Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

एमालेसँग तत्काल एकताको सम्भावना छैन : एकीकृत समाजवादी

एमालेसँग तत्काल एकताको सम्भावना छैन : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले नेकपा एमालेसँग  तत्काल एकता सम्भव नरहेको बताएका छन्। सम्मानित नेता झलनाथ खनालले पार्टी समाहित गरेर कुनै पद नलिने बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीलाई एमालेमा समाहित गरे सो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेको सार्वजनिक भएको थियो। तर, खनालले त्यो सम्भव नरहेको स्पष्ट पारे।

‘अहिले कसैसँग मिल्ने सम्भावना शून्य प्रतिशत पनि छैन,’ खनालले नेपालखबरसँग भने, ‘स्वतन्त्र सार्वभौम हाम्रो दल समाजवादी क्रान्ति रुपान्तरणको दिशामा अघि बढेको छ, कोहीसँग मिल्दैन।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर जान गरेको प्रस्तावबारे पार्टीलाई जानकारी नभएको उनले बताए। 

‘कहाँ, कोसँग, केका लागि भेट भएको हो? पदका लागि पार्टीलाई बेचबिखन गर्ने?’ खनालले प्रश्न गरे। 

राष्ट्रपति चुनावको परिदृश्य अझै प्रष्ट नभएको उनको भनाइ छ। 

‘एमाले र माओवादीको क्यारेक्टरले मुलुक समस्यामा पर्ने भयो,’ खनालले थपे। 

अध्यक्ष नेपालले आफूले पार्टी एकताबारे केही नसोचेको बताए। 

‘अहिले बजारमा हल्लाहरू धेरै छन्। यस सन्दर्भमा कुनै टुंगो लागेको छैन,’ ९ फागुनमा दाङ पुगेका उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै हो। मैले नै आफू के गर्ने सोचिसकेको छैन। हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन। पार्टीको धारणा के छ भन्दाखेरी पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ।’ 

आइतबार (६ फागुन) एमाले अध्यक्ष केपी शर्मा ओली र समाजवादी अध्यक्ष नेपालबीच वार्ता भएको थियो। त्यसबेला ओलीले पार्टी समाहित गर्न तयार भए राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमालेसँग अमानजनक रुपमा पार्टी समाहित गरेर राष्ट्रपति पद नलिने घोषणा गरे। 

‘एमालेसँग समाहित हुने कुरा त अपमानजनक भयो, त्यो सम्भव नै छैन,’ उनले नेपालखबरसँग भने, ‘भए एकता हुने हो, आजका मितिसम्म त्यो देखिँदैन।’

एमाले अध्यक्षले ढोक्सा थापेको उनले टिप्पणी गरे। 

‘माधव नेपाल एक्लैले यसो गर्छु, उसो गर्छु भन्ने कुरा होइन, उहाँलाई लाग्नेबित्तिकै हुने पनि छैन, पार्टी उहाँले मात्र बनाउनुभएको होइन,’ खतिवडाले थपे।

‘केपीजी कांग्रेसलाई राष्ट्रपति दिन चाहनुहुन्न, आफ्नो दलबाट राष्ट्रपति हुने सम्भावना पनि छैन, त्यही भएर तुलनात्मक रुपमा बेटर हुने पार्टी एकीकृत समाजवादी देख्नुभएको होला,’ उनले थपे, ‘उहाँ ढोक्सा थाप्न खोज्दै हुनुहुन्छ, यो कांग्रेससँग दुरी बढाउन सुनियोजित रुपमा आएको प्रस्ताव हो।’

उपाध्यक्ष प्रमेश हमालले एमालेसँग कुनै हालतमा पार्टी समाहित नहुने बताए। उनले एकताकै लागि पनि आधार नबनेको दाबी गरे।

‘हाम्रो देशभर संगठन भएको पार्टी एमालेमा समाहित हुने कुरै होइन, भए पार्टी एकता हो त्यसका लागि पनि विचारधारा, विगतको समीक्षा र सांगठनिक कुरा टुंगो लाग्नुपर्छ,’ उपाध्यक्ष हमालले भने, ‘अहिले मुख्य कुरा राष्ट्रपति चुनाव हेरौँ।’ 

फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। नेपाली कांग्रेसले एक÷दुई दिनभित्र पुरानै पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरेको छ। त्यो सफल हुन नदिन एमालेले माधव नेपाललाई अघि सार्न खोजेको नेताहरुको बुझाइ छ।

राष्ट्रपति चुनावका लागि माओवादी केन्द्र निर्णायक छ। उसले जुन दललाई सहमर्थन गर्छ सोही दलको उम्मेदवार राष्ट्रपतिमा जित्ने निश्चितजस्तै छ। 

तर, माओवादीले राष्ट्रपतिमा एमालेलाई नदिने र राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएको छ। माओवादी केन्द्रले यसबारे निर्णय गर्ने अन्तिम अधिकार अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई दिएको छ। 

नेपाललाई भए माओवादीले पनि समर्थन गर्नसक्ने एमालेको आकलन छ। एमालेका दोस्रो तहका नेताहरुले एकीकृत समाजवादीका नेताहरुसँग निरन्तर संवाद र छलफल गरिरहेका छन्।

‘विभिन्न तहबाट मिलेर जाने प्रस्ताव  आएको छ,’ उपमहासचिव खतिवडाले भने, ‘विद्यार्थी, युवादेखि हाम्रै नेताहरुसमक्ष पनि मिलेर जान जोड गर्नुभएको छ।’

माधव नेपाललाई राष्ट्रपति बन्न चौतर्फी दबाब आएको उनको सचिवालयले जनाएको छ। 

‘तर, यसको छिनोफानो १२ गते १० बजेअघि केही होलाजस्तो लाग्दैन,’  ती सदस्यले भने। 

आइतबार (७ फागुन) प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारी टोलीसँग एमालेले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन लागेको जानकारी दिएका थिए।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एकीकृत समाजवादीसँग निरन्तर संवादमै रहेको दाबी गरे। उनले पुरानै गठबन्धन एकदुई दिन भित्र ब्युँतने बताए। 

यदि पुरानो गठबन्धन ब्युँतिए कांग्रेसले उठाएकै उम्मेदवार राष्ट्रपति जित्ने थापाको दाबी छ। 

प्रतिक्रिया