Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

आज दिनभरिका खबर फर्केर हेर्दा

आज दिनभरिका खबर फर्केर हेर्दा

आज  दिनभर सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि भेटिए,नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो, कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, खप्तडको समग्र विकासका लागि पहल गर्छु, राष्ट्रिय सभाको बैठक भोलिलाई सारियो, बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको छैन,‘संसद्‌मा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ’,माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक लगायतका समाचारले प्रमुख स्थान पाए  ।

सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि भेटिए
सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को गाडी फेला परेको छ ।

सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा गत शुक्रबार बेपत्ता भएको सिटिइभीटीको गाडीमा दुई जनाको शव पनि फेला परेको छ । गाडीमा फेला परेको शवको पहिचान अझै हुन बाँकी रहेको बताइएको छ ।

सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए ।

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ ।

सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनले भने, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ ।’ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठीत अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो ।

कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने
नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बसेको कोशी प्रदेश कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशमा अहिले एमाले नेतृत्वको सरकार छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् ।

मंगलबार नै माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ भने यसअघि नै जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसले गर्दा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । यहीबीचमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । मंगलबार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रलाई आर्थिक, पर्यटन तथा धार्मिक केन्द्रका रूपमा विकास गर्ने बताएका छन् । यसका लागि छुट्टै कोष वा प्रतिष्ठान बनाउने उनको भनाइ छ ।

खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको केन्द्र रहेको र यसलाई आर्थिक केन्द्र बनाउन सकिने प्रधानमन्त्री प्रचण्डले बताए । तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावल तथा भारतीय धार्मिक गुरु रामदेव र आचार्य बालकृष्णलगायतको उपस्थिति छ ।

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहको समन्वयमा सम्मेलनको आयोजना गरिएको हो।

राष्ट्रिय सभाको बैठक भोलिलाई सारियो
राष्ट्रिय सभाको बैठक एक दिन पछि सारिएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बस्ने गरी सारिएको संघीय संसदका महासचिव डा। भरतराज गौतमले जानकारी दिए ।

महासचिव गौतमले मंगलबार प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘मिति २०८० साल जेठ २३ गते मङ्गलबार बिहान ११स्११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११स्११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको छैन

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ को बजेट निर्माणमा आफूले इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि जवाफ दिँदै अर्थमन्त्री महतले आफूले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश नगराइएको र कसैलाई लाभ हुने गरी करका दर पनि हेरफेर नगरेको बताए ।

आफ्नो इमान्दारिमा एक इन्च पनि नहल्लिएको भन्दै बैठकमा उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरू पछि लागेका छन् । भएको यही हो ।’

बजेट बनाउने बेला विचौलियालाई छेउमा पनि आउन नदिएको भन्दै उनले पूर्वनासु श्रेष्ठलाई सरकारले नै नियुक्त गरेको र इन्ट्री गर्ने कार्यमा खटाइएको जानकारी दिए ।

‘संसद्‌मा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ’
प्रतिनिधिसभामा आर्थिक वर्षको २०८०-०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भइरहेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भइरहेको छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताएका छन् ।

बहुमतको बलमा संसदबाट बजेट पास भए पनि व्यवहार पास हुने नहुने आफूहरूले हेर्ने भन्दै उनले तर, बजेटले लिएको लक्ष्य पूरा नहुने जिकिर गरे ।

नीति तथा कार्यक्रममाथिको छलफलमा आफूहरूले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै उनले अघिल्लो वर्ष ल्याइएको बजेटले लिएको लक्ष्य पूरा गर्न नसकेको बताए ।

ओलीले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट सच्याउन माग गरेका छन् । मुलुकको अर्थतन्त्र र जनताको आर्थिक अवस्थालाई मध्यनजर गरेर सरकार बजेट सच्याउन तयार हुनुपर्ने ओलीको भनाइ थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै ओलीले बजेट सच्याउन माग गरेका हुन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने उनको भनाइ थियो ।

‘बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ’
सांसद योगेशकुमार भट्टराईले आर्थिक संकटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०(८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले मुलुक आर्थिक संकटको अवस्थामा रहेको भन्दै त्यसको निकास खोज्न बृहत् आर्थिक सम्मेलन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले भने, ‘अन्य मुलुकले आर्थिक संकटको अवस्थामा बृहत् आर्थिक सम्मेलन गर्ने गरेका छन । सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र र विकासका साझेदारको सहभागितामा बृहत् गोलमेच सम्मेलन गरौँ’, उनले भने, ‘त्यसले आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो रु त्यसको साझा अवधारणा बनाऊँ । त्यो कांग्रेस वा एमालेको अवधारणा हुँदैन, मुलुकको अवधारणा हुन्छ । हिम्मत गर्नुस्, प्याराडाइम सिफ्ट गर्नुस् मन्त्रीज्यू !

सांसद भट्टराईले आगामी बजेटले कुनै गन्तव्यलाई निश्चित नगरेको र आजको चरम आर्थिक संकटलाई यसले अनुभूत नगरेको बताए। उनले सरकारले खर्च कटौतीको घोषणा गरे तापनि चालु आवको तुलनामा आउँदो वर्षका लागि रु ९८ अर्ब चालु खर्च बढाएको बताए ।

फरक राजनीतिक विचारका बाबजुद आर्थिक संकटलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए। ‘हाम्रो राजनीतिक विचार फरक होलान्, आआफ्नो गन्तव्य होलान् तर आजको मुलुकको अर्थतन्त्र डामाडोल भयो र बिग्रियो भने तपाईं मात्र होइन हामीसँगै नेपाल सबै ध्वस्त हुन्छौँ । हामी तपाईंलाई सहयोग गर्न तयार छौँ ।’

उनले पूँजीगत खर्च कटौती गर्दै राष्ट्रिय गौरवका आयोजनामा खर्च गर्न सुझाव दिए। ‘राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशसभा कमसेकम उपसचिवभन्दा माथिका कर्मचारी, राजनीतिक नियुक्तिमा भएका मानिसको २५ प्रतिशतले तलब भत्ता घटाउने घोषणा गर्नुस् । कटौती गरिएको रकम कुनै एक राष्ट्रिय गौरव आयोजनामा खर्च गर्नुस् । हामी प्रतिपक्ष तयार छौँ’, उनले भने ।

माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । केन्द्रीय गठबन्धनमा आएको फेरदलको कारण आफूहरुले समर्थन फिर्ता लिएको उनले बताए ।

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पुूर्वाधार विकास मन्त्री दुर्गाप्रुसाद चापागाईँले राजीनामा दिएका हुन् ।

आङ्बोले वर्तमान सरकार र राजनीतिक दलकै सहमतमा प्रदेश नामकरण भएपनि पहिचान पक्षधरले उठाएको मागप्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले समर्थन फिर्ता लिइएको बताए ।

नेता आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग वार्ता गर्न आह्वान गरेपनि वार्ता टोली गठन नगरेको र पहिचानवादीलाई वेवास्ता गरेको आरोप लगाए । “सरकारले पहिचानवादीको आन्दोलन र मागलाई वेवास्ता गरेको छ, सम्मान गरेको छैन”, उनले भने ।

कोशी प्रदेशसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश
कोशी प्रदेशसभामा महालेखा परीक्षकको आर्थिक वर्ष २०७८-७९ को पाँचौँ वार्षिक प्रतिवेदन पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सो प्रतिवेदन पेश गरिएको हो ।

यसैबीच विशेष समयमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको तर्फबाट सदस्य गणेशप्रसाद उप्रेतीले प्रमाणीकरण भएको नागरिकता विधेयकको विषयमा संघीय संसद्मा भइरहेको विरोध राष्ट्रहितमा नरहेको बताए । उनले नागरिकता विहीन अवस्थामा रहेका शिक्षित युवा बेरोजगार भएको, राहदानी बनाउन नपाई वैदेशिक रोजगारमा जान नपाएको समस्यालाई समाधान गर्न बनेको यो कानुनको विरोध गर्नु उचित नभएका बताए ।

नेकपा (एमाले) संसदीय दलको तर्फबाट रामप्रसाद मेहताले सुनसरी मोरङ सिँचाइ आयोजनाबाट बाह्रै महिना कृषकको खेतमा पानी पुर्याउन सरकारले योजना बनाउनुपर्ने माग गरे। उनले अहिले खडेरी र सुक्खाका कारण किसानको खेतमा पानी नपुगिरहेको यस्तो अवस्थामा सुनसरी र मोरङको धेरै नदीको पानी नहरमा खसाल्न सकियो भने कृषकलाई निकै राहत मिल्ने बताए ।

मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०(८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनिकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखेको छ।

सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति मधेश प्रदेश सरकारले लिएको पाइएको छ।

‘चुरे जोगाउ, मधेश बचाउ’, ‘बेटी बचाउ, बेटी पढाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’ लगायतका विगतका सरकारले सञ्चालन गरेको अभियानलाई पनि सरकारले निरन्तरता दिइएको छ।

दादुरा र रुबेलाविरुद्ध खोप अभियान सञ्चालन हुँदै

दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ती तीन जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको हो ।

अहिले कैलालीसहित देशका नौ जिल्लामा १३ वटा रोग विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । खोप लगाउनका लागि सरोकारवालासँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखी कार्यक्रम गर्न थालिएको छ ।

अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनका चिकित्सक रामु शर्माले नेपालमा २०३६ सालदेखि दादुरा विरुद्धको खोप लगाउन सुरु भए पनि अझै सङ्क्रमित देखिन थालेकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताए । ‘दादुरा भयानक सरुवा रोग भएकाले यसलाई रोकथाम गर्नका लागि अहिले सरकारले सङ्क्रमण देखिएका जिल्लामा अभियान सुरु गरिरहेको छ’, उनले भने, ‘दादुरा र रुबेला सङ्क्रमण देखिएका जिल्लाभरि खोप अभियान सञ्चालन हुँदैछ ।’

नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको सर्वेक्षणले देखाएको विश्व स्वास्थ्य संगठनका चिकित्सक शर्माले बताए। उनले नियमित खोप ९५ प्रतिशतभन्दा कमले लगाउने, सबै तहमा एकरूपता नहुने, क्रियाकलाप सञ्चालन प्रभावकारी नहुने, जिम्मेवारी, अपनत्व र समन्वयमा कमी हुनेजस्ता प्रमुख समस्या रहेको गुनासो गरे ।

कैलाली जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा दादुरा र रुबेलाको सङ्क्रमण देखिएकामा ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त जिल्लामा दुई लाख छ हजार बालबालिकालाई खोप लगाउने लक्ष्यअनुसार सबै पालिकामा खोप पठाउने काम सुरु भएको छ ।

यसअघि पनि कैलालीमा दादुरा सङ्क्रमण देखिएपछि छ महिनादेखि १५ वर्षमुनिका १६ हजार बालबालिकालाई गएको फागुनमा खोप लगाइएको थियो । फेरि जिल्लाभरिका सबै बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ‘सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेलाका बिरामी फेला परेकाले यी जिल्लामा खोप अभियान सञ्चालन गर्न थालिएको छ’, उनले भने, ‘प्रदेशमा पुष्टि भएकामध्ये अधिकांश एक वर्षमाथि उमेर समूहका रहेको जनाइएको छ । कैलालीमा नौ महिनाका सात, २३ महिनाका छ र २३ महिनामाथिका ३४ जना छन् ।’

सुदूरपश्चिममा एक सय २३ जना शंकास्पद बिरामीमा परीक्षण गर्दा प्रदेशमा ९३ जना दादुरा तथा एकजना रुबेलाका बिरामी फेला परेकामा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुबेलाका बिरामी थिए ।

टीकापुर नगरपालिकाले भने जेठ २६ गतेदेखि खोप अभियान सुरु गर्दैछ । खोप अभियानमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने भएको छ । खोप अभियान सञ्चालनका लागि नगरपालिकाले हरेक वडा तहमा जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ । टीकापुरमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

मंगलबार सेयर बजार २५.६६ अंकले बढ्यो
सेयर बजार २५।६६ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १.३५ प्रतिशतले वृद्धि भएर १९२७.६५ विन्दुमा पुगेर बन्द भएको छ ।

साथैसेन्सेटिभ इण्डेक्स २.८७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ ।

२६९ स्टकको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढ्दा जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ।

प्रतिक्रिया