ताजा अपडेट
जनता मार्ने माध्यम नबनोस् दोस्रो लकडाउन दिवस !
ए हजुर, सङ्घीय राजधानीमा आजदेखि, खै … निषेधाज्ञा हो कि लकडाउन हो, सुरू भएको छ । कन्टिर–बाबू भन्छन्– एबिसी नाम जे दिए पनि यो मानिसलाई घरमै नजरबन्द गर्ने निन्जा टेक्निक हो ।
लकडाउनको अनुभव नेपालीका लागि नौलो होइन । गत वर्ष पनि यो अनुभव राम्रैसँग सँगालिएकै हो । जताततै कोरोना महामारी फैलिरहेको यो सकसपूर्ण बेलामा त्यसको लाङ्लो भाँच्न निषेधाज्ञा भए पनि लकडाउन भए पनि केही दिनका लागि मानिसको अनियन्त्रित हिँडडुलमा रोक लगाउनु दुःख मान्नुपर्ने कुरा होइन ।
तर कन्टिर–बाबूलाई दुःख त किन लागेको छ भने अघिल्लो पटकको कोरोना भेरियन्ट र लकडाउन अनुभवबाट नेपालका कुनै पनि तहका सरकारले केही पनि सिकेनन । खाली भत्ता र कमिसनको खेलमा व्यस्त भए भातमाराहरू ! यसपटक त अनपेक्षित अवस्थाले झन् चुली नै नाघ्यो ।
लकडाउनको एक दिन पहिले पब नामधारी एक जना ‘सङ्क्रमित’ लुसुक्क पोखरा पुगे गण्डकी प्रदेशका एक जना सांसदलाई सङ्क्रमित बनाए । अचानक बिरामी बनाइएका ती सांसदका कारण पृथ्वीजीको सत्ता तत्कालका लागि जोगियो । लकडाउनका नाममा अनिश्चितकालका लागि प्रदेशसभा स्थगित गरियो ।
कन्टिर–बाबू सोध्छन्– सत्ताधारीहरूलाई कति फलिफाप भएको यो कोरोना र लकडाउन ? विचरा निमुखा जनतालाई पो बाँच्नु न मर्नुको सास्ती ! सत्ताधारीका लागि त अपना काम बनता भाँड में जाए जनता !
त्यसो त कन्टिर–बाबू लकडाउन विरोधी होइनन् मात्र उनी यसको उचित व्यवस्थापन भएको हेर्न चाहन्छन् । उनको चाहना छं कुनै पनि नाममा सत्ता लम्ब्याउने र जनता मार्ने माध्यम नबनोस् यो लकडाउन ।
कन्टिर–बाबू दोस्रो वार्षिक लकडाउन दिवस प्रारम्भको विशेष अवसरमा अरू के नै दिन सक्छन र ? रूघा, खोकी, ज्वरो नलागोस्, शरीरमा ऐँठन नहोस्, खाना गजबले रूचोस्, खाना टन्न खाइए पनि धेर नमोटाइयोस् भन्ने शुभेच्छाबाहेक कन्टिर–बाबूसँग केही पनि छैन दिनलाई ।भन्छन्– भए पनि यो अप्ठेरो बेलामा प्रदेश २ को सरकारले जस्तो ढोलक र हारमोनियमचाहिँ दिइन्न है हजुर !
प्रतिक्रिया