौँ ।’

स्थानीयका अनुसार चन्दका कार्यकर्ता राजेन्द्र्रकुमारसहित बर्खेका हरेक घरमा तरकारी लिन बारम्बार आउँथे । थोरै दिँदा कराउँथे । राजेन्द्रसँग गत असारमा १० हजार रुपैयाँ चन्दा पनि मागेका थिए । उनले ५ हजार दिएका थिए तर उनीहरूले नलगेको स्थानीयको भनाइ छ ।

राजेन्द्रकुमार शिक्षण पेसासँगै सब्जी खेती र बाख्रापालन गर्थे । उनी गाउँभरिमा नै देशदुनियाँका कुरा बुझेका मानिन्थे । गाउँमा पूर्वाधार विकासका काममा उनी अघि सर्थे । गाउँमा सबैका सहयोगी रहेको छिमेकी भवानीप्रसाद बराल बताउँछन् । ‘यहाँको विकट ठाउँमा कोही भारी बोकेर हिँड्दै छ र उसलाई समस्या परेको देख्दा उनी आफैं भारी बोकेर पुर्‍याइदिन्थे,’ बरालले भने, ‘उनको हत्याले गाउँ नै टुहुरो भएको छ ।’ राज्य र चन्द पक्षको दोहोरो चपेटामा परेर राजेन्द्रकुमारको ज्यान गएको त्यस क्षेत्रका प्रदेश सांसद तथा नेकपा प्रदेश सदस्य कुलप्रसाद लिम्बूको बुझाइ छ । गाउँकै टाठाबाठा भएका कारण सुरक्षाकर्मी पुग्दा पनि उनकै घरमा जान्थे । त्यसरी सुरक्षाकर्मी गएको देख्दा चन्दका कार्यकर्ताको नजर उनीमाथि परेर ज्यान गएको उनको दाबी छ । बिहीबारसम्म प्रहरीले घटनामा संलग्न कसैको पनि पहिचान गर्न सकेको छैन । चन्द समूहको गतिविधि बढ्दै गएको तर सुरक्षाकर्मीको उपस्थिति पटक्कै नभएको र यातायातका कुनै साधन नपुग्ने यो स्थानमा जनप्रतिनिधि र स्थानीयवासीले त्यहाँ सशस्त्र प्रहरीको बेस क्याम्प राख्न गृहमन्त्रीलाई आग्रह पनि गरेको थियो ।

सरकारले घटनाको निष्पक्ष छानबिन गरी राजेन्द्रलाई सहिद घोषणा गरेर परिवारलाई उचित राहत दिनुपर्ने उनका भाइ खगेन्द्र श्रेष्ठको माग छ । उनले भने, ‘राज्यसँग हामीले सुरक्षा माग्दा पाएनौँ । त्यसकै कारण दाजुको ज्यान गयो ।’

चन्द समूहको मेची कोसी ब्युरोले हत्याको दिन साँझ विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका नाममा सुराकी गरेको भन्दै श्रेष्ठको हत्याको जिम्मेवारी लिएको थियो । ब्युरो इन्चार्ज प्रतापका नामबाट जारी विज्ञप्तिमा श्रेष्ठकै सुराकीमा २०७६ फागुन २६ गते बसेको ब्युरोको बैठकमा प्रहरीले हस्तक्षेप गरेको र उनकै सुराकीमा प्रहरीले गत कात्तिक १२ गते ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ ।

प्रतिक्रिया