ताजा अपडेट
स्वदेशमै काम गर्दै भारतबाट फर्केकाहरु
कोरोना महामारीको संक्रमणले विश्व नै आक्रान्त भएको समयमा त्यसको सबैभन्दा बढी प्रभाव युवाहरुलाई पर्यो । पहिलो र दोस्रो चरण गरी अछाममा करिब ३५ हजारभन्दा बढी भारतमा कामको सिलसिलामा गएकाहरु अछाम फर्के । कतिपय युवाहरु बेरोजगार नै छने भने कतिपय युवाहरु काम खोज्दै हिंडिरहेका छन् । अछामका युवाहरु दैलेखसम्म र छिमेकी जिल्ला दैलेखबाट अछाममा काम खोज्दै आउनेहरुको संख्या पछिल्लो समयमा बढि रहेको छ
मंगलसेनको जिल्ला अस्पताल नजिकैको सडक कालोपत्रेको कामका लागि दैलेखको चामुन्द्रा बिन्द्रासैनी नगरपालिका ९ का ३३ वर्षीय सुर्य थापा सहितका २० जना काम गरिरहेका छन् । १५ वर्षको उमेर देखि कामको लागि भारतका विभिन्न सहर पुगेका सुर्य लामो समय देखि कोरोनाको कारण जान सकेनन् । ठूला ठेक्काको खोजी गर्ने र उतै गएर काम गर्ने निधो गरे । अहिले गाउका २० जना यूवाको साथमा उनी सडकको काम गर्न अछाम पुगेका छन् । ‘भारत गएर काम पाउन मुस्किल छ । यति लामो समयसम्म स्वदेशमा आजसम्म बसेको थिएन । अहिले घरमा बसेर गुजारा चलाउन गाह्रो भयो ’ उनले भने , ‘ दैलेखबाट काम खोज्दै आएका हौं । कमाइ राम्रै छ । आखिर बम्बै गएर पनि कमाउने यस्तै त हो । ’ कोरोना महामारी कम भए पनि उनले भारत नजाने बताए । उनीसंगै आएका चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का एकेन्द्र थापा पनि सुर्य जस्तै भारतमा काम गर्न जान थालेको वर्षौं भयो । भारतमा जान थालेको तिस वर्षको अवधिमा एकै ठाउँमा काम गर्ने उनको टुंगो भएन । जता काम पायो उतै जाँदा तिस बर्ष बित्योे । भाडा माझ्ने , होटेल सफा गर्ने , गाडी धुनेसम्मका काम उनले गरे । काम जस्तो भएपनि परिवारको पालन पोषणमा कमि गरेका थिएनन् । कोरोनाको डरले उनी आत्तिएर घर आएपछि उनी बेरोजगार भए । ‘ घर आएको डेढ वर्ष भयो । यो महिना जेनतेन गुजारा चल्यो । अब त साँझ बिहान छाक टार्नै मुस्किल भइसक्यो । अनि काम खोज्दै अछामसम्म आएका हौं’ उनले भने ,‘आफूसंग भएको जग्गा हामीले कहिल्यै बाँझो राखेनौं । तर पनि दुइ महिना खान पुग्दैन । अहिले स्वदेशमा काम पाइरहेका छौं ।’ आफ्नै गाउमा भने काम गर्न चाहे पनि नपाएको उनको गुनासो छ । ‘ गाउँमा हुने विकास निर्माणका काम , अन्य काममा पनि पहुँचवाला मान्छेले नै काम पाउने रहेछन् । नेता , जनप्रतिनिधिका आफ्ना मान्छे मात्रै उपभोक्ता समितिमा बस्छन् । हाम्रो त वास्ता नै गर्दैनन् ।’
मंगलसेन नगरपनलिका ६ का रतन बोहरा पनि दैलेखि समूहसंग काम गरिरहेका छन् । उनी भारतमा काम गर्न जान थालेको १३ वर्ष भयो । खेती लगाउने सिजनमा आउने र काम सकेर जाने गर्थे । सदा झैं गत वर्ष मंसिरमा गहुँ खेती लगाएर उनी भारत गए । कुनै बेला एक वर्ष , कुनै बेला दुइ वर्ष बसेर उनी बेला बेला आउने गर्थे । तर अहिले भने उनी घरबाट गएको तिन महिनामा भारतबाट घर फर्किन बाध्य भए । संसारभर कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएपछि उनी आत्तिएर गत चैतमा घर आए । ५ छोराछोरी सहित ९ जनाको परिवार भारतकै कमाइले धानिएको थियो । उता पाएको काम छोडेर ज्यान बचाउनको लागि मात्र घर आएका हुन् । कोरोनाको त्रास कम भएपछि फेरी उनले भारत नै जाने सोच बनाएका छन् । तर काम पाउने नपाउने भने निश्चत छैन । ‘एक कम्पनिमा चौकीदारीको काम गर्थे । कम्पनि बन्द भएपछि काम पनि रोकियो , काम नहुँदासम्म साहुले पैसा दिन नसक्ने बताएपछि घरमा आएँ’ उनले भने ‘हाम्रो कामको कुनै ग्यारेन्टि छैन । अब गयो भने मैले अन्तै काम खोज्नुपर्छ ।’ साहुको व्यवहारमा धेरै कुरा भर पर्ने भएकाले उनी अब त्यहि कम्पनिमा काम पाइन्छ भन्नेमा ढुक्क छैनन् । ‘कामको खोजिका लागि भारत एक मात्र विकल्प हो भन्ने होइन । आफ्नै ठाउमा काम खोज्दा ,दुख गर्दा पैसा कमाउन सकिदो रहेछ ।’ उनले भने ।
प्रतिक्रिया