ताजा अपडेट
पसलको औषधिले थलिएपछि अस्पताल
अछामको पञ्चदेवल विनायक–२ की ५७ वर्षीया श्रीमती देउधरी विकलाई सात दिनअगाडि मन्द ज्वरो, हातखुट्टा दुख्ने समस्या देखापर्यो । रोगले च्याप्दै गएपछि उनलाई विनायक बजारको एक औषधि पसल (मेडिकल) पुर्याइयो ।
मेडिकलमा रगत जाँच गरेपछि उनमा मलेरिया देखियो । पाँच दिनसम्म मलेरियाको औषधि खुवाइयो । सन्चो नभएपछि स्वास्थ्य संस्था पुर्याए पनि सुधार भएन । बिरामीको अवस्था गाह्रो हुन थालेपछि ५९ वर्षीय श्रीमान् जितले बिहीबार जिल्ला अस्पताल मंगलसेन लगे ।
जिल्ला अस्पतालमा जाँच गर्दा मलेरियाको रिपोर्ट नेगेटिभ आयो । ‘लाग्दै नलागेको रोगको औषधि खाएपछि श्रीमतीलाई गाह्रो भएको रहेछ । मेडिकलको औषधिको भरोसा पर्दा यस्तो अवस्था आयो,’ विकले भने, ‘स्वास्थ्य चौकीमा केही औषधि पाइँदैन । बरु मेडिकल जान सजिलो लाग्छ । अब त मेडिकलको औषधिको पनि विश्वास लाग्न छोड्यो ।’ एक वर्षको अवधिमा मेडिकलमा मात्रै ५० हजार रुपैयाँ बराबरको औषधि किनेको विकले बताए । ‘मेडिकलको औषधि महँगो हुन्छ । मंगलसेन आउन जान दुई जनाको १२ सय गाडी भाडा लाग्यो । गरिबलाई उपचार गर्न सजिलो छैन,’ उनले भने ।
रामारोशन गाउँपालिका–१ मलातिकोटकी २१ वर्षीया लक्ष्मी साउँदका २ वर्षीय छोरालाई निमोनिया भएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । विक दम्पतीजस्तै लक्ष्मीले पनि ७ दिनसम्म बच्चालाई मेडिकलबाट औषधि खुवाइन् । गाह्रो हुन थालेपछि उनले बुधबार छोरालाई जिल्ला अस्पताल ल्याइन् । अनावश्यक औषधि प्रयोगले बच्चाको अवस्था गाह्रो भएको भन्दै उनलाई ५ दिनसम्म जिल्ला अस्पतालमा भर्ना गरेर राख्नुपर्ने डाक्टरले सुझाएका छन् । ‘जन्मेदेखि नै बिरामी भइराख्छ । जहिल्यै मेडिकलको औषधिले ठीक हुन्थ्यो । तर १५ दिन नपुग्दै फेरि बिरामी हुन्छ । यसपालि त मेडिकलको औषधिले पनि काम गरेन,’ लक्ष्मीले भनिन्, ‘मेडिकल लैजाँदा हजारदेखि पन्ध्र सयको औषधि दिन्छन् ।’
दुर्गम गाउँमा रोग पहिचान गर्न नसक्ने स्वास्थ्यकर्मीले सामान्य बिरामीलाई पनि कडा र महँगो औषधि दिने गरेका छन् । दक्ष जनशक्ति र अनुमतिबिनै औषधि पसल सञ्चालन भइरहेका छन् । ‘मेडिकल सञ्चालनका लागि योग्यता के कति चाहिन्छ ? कसले सञ्चालन गर्न पाउँछ ? कहाँ दर्ता गर्नुपर्छ भन्ने जानकारी नै नपाएर जताततै मेडिकल सञ्चालनमा छन्,’ रामारोशन–१ का जयबहादुर साउद भन्छन्, ‘एक्कासि बिरामी भएर गाह्रो अवस्था आउँछ । स्वास्थ्य चौकीमा जाँदा औषधि पाइन्न । मेडिकलको औषधिले जोखिम निम्त्याउँछ भन्ने थाहा हुँदाहुँदै पनि त्यहाँ जानु हाम्रो बाध्यता हो ।’
हुनेखानेको परिवार सहर बजार केन्द्रित भए पनि निम्नवर्गीय परिवारको ज्यान जोखिममा रहेको उनको भनाइ छ । ‘जनताको स्वास्थ्यसँग जोडिने विषयमा स्थानीय प्रशासन, स्थानीय तहले कुनै वास्ता गरेको देखिँदैन,’ उनले भने, ‘राजनीति गर्नेलाई पनि जनताको स्वास्थ्यको कुनै मतलब छैन । मेडिकलको अनुगमन पनि कसैले गर्दैनन् ।’
ग्रामीण भेगमा अधिकांश बिरामीले मेडिकलको औषधि प्रयोग गर्ने र जटिलता निम्तिएपछि मात्रै आउने गरेको जिल्ला अस्पतालका डाक्टर अतुल भारद्वाजले बताए । ‘गर्भपतन गराउने महिलाले समेत मेडिकलबाट बिनापरामर्श औषधि खान्छन् । गाह्रो भएको अवस्थामा मात्रै जिल्ला अस्पतालमा आउँछन्,’ उनले भने, ‘गर्भपतनको औषधि मेडिकलले जथाभावी बेच्न पाउँदैनन् । अन्य बिरामीको हालत पनि यस्तै छ ।’
प्रतिक्रिया