ताजा अपडेट
कालापहाडमा चौकिदारी गरेर जनयुद्धलाई सहयोग
![कालापहाडमा चौकिदारी गरेर जनयुद्धलाई सहयोग](/uploads/Trilochan-Bhatta.jpg)
संघीयतापछिको सुदूरपश्चिम प्रदेशको पहिलो मुख्यमन्त्री बन्न पुगे त्रिलोचन भट्ट । पाँच वर्षे कार्यकाल सफल रूपमा निर्वाह गरेका उनी अहिले धनगढीमा घरभाडामा लिएर बस्दै आएका छन् । पार्टीको कार्यक्रम, छलफल वा बैठक तथा अन्य संघ–संस्थाको कार्यक्रममा सहभागी हुनुपरे पैदल यात्रा गर्दै पुग्छन् । पूर्वमुख्यमन्त्री भट्टले राज्यकोषबाट सुविधा पाएको भनेको सुरक्षा गार्ड हो । तर, सवारीसाधन बिनै हिड्ने उनी भन्छन्, ‘हरेक ठाउँमा पैदल यात्रा गरी सुरक्षा गार्डलाई लग्न सकिदैन । त्यसैले उनी प्रायः घरमै बस्छन् ।’
उनी मुख्यमन्त्री पदबाट अवकास पाइसकेपछि सकारात्मक र नकारात्मक टीकाटिप्पणी सुनिरहन्छन् । उनले बजारमा सुन्ने टिप्पणी भनेको सकारात्मक टिप्पणी भनेको ‘मुख्यमन्त्री हुँदा पनि कुनै परिवर्तन आएन । पहिले जस्तो थियो । त्यस्तै छ ।’ उनी भन्छन्, ‘पाँच वर्षसम्म मुख्यमन्त्री पाएको मान्छेले टिकट पनि पाएन् । गाडी पनि छैन्, घर पनि छैन् । यस्ताका पछि लागेर हाम्रो के हुने हो र ? भन्ने पनि चर्चा हुन्छ । यद्यपि हामी त्यतापट्टी विचलित हुने छैनौँ । जनयुद्धले जे पाटो देखाएको छ । त्यही अनुसार अघि बढ्नुपर्छ । हजारौँ सहिदको रगत बगाएर हामी यहाँ पुगेका हौँ । सहिदको सपनालाई साकार गर्नका लागि हामीले त्याग गर्नुपर्छ । त्यो त्यागको भावना पार्टीभित्र देखिनुपर्छ । नेता कार्यकर्तामा देखिनुपर्छ भन्ने मेरो संघर्ष पनि हो ।’
भट्ट डोटी जिल्लामा जन्मिएका हुन् । उनी भन्छन्, ‘अहिले पनि मेरो आफ्नो घर छैन् । यहाँ भाडामा बसिरहेको छु । भाडा तिर्न पनि समस्या हुने गरेको छ ।’ उनी राजनीतिक कार्यले प्रदेशका जिल्लाहरू धाउने गर्छन् । भारतमा रोजगारी गर्दा नेकपा (माओवादी केन्द्र)लाई आर्थिक रूपमा सहयोग गर्थे । अहिले डोटीमा भएको जग्गामा गरिने कृषि पेशानै उनको आयस्रोतको आधार रहेको छ । उनी भन्छन्, ‘छोराछोरीलाई सामुदायिक विद्यालयमै अध्यापन गराएँ । छोराले कृषि जेटिए पढेको छ । अब यतै व्यापार व्यवसाय गर्ने सुरमा छ । अहिले आम्दानी भनेको पहाडको जग्गामा गरिरहेको कृषि नै हो । त्यहीँको उत्पादनले घर खर्च चलिरहेको छ ।’
सानै उमेरमा घरखर्च चलाउन तथा जीविकोपार्जन गर्न उनी भारत लागे । भारतमै उनी तत्कालिन नेकपा माओवादीमा आबद्ध भए । २०४७ मा अखिल भारत नेपाली एकता समाजको साधारण सदस्य भए । ‘तत्कालीन सामन्ती राज्य व्यवस्थाका विरुद्ध बिद्रोह गर्ने उद्देश्यले आफू सो संगठनमा आबद्ध भएको उनी बताउँछन् । ‘नेपालको शासनव्यवस्थाले भोग्नुपरेको पीडाबाट उन्मुक्तिका लागि म त्यसमा सदस्य भएको थिएँ । हामीले जस्ता समस्या अरु नेपाली युवाहरूले भोग्नु नपरोस् भनेर संघर्षमा लागेको हुँ,’ उनी सम्झन्छन् ।
त्यसपछि २०४८ असार ३ गते सोही संगठनको मुम्बई एरिया कोषाध्यक्षमा चुनिए । त्यस्तै २०४९ जेठ २५ गते नेकपा (एकता केन्द्र) पार्टी सदस्यता लिए । त्यसपछि उनी तत्कालीन नेकपा (माओवादी)मा सहभागी भए । सोही क्रममा माओवादीले सशस्त्र संघर्षको तयारी गरिरहँदा २०५१-०५२ मा आन्तरिक रूपले युद्धको तयारीका लागि भारतमै आर्थिक संकलन र व्यवस्थापनको जिम्मेवारी सम्हालेको उनी सुनाउँछन् ।
२ बैशाख २०५१ मा उनी नेकपा (माओवादी)को इलाका सदस्य बनेका थिए । २०५४ बैशाखमा अखिल भारत नेपाली एकता समाज नवौँ मुम्बई नगर कमिटीको कोषाध्यक्ष हुँदै २०५७ मा महाराष्ट्रकै कोषाध्यक्ष बनेका थिए । २०५५ मा युवा संघ जिल्ला सदस्य चुनिएको उनी बताउँछन् । त्यस बीचमा केही वर्ष उनी कलाकार भएर सांस्कृतिक कार्यक्रममार्फत भारतमै माओवादी संघर्षका पक्षमा उत्प्रेरणा जगाउने काममा समेत लागेका थिए ।
२०५७ असार ५ गते नेकपा (माओवादी)को जिल्ला सदस्य भएपछि भारतको चौकीदारी छाडेर पूर्णकालीन युद्धमा होमिएका थिए । त्यसपछि २०५८ सालमा नेपालमा संकटकाल लागेपछि भारत सरकारले एकता समाजलाई प्रतिबन्ध लगाउँदा गठित नेपाली जनअधिकार सुरक्षा समितिको राज्य संयोजकको भूमिका निर्वाह गरेको उनी बताउँछन् ।
यस्तै २०५९ मा पार्टी क्षेत्रीय ब्यूरो सदस्य, २०६० मुम्बई जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी सम्हालेका उनले २०६१ मंसिरमा प्रवासबाट नेपाल आई २०६२ मा डोटीमा जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका थिए । २०६३ मा डोटी जिल्ला सह–इन्चार्ज बने भने, २०७३ सालमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य र २०७४ देखि नेकपा माओबादी केन्द्रको पोलिटब्यूरो सदस्यसँगै सुदूरपश्चिम प्रदेश इन्चार्ज छन् ।
उनी भन्छन्, ‘मैले त २०५२ मै नेपालमै आएर जनयुद्धमा सहभागी हुन्छु भनेको थिएँ । तर, पार्टीले सो समयमा भारतमै मेरो आवश्यकता रहेको भन्दै आउन दिएन । २०६१ सालमा मैले भारतको रोजगारी छोडेपछि डोटीमै रहेर काम गरेँ । त्यो बीचमा धेरथोरै युद्धहरू देखेँ । डोटीमा बोगटान क्षेत्र माओवादीकै किल्ला मानिन्थ्यो ।’
पटक–पटक पराजय
२०७४ सालमा डोटी प्रदेश सभा (ख) निर्वाचन क्षेत्रबाट निर्वाचित भएर प्रदेश सभामा पुगेका उनी पहिलो मुख्यमन्त्री हुन् । तर, २०७९ सालमा पार्टीकै आन्तरिक खिचातानीका कारण चुनावमा दोहोरिन पाएनन् । उनी चुनाव लड्ने तयारीमा रहेपनि पार्टीले उनको निर्वाचन क्षेत्रबाट शिवसिंह ओलीलाई उम्मेद्वार बनायो । भट्ट दुई पटकको पराजयपछि २०७४ सालको निर्वाचनमा विजयी भएका हुन् ।
२०६४ सालको पहिलो संविधान सभा सदस्य निर्वाचनमा डोटी क्षेत्र नम्बर–१ बाट पराजित भएका भट्ट २०७० सालमा क्षेत्र नम्बर–२ बाट पराजित भएका थिए । दुवै निर्वाचनमा उनी तेस्रो भएका थिए । उनी मुख्यमन्त्री हुँदा उनी सुदूरपश्चिमको ‘चौकीदार’ का रूपमा चर्चित बने । अहिले पनि उनी आफूलाई चौकीदार भनेकोमा खुसी व्यक्त गर्छन् । उनले पारिवारिक आर्थिक अवस्थाका कारण भारतमा चौकीदारी गरेका थिए ।
वर्ग सशक्तीकरणका लागि जनयुद्ध
भारतमा मजदुरी गर्दै आएका कारण मुख्यमन्त्री भट्टले कम्युनिस्टको विचारहरू अध्ययन गरेर पार्टीमा होमिएको बताए । नेपालको समग्र परिवर्तनको संघर्षका रूपमा उनले जनयुद्धलाई लिएका छन् । ‘जनयुद्ध भनेको नेपालको समग्र परिवर्तन र वर्ग मुक्तिको संघर्ष हो’ उनी भन्छन्, ‘जनयुद्ध आफैँमा महत्वपूर्ण र ऐतिहासिक छ । सो जनयुद्धले थुप्रै मानिसले ज्यान गुमाएका छन् । वेपत्ता पनि भए । थुप्रै घाइते पनि भए तर, जनयुद्ध सधैँ स्मरणमा रहन्छ ।’
अहिले मानिसले आफ्नै हिसाबले व्याख्या गर्नु उपयुक्त नभएको बताउँदै उनले भने, ‘जनयुद्धलाई हिंसाको रूपमा व्याख्या गर्नु उपयुक्त होइन् । यो समग्र वर्गको परिवर्तनको संघर्ष रहेको हो ।’ उनी माओवादीको संघर्षबाटै संघीयता आएको बताए । तर, संघीयतापछि सत्तामा जाँदा काम गर्ने क्रममा कमजोरी भएको हुँदा पार्टी अहिले कमजोर बन्दै गएको बताउँदै उनले भने, ‘कम्युनिस्ट सिद्धान्तसँग जोडेर पार्टीले सर्वहारा वर्गको पार्टीले मजस्तो व्यक्तिलाई पनि यो प्रदेशको मुख्यमन्त्री बनायो । सायद अरु पार्टीले यो गर्दैन । काम गर्ने क्रममा पार्टीको सिद्धान्त र समग्र प्रदेशको विकासका लागि मैले काम गरेँ ।’
पाँच वर्षमा उनी स्थिर मुख्यमन्त्री बन्न पनि सफल भए । ‘पाँच वर्षसम्म राज्य व्यवस्थामा बसेको म अहिले कम्युनिस्टको सिद्धान्त अनुसारनै जनतामाझ भेटघाट गरिरहेको छु’ उनी भन्छन्, ‘पार्टीको काममा लागि रहेको छु । सुदूरपश्चिमको विकास, हिजोका मेरा योजनाहरूलाई अगाडि बढाउन लागि रहेको छु । साथै २०६४ को जस्तै २०८४ मा पार्टीलाई ल्याउने अठोटका साथ लागिरहेको छु ।’
उनले जनयुद्धलेनै विभेदमा परेका दलित, कमैया, हलिया, मधेशी समुदायहरूको वर्गीय र राजनीतिक परिवर्तन भएको बताए । उनी भन्छन्, ‘म मुख्यमन्त्री हुँदा थुप्रै कानुन बने । विकासका जगहरू बसालेँ । तर, अहिलेको सरकारको दुई वर्ष बित्नै लाग्दा पनि कुनै विकासका कार्य र कानुन निर्माण हुन सकेको छैन् ।’ उनले भने, ‘हामी पार्टीको विचारबाट विचलित हुँदा जनताको भावनाविपरीत कार्य गर्दा अहिले जनताले हामीलाई ठाउँमा ल्याएको छ । यसका कारण पार्टी सच्चिएर अघि बढ्न जरुरी देखिन्छ ।’
प्रतिक्रिया