Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०५ असार २०८१

पौडेलको शीतलनिवास यात्रा

पौडेलको शीतलनिवास यात्रा

राजनीतिमा पनि प्रतीक्षाको फल मीठो  हुन्छ भन्ने कुरा कांग्रेस नेता रामचन्द्र पौडेलमा लागू भएको छ । सत्रौं पटकसम्म प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरे पनि सफलता हासिल गर्न नसकेका पौडेल यस पटक भने त्यसबेलाका प्रतिस्पर्धी पुष्पकमल दाहालकै मुख्य समर्थनमा राष्ट्रपति चयन भएका छन् । 

६ दशक सक्रिय राजनीतिक जीवन बिताएका ७९ वर्षीय पौडेल संसद्मा प्रतिनिधित्व गर्ने १० दल र स्वतन्त्र मतदाताको समर्थनबाट राष्ट्रपति चुनिएका हुन् । पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ मतभार आवश्यक पर्थ्यो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो । संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदको कुल मतभार ४९ हजार ५ सय ९१ थियो ।

पौडेल कांग्रेसभित्र सरल, सादगी र स्वच्छ जीवन बिताउने नेतामा पर्छन् । एक पटक सभामुख र पाँच पटकसम्म प्रभावशाली मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका उनले पार्टीभित्र वैचारिक राजनीतिको वकालत गर्दै आए । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि करिब ६ वर्ष उक्त समूहको नेतृत्व गरे तर १४ औं महाधिवेशनदेखि पार्टीभित्र कुनै समूहमा लागेनन् । आफूले नेतृत्व गरेको समूह शेखर कोइरालामा सरेपछि गुटगत राजनीतिबाट अलग भएका उनी व्यावहारिक राजनीतिमा मध्यमार्गी थिए । नेताहरूको अन्तरद्वन्द्वका कारण पार्टी विभाजन हुने अवस्थामा पुग्दा उनले अपनाएको मध्यमार्गी बाटो अन्ततः उनको पहिचान बन्न पुग्यो । यही पहिचानले पनि उनको स्वीकार्यतामा बल पुग्यो ।

दुई–दुई पटकको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेयता फरक धारमा अघि बढिरहेको राजनीति राष्ट्रपति निर्वाचनमा आएर ध्रुवीकृत बन्न पुग्यो । त्यसको मुख्य कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २६ मा प्रतिनिधिसभामा आफूले गरेको संसद् विघटनको बचाउ र भावी संकेतले उत्पन्न गरेको संशय थियो । पुस १० मा सरकार निर्माण गर्दा छुटिसकेका दलहरू फेरि एक ठाउँमा आइपुगेपछि पौडेलको शीतलनिवास यात्रा निश्चित भएको हो ।

तनहुँको बाहुनपोखरामा किसान परिवारमा जन्मेका पौडेलले डेढ दशकयता देशको कार्यकारी प्रमुख बन्न प्रयास गरेका थिए । ०६७ सालमा प्रधानमन्त्रीका लागि १७ पटकसम्म प्रतिस्पर्धा गरे । ८ चरणसम्म उनको प्रतिस्पर्धा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगै थियो । त्यसपछि दाहालले उम्मेदवारी फिर्ता लिए र एक्लै ९ पटकसम्म प्रतिस्पर्धा गरे तैपनि प्रधानमन्त्री निर्वाचित हुन सकेनन् ।

०७४ मा चुनाव हारेपछि पाँच वर्ष उनी संसद्बाहिरै रहे । गएको चुनावमा पनि उनको प्रमुख एजेन्डा प्रधानमन्त्री बन्ने थियो । अन्तरंग साथी सभापति देउवा पाँचौं पटकसम्म प्रधानमन्त्री भएर अहिले छैटौं पटकको रोलक्रममा छन् । देउवाको महत्त्वाकांक्षा र संसद्को समीकरणको बनोटका कारण वातावरणअनुकूल नदेखेपछि पौडल सिंहदरबारको महत्त्वाकांक्षा त्याग्दै शीतलनिवास छिरेका हुन् । उतारचढावपूर्ण राजनीतिक जीवनमा यो उनको महत्त्वपूर्ण सफलता हो । पौडेल आफैं भने राजनीतिक रूपमा सफल नभएको दाबी गर्छन् । ‘अन्तिम अवस्थामा यो पदमा पुग्नु पनि सन्तोषको विषय हो, यस अर्थले मेरो राजनीति सफल भएको मान्छु तर यसबाहेक म सफल राजनीतिज्ञ भने होइन,’ उनी भन्छन्, ‘विभिन्न परिस्थितिले मलाई पछाडि धकेल्ने काम पटक–पटक गर्‍यो । संसदीय दलको नेता भएर पनि प्रधानमन्त्री अरू हुने, म हुन नपाउने अवस्था भयो तर निरन्तरता ठूलो कुरा हो । निरन्तरता र प्रतिबद्धताले मलाई यहाँसम्म ल्याइपुर्‍याएको हो ।’

विश्लेषक पुरञ्जन आचार्य पद र अवसरका हिसाबले पौडेलको राजनीतिक जीवनलाई सफल मान्नुपर्ने बताउँछन् । पार्टीमा कार्यवाहक सभापति बनिसकेका पौडेलका लागि प्रधानमन्त्री बन्ने मुख्य धोको रहे पनि पार्टी संगठनमा पकड नहुँदा कार्यकारी सपना पूरा हुन नसकेको उनको बुझाइ छ । ‘कार्यकारी प्रमुख हुनेबाहेक सबै पद प्राप्त गरेका छन्, राजनीतिक जीवनको उत्तरार्द्धमा राष्ट्रपति बन्नु उनका लागि ग्रेसफुल एक्जिट हो, योभन्दा अर्को विकल्प थिएन,’ आचार्य भन्छन्, ‘केपी ओलीले दुई–दुईपटक संसद् विघटन गर्दा अग्रमोर्चामा रहेर विरोध गर्नेमध्येका नेता नै अहिले संविधानको संरक्षण गर्ने ओहोदामा पुग्नु राम्रो संयोग हो ।’

पार्टीको १४ औं महाधिवेशनको संघारमा पौडेल सक्रिय राजनीतिबाट करिब अलग भइसकेका थिए । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पार्टीभित्रको उक्त समूहको नेतृत्व सम्हाल्दै आएका उनी १४ औं महाधिवेशनमा आफ्नै सहयोगीहरूको समर्थन नपाएपछि सभापतिको उम्मेदवार बनेनन्, बरु महाधिवेशनमा तटस्थ बसिदिए । मतसमेत हालेनन् । उनको तटस्थताले देउवालाई सभापति चुनिन सहयोग गर्‍यो । महाधिवेशनमा तटस्थ बस्ने घोषणा गरेपछि देउवाले ‘देशका लागि तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक पारिराख्नुहोस्’ भनेर पौडेलको कान फुकिदिएका थिए । देउवाको त्यही भनाइले पौडेललाई राजनीतिमा पुनः सक्रिय हुन बल मिलेको थियो ।

राजनीतिक विश्लेषक आचार्य संघर्ष, योगदान, उचाइ सबै दृष्टिले राष्ट्रपतिमा पौडेल समकालीन नेताहरूभन्दा योग्य रहेको बताउँछन् । ‘यद्यपि कार्यकारी बन्ने ठूलो भोक रहेको र सक्रिय राजनीतिको उचाइमा रहेको व्यक्ति राष्ट्रपति बन्दा राम्रो हुन्छ कि हुन्न भन्ने बहस आफ्नो ठाउँमा छ तर महाधिवेशनमा भोट नहालेर तटस्थ बस्दा पनि पौडेलजीको नाम पार्टीमा सर्वस्वीकार्य भयो । सबैले उनको समर्थन गरे । अन्य राजनीतिक दलका लागि पनि उनीजत्तिको उचाइ भएको नेतालाई शीतलनिवास पुर्‍याउँदा गरिमा बढेकै महसुस भएको छ,’ आचार्य भन्छन्, ‘अब उनका लागि राष्ट्रपति संस्थाको गरिमा बचाउने र हिजोको जस्तो विवादास्पद काम नगरी आफ्नो उचाइ बढाउने चुनौती छ । त्यो पार गर्न सके भने इतिहासले उनलाई सम्झिरहनेछ ।’

२००१ असोज २९ मा तनहुँको बाहुनपोखरामा पौडेल जन्मिएका थिए । हजुरबा संस्कृतका विद्वान् थिए । त्यसको प्रभाव उनको पढाइमा समेत पर्‍यो । नन्दीरात्रि माविबाट उनले विद्यालय शिक्षा प्राप्त गरेका थिए । त्यसपछि उनले संस्कृत साहित्यमा शास्त्री र नेपालीमा स्नातकोत्तर गरेका हुन् । संस्कृत मावि रानीपोखरी, विन्ध्यवासिनी संस्कृत पाठशालालगायतका कलेजमा अध्ययन गरे । जयतु संस्कृतम् आन्दोलनदेखि नै सक्रिय पौडेल २०१७ सालको घटनापछि मात्रै कांग्रेसमा लागेका हुन् । त्यसअघिसम्म उनमा वामपन्थी झुकाव थियो । संस्कृत छात्रवास र पोखराको विन्ध्यावासिनी संस्कृत पाठशालामा पढ्दासम्म उनमा वामपन्थी भावना जागृत थियो ।

पोखरामा पढ्दापढ्दै काठमाडौंमा कांग्रेस समर्थित छात्र संघको सम्मेलनमा बोलाउँदा उनी सहभागी भएनन् । केही महिनापछि नै कम्युनिस्ट समर्थित छात्र संघको सम्मेलनमा भने सहभागी भएका थिए । ‘पुँजीपतिमा महावीरशमशेर र भूमिपतिमा माधवशमशेर भनेर मैले निकै अघि नाम सुनेको थिएँ, त्यही सम्मेलनमा जाँदा विद्यार्थी नेताहरूले मलाई एक दिन माधवशमशेरको दरबारमा पुर्‍याए । तिनको कुरा सुनें । छात्र संघको सबै हेरचाह उनीहरूले नै गर्ने रहेछन् । सुनेपछि मलाई फरक अनुभव भयो,’ पौडेलले भने, ‘२०१७ सालसम्म ममा वामपन्थी चेत थियो । त्यसपछि नै कांग्रेसतिर लागेको हुँ ।’

उनी २०२७ सालमा नेविसंघको संस्थापक सदस्य भए । जेलमा भएका बेला २०२५ सालमा बीपी कोइरालासँग उनको पहिलो भेट भएको थियो । जेलबाट निस्केपछि बीपी प्रवास (भारत) मा गए । पौडेल भने नेपालमै बसे । सन्त नेता कृष्णप्रसाद भट्टराईसँगै पौडेलले लामो जेल जीवन बिताए । त्यसैको प्रभावले भट्टराईप्रति उनको झुकाव देखिन्थ्यो ।

बीपी र सुवर्णशमशेरको मनमुटाबकै बेलादेखि पौडेलले मध्यमार्गी राजनीतिक धार अंगालेका हुन् । बनारसमा रहेका बीपी र कोलकत्तामा रहेका सुर्वणशमशेरबीच सम्बन्ध स्थापित गराउन उनी मध्यमार्गी बनेका थिए । ‘तपाईंहरू दुई जना नमिले हामी कसैको पक्षमा रहन्नौं’ भन्दै नेताहरूलाई त्यतिबेलैदेखि उनले दबाब दिएका थिए । त्यहाँबाट सुरु भएको मध्यमार्गी बाटो गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको अन्तरद्वन्द्वमा पनि कायमै रह्यो । देउवाले भने त्यही अन्तरद्वन्द्वबाट लाभ लिँदै गए । खासगरी ०५१ मा पहिलोपल्ट प्रधानमन्त्री भएपछि गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको अन्तरद्वन्द्वमा खेलेर देउवाले पटक–पटक प्रधानमन्त्री बन्ने अवसर पाए । नेताहरूलाई मिलाउनकै लागि मध्यमार्गी बाटो लिएका पौडेलेले भने पार्टी सभापति र प्रधानमन्त्री बन्ने दुवै अवसर छोप्न सकेनन् ।

२०१८ सालको सशस्त्र क्रान्तिमा सहभागिता र २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनको अगुवा रहेका पौडेल २०२३ सालमा सरस्वती क्याम्पसमा विद्यार्थी युनियनको सभापति निर्वाचित भएका थिए । उनीसँग निकट सम्बन्धमा रहेका कांग्रेस नेता रामचन्द्र पोखरेलका अनुसार ०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव निर्वाचित भए । ‘बाहुनपोखराको कृषक परिवारबाट उठेर यो पदमा आउनु सामान्य उपलब्धि होइन,’ पोखरेल भन्छन्, ‘तनहुँ र राष्ट्रकै लागि गौरवको दिन हो । राजनीतिमा अविचलित सक्रियताले यो ठाउँमा ल्याइपुर्‍यायो ।’

२०२७ सालमा विपीन कोइरालाको संयोजकत्वमा स्थापित विद्यार्थी संघमा पौडेल केन्द्रीय सदस्य थिए । विपीनपछि देउवा सभापति भएका हुन् । विपीनका अनुसार विद्यार्थी राजनीतिमा छँदा पनि पौडेल कहिल्यै उग्र देखिएनन् । लेख्न र बोल्न सक्ने, समाजवादका व्याख्या गर्ने बौद्धिक नेता कांग्रेसमा त्यतिबेला कमै थिए । नेविसंघले एउटा मुखपत्र निकाल्थ्यो– संक्रान्ति । त्यसको सम्पादक पौडेल थिए । ‘बीपीले तरुण र सुवर्णशमशेरले नेविसंघ हेर्ने जिम्मेवारी लिनुभएको थियो । नेविसंघको मुखपत्र निकाल्ने भनेर रामचन्द्र र मसमेत सुवर्णजीकोमा गयौं । सुवर्णजीले निकाल्न कति लाग्छ भन्नुभयो । रामचन्द्रजीले ६ हजार लाग्ने कुरा गरेपछि सुवर्णजीले झिकेर दिनुभयो,’ विपीन सम्झन्छन्, ‘त्यसपछि हामीले ‘संक्रान्ति’ निकाल्न थालेका हौं ।’

देउवा र पौडेलबीच नेविसंघ गठनदेखि नै राजनीतिक प्रतिस्पर्धा सुरु भएको थियो । अध्यक्ष भएकै बेला विपीन कोइराला पक्राउ परे । त्यसपछि पौडेललाई उछिनेर देउवा संघको अध्यक्ष भएका थिए । ‘शेरबहादुर, रामचन्द्र र शिवबहादुर मेरा अभिन्न साथी थिए, यी तीनमध्येबाट जसलाई अनुकूल हन्छ, उसैलाई नेविसंघको अध्यक्ष बनाए हुन्छ भन्ने मेरो भनाइ थियो । मेरो कुनै रोजाइ थिएन । शेरबहादुर सिपालु मान्छे । सबै नेताका लागि फिट भइदिने, सबैलाई मिलाउन सक्ने, आफ्ना लागि एकदमै बाठो, जुन कोटिमा रामचन्द्रजी र म थिएनौं,’ विपीन भन्छन्, ‘सुदूरपश्चिममा नेता नभएकाले पनि शेरबहादुरको भाग्य खुल्यो । रामचन्द्रजी हुन सकेनन् ।’ यद्यपि संघीयता र राजतन्त्रका विषयमा कांग्रेसले लिएको सैद्धान्तिक धारणाप्रति विमति राख्दै विपीन कांग्रेसको मूलधारमा छैनन् ।

०४० सालमा पौडेल केन्द्रीय प्रचार समितिको संयोजक भए भने ०४३ मा केन्द्रीय सदस्य बने । उनले २०१९ सालको सशस्त्र क्रान्तिदेखि २०४६ सालसम्म १३ वर्ष र ०४६ पछिका प्रतिगमन अवधिमा एक वर्ष गरी १४ वर्ष जेलजीवन बिताएका छन् । उनका ‘प्रजातान्त्रिक समाजवाद : एक अध्ययन’, ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’, ‘नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण’, ‘कृषि क्रान्ति र समाजवाद’, ‘राजनीतिको राजमार्ग’ लगायत पुस्तक प्रकाशित छन् ।

राज्यसत्ताको लामो अनुभव र पटक–पटक अवसर पाए पनि पौडेल समकालीन नेताहरूमा भ्रष्टाचार र अनियमिताबाट बचेका सादगी नेता हुन् । समाजवादी चिन्तक र मध्यमार्गी नेता उनको पहिचान हो । २०४८ सालयता भएका ७ वटा निर्वाचनमा ०७४ को एक कार्यकालबाहेक उनी निरन्तर संसदीय राजनीतिमा सक्रिय रहे । त्यसबीचमा सभामुख, उपप्रधानमन्त्री र पटक–पटक मन्त्री भए ।

प्रतिक्रिया