Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

मित्रताको अँगालो हाल्दा, धृतराष्ट्रको जस्तो अँगालो पाएँ’ भन्दै ओलीले प्रचण्ड-नेपाल र झलनाथमाथी गरे हमला

मित्रताको अँगालो हाल्दा, धृतराष्ट्रको जस्तो अँगालो पाएँ’  भन्दै  ओलीले प्रचण्ड-नेपाल र झलनाथमाथी गरे  हमला

ढिलो आउने तर लामो बोल्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानै बानी। बुधबार कार्की पार्टी प्यालेस बबरमहलमा ओली समूहको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले कार्यकर्ता भेला थियो।

दिउँसो १२ बजेदेखि सुरु भएको भेलामा प्रधानमन्त्री ओली अढाई बजेमात्र पुगे। उनी पुग्दा प्रदेश अध्यक्ष कर्णबहादुर थापा बोल्दै थिए। थापा बोल्दै गर्दा ओली आइपुगेको सूचना आयो। थापाले सबै कार्यकर्तालाई उठेर ताली बजाएर प्रधानमन्त्रीलाई स्वागत गर्न भने। कार्यकर्ता उठेर ताली बजाए।

तर, प्रधानमन्त्री आएका रहेनछन्। उनी बालुवाटारबाट हिँडेर गैरीधारा कटेको सूचना आयो। सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट ओलीलाई स्वागत गर्न उठेर बाहिर गइसकेका थिए। गैरीधारा पुगेको भनेपछि उनी मञ्चमा फर्किए। थापाले कार्यकर्तालाई बस्न अनुरोध गर्नै भाषणलाई निरन्तरता दिए।

करिब ४ मिनेटपछि ओली आइपुगे। फेरि कार्यकर्ता उठेर पुरानै शैलीमा ताली बजाउँदै ओलीलाई स्वागत गरे। हुटिङ गरे। सिटी बजाए। केपी ओली जिन्दालवाद, आज होइन ‘भोलिलाई भोट दिउँ ओली’लाई भन्ने नारा पनि लगाए।

हात हल्लाउँदै ओलीले मञ्चबाट सबैलाई अभिवादन गरे। थापाले भाषण सके। लेखराज भट्ट बोले। उनले प्रधानमन्त्रीकै शैलीमा लामै बोले। त्यसपछि पालो आयो ओलीको।

संसद् विघटन गरेपछि पहिलोपटक ओलीले सार्वजनिक मञ्चबाट बोले।

सुरुमै सुदूरपश्चिमले प्रगति गर्दै गएको ओलीले बताए।

‘सुदूरपश्चिम धनी छ मन्त्रीमा। विकासमा अलिकति पछाडि परेको थियो। अब पर्दैन। विकासको बाटो मार्गचित्र कोरिसक्या छौं। स्वास्थ्य शिक्षा सामाजिक क्षेत्रमा अघि बढिसकेको छ। उत्पीडनका कथा अन्त्य गर्छौं,’ ओलीले प्रचण्ड नेपाल समूहका सुप नेता भीम रावलप्रति पनि कटाक्ष गरे, ‘उत्पीडनको प्रवृत्ति अन्त्य गरेका छौं। अर्कोलाई उठ्न नदिने, थिचेको थिच्यै गर्ने प्रवृत्ति अब रहन्न। यहाँ सुपका ४ जना मन्त्री बसिरहेका छन्। यो अवस्थाका ल्याउनका लागि डुंगा अगाडि बढ्न नदिनेहरु पछाडि पर्नुभयो। डुंगा अगाडि बढ्यो। उहाँहरु पछाडि पर्नुभयो।’

त्यसपछि ओलीले प्रचण्ड र माधव नेपालमाथि फायर खोले।

‘उहाँहरुको स्वार्थ आफूमा छ। पदमा छ,’ माधव नेपाललाई व्यंग्य गर्दै ओलीले अगाडि भने, ‘मलाई मान गरेनन्, अपमान गरे रे। जसको ध्यान यसमा छ देशमा कसरी हुन्छ?’

त्यसपछि उनले प्रचण्डमाथि हमला गरे।

पार्टी एकताका लागि आफूले प्रस्ताव गरेर गल्ती गरेको मंगलबारमात्रै बताएका प्रचण्डलाई ओलीले जवाफ दिए, ‘जनताको शक्ति टुक्राटुक्रा परेको अवस्थामा ५० वर्षअघि सही विचारसहित लोकतान्त्रिक गणतन्त्रको टुंगो लगायौं। यसलाई समाजवाद उन्मुख बनाउन मैले नै प्रचण्डजीलाई एकताको प्रस्ताव गरेँ। छोरी जिताउन कांग्रेससँग मिल्नुभयो, मतपत्र च्यातेर लोकतन्त्र धुजाधुजा पार्नुभयो। अब मिलेर जाउँ भनेँ। उहाँलाई मेरो कुरा राम्रो लाग्यो। खुसी हुनुभयो। तयार हुनुभयो। चुनावमा गठबन्धन गरेर जितेर आयौँ। तर, बहादुर भवनबाट शीतलनिवास पुग्न अढाई महिना लाग्यो। हिँडेर गए १० मिनेटमा पुगिन्छ। चुनाव मसँग मिलेर लड्ने, ४० प्रतिशत भाग लिने। मिठा सजिला जित्ने ठाउँ छानेर लिने अनि सरकार बनाउन कांग्रेससँग वार्ता गर्ने? वामपन्थीसँग चुनाव जित्ने, दक्षिणपन्थीसँग सरकार बनाउने? मैले मित्रताको अँगालो हालेँ। उनले धृतराष्ट्रको जस्तो अँगालो हाले। उहाँको ध्यान कसरी सत्ता हत्याउने रहेछ। षड्यन्त्रकारी, तिकडमको राजनीति छोड्नुस्। धोका र बेइमानी छोड्नुस् भनेर पटक-पटक सम्झाएँ। साबुन लायो पखाल्यो जस्ताको तस्तै।’

प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समूहसँग बहुमत नभएको पनि दाबी गरे।

‘उहाँहरु बहुमत छ भन्नुहुन्छ। के को बहुमत? त्यो संख्या एकता बनाउन, स्थिरता बनाउन हो। उहाँहरुले आफ्नो स्वार्थका लागि अपमान भयो, मान भएन भन्नका लागि होइन।’

प्रचण्डसँग सहमति गर्दा-गर्दा आफ्नो एउटा व्रिफकेश नै भरिएको ओलीले बताए।

‘मेरो एउटा व्रिफकेश भरिएको छ। प्रचण्डजी आज आउनुहुन्छ पाँच वर्ष तपाईं नै चलाउनुस् जनताले तपाईंलाई चाहेका छन् मलाई कार्यकारी दिनुस् भन्नुहुन्छ। भोलि आउनुहुन्छ मैले गलत गरेँ कि भन्नुहुन्छ। मैले भने सचिवालयमा प्रस्ताव लानुस्। अर्को दिन उहाँ भन्नुहुन्छ छिटो महाधिवेशन गरौँ। एउटा सहमति गर्नुहुन्छ, काँचै छोड्नुहुन्छ। फेरि अर्को सहमति गर्नुहुन्छ काँचै छोड्नुहुन्छ।’

प्रचण्डले प्रधानमन्त्री, राष्ट्रपति र अन्य संस्थामाथि महाभियोग लगाउने तयारी गरेको ओलीको आरोप छ।

उनले भने, ‘म, राष्ट्रपति र अन्य संस्थामाथि महाभियोग लगाउने सोच्नुभयो। लोकतन्त्र गणतन्त्र कामै नलाग्ने रहेछ भन्ने वातारण बनाउन खोजे।’

ओलीले आफ्नो पद र परिवारका लागि मरिमेट्ने प्रचण्ड आत्मकेन्द्रित स्वार्थ प्रवृत्तिका लागि देशप्रति पार्टीप्रति गैरजिम्मे्वार रहेको आरोप लगाए।

‘लोकेन्द्र विष्टमगर खेती गरेर बसेका छन्। कहिले धान त कहिले ड्रागन फुडतिर लाग्या छन्। प्रचण्डजीले उहाँको मनै भाँचिदिनुभएको छ। जनयुद्धमा खोजिने कालीबहादुर खाम खै। परिवारमात्रै हेर्ने?’ ओलीले कटाक्ष गरे।

ओली फेरि माधवमाथि नै खनिए।

‘माधव नेपालको त कुरै नगरौँ। उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो। कार्यकर्ता हुन जानुभएको छ। पदको लोभ छैन भन्नुहुन्छ। तर उदार हुन्न पनि भन्नुहुन्छ। नगद चाहिन्छ। नगद के रहेछ भने द्वितीय अध्यक्ष। पार्टी फुटाउन पनि दुई/तीनवटा अध्यक्ष किन चाहियो। जुटाउन पो चाहिन्छ। फरक पार्टी एमाले र माओवादी एक हुँदा असहज स्थिति सिर्जना नहोस् भनेर पो दुई अध्यक्ष राखिएको हो,’ ओलीले भने।

प्रचण्डले वैशाखबाट ओली सकिन्छ भनेर दिएको अभिव्यक्तिलाई उनले नमिल्ने भविष्यवाणीको संज्ञा दिए।

‘ओली वैशाखबाट सकिन्छ भनेछन्। यो उहाँहरुको नमिल्ने भविष्यवाणी हो। पोहोर बिरामी परेँ, मर्छ भने। बैंकक जाँदा काठको बाकसमा फर्किन्छ भने। म प्लेनमै बसेर आएँ। अस्ति बीचमा इन्फेक्सन हुँदा अब गयो भने। त्यसो भएन। त्यसकारण भविष्यवाणी मिल्दैन उहाँहरुको। लडाईं एउटा बिरामीसँग लडिँदैन। हट्टाकट्टासँग लड्ने हो। मानवीय संवेदना नै नभएपछि के गर्ने?’

ओलीले चुनावबारे दोधारे कुरा गरेर नअल्मलिन प्रचण्ड र माधव नेपाललाई आग्रह गरे।

‘एकातिर चुनाव हुँदै-हुँदैन भन्नुहुन्छ। अर्कोतिर वैशाखको चुनावमा ओली पत्तासाफ हुन्छ भन्नुहुन्छ। मेरो शुभकामना छ चुनावमा केही सिट ल्याउनुस्। सडकमा बसेर कपडा बिगारेर बेकारमा नबस्नुस्। लोकतन्त्रको सुन्दर पक्ष नै समय समयमा आवधिक चुनावमा जाने हो। पर-पर भित्तोमा सिंगौरी खेल्नुहुन्छ। नजिकै आएर लड्न हिम्मत छैन। एक्लै खेल्दा कुनै खतरा हुँदैन। चुनावमा बेला जनताको ब्यालेटमा थाहा हुनेछ।’

ओलीले संसद्‍ पुनर्स्थापना हुन्छ भनेर हल्ला नगर्न आग्रह गरे।

‘संविधानले संसद् पुनर्स्थापना गर्न दिँदैन। संसद्को ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता हुँ। बहुमत नेताले गरेको निर्णय फिर्ता हुँदैन। विघटनपछि अहिले जो जहाँ भए पनि त्यतिखेर बहुमतको नेताले यो कदम चालेको हो। पुनर्स्थापनाको सम्भावना छैन। प्रधानमन्त्रीले विघटन गर्न मिल्दैन। संविधानको धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले भंग गर्ने भनेको के हो? अनि धारा ८४ मा विघटन भएको अवस्थामा बाहेक संसद् कायम रहने भनिएकै छ। त्यसकारण राजनीतिक आग्रह देखाएर हुन्छ?’

ओलीले आफू नभएको भए संविधान पनि नबन्ने र नाकाबन्दीको पनि कसैले डटेर सामना नहुने दाबी गरे। ‘हामी नभएको भए संविधान बन्दैनथ्यो। नाकाबन्दीको सामना डटेर कसले गर्न सक्थ्यो?’

ओलीले झलनाथ खनाललाई पनि जवाफ दिए। झलनाथले मंगलबार रानीपोखरी र धरहरा केपी ओलीले नबनाएको बरु इन्जिनियर सिकर्मी र डकर्मीले बनाएको बताएका थिए।

यसको जवाफमा ओलीले भने, ‘म पहिलोपटक प्रधानमन्त्री हुँदा पुनर्निर्माणका थुप्रै काम अघि बढाएको थिएँ। मलाई हटाइयो। काम जस्ताको तस्तै थिए। रानीपोखरी शिलान्यास गरेको ढुंगो सुकिसकेको थियो। धरहरा जस्ताको तस्तै थियो। अब केही महिनापछि धरहरा चढेर काठमाडौं घुम्न आउनुस्। अब नभत्किने गरी धरहरा बनेको छ। हिजो झलनाथजीले भन्नुभएछ धरहरा केपी ओली बनाएको होइन इन्जिनियरले हो। म भन्न चाहन्छु इन्जिनियरले होइन डकर्मीले बनाएको हो। इन्जिनियरले त नापजाँच मात्रै गर्ने हो। हुनत कहिल्यै गरेको भए पो थाहा हुन्थ्यो।’

आफूमाथि लोकतन्त्र मास्न लागेको आरोपको खण्डन गर्दै ओलीले भने, ‘विगतमा कुखुरा खाने स्याल थियो। राजसंस्था थियो। जनता संगठित भइसकेका थिएनन्। अनि लोकतन्त्र खोसियो। अब राजसंस्था छैन। जनता संगठित छ। कसैले लोकतन्त्र खोस्न सक्दैन।’

प्रचण्डमाथि ओलीले फेरि हमला गरे, ‘केही मान्छे किन उत्ताउलिएका हुन थाहा छैन। मिलेर चुनावमा जाउँभन्दा मान्नुभएन। उहाँहरुले केपी ओलीलाई पार्टीबाट निकालेको रे। उहाँले सदस्यता दिएको हो र निकाल्नलाई?’

ओलीले आफूले नै माधव नेपाललाई राजनीतिमा आउन प्रेरित गरेको दाबी गरे।

‘एउटा केटो महेन्द्र मोरङ क्याम्पसमा पढ्थ्यो। म ५ वर्षदेखि संगठनमा र ३ वर्षदेखि पूर्णकालीन राजनीतिमा थिएँ। त्यो केटोलाई मैले राजनीतिमा आउन सुझाएँ। दुई वर्षपछि राजनीतिमा आयो। पहिला इमान्दार सोझो थियो। बैंकमा काम गर्ने मान्छे, उधारो हुँदैन भन्छ। पछि कपट पसेछ।’

ओलीले प्रचण्ड नेपाल समूहलाई कमिलाको प्वाखसँग तुलना गरे। ‘कमिलालाई काल आएपछि पखेटा पलाउँछ। कमिला जीवित रहेसम्म दुलोबाट बाहिर आउँदैन। जब काल आउँछ, बाहिर आउँछ। प्वाख पलाउँछ। अनि भित्र छिर्न सक्दैन। चराचुरुङ्गीले टिपेर लान्छन्। उहाँहरु अहिले फुरफुर हिँड्या छन्। फिटफिटी छ। जनताले आज र विगतको सबै हिसाब राख्या छन्।’

प्रधानमन्त्रीले ओलीले मध्यावधि निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले हुने विश्वास दिलाए। ‘बत्ती निभाइँने छैन। मतपत्र च्यातिने छैन। च्यात्न दिइने छैन। बाक्सा साट्न पाइँदैन। यस्तो तमासा लोकतन्त्रमा गर्न पाइँदैन। बैगुन रोपेर सुन्तला फल्दैन।’

ओलीले आफ्नो पार्टी शेरनी, बघिनीजस्तो भएको उल्लेख गरे। ‘अरु सहन्छ तर आफ्नो बच्चामाथि हमला भयो भने बघिनीले प्रतिकार गर्छ। संविधान र लोकतन्त्रमाथि कसैले हमला गर्छ भने हामी प्रतिकार गर्छौँ।’

ओलीले आफूलाई तानाशाह भनेकोमा पनि जवाफ दिए, ‘मलाई तानाशाह भनेछन्। मतपत्र च्यात्ने, बत्ती निभाउँने,  दुई-दुई पटक हारेर प्रधानमन्त्री हुने र प्रतिस्पर्धा नगरेर सत्ता पुग्न खोज्ने लोकतन्त्रवादी म चुनाव जितेर पार्टी कमिटीमा जितेर आउने चाहिँ तानाशाही?’

अन्तिममा ओलीले सरकारले गरेका काम सडक कालोपत्रेदेखि महाकाली नदीमा पुलसम्म भन्न भ्याए। उनले केही दिनमा रेलको शिलान्यास हुने र रेल चल्ने दाबी गरे। सुन्दर सुदूरपश्चिमलाई विकसित सुदूरपश्चिम बनाउने प्रतिवद्धता समेत जनाए। मूलतः ओलीको सम्बोधन मंगलबार भृकुटीमण्डपमा प्रचण्ड नेपाल समूहले गरेका प्रश्न तथा आरोपको खण्डन गर्नमा केन्द्रित रह्यो। बीच-बीचमा उनले कहिले माधव नेपालको क्यारिकेचर त कहिले कटाक्ष गरेर कार्यकर्यालाई मनोरञ्जन दिएका थिए।

प्रतिक्रिया