Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती

झोलुंगे पुल बगेपछि काठे पुलको सहारा

झोलुंगे पुल बगेपछि काठे पुलको सहारा

बझाङ — केदारस्युँ र थलारा गाउँपालिका जोड्ने काठे पुलबाट सेती नदीमा शुक्रबार साँझ खसेर बेपत्ता भएका थलारा–१, का टेक गिरी अझै फेला परेका छैनन् । स्थानीय र सशस्त्र प्रहरीले शनिबार र आइतबार सेती नदी किनारमा खोजी गरे पनि गिरी फेला परेका छैनन् ।

टेकका काका भुवन गिरीका अनुसार बेपत्ता व्यक्ति नभेटिँदै सशस्त्रको टोली आइतबार दिउँसो २ बजेतिर फर्किएको बताए । सेती नदी र कालंगा नदीको दोभानमा रहेको तालमा टेक भेटिन सक्ने उनको अनुमान छ ।

‘त्यही तालमा गोताखोरबाट खोजी गरिदिनुस् भन्दा उहाँहरूले यस्तो जाडो र बग्ने पानीमा गोताखोर पठाउन मिल्दैन भन्नुभयो,’ भुवनले भने, ‘शव देखिएपछि खबर गर्नू, आउँछौं भनेर उनीहरू फर्किए ।’

सशस्त्र प्रहरी बल बझाङका प्रमुख डीएसपी दुर्गाप्रसाद भट्टले आफैं घटनास्थल पुगेर हेरेको जनाउँदै बगिरहने पानीमा गोताखोर आवश्यक नभएको बताए ।

‘त्यहाँको पानीको प्रकृति हेर्दा नदीमा खसेको व्यक्ति डुबेको भन्दा पनि बगेर टाढा पुगेको अनुमान गरेका छौं । बग्ने पानीमा गोताखोरको काम हुँदैन,’ उनले भने, ‘त्यहीअनुसार डोटी जिल्लाको प्रहरीलाई पनि खोजीका लागि सहयोग गरिदिन भनिसकेका छौं ।’

२०७८ कात्तिकमा आएको बाढीले देउरा र रेगम जोड्ने १ सय २० मिटर लामो झोलुंगे पुल बगाएपछि यहाँका बासिन्दा हिउँदमा काठे साँघुबाट जोखिमपूर्ण रूपमा आउजाउ गर्छन् । बर्खामा काठको साँघु बाढीले बगाउने हुनाले यी दुई पालिकाबीच सम्पर्कविच्छेद हुन्छ ।

‘बर्खामा आउजाउ ठ्याप्पै हुन्छ । हिउँदमा साँघु हालेर काम चलाउने गरेका छौं तर कुन बेला सेतीको भेलमा खसिन्छ कि भनेर डराउनुपर्ने अवस्था छ,’ थलारा–१ का वडाध्यक्ष रवीन्द्र जोशीले भने ।

उक्त क्षेत्रमा झोलुंगे पुल बगेपछि डोटीका सायल र आदर्श गाउँपालिका तथा बैतडीको सिगास गाउँपालिकाका बासिन्दासमेत प्रभावित भएका छन् । तीन जिल्लाको मुख्य व्यापारिक केन्द्र देउरा पुग्न दिनभर हिँड्नुपर्ने बाध्यता बनेको छ ।

पुल नभएका कारण स्थानीयले कृषि उत्पादन बिक्री गर्न पाएका छैनन् । पुल नभएका कारण देउरा बजारमा मानिस आउन छाडेपछि ठूलो लगानीमा खोलिएका होटल, पसल तथा उद्योग डुबेको स्थानीय बताउँछन् ।

थलारा गाउँपालिकाबाट केदारस्युँको देउरामा रहेको बेताल माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले जोखिमपूर्ण तरिकाले काठे साँघुबाट आउजाउ गरिरहेका छन् । साविक दंगाजी गाविसका १ सय ५० भन्दा बढी विद्यार्थी काठे साँघु तरेर बेताल माध्यमिक विद्यालय पुग्छन् । बर्खामा उनीहरूको पढाइ छुट्ने गरेको छ ।

झोलुंगे पुल हुँदा देउरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउन डोटी र बैतडी जिल्लाबाट दिनमा एक सयभन्दा बढी मानिस पुग्थे । ‘तर अहिले उनीहरू स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ,’ स्वास्थ्यकर्मी सर्जन चन्द सुवेदीले भने ।

पुल बगेको डेढ वर्षपछि नयाँ निर्माणको ठेक्का लागेको थियो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीले २०७९ चैतमा दीपभूमि कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सर्तमा १ करोड ५० लाखमा उक्त सम्झौता भएको थियो । सम्झौताको म्याद गत भदौमा सकिएको छ । यसबीचमा ठेकेदार डम्बरदत्त भट्टको मृत्यु भएपछि काम अघि बढ्न सकेको छैन ।

अहिलेसम्म पुलको वारि र पारि दुई वटा पिलर र ब्लक बनाइएको छ । विकल्प प्रयोग गरेर पुल निर्माण अघि बढाउन पूर्वाधार विकास आयोजना कार्यालयलाई पटक–पटक अनुरोध गरेको थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाले बताए ।

‘पटक–पटक लिखित र मौखिक अनुरोध गर्‍यौं । केदारस्युँको अध्यक्ष र म आफैं पुगेर पनि भनेका हौं । तर पुल निर्माणमा चासो देखाइएको छैन,’ उनले भने ।

सांभारः आजको कान्तिपुरमा बसन्तप्रताप सिंह

 

 

प्रतिक्रिया