Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

श्रीमती अचेत छाडेर छोराको शव बुझ्न आएका टेकबहादुर

श्रीमती अचेत छाडेर छोराको शव बुझ्न आएका टेकबहादुर

बालकुमारी घटनामा मृत्यु भएका अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाहका बाबु टेकबहादुर शाह शनिबार दिउँसो काठमाडौं आए । पाटन अस्पताल पुगेर छोराको मुख हेरे । कोरिया जान सपना बोकेर घरदेखि हिँडेको जवान छोरालाई शवगृहमा निर्जीव अवस्थामा देख्दा उनी सम्हालिन सकेनन् । निकैबेरसम्म भक्किानिए ।

‘श्रीमती घरमा एक्लै छे, छोरा ढलेको खबर सुनेर ऊ पनि होसमा छैन’, घटनाको तीन दिनपछि काठमाडौं अनामनगरको एक होटलमा कुराकानीका क्रममा टेकबहादुरले भने, ‘अन्तिम पटक भए पनि छोराको मुख हेर्न भनेर यहाँ पाइपुगेको हुँ ।’

काका मदन र बमबहादुर शाहको सहयोगमा अछामदेखि लामो यात्रा तय गरेर काठमाडौं आइपुगेका उनको प्यारालाइसिसका कारण पाँच वर्षदेखि दायाँ हात राम्रोसँग चल्दैन । मधुमेह र उच्च रक्तचापको औषधि खाइरहेका छन् ।

कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर वीरेन्द्रको मृत्यु भएको थियो । छोरा मारिएको खबर सुनेपछि टेकबहादुर अर्ध मुर्छित अवस्थामै काठमाडौं आइपुगेका थिए ।

घटनाको तीन दिनसम्म पनि उनका आँखा ओभाएका छैनन् । ‘ठूलो छोरा सुस्त छ, परिवारको सहारा भन्नु नै यही थियो’, टेकबहादुर भन्छन्, ‘कोरिया गएर कमाउँछु, घरको दुःख फाल्छु भन्थ्यो, यस्तो भयो ।’

१६ वर्षकै उमेरमा भारतमा मजदुरी गर्न गएका टेकबहादुर १० वर्षदेखि श्रीमती र ठूलो छोरासँग उतै बस्थे । उनीहरु २० दिनअघि मात्र अछाम फर्किएका थिए । कान्छो छोरा वीरेन्द्र गाउँमै आफन्तको घरमा बसेर पढ्थे । १० कक्षा पास गरेपछि डडेल्धुरामा बसेर कृषि प्राविधिक (जेटीए) पढे ।

त्यसपछि कोरिया जाने योजनाका साथ काठमाडौंमा आफन्तको डेरामा बसेर कोरियाली भाषा सिकिरहेका थिए । उनले गत साउनमा पानी जहाज बनाउने कामका लागि भाषा परीक्षा दिएका थिए । तर पास भएनन् ।

दशैं तिहार मनाउन गाउँ गएका उनी तिहारपछि काठमाडौं आए । पानीजहाज बनाउने कामका लागि भाषा परीक्षामा नाम ननिस्किएका कारण उनले कोरिया जाने अर्को अवसर खोज्नुपर्ने थियो ।

त्यही बेला कोरियाले उत्पादनमूलक कामका लागि अर्को भाषा परीक्षा सञ्चालन गर्ने भयो । तर त्यसमा वीरेन्द्र जस्ता पानी जहाज बनाउने कामका लागि परीक्षा दिएर फेल भएकाहरुले फारम नै भर्न नपाउने भए ।

शुक्रबार कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै रोजगार अनुमति प्रणाली (ईपीएस) को ग्वार्कोस्थित कार्यालयबाहिर वीरेन्द्रजस्तै युवाहरुले प्रदर्शन गरेका थिए । वीरेन्द्र प्रहरीको गोली लागेर मारिए भने अर्का युवक सुजन रावत पनि प्रहरीको बल प्रयोगबाट मारिए ।

उता अछाममा टेकबहादुर भने छोरा कोरिया जाने आशमा बसेका थिए । वीरेन्द्रले पनि आफू विदेश जाँदा बिदाइ गर्न आउनुपर्छ भनेका थिए । ‘कोरिया जादा बिदाइ गर्न आउनपर्छ भन्थ्यो’, टेकबहादुरले भने, ‘उल्टै छोराको शव लिन आउनुप¥यो ।’

शव नबुझ्ने अडान

छोराको शव लिन काठमाडौं आएका टेकबहादुर कलंकीमा छिमेकीको डेरामा बसेका छन् । उनले छोराको शव अझै बुझेका छैनन् । उनले आफ्नो छोरा मारिनुको कारण खोजेका छन् र न्याय नपाएसम्म शव नबुझ्ने अडानमा छन् ।

टेकबहादुरको माग छ– बालकुमारी घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गर्नुपर्छ, वीरेन्द्रलाई शहीद घोषणा गर्नुपर्छ र उचित राहत र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्छ ।

शुक्रबार घटना भएकै दिन गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । आइतबार सत्तारुढ गठबन्धनको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गर्ने बताएका छन् । यसलाई सोमबारको मन्त्रिपरिषदले निर्णय गर्नेछ ।

पीडित परिवारले गोली चलाउने सुरक्षाकर्मी र कमाण्डरलाई फौजदारी अभियोग लगाएर सजाय दिनुपर्ने माग राखेका छन् । त्यस्तै घटनासँग सम्बन्धित निकाय गृहमन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, प्रमुख जिल्ला अधिकारी र ईपीएस कोरिया शाखाका निर्देशकलाई कारबाही गर्न पनि माग गरेका छन् ।

शनिबार छोराको शव हेरेर फर्केपछि टेकबहादुरसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुराकानी गरेका थिए । उनीहरुले घटनाका दोषी सबै कारवाही गर्न, मृतकलाई शहीद घोषणा गर्न र उचित क्षतिपूर्ति र रोजगारी दिनुपर्ने माग राखे । ‘प्रधानमन्त्रीले पनि ठूलो दुर्घटना भयो भन्दै तपाईंहरुको माग पूरा गर्छाैं भनेर आवस्त पार्नुभयो’, अछामबाट टेकबहादुरसँगै आएका नातामा वीरेन्द्रका हजुरबा मदन शाहले भने ।

मदनका अनुसार वार्तामा प्रधानमन्त्रीले आफूहरुले राखेका सबै माग पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । त्यही आशमा मृतकका बुबा टेकबहादुर, बाजेहरु महेन्द्र, मदन शाह र मृतकका मामा दीपेन्द्र शाही आइतबार दिनभर कुरेर बसे । तर आइतबार बेलुकीसम्म माग सम्बोधन नभएको उनीहरुको भनाइ छ ।

‘हामी यहाँ छोरा गुमाएको पीडामा छौं’, मदनले भने, ‘यस्तो बेला सरकारले हाम्रो माग छिटो भन्दा छिटो पूरा गरेर न्याय दिनुपर्थ्यो ।’

अनलाइनखबर

प्रतिक्रिया