ताजा अपडेट
शीर्ष नेताका गृहजिल्लाको विरासत जोगाउने र भत्काउने खेलमा नेकपाका दूवै समूह
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली शनिबार गृह मन्त्री रामबहादुर थापा, सहरी विकास मन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतका नेताहरु लिएर चितवन पुगे ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला साथै निर्वाचन क्षेत्रमा पुगेर प्रधानमन्त्री ओलीले भरतपुर महानगरपालिका–१० स्थित भरतपुर सिटीहलको शिलान्यास र भरतपुरस्थित पुल्चोक–गोन्द्राङ ६ लेन सडक स्तरोन्नतिको शिलान्यास गरे ।
दाहालको गृहजिल्ला एवं निर्वाचन क्षेत्र पुगेर ओलीले दाहालमाथिको टिप्पणीमै बढी समय खर्चिए । ‘माडीलाई मणि’ बनाउन मत मागेर जिताएको मान्छे (दाहाल) नै ‘कुहिएको आलु’ भएर निस्केको ओलीले आरोप लगाए । ओलीले चुनाव अगाडि फेरि चितवन आएर मतदातालाई सम्बोधन गर्ने वाचा दिए । चितवनमा शनिबार भएको सभालाई ओलीले ‘कास्टिङ’ भन्दै दाहाल–नेपाल समूहलाई चुनौती पनि दिए ।
ओलीसँगै आफ्नै गृहजिल्ला पुगेका गृहमन्त्री थापाले पनि दाहालमाथि आक्रमण गरे । उनले दाहालको नाम नलिई भने, ‘म यो जिल्लाका अवसरवादीलाई आह्वान गर्न चाहन्छु आउनुस्, प्रधानमन्त्री हुने अवसर यही निर्वाचनले दिन्छ । जनताले तपाईंलाई मौका दिन सक्छन् । अब तपाईंहरुलाई मतपत्र च्यात्न आवश्यक छैन ।’
गृहमन्त्री थापा ओलीका लागि चितवनमा दाहालसँग लड्ने ‘प्रमुख पात्र’ हुन् । विभिन्न घुम्ती पार गर्दै ०७४ को चुनाव अगाडि दाहालसँग एकता गरेका थापा नेकपा विवादमा ओलीका लागि ‘भरपर्दो’ सहयोगी बनेका थिए । हाल उनी राष्ट्रियसभा सदस्य छन् ।
संसद् विघटनपछि राजनीतिक रुपमा विभाजित नेकपाका दुवै समूह संगठन निर्माण र शक्ति प्रर्दशनमा लागेका बेला ओली रणनीतिक रुपमा अर्को समूहका अध्यक्ष दाहालको गृहजिल्ला पुगेका हुन् । ओलीले पूर्व माओवादी समूहका नेता एवं गृहमन्त्री थापालाई साथमा लिएर
चितवनमा आफ्नो समूहलाई बलियो बनाउने र दाहाल–नेपाल समूहको विरासत भत्काउने योजना बनाएका छन् । ओलीले दाहाल र माधवकुमार नेपालका गृहजिल्ला चितवन र रौतटहमा पूर्व माओवादीका नेता अगाडि सारेर आफ्नो योजना अगाडि बढाएका छन् ।
तर, चितवन पुगेका ओलीले दाहाल–नेपाल समूहको विरोधको पनि सामना गर्नुपर्यो । सडकमा ओलीको विरोधमा प्रर्दशन भए । सिटीहलको शिलान्यासमा हस्तक्षेप गरेको भन्दै भरतपुर महानगरपालिकाले भने असन्तुष्टि जनाएको थियो । सोही कारण सिटीहलको शिलान्यासमा मेयर अनुस्थित भइन् । त्यसपछि ओलीले मेयर रेणु दाहालप्रति कटाक्ष गर्दै भने, ‘अलिअलि मतपत्र च्यातेर जिते पनि यहाँका जनताले भोट त दिएकै थिए । खोई तपाईंहरुको मेयर यहाँ त छैनन् ! सायद मेयर पिकनिक खान जानु भयो होला !’
अध्यक्ष दाहालको छोरीसमेत रहेकी मेयर दाहालले ‘मतपत्र च्यातेर चुनाव जितेको’ पटक–पटक भन्दै आएका ओलीले चितवनमा दाहालमाथि दबाब बनाउन सबै अस्त्र प्रयोग गरेका छन् । त्यसको प्रहार मेयर दाहालले समेत भोगेकी छिन् । स्थानीय चुनावमा दाहालले तत्कालीन एमाले उम्मेद्वार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् । तर, दाहालमाथि ‘मतपत्र च्यातेर चुनाव जितेको’ आरोप लाग्दै आएको छ ।
नेकपाका दुवै समूहका शीर्ष नेता आफ्नो गृहजिल्ला जेगाउने र अर्को समूहका शीर्ष नेताको गृहजिल्लाको विरासत भत्काउने दौडमा छन् । दुवै समूहबाट भएका आरोप–प्रत्यारोप, गृहजिल्लाहरुमा शक्ति प्रर्दशन र जिल्ला तहका नेता–कार्यकर्ताको तानातान यसैका उदाहरण हुन् । आफ्नो गृहजिल्लामा संगठन कमजोर हुँदा त्यसको देशव्यापी असर पार्ने भएकाले शीर्ष नेताले विरासत बचाउने विषयलाई प्रतिष्ठा नै बनाएका छन् । अहिले संगठनमा र भविष्यमा चुनाव आफ्नो पक्षमा जनमत बनाउने शीर्ष नेताको योजना छ ।
चितवनमा दाहाल–नेपाल समूहको पकड भत्काउने ओलीको प्रयास
ओलीले दाहालको गृहजिल्लामा हस्तक्षेप बढाउने नीति लिए पनि अहिले जनप्रतिनिधि र संगठनात्मक रुपमा चितवनमा दाहाल–नेपाल समूह बलियो छ । दाहाल–नेपाल समूहको यही शक्ति भत्काउन ओलीले चितवनमा नजर लगाएका हुन् । तर, आफ्ना पूर्वसहकर्मी थापालाई बोकेर ओलीले गृहजिल्लाको विरासत भत्काउन खोजे पनि दाहालले यसलाई जोगाउने प्रयास गरेका छन् । नेकपा विभाजन र स्थानीय जनप्रतिनिधिमा दाहाल–नेपाल समूहको पकड देखिएको छ ।
जिल्ला कमिटीमा ओली समूह निकै कमजोर छ । जिल्ला कमिटी इन्चार्ज, सह–इन्चार्जहरु, अध्यक्ष र सचिव दाहाल–नेपाल पक्षमा छन् । सदस्यीय जिल्ला कमिटीमा ओली समूहमा १० सदस्य खुलेका छन् । चितवनका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद दाहाल–नेपाल पक्षमा छन् । दाहालको निर्वाचन क्षेत्र ३ हो । दाहाल–नेपाल समूहका दोस्रो पुस्ताका नेता सुरेन्द्र पाण्डेको गृह जिल्ला पनि चितवन नै हो । उनी चितवन–१ का सांसद हुन् । क्षेत्र नम्बर २ बाट दाहाल–नेपाल समूहकै कृष्णभक्त पोखरेल सांसद छन् ।
प्रदेशसभाका ६ सांसदमध्ये दाहाल–नेपाल र ओली समूहमा ३/३ जना छन् । दावा दोर्जे लामा, विजय सुवेदी र कृष्ण भुर्तेल ओली पक्षमा छन् ।
दाहाल–नेपाल पक्षमा कृष्ण खनाल, घनश्याम दाहाल र रामलाल महतो छन् । प्रदेशसभाकै समानुपातिक सांसद पार्वती सिलवाल र कञ्चन खनाल दाहाल–नेपाल समूहमा छन् । राष्ट्रिय सभामा चितवनबाट प्रतिनिधित्व गर्ने थापा र पार्वती रावल ओली समूहमा छन् ।
चितवनको स्थानीय तहमा दाहाल–नेपाल समूह बलियो देखिएको छ । सात स्थानीय तह रहेको चितवनमा इच्छाकामना गाउँपालिकाबाहेक सबैमा नेकपाका उमेद्वार विजयी भएका थिए । पाँच नगरपालिकामध्ये राप्तीमा तत्कालीन एमालेबाट मेयर र उपमेयर, खैरहनीमा पनि तत्कालीन एमालेबाट मेयर उपमेयर, कालिकामा तत्कालीन एमालेबाट मेयर, उपमेयर र रत्ननगरमा पनि तत्कालीन एमालेबाट मेयर उपमेयर विजयी भएका थिए । माडीमा तत्कालीन माओवादीबाट मेयर र एमालेबाट उपमेयर विजयी भएका थिए ।
भरतपुर महानगरपालिकामा तत्कालीन माओवादीबाट मेयर र नेपाली कांग्रेसबाट उपमेयर विजयी भएका थिए । चितवन जिल्ला समन्वय समितिका सबै पदमा तत्कालीन एमाले विजयी भए । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र माडीका मेयर ठाकुर ढकाल, कालिका नगरपालिका प्रमुख खोमनारायण श्रेष्ठ गोपि र रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन दाहाल–नेपाल समूहमा छन् । राप्ती नगरपालिकाका मेयर प्रभा बराल ओली समूहमा देखिएकी छिन् ।
खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी तटस्थ छन् । चितवन जिल्ला समन्वय समितिका संयोजक कृष्णकुमार डल्लाकोटी पनि कुनै समूहमा खुलेका छैनन् । राप्तीका उपमेयर इमानसिंह लामा, माडीका उपमेयर तारा काजी महतो पनि दाहाल–नेपाल समूहमा छन् । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया र रत्ननगरका उपप्रमुख बिमला दुवाडी ओली समूहमा लागेका छन् । कालिका नगरपालिका उपप्रमुख कमला भट्टराई तटस्थ छन् । वडाध्यक्षहरुमा दाहाल–नेपाल समूहका धेरै छन् ।
गृहजिल्ला झापामै ओली अल्पमतमा
चितवनमा हस्तक्षेप गर्न खोजेका ओली आफ्नो गृह जिल्ला झापामा पनि दबाबमा छन् । ओली समूह जिल्ला कमिटीमा अल्पमतमा छन् । नेकपाको १७७ सदस्यीय जिल्ला कमिटीमा दुई सह–इन्चार्ज र जिल्ला अध्यक्षसहित करिब ६७ ओली पक्षधर छन् । इन्चार्ज, सह–इन्चार्ज र सचिवसहित करिब ११० सदस्य दाहाल–नेपाल पक्षमा छन् ।
जिल्ला इन्चार्ज रविन कोइराला, तीनमध्ये एक सहइन्चार्ज धर्मशिला चापागाईं र सचिव मणिकुमार साम्पाङ दाहाल–नेपाल पक्षतिर लागेका छन् । दुई सहइन्चार्ज देवेन्द्र दाहाल र हरि राजवंशी तथा अध्यक्ष चिन्तन पाठक ओली समूहका छन् । दाहाल राष्ट्रिय सभाका सांसद पनि हुन् ।
झापामा ५ निर्वाचन क्षेत्रमध्ये चारमा नेकपाका सांसद् छन् । चारमध्ये दाहाल–नेपाल र ओली पक्षका दुई–दुई प्रत्यक्ष निर्वाचित सांसद छन् । क्षेत्र नम्बर ३ का सांसद राप्रपाका राजेन्द्र लिङ्देन हुन् । ओलीले आफ्नो निर्वाचन क्षेत्र ५ मा राप्रपासँग सहकार्य गरेपछि ३ मा तत्कालीन वामगठबन्धनले उम्मेद्वारी दिएको थिएन ।
निर्वाचन क्षेत्र–४ का सांसद एलपी साँबा लिम्बू ओली समूहमा छन् । क्षेत्र नम्बर १ का राम कार्की र २ का पवित्रा निरौला खरेल दाहाल–नेपाल पक्षका सांसद हुन् । कार्की वैचारिक नेताका रुपमा चिनिन्छन् । कार्कीले ओलीको राजनीतिक मुद्दामाथि प्रहार गर्न सक्ने हैसियत राख्छन् । प्रतिनिधि सभाकै समानुपातिक तर्फकी बिमला विक र कुमारी मेचे ओलीको पक्षमा छन् ।
तर, प्रदेश सांसदको हकमा झापामा ओली पक्ष बलियो छ । एक समानुपातिक र १० निर्वाचित प्रदेश सभाका ११ सांसदमध्ये ९ सांसद ओली पक्षमा छन् । पहिला ओली पक्षमा प्रदेशसभाका ५ सांसद मात्रै (बिर्ख प्रधान, एकराज कार्की, वसन्त बानिया, हिरा थापा, हिक्मत कार्की र अर्जुन राइ) थिए । तर, क्षेत्र नम्वर १ का श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी तथा समानुपातिक सांसद जसमाया गजमेर केही दिनअघि गुट फेरेर ओली पक्षमा लागेका छन् ।
तीन सांसदले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएपछि पूर्णसिंह राजवंशी र झलकसिंह दर्लामीमात्रै दाहाल–नेपाल पक्षमा छन् ।
झापाका १५ स्थानीय तहमध्ये नेकपाले जितेका दमक नगरपालिका र कमल गाउँपालिकाका प्रमुख र उपप्रमुख दुवै ओली पक्षका छन् । दमकका प्रमुख रोम ओली र उपप्रमुख गीता अधिकारी तथा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेणु शिवाकोटी ओली पक्षमा छन् । दमक ओलीको गृहनगर पनि हो ।
मेची नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, अर्जुनधारा नगरपालिका उपप्रमुख कमला खतिवडा, कनकाई नगरपालिका उपप्रमुख मन्जु प्रसाई र गौरादह नगरपालिका उपप्रमुख गीता भेटुवाल, हल्दीवारी गाउँपालिका उपाध्यक्ष डम्बर गिरी र बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेल ओली पक्षका हुन् । कनकाई नगरपालिका मेयर राजेन्द्र पोखरेल र झापा गाउँपालिका उपाध्यक्ष कुन्तिदेवी बुढाथोकी तटस्थ छन् ।
भद्रपुर नगरपालिका प्रमुख जीवन श्रेष्ठ (ओली), उपप्रमुख चन्द्रमाया श्रेष्ठ (दाहाल–नेपाल), विर्तामोड नगरपालिका प्रमुख ध्रुव शिवाकोटी (ओली), उपप्रमुख पवित्रा महतरा ( दाहाल–नेपाल), शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा (ओली), उपप्रमुख भोजकुमारी नेपाल (दाहाल–नेपाल) पक्षका हुन् । जिल्ला समन्वय समितिको प्रमुख सोमनाथ विश्वकर्मा (ओली) र उपप्रमुख मीना घिमिरे पराजुली (दाहाल–नेपाल) समूहकी हुन् ।
रौतहटमा नेपालको ‘विरासत’ भत्काउने प्रयासमा प्रभु
दाहाल–नेपाल समूहकै अर्का अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा विवादका कारण जिल्ला कमिटीले भने पूर्णता पाएको छैन । रौतहटमा हाल १५५ सदस्यीय जिल्ला कमिटी छ । जसमध्ये इन्चार्ज युवराज भट्टराई र जिल्ला कमिटी अध्यक्ष–कमल यादव दाहाल–नेपाल पक्षमा छन् ।
रौतहटमा तीन निर्वाचन क्षेत्र छन्, जसमध्ये नेकपाले जितेको क्षेत्र नम्बर २ का सांसद प्रभु साह ओली पक्षमा छन् । उनी हाल सहरी विकास मन्त्री पनि छन् । सुरुमा दाहाल–नेपाल पक्षमा लागेका साह संसद् विघटनपछि ओली समूहमा गएर मन्त्री भएका थिए । सुरुमा उनले माधवकुमार नेपाललाई अध्यक्ष बनाउन नहुने माग राखेका थिए । तर, दाहाल–नेपाल समूहले नेपाललाई अध्यक्ष बनाएपछि साहले ओली समूह रोजेका थिए । साह रौतहटमा नेपालको विरासत भत्काउने ओलीको रणनीतिका लागि प्रमुख पात्र हुन् ।
४ समानुपातिक सांसदमध्ये ओली र दाहाल–नेपाल पक्षमा दुई/दुई जना छन् । समानुपातिक तर्फका सांसद रेखा झा र समिना हुसेन ओली पक्षमा छन् । समानुपातिक सांसद कल्याणी खड्का र सरला यादव दाहाल–नेपाल पक्षमा छन् । प्रदेशसभाका तीन सांसदमध्ये नागेन्द्र यादव र हसिमा खातुन दाहाल–नेपाल पक्षमा छन् । कुन्दन कुशवाहा ओली पक्षमा छन् ।
कान्तिपुर बाट साभार
प्रतिक्रिया