Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : गठबन्धनको मुद्दामा विवाद

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : गठबन्धनको मुद्दामा विवाद

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा गठबन्धन बनाउने वा एक्लै लड्ने भन्ने विषयमा कांग्रेसभित्र मतभेद देखिएको छ । स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरूको गठबन्धनलाई लिएर मत बाझिएको छ । 

संस्थापन पक्षका नेताहरूले आवश्यकताका आधारमा गठबन्धन गरेर जानुपर्ने मत राखेका छन् भने इतर समूहका नेताहरू एक्लै चुनाव लड्नुपर्ने पक्षमा उभिएका छन् । शुक्रबारको बैठकमा २१ केन्द्रीय सदस्य र ६ प्रदेशका सभापतिले धारणा राखेकामा अधिकांशले आवश्यकताअनुसार गठबन्धनमा जोड दिएका छन् । 

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धनबारे केन्द्रीय समिति बैठकले निर्णय लिने जानकारी दिए । ‘केन्द्रीय सदस्यले निर्वाचनमा कांग्रेसको अवस्था र चुनावी अभियानबारे रिपोर्टिङ गरिरहनुभएको छ । धारणा राख्ने केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताउनुभएको छ,’ उनले भने, ‘गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धनविना जित्ने ठाउँमा गठबन्धन नगर्ने उहाँहरूको मत छ ।’

प्रवक्ता महतले उनले केन्द्रबाट जबर्जस्त निर्णय लाद्न खोजेको भनी गलत प्रचार भएको बताए । उनले स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई हेरेर नै निर्णय लिइने बताए । ‘निर्वाचनमा जाने भनेको बढीभन्दा बढी सिट कसरी जित्ने भन्ने हो । त्यो गठबन्धन गरेर जितिन्छ, गठबन्धन हुन्छ । गठबन्धन नगर्दा हुन्छ, गठबन्धन हुँदैन,’ उनले भने, ‘ठाउँपिच्छे फरक–फरक परिवेश छ । सबै ठाउँमा एउटै सिद्धान्त लागू हुँदैन । त्यसैका लागि केन्द्रीय समिति बैठक बसिरहेको छ । त्यहाँबाट निर्णय हुन्छ ।’ 

कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । अर्को बैठक आइतबारका लागि बोलाइएको छ । स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत २९ फागुनदेखि २९ चैतसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।

बैठकमा कसले के भने ?

सभापति देउवाले भने– एक्लै चुनाव जितिन्छ ?

स्थानीय चुनाव जित्ने भए गठबन्धन नगरौँ । तपाईंहरू जित्न पनि नजित्ने अनि गठबन्धन पनि नगरौँ भन्ने हो भने त गाह्रो हुन्छ । त्यसो हो भने गठबन्धन नगरी चितवनमा एक्लै चुनाव जितेर देखाउनुस् ।

कृष्णचन्द्र नेपाली पोखरेल– गठबन्धन गर्ने–नगर्ने निर्णय केन्द्रबाट गरेर हुँदैन । स्थानीय आवश्यकताका आधारमा हुनुपर्छ, केन्द्रबाट तोकेर हुँदैन ।

प्रदीप पौडेल– पार्टीलाई बढी लाभ कसरी हुन्छ त्यसअनुसार सोच्नुपर्छ । केन्द्रले गठबन्धनबारे निर्णय लिएर हुँदैन । तल्लो तहलाई नै जिम्मेवारी दिनुपर्छ ।

मोहनबहादुर बस्नेत– गठबन्धन आवश्यकता हो । कांग्रेसको पक्षमा नै छ ।

कर्णबहादुर बुढा– गठबन्धन कांग्रेसकै हितमा छ ।

रमा कोइराला (पौडेल)– स्थानीय आवश्यकता हेरेर पार्टीले निर्णय लिनुपर्छ । भूगोलमा गठबन्धनका नाममा आफ्ना साथीहरूलाई पनि पाखा लगाउन हुँदैन ।

कृष्णकिशोर घिमिरे– समग्र कर्णाली प्रदेशमा हाम्रो आवश्यकता भएका कारण गठबन्धन गर्नुपर्छ । तर, भूगोललाई ध्यान दिनुपर्छ । 

टेकप्रसाद गुरुङ– चितवनको केसमा हामीले धोका पाएका छौँ । केन्द्रबाट गठबन्धन गर्दा मत नआउने अवस्थाबारे सचेत हुनुपर्छ ।

नैनसिंह महर– केन्द्रबाट निश्चित मापदण्ड बनाएर स्थानीय आवश्यकतालाई आधार बनाउनुपर्छ । गठबन्धन बनाउनै परे सरकारमा सम्मिलित दलसँग मात्र गरिनुपर्छ । चुनावमा गठबन्धनको स्थिति निर्माण गर्दा आफ्नै साथी रिसाएर भुइँको टिप्दा खल्तीको फुत्किने अवस्था सिर्जना हुन हुँदैन । 

गोविन्दबहादुर शाह– गठबन्धन गरेरै अगाडि जानु कांग्रेसको हितमा छ ।

दिलमान पाख्रिन– गठबन्धन गरेरै जानु उपयुक्त हुन्छ ।

रामहरि खतिवडा– एक्लै लड्न गाह्रो अवस्था पनि छ । गठबन्धन गरेर जानुपर्छ ।

मुक्ताकुमारी यादव– गठबन्धनबारे केन्द्रले निर्णय गरेर हुँदैन । स्थानीय तहले आवश्यकताका आधारमा निर्णय गर्न पाउनुपर्छ ।

सरस्वती अर्याल तिवारी– गठबन्धनबाट कांग्रेसलाई थप उपलब्धि नै हुन्छ । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा छ ।

हरिशरण नेपाली– गठबन्धन पहिला पनि गरिएको हो । तर, पहिलाको अभ्यास गठबन्धन गरेर पनि भोट नहालेको अवस्था छ ।

जानकी सिंह– स्थानीय अवस्थाका आधारमा गठबन्धनबारेको अधिकार हुनुपर्छ ।

प्रा.डा. गोविन्दराज पोखरेल– कम्युनिस्टहरू कमजोर भएको अवस्थामा पनि कांग्रेस एक्लै निर्वाचन नलडे कहिले लड्ने ? कम्युनिस्टहरूले जितेर पनि केही गर्न सकेनन् भन्ने आमजनमानसमा परेको अवस्थामा पनि कांग्रेस एक्लै लड्न डराउनु कांग्रेसमाथि नैतिक प्रश्न पनि हो । गठबन्धनबारे केन्द्रले निर्णय नगरौँ ।

अजयबाबु सिवाकोटी– स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नु उपयुक्त छैन । मुस्ताङमा एमालेको उपस्थिति अत्यन्तै कमजोर देखिएको छ । 
मदनकृष्ण श्रेष्ठ– पार्टीले हितअनुकूल निर्णय लिनुपर्छ ।

दिनेश कोइराला– नेकपा एक हुँदा धरान उपमहानगरपालिकाको उपचुनाव जितेका थियौँ । चितवनमा तालमेल हुँदैन । केन्द्रबाट यसबारे निर्णय हुन सक्दैन । हामी तालमेलको पक्षमा छैनौँ । विगतमा पनि केन्द्रबाट तालमेल गर्दा कांग्रेसलाई मत नआउने अवस्था आयो ।

सीताकुमारी राना– स्थानीय आवश्यकतालाई आधार मान्नुपर्छ ।

शान्ति परियार– पार्टीले वस्तुस्थिति हेरेर उपयुक्त निर्णय लिनुपर्छ ।

चार प्रदेश सभापति गठबन्धनको पक्षमा, दुई विपक्षमा

आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर कांग्रेस प्रदेश सभापतिहरूले मिश्रित रिपोर्टिङ गरेका छन् । शुक्रबारबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा बोलेका ६ प्रदेशका सभापतिमध्ये चारले गठबन्धनको पक्षमा र दुईले विपक्षमा मत राखेका छन् । प्रदेश १ का सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनमा केन्द्रबाट नभई स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए । लुम्बिनी सभापति अमरसिंह पुन र कर्णाली सभापति ललितजंग शाहीले भने गठबन्धनको विपक्षमा मत राखेका थिए । शुक्रबार सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर बैठकमा सहभागी थिएनन् ।

रामचन्द्र पौडेलले देखाए इतर समूहको नेतृत्व लिने चाहना

कांग्रेस नेता रामचन्द्र पौडेलले आफूलाई संस्थापनइतर समूहको नेताका रूपमा उभ्याउने प्रयास थालेका छन् । अहिले इतर समूहको नेतृत्व १४औँ महाधिवेशनमा सभापतिमा पराजय भोगेका डा. शेखर कोइरालाले गरेका छन् । महाधिवेशनपछि पहिलोपटक जिल्ला सभापति र केन्द्रीय सदस्यहरूको बैठक राखेर पौडेलले आफू इतर पक्षमै रहेको र मूल नेता आफैँ नै भएको सन्देश दिन खोजेका छन् । 

भ्रातृ संस्थामा भएका पछिल्ला नियुक्तिमा शेखरको असन्तुष्टि

इतर समूहका नेता डा. शशांक कोइरालाले भ्रातृ संस्थामा भएका पछिल्ला नियुक्तिलाई लिएर सभापति शेरबहादुर देउवासमक्ष असन्तुष्टि राखेका छन् । सभापति देउवालाई भेटेका कोइरालाले इतर समूहमा समानान्तर समिति बनाउन दबाब रहेको जनाउ दिएका छन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार जवाफमा सभापति देउवाले आफूले बाँकी रहेका नियुक्तिमा असन्तुष्टिलाई समेटेर लैजाने बताएका थिए । बुधबार सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया