Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०५ बैशाख २०८१

लाइनको कथा - हामी कहिले सुध्रिने ? प्रशासन कहिले सुध्रिने ?

लाइनको कथा - हामी कहिले सुध्रिने ? प्रशासन कहिले सुध्रिने ?

प्रकृतिले मौसम फेरे झैँ या भनौं सर्पले काँचुली फेरे जस्तैगरि मेरो शरीरले पनि हरेक दुई वर्षमा केही समस्याहरुको समाना गरिरहेकै हुन्छ । गत वर्ष खासै समस्या देखिएन अघिल्लो वर्ष अघोषित कोरोना लाग्यो । बास्ना पुरै हरायो । टाउको अलि अलि दुख्यो । ज्वरो राती नै आएर गएको चाल पाएन । घरेलु औसधि खाएर छुट्टै बसे । कही दिन पछि बास्ना फर्कियो टाउको दुख्न छोड्यो । 

आइतबार बेलुका स्कुलको काम र अन्य स्कृनिङ टाइम बढी भयो । त्यै भएर टाउको दुख्यो होला सोचेर केही योगा र केही घरेलु उपाय लगाएर घटाउन खोजे तर सकेन । रात भरी टाउको मात्रै दुखेन । ज्वरो पनि आयो । सादय १०० कटेन । त्यो भन्दा बढी शरीर दुख्यो । राति ३ चोटि बिउँझिएर छतमा गए ज्यान शान्त भएन । बिहान् ५ बजे विद्यालयमा बिदाको लागि इमेल पठाए । आफ्नो विभागका साथीहरूलाई पनि जानकारी गराएर । आफ्नो कार्य विभाजन गरेर जिम्मा लाए । यस्तै समयमा २०६७ सालमा बुवा आम काठमाडौं आउदा पनि   बिरामी परेको भएर होला बुवालाई भन्दा बढी आमालाई सम्झेँ । बिहान् बल गरेर आधा रोटी र चिया खाएर  सिटामोल खाएर सुते पछी ज्वरो र शरीरको दुखाई कम भयो । केही स्वस्थ्य क्षेत्रका साथीहरूको सल्लाहमा औसधि खाए । लक्षणहरु प्राय: कोभिडसंग मिल्दो भएर बिद्यालय जान अघि कोभिड चेक गर्नु पर्छ भन्ने लागेर भोलि कोभिड चेक गर्छु मनमनै सोचेर निदाए । हिजो जस्तो निन्द्रा बिथोलिएन । दोस्रो दिन पनि टाउको हल्का दुखी रह्यो । 

बिहान् देखि नै फोनबाट अस्पतालहरु फ्लो गरे । कीर्तिपुर आसपास कता कोभिड टेस्ट हुन्छ भनेर । आयुर्वेद अस्पताल, विस्णुदेवी अस्पताल, केही फार्मेसी अनि वीर अस्पताल अनि नेपाल सरकार को स्वास्थ्य विभाग १११५ मा । वीर अस्पतालका कर्मचारीले दिएको नम्बर थियो यो।  अन्य फोन कलमा भन्दा यसबाट धेरै प्रभावित भए । स्वास्थ्य बिभागको कर्मचारीको बोल्ने शैली र सुझावले मलाई शुक्रराज अस्पताल टेकु डोर्यायो । ११: बजे तिर टेकु अस्पताल पुगे ।  त्यहाँको माहोल र मानिसहरु  त्यो स्वास्थ्य विभागको कर्मचारीको जस्तो मीठो थिएन । 

जता सुकै गए पनि सुरुमै सोधपुछमा पुग्ने बानी भएर होला अस्पताल गेटको दायाँ तिरका दुई लामा लाइनहरुको बायाँ तिर, पुछारमा रहेको सोधपुछमा पुगे । भित्र कोही नदेखे पछी हातमा पट्याएर लामो गरि बोकेको कान्तिपुर झ्यालमा बिस्तारै बाजारे । झ्याल आल्मुनियमको भएर होला ठुलै आवाज आयो । जंगिदै बाहिर बसेकि महिला कर्मचारी भित्र छिरिन "को हो ? किन हो झ्याल नै फुटाल्न ला'को ? सरी म्याम भनेर म एक छिन् मौन रहे अनि कोभिड परिक्षणको लागि कता के गर्ने होला म्याम ? मैले सोधे ।"क्यास काउण्टरमा गएर पैसा बुझाउने अनि ल्याब जाने ।" कता छ म्याम क्यास काउण्टर ? फेरि सोधे । "यो लाइन देख्नु भएन ?" देखे म्याम । "हो त्यै हो क्यास काउण्टरको लाइन।" एकछिन लाइन नजिक बसेर हेरे अनि कुन लाइन छिटो होला भन्ने हिसाब गरेर भित्र पट्टीको लाइनमा अन्तिममा अलि टाढै उभिए र कान्तिपुरका बाँकी समाचार पत्रीका दोब्य्राएर पढ्न थाले । 

म भन्दा अघि एक जाना सेनाका रिटायर्ड यस्तै ६५/६६ वर्षको वृद्ध बुवा आएर उभिनुभयो र म लाइन भन्दा अझ नजिक भए। केही बेर पछि एक जना  ४०/४१ वर्ष जतिको दिदी अर्को लाइनको एक जना महिलालाई सोध्दै, कहाँ नीर यहाँ नीर? भन्दै बिचमा घुस्नु भयो । म अलि पछि सरे  । "कुन लाइन छिटो हुन्छ भनेर दुइटै लाइनमा बसेको जता छिटो भयो उतैबाट टिकट लिने" मैले केही नभनी उहाँले आफै प्रस्ट पर्नु भयो । पत्रीकाका प्रायः समाचार सकिएर म पत्रीकाका लेख र डा. बाबुराम भट्टराईको अन्तर्वार्ता हेरेर लाइनको समय कटाउदै थिए । एक जना बाबुराम टोपी नै लगाएका, सर्ट पाइन्टमा हाप ज्याकेट र झोला भिरेका व्यक्ति अघी आएर लाइनमा पालै आउन लागेको ब्यक्तिको हातमा पैसा थमाएर "ईश्वरी कोइराला उमेर ४३ वर्ष" भन्दै चार चोटि दोहोर्‍याए र भने अब त याद भयो होला ! यति भनेर उनी म  भन्दा अघि उभिएका त्यी वृद्ध बुवालाई घर देखि शान्ति सेना र रोग र रगत परिक्षणको बारेमा सोधेर भ्याए । अझ भन्दै थिए "आज त यो के लाइन छ र? हिजो पो थ्यो त पर इमर्जेन्सी सम्मै। आज त लाइन नै छैन ।" त्यी बुवा भन्दा अघि लाइनमा उभिएको २४/२५ वर्षको युवालाई सोध्दै थिए । "के को टेस्ट गर्नको लागी लाईन लाग्नु भएको?" यत्तिकैमा अघि पैसा थामेको व्यक्तिले उल्टै उसकै हातमा पैसा थमाएर । "लानु तपाईको पैसा । लाइन लागेर आउनु रे,  भित्रबाट भनेको ।" भनेर अगाडी बढे । अघि लाइन बसकि महिला बाहिर निस्कीन । त्यो ठाउँमा अर्को लाइनको हो त्यही नीर हो मेरो ठाउँ भनेर देखाउने महिला आइन । लगभग ४५ मिनेट उभिए पछि पालो आउदै  थियो । त्यी वृद्ध वुवाको पालो आयो । हातमा भएको कागजात भित्रैबाटै हेरि क्यास काउण्टरका कर्मचारीले यता हैन परको सेतो बिल्डिङमा जाने हो तपाई भनेर उहाँलाई कागजात फर्काए। विचरा बुवा यत्रो बेर यहाँ उभिए, अब कहाँ कति उभिने हुन ? लाग्यो यसो वृद्ध व्यक्तिलाई सघाउने कर्मचारी पनि हुनु नि अस्पतालमा । बेलाबेला त्यहाँ चिनेका एकजना डाक्टर र कोरोनाकालको बेला टिभीमा अन्तर्वार्वा दिने डाक्टर पुनलाई खुब सम्झे । 

म भन्दा अघिको महिलाको पालो आउदै थियो फेरि अघिको त्यहीँ महिला जो लाइन रुघेर गएकी थिइन त्यीनै म अघि लाइनमा आइन । मैले केही नबोल्दै भन्न थालिन "अघि त्यत्रो बेर लाइन बसेको हो" अचम्म त तब लाग्यो त्यी महिला फेरि अघि रिजेक्ट भाको नाम लिएर ईश्वरी कोइरालाको नाम लिएर टिकट माग्दै थिइन् । मेरो पालो आउनै लाग्दा एक जना मेरै उमेरका व्यक्ति साइडबाट झ्याल नजिक आइपुगे  । यो के को लाइन हो ? उनको प्रश्न । मैले माथी क्यास काउण्टर लेखेको तिर औंला तेर्स्यौदै क्यास काउण्टर हो पैसा तिर्ने भए लाइन लागेर आउनुस । लाइन लामो थियो । इमर्जेन्सी छ दाइ भित्र पास गरिदिनु न भनेर मलाई बिल जस्तै कागज थमाए ।

मैले कोभिड टेस्ट गर्ने हो क्यास तिर्न आएको भने । फेरि बिदेश जान हो यै प्रश्न २ पल्ट सोधियो । हैन भने र रसिद संगै एक जना ब्यक्तिको टिकट नि मेरो हातमा दियो । त्यो टिकट सुरुमा त आफ्नै होला भनेर बोके, पछी नाम ठेगाना उमेर अर्कै देखे पछि फर्काउन आए । इमर्जेन्सी बिल अर्कै हुन्छ, यो हैन । झ्यालभित्र आवाज सहित बिल फिर्ता आयो । फर्केर हेर्दा लाइन उत्रै थ्यो । म प्रयोगशाला तिर लागेँ।

"एकै चोटि म कति जनाको पेपर लिउँ?" ल्याबको महिला कर्मचारी रिसले कड्की । म अघि लाइनमा उभिएकी दुब्ली थारु समुदायकि हजुरआमा तर्सी र डराइ पनि ।  म  आफुलाई कोभिड नि हुन सक्छ भनी लाइनमा ग्याप राखेरै बसिरहेको थिए । एकछिनमा ल्याबकी कर्मचारीले त्यी आमालाई सम्झाउदै भनिन् । यो लेखेको बटामा दिशा राख्नुस । नलेखेको बट्टामा पिसाब राख्नुस । खोइ कोही छैन तपाईसंग आएको ? भन्दै कर्मचारी झोक्किइन । छ नाटी छ । त्यी वृद्धले भनिन  । लाइनमा उभिएको मान्छेले नाति ओए नाति खै कहाँ छस ? भने पछी त्यी वृद्ध आमाको नाती आइ पुगे। नातीलाई पनि त्यी कर्मचारी त्यसै गरि सम्झाइन । यत्तिकैमा एक जना व्यक्ति इमर्जेन्सी छ भन्दै झ्यालको साइडमा आइ पुग्यो । यत्तिकैमा अघि नाति कहाँ छ भनेर खोज्ने व्यक्ति मेरो पालो ओभेरटेक गरेर अघि बसि सकेका थिए । उनले त्यी इमर्जेन्सी भन्दै आएका व्यक्तिलाई साइडमा आउन नदिइ ठाउँ ओगटे । त्यी व्यक्ति पर हटे पनि त्यीसंगै आएकी एक महिला जंगिदै "अघि देखि हामी लाइनमै त थिएम" भन्दै आइन र बिल र टिकटसंगै हात झ्यालमा घुसाई । त्यी महिलाको मोटो हात र त्यो मलाई ओभरटेक गरेर जाने पुरुको दुब्लो हात एक आपसमा झुधेँ, लाइनका सबै चुपचाप हेरिरहे । ल्याबकी कर्मचारीले दुब्लो हातको कागज पहिले समातिन । त्यी ब्यक्ति अब ढुक्क भएर साइडमा गए । मलाई हेरेर भन्दै थिए, सोझालाई र नबोल्नेलाई हेप्छ्न यो देशमा ।  त्यै भएर मलाई पनि तपाईले हेपेर अगाडि जानू भएको हो ? मैले भने । हैन त्यो तपाईले मलाई छोडिदिनु भएको हो । अरुको  पनि त इमर्जेन्सी हुन्छ बुझ्न पर्दैन? मैले भने अनि केही बोलेनन् । 

दिदी इमर्जेन्सी हो ? त्यी मोटी महिलालाई सोधेँ । हो । के टेस्ट गर्न लाग्नु भएको ? रगत । बिरामी को हो नि दिदि मैले फेरि सोधें । म । त्यसपछि आयो मेरो पालो । फेरि बिदेश जान लाग्नु भएको हो ? तेस्रो चोटि यहीँ प्रश्न सोधियो । पल्लो छेउको झ्यालामा जानुस्  भन्दै बिल रसिद मैलाई फर्काइन । छेउको झ्यालमा एउटा नर्स बिरामीको रगत तान्दै थिइन । कोभिड परिक्षणको लागि स्यापल दिने यतै हो सिस्टर ? । हुन त हो तर स्यापल लिने हुनुहुन्न । एकछिन बस्दै गर्नुस भने पछि अगाडि राखिएका बेन्चमा बसेँ । रगत ताने पछि प्रयोग भएका कपासका टुक्राहरु यत्रतत्र थिएँ । कति कपासका टुक्रा साइडमा राखिएको गमलामा फालिएका थिएँ । ५ मिनेट बस्दा पनि त्यहाँ कोही नदेखिए पछि अघि टिकट काउण्टरबाट दिएको अर्कै नामको टिकट फर्काउन गएँ । लाइन उत्रै थियो जत्रो म जोडिदा थियो । फर्केर आउदा स्यामपल लिने झ्यालमा कोही थिएन । अनि आफै स्यामपल लिने ब्यक्ति बस्ने कुर्सीमा गएर बसेँ । केही बेर बसें पनि कोही आएन । रातो ज्याकेट लगाएको एक पुरुष  ब्यक्ति सुटुक्क भित्रको ढोका भित्र छिरे । केही बेरमा बाहिर निस्केपछि त्यीनैलाई सोधें तपाई यहाँको कर्मचारी हो ? उनलै हैन भने । के को लागि आउनु भएको भन्दा, कोभिड टेस्ट भने । को हो स्यमपल लिने व्यक्ति भन्दा पल्लो झ्यालतिर भएका कर्मचारी देखाएर बस्दै गर्नु भने ।

एक छिनमा आफै स्यामपल लिने सानो छेस्को हातमा ल्याएर आए । पैसा तिरेको रसिद मागे पछि बिदेश जान लाको हो? चौथो पटक मैले प्रश्नको उत्तर सहित प्रश्न गरे किन सबै जना बिदेश जाने हो भनेर मात्रै सोध्छन् ? बिदेश जाने भए पासपोर्ट चाहिन्छ छुट्टै लफडा हुन्छ भन्दै मास्क खोलेर माथी हेर्नुस भने । नाक भित्र छेस्को राखी घुमाए । नाकमा छुट्टै पीडा भयो । आँखाबाट आँसु आयो । रिपोर्ट भरे ४/५ मोबाइलमा आउँछ जानुस् भने । अघिल्लो पल्ट  श्रीमतीको हर्नियाको अप्रेसन मोबाइलमै रिपोर्ट नआएर आफै अस्पताल आएर लादा अप्रेसन टाइम सर्यो अनि अहिले नि मोबाइलमा रिपोर्ट  नआए के गर्ने ? बेलुका ६ बजे पछि अस्पताल आउने भनेर रसिद दिए । रसिद बोकेर तल झरे सोधपुछको कर्मचारी भित्रै थिइन् तर लाइनहरु घटेका थिएनन् लाइनका मान्छेहरु फेरिएका थिए ।

प्रतिक्रिया