Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा दाहालको चर्को आलोचना

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा दाहालको चर्को आलोचना

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्नमा सहमति दिएपछि अध्यक्ष दाहालको आलोचना भएको हो ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टीको आठौं महाधिवेशनको निर्णयविपरीत एमसीसी पारित गर्नमा सहमति किन गरेको भन्दै नेताहरूले प्रश्नसमेत उठाएका छन् । चार जना नेताले लिखित रूपमै असन्तुष्टि व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गत पुसमा सम्पन्न पार्टीको महाधिवेशनले एमसीसी संशोधन गरेर मात्र पास गर्न सकिने निर्णय गरेको भए पनि पार्टी नेतृत्वले व्याख्यात्मक घोषणाका नाममा जस्ताको तस्तै पास गरेको भन्दै दाहालसँग जवाफ मागेका छन् । महाधिवेशनको निर्णयविपरीत जस्ताको त्यस्तै एमसीसी किन पारित गर्नमा सहमति गरिएको बैठकलाई स्पष्ट जवाफ दिनुपर्ने माग उनले गरे ।

‘अध्यक्ष कमरेडले पार्टी छोडेर जा भनेर भन्नुहुन्थ्यो, त्यो कसरी र किन भन्नुभयो मलाई थाहा छैन’ बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने, ‘महाधिवेशनको निर्णयविपरीत एमसीसी पारित गर्नमा सहमति किन गरियो ? एमसीसीका विषयमा मैले असहमति राखेको छु । त्यो व्याख्यात्मक घोषणा संशोधन नभई जस्ताको त्यस्तै पारित हो ।’

एमसीसी संसद्बाट गत आइतबार पारित गरेपछि नेता श्रेष्ठले सो दिनलाई कालो दिनका रूपमा रहेको टिप्पणी गरेपछि अध्यक्ष दाहालले पार्टी छोडेर गए आफूले नरोक्ने आक्रोश व्यक्त गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी भएको टिप्पणीसमेत गरेका छन् । अध्यक्ष दाहालले पार्टी छाडेर गए आफूले नरोक्ने भन्दै पार्टी छोडे छोड भन्ने शैलीमा टिप्पणी गरेपछि उनले आक्रोश व्यक्त गरेका छन् ।

यस्तै बैठकमा चार जना नेताले लिखित रूपमै असहमति दर्ज गराएका छन् । माओवादी केन्द्रका नेता देव गुरुङ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती सम्झौता पारित गरिएको भन्दै लिखित रूपमै आफ्नो असहमति दर्ज गराएका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले पार्टीको निर्णय आफूले मान्ने भए पनि आफ्नो फरक मत पनि सुरक्षित रहोस् भनेर लिखित रूपमै असहमति राखेको बताए ।

‘पार्टीले गर्ने निर्णय म स्वीकार गर्छु । तर, मैले एमसीसी’bout राखेको फरक मत पनि सुरक्षित रहोस् भनेर लिखित रूपमै असमति राखेको छु,’ गुरुङले भने, ‘एमसीसी त खासमा रिजेक्ट हुनुपर्ने हो । त्यो त राष्ट्रघाती सम्झौता नै हो भन्ने मेरो निष्कर्ष हो । तर, यहाँ त व्याख्यात्मक घोषणा भन्दै गलत रूपमा व्याख्या गर्दै पारित गरियो ।’

व्याख्यात्मक घोषणाले माओवादीले भन्दै आएको जसरी संशोधन नगर्ने र यसको कुनै कानुनी अर्थ नहुने दाबी गुरुङको छ । माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले पार्टीभित्र अल्पमत विचारको समेत कदर हुने बताउँदै फरक मत व्यक्त गर्ने नेताको मत सुरक्षित रहने बताएकी छन् । एमसीसीको विषयमा फरक मतसमेत बैठकमा आएको बताउँदै उनले सबैको मत सुरक्षित रहने बताइन् ।

बैठकमा एमसीसी विषयलाई लिएर आफ्नो आलोचना भएपछि अध्यक्ष दाहालले प्रतिगमनविरुद्धको संर्घषबाट सुरु भएको आन्दोलन सफल हुँदै आएको र अहिले एमसीसीको विषयमा बीचको बाटो रोजेर तत्काललाई मात्र समाधान खोजिएको जवाफ दिएका छन् । एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टीनिर्णयको विरोध भएपछि दाहालले त्यसको बचाउ गरेका छन् ।

वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै रहने जानकारी उनले बैठकलाई गराएका छन् । दाहालले एमसीसी संसद्बाट अनुमोदन भएसँगै अब सत्ता गठबन्धन आगामी चुनावसम्म नै जाने निश्चित भएको जानकारी बैठकलाई गराएको नेता गणेश साहले बताए ।

‘एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको असमझदारी अन्त्य भएको छ, अब यो गठबन्धन चुनावसम्म नै जान्छ,’ दाहालको भनाई उद्धृत गर्दै साहले भने, ‘हिजो हामीले गठबन्धनको सरकार बनाउँदा ल्याएको नीति तथा कार्यक्रममा एमसीसी राखिएको थिएन् । तर, क्रमशः त्यो विषय गठबन्धनभित्र नै चर्चाको विषय बन्यो । एमसीसी अनुमोदन नभएको भए फेरि प्रतिगमनका मतियार सलबलाउने सम्भावना थियो ।’

अध्यक्ष दाहालले अब संसद् विघटन गरेर चुनावमा जानुपर्ने अवस्था आउन सक्ने संकेतसमेत गरेका छन् । प्रमुख प्रतिपक्ष एमालेले लगातार संसद् अवरोध गरिरहेको भन्दै उनले एमालेको अवरोध नहटे विघटन गरेर चुनावमा जानुपर्ने अवस्था आउन सक्ने संकेत उनले गरेका छन् ।

‘संसद्ले कामै नगर्ने अवस्था रहने हो भने अहिलेकै जसरी संसद् चलाएर जान सकिने अवस्था रहँदैन । त्यसो भएकाले विघटन गरेर अर्ली इलेक्सनको दिशातर्फ पनि जान सकिन्छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘यस विषयमा गठबन्धन दलहरूको पनि केही समझदारी बनेको देखिएको छ । तर, अन्तिम निर्णय भइसकेको छैन ।’

बैठकमा अध्यक्ष दाहालले गठबन्धन दलका तर्फबाट प्रमुख प्रतिपक्षी दललाई संसद् अवरोध हटाएर सहज वातावरण बनाउन आग्रह गरिएकाले अझै केही प्रयास भने जारी राखिने जानकारी गराएका छन् ।

बैठकमा उठेको प्रश्न तथा व्यक्त भएका असहमतिलगायतका विषयमा शनिबार गृहकार्य गरेर आइतबार पुनः बैठक बस्नेछ । नेता साहका अनुसार बैठकमा एमसीसीसहित अन्य विभिन्न विषयमा छलफल हुने एजेन्डा तय भएको छ ।

रिर्पोटिङ, एमसीसी, संगठन निर्माण, पदाधिकारी चयन, केन्द्रीय सदस्य थप, स्थायी कमिटी गठन, पोलिटब्युरो गठन, नेताहरूको कार्यविभाजन, स्थानीय निर्वाचनलगायतका विभिन्न बिषयमा बैठकमा छलफल हुँदै छ ।

११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्षमा दाहाललाई सर्वसम्मत निर्वाचित गरेको थियो ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था रहेको छ । माओवादी विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ ।

तर, महाधिवेशन भएको दुई महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन । यसबीचमा केन्द्रीय समितिको बैठक बोलाउँदै स्थगित गरिएको थियो । जारी बैठकले यी सबै विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया