ताजा अपडेट
एउटै विद्यालयमा ४१ बर्ष ७ महिना अध्यापन गराएर अवकास लिएका शिक्षक ललित बहादुर कुँवर
केहिदिन अघिको कुरा हो सामाजिक संजाल हेर्ने क्रममा एउटा फोटोमा गएर ध्यान केन्द्रित भयो । घाँटीभरी खादा र माला संगै जमिनमा घोप्टो परेर माटोलाई ढोगिरहेका शिक्षक ललित ललित बहादुर कुँवरको त्यो तस्बीरले म लगाएत धैरको मन भाबुक बनायो । उसो त आफ्नो होस सम्हाले देखि नै मैले देख्दै आईरहेको अनुहार र सुन्दै आईरहेको नाम हो शिक्षक ललित बहादुर कुँवर । आफुले यति नजिकैबाट चिनेका र नियालेका पात्रको संक्षिप्त पेशागत जिवनीका बारेमा थप जान्ने कौतुहलताका साथ भेटेर जान्न मन लाग्यो ।
अछामको साँफेबगर नगरपालिका वडा नं. ३ सिद्धेश्वरमा वि.सं. २०२१ साल असार १४ गते जन्मिएका ललित बहादुर कुँवरको जीवनका महत्वपुर्ण चार दशक शिक्षा क्षेत्रमा बित्यो । बुवा मोहन सिंह कुँवर र आमा सोभा देवी कुँवरको कोखबाट घरको जेठो छोराका रूपमा जन्मिएका उनले ४१ वर्ष ७ महिना निरन्तर एउटै विद्यालयमा अध्यापनको काम गरे । आफ्नो जिन्दगिका चार दशक शिक्षण पेशामा समर्पित कुँवरले संयोगवस आफ्नै जन्मदिनको दिन असार १४ मा अवकास प्राप्त गरे ।शिक्षकले कक्षा कोठामा प्रवेश गरेपछि बालबालिकाका अनुहारमा आफ्ना छोराछोरी र भाइबहिनीको अनुहार देख्नुपर्छ, तब मात्रै सही शिक्षा दिन सकिन्छ भन्ने सोच बोकेका ललित बहादुर कुँवरले आफ्नो पेशागत जीवनको पाटो हामि सँग यसरी साटेः
“म मध्यमवर्गीय परिवारमा जन्मिएको मान्छे बुवा समाज सेवामा र आमा कृषि गर्नुहुन्थ्यो । आफूहरूले राम्ररी अध्ययन गर्न नपाए पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच उहाँहरूमा थियो । त्यसैले पनि पढ्ने अवसर प्राप्त गरियो । पढेर यही काम वा पेसा गर्नुपर्छ भनेर बुवाआमाले कहिल्यै दवाव दिनुभएन तर धेरै पढ्नुपर्छ र असल व्यक्ति बन्नुपर्छ भनेर उपदेश दिनुहुन्थ्यो । त्यसले पनि मलाई सही बाटोमा हिँड्न प्रेरित गर्यो । पढाइमा समेत उत्कृष्ट नै थिएँ । असफल भएपनि हार खानुहुँदैन भन्ने सोच राखेरै हिँडे ।
मैले वि.सं. २०३८ सालमा एसएलसी पास गरेको हुँ । त्यो बेलामा अहिले पीएचडी गरेको भन्दा एसएलसी पास गरेको ठूलो महत्व थियो । जागिर खोज्न जानु पर्दैनथ्यो । अवसरहरू घरमै आइपुग्थे । मेरो जीवनमा पनि त्यस्तै भयो । आफ्नै गाउँको विद्यालय प्रभा धमकोट प्रा.बिमा मलाई अध्यापन गराइदिनु पर्र्यो भनेपछि मैले वि.सं. २०३९ सालदेखि अध्यापन सुरु गरेको हुँ । स्थायी भने २०४६ सालमा भएको हुँ ।
मैले जतिसम्म नेपाल सरकारको कर्मचारी भएर सेवा गरेँ । कुनैपनि मौखिक वा लिखित आरोप झेल्नु परेन । त्यो मेरो कामप्रतिको पारदर्शीता र इमान्दारिताको फल हो भन्ने लाग्छ । जति वर्ष विद्यालयको शिक्षक भएर काम गरेँ । सबैबाट उत्तिकै मायाँ र सहयोग प्राप्त गरें । आफूले अध्यापन गराएका विद्यार्थीहरू लोकसेवा लगायतका थुप्रै राम्रो स्थानमा पुगेका छन् । उनीहरूले गुरूप्रति गर्ने सम्मान देख्दा मैले आजसम्म अपनाएको पेसाप्रति गर्व लाग्छ ।
शिक्षक पेशा नै यस्तो पेसा हो जसले राज्यका उच्च तहमा बसेका व्यक्तिहरूलाई नै शिक्षा दिएको हुन्छ । त्यसैले मलाई कहिल्यै मेरो शिक्षण पेसाप्रति वितृष्णा भएन । हरेक पेसामा टिक्नको लागि र सम्मान प्राप्त गर्नको लागि आफू पनि अनुशासित हुनु जरुरी छ । अर्को कुरा पेसा अपनाउनको लागि सधैं अरुको भर होइन कि आफ्नो रुचि के मा छ त्यसको निक्र्यौल गर्नुपर्छ र आफै संग प्रतिस्पर्धा गर्नुपर्दछ ।
शिक्षकले कक्षाकोठामा जब प्रवेश गर्छ, बालबालिकाहरूको अनुहारमा आफ्ना छोराछोरी र भाइबहिनी देख्नुपर्छ । तब शिक्षकले कहिल्यै उनीहरूलाई ठग्न सक्दैन । सेवा गरेवापत तलब लिने कि तलबका लागि सेवा गर्ने भन्ने दुई कुराले सबै पेसाको निर्धारण गर्दछ । पेसा जुनसुकै भए पनि सेवा भावले गर्न सक्यो भने सबैको लागि हितकारी हुन्छ । शिक्षकले अध्यापन गराउने बाहेक अन्य संगठनमा लाग्नु हुन्न भन्ने मेरो धारणा हो । जसको जे काम हो त्यो मात्रै गर्यो भने सफल भइन्छ ।
शिक्षक पेसा आफैमा उच्च तहका व्यक्ति निर्माण गर्ने पेसा हो । शिक्षकले गरेका हरेक क्रियाकलाप नागरिकले सिक्छन् । अनुशासन कायम गर्ने कुरामा शिक्षक सधंै सचेत हुनु जरुरी छ । मैले सेवा गरेवापत राज्यबाट सेवा सुविधा लिएँ तर कहिल्यै तलबका लागि सेवा गरिनँ । सायद त्यसैले पनि होला समाजमा एउटा सम्मानित व्यक्तिको दर्जा पाएको छु ।”
कुँवरले आफ्नो ४ दशकको कार्यकालमा पढाएका विद्यार्थि मध्य अहिलेका प्रधनाध्यापक जोगराज कुँवर लगाएत ५ जाना शिक्षक त्यहि विद्यालयमा अध्यापन गराउँछन् । कसै कसैका तिन पुस्तालाई पनि शिक्षा दिएको कुरा कुँवर गर्वका साथ बताउछन । यत्रो बर्ष शिक्षण पेशामा आवद्ध भैरहदा अन्तमा नेपाल सरकारको अवकास गराउने प्रणाली चित्तबुझ्दो नभएको कुँवर बताउछन । यत्रो बर्ष शिक्षक भएर सेवा गरेबाफत एक टिका सिन्दुर र एक प्रमाणपत्र सम्म सरोकारबाला हरुले व्यवस्था गर्न नचाहेकोमा कुँवर गुनासो गर्छन । आफ्नो अवकास पश्चात उत्कृष्ट विद्यार्थिलाई सधैं सहयोग गर्ने बाचा गरेको कुँवर बताउछन । शिक्षमा आधुनिकता बढ्दै गए संगै शिक्षण पेशालाई नागरीकले सम्मान दिन छाडेको कुँवरको भनाई छ । सरकारले शिक्षमा भैरहेको विकृति र अनुशासन हिनता लाई रोक्न दण्डित र सम्मान दुबै अवधारणा अघि सार्नुपर्ने बताए । शिक्षकको संगठनमा आवद्धता त्यति ठुलो बिषय नभएको तर शिक्षामा गरीने राजनितीले समाजमा भयानक रुप लगिरहेको कुँवर बताउछन् ।
कुँवरका ३ छोरा २ नाती र एक नातिनी छन् । कुँवरका ३ वटै छोराहरुले माध्यामिक तह सम्मको अध्यन सोहि विद्यालयबाट गरे । कुँवरका जेठो छोरा र बुहारी विदेश छन् । सेवा सधैं निस्वार्थ हुनुपर्छ भन्ने मान्यता राख्ने कुँवर आफुलाई अब एकपटक राजनीतिमा प्रवेश गर्ने मन भएको बताउछन । आफु राजनीतिमा प्रवेश गरेँ भने काम गर्ने क्रममा भोगेका गलत कुराहरूलाई अन्त्य गरी साँच्चै राजनितिमा सेवा भनेको यो हो भन्ने पद्धति बसाल्ने मन भएको कुँवर बताउछन । राजनीतिमा सफल हुन नसकिए पनि व्यक्तिगत रूपमै भए पनि समाजमा राम्रो काम गर्ने मन भएको कुँवरले बताए ।
प्रतिक्रिया