ताजा अपडेट
सत्य–निष्ठा, प्रतिज्ञा मन नपर्नेसामु विवश भाइरल हाँसो !
हिँ हिँ हिँ कन्टिर–बाबू नेपाली राजनीति र नेताहरूको ताल देखेर बेला–बेलामा हास्न त हित्का छोडेरै हाँस्थे । तर यो हिँ हिँ हिँ यति चाँडै भाइरल होला भन्ने थिएन । तर कन्टिर–बाबू सुरुमा यो हाँसोको होइन, त्यसको कारकबारे बारे केही टिप्पणी गर्ने प्रयत्नमा छन् ।
कन्टिर–बाबूका लागि ओल्बा एक महान् तथा नभई नहुने नेता हुन् । उनी नेपालका साँच्चिकै एक यस्ता नेता हुन्, जो कन्टिर–बाबूजस्तालाई लेख्नका लागि हरेक दिन केही न केही ‘प्लट’ दिइरहन्छन् । यस्ता विशिष्ट न्युज–मेकर ओल्बा कन्टिर–बाबूका दृष्टिमा विशेष धन्यवादका पात्र हुन् ।
अब ओल्बाको तेस्रो शपथग्रहणकै कुरा गरौँ । यो सपथ ग्रहणका बेला कसले के भन्यो, के गरौ ? जगजाहेरै छ । यतिबेला ओल्बाको त्यो नवनीतम् (कु)कृत्यले संसदीय लोकतान्त्रिक शासन व्यवस्था र अभ्यासमा एउटा फरक बहस सुरू भएको छ । राष्ट्रपतिलाई हप्काई–दप्काई गर्ने अधिकार उनलाई कसले दियो ?
ए बाबा, दुवै जनाका बीचमा केही वार्तालाप हुन्छ भने त्यो सार्वजनिक सरोकारको विषय नहोला । तर त्यहाँ त मिडियाको क्यामेरा, रेकर्डर, माइक्रोफोनहरू अन थियो । सारा संसारको नजर त्यसैमा केन्द्रित थियो । त्यसैले यो ख्याल गर्ने विषय हुँदै होइन ।
कन्टिर–बाबूका अनुसार सार्वजनिक रूपमा जब प्रधानमन्त्रीले राष्ट्रपतिको मानमर्दन गर्छन् र शपथग्रहणको शव्द नै हेरफेर गर्छन् भने त्यसलाई कुनै पनि हालतमा शोभनीय मान्न सकिँदैन । यो त पदीय मर्यादाको ठाडो उल्लङ्घनमात्र होइन, असंवैधानिक, असंसदीय र गैरकानुनी हर्कत पनि हो ।
तर ओल्बालाई भने बाल मतलब छैन । यस्तोमा कन्टिर–बाबूको प्रश्न छ– के उनी आफू राणा शासकजस्तै संविधान र कानुनभन्दा माथि रहेको सन्देश दिन चाहिरहेका छन् ?
यसै सन्दर्भमा कन्टिर–बाबू आफ्नो बालापनको बेला सम्झन्छन् । केटाकेटीमा खेल्दा साथीभाइमा किरिया–कसम खाइन्थ्यो खुवाइन्थ्यो । कुनै किरिया खानुपर्दा वा प्रतिज्ञा गर्नुपर्दा रामोराम, सातो विद्या नाश, विद्या कसम भन्नुपर्ने हुन्थ्यो । तर हामी सकेसम्म त्यस्तो कसम खानु नपरे हुन्थ्यो भनेर तर्किन्थ्यौँ । हामीलाई विद्या कसम खान सकस भए जस्तै ओल्बालाई ‘प्रतिज्ञा’ कसम खान निकै सकस परेका देखियो । आखिर किन उनलाई सत्य–निष्ठा र प्रतिज्ञा शब्दसँग एलर्जी भएको हो ? यसबारे गम्भीर छानबिन हुनुपर्ने कन्टिर–बाबूको राय छ ।
कन्टिर–बाबू सोचिरहेका छन्– अमेरिकामा राष्ट्रपतिले शपथ खाँदा ‘इन गड वि ट्रस्ट’ भन्न हुने तर यिनले ईश्वरका नाममा शपथ खान किन नहुने ? पशुपतिमा पूजा गर्न हुने, रामलाई ढोग्न हुने तर प्रतिज्ञा भन्न नहुने ? अनि हाकाहाकी देशको सर्वाेच्च संस्थालाई प्रतिज्ञा ‘भन्न पर्दैन’ भनेर डिक्टेट गर्ने ?
अरे अमेरिकामा राष्ट्रपति ओबामाले शपथ लिने क्रममा सामान्य त्रुटि हुँदा सच्याउनु पर्ने, नेपालमै पनि उपराष्ट्रपति परमानन्दको शपथ लिँदा भनेको नहुने तर ओल्बाले भनेको चाहिँ जे पनि हुने, सबैले मान्नुपर्ने ? कन्टिर–बाबूको प्रश्न छ– खोइ कानुन, खोइ संविधान, खोई अदालत ?
यसमा कन्टिर–बाबू वरिष्ठ पत्रकार तारानाथ दाहालको अभिव्यक्तिसँग सहमत छन् । दाहालबाबू सामाजिक सञ्जालमा लेख्छन्– सपथमा शब्द र भाषा तलमाथि पारे त्यो मान्य नहुने अन्तर्राष्ट्रिय प्रचलन र हाम्रै सर्वोच्च अदालतको नजिर पनि छ । तर ओलीलाई यसले छुँदैन ।
यस्तोमा कन्टिर–बाबू भारतीय जनता पार्टीका नेता मनोज तिवारीको एक गीत सम्झिन्छन्– हिँ हिँ हिँ हाँस देली रिन्किया के पापा, चट दानी मार देले खिचके तमाचा !
अब राष्ट्रपतिको मनको कुरा गरौँ । ओल्बाले ‘त्यो पर्दैन’ भन्दा राष्ट्रपति हिँ हिँ हिँ गरेर हाँसिन् । यस्तो संवैधानिक अप्ठेरोमा बेला, मूर्खता प्रदर्शनका सामुन्ने राष्ट्रपति हाँस्नुपर्ने कि गम्भीर हुनुपर्ने ? यसबारेमा अर्को दिन बहस गरौँला । तर राष्ट्रपतिको विवशता र हाँसो ओल्बाको हर्कतसँगै भाइरल भइदियो, यसमा भने कन्टिर–बाबूलाई सन्तोष नै लागेको छ ।
यसबाहेक सत्य–निष्ठा, प्रतिज्ञा कमनिस्ट मार्काधारी कमाउनिस्टहरूको शब्दकोशमा नभएकोले ‘त्यो पर्दैन’ भन्ने सोच्दै अहिलेका लागि अगाडि बढौँ !
कोशी अनलाईन बाट साभार
प्रतिक्रिया