ताजा अपडेट
मालाखेती निवासी नन्दादेवी नागरिक नायक द्वारा सम्मानित

अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नं. ९ बुढाकोट घर भई हाल कैलाली मालाखेति निवासि नन्दादेवी कुँवर नागरिक नायकद्वारा सम्मानित भएकि छन् । नन्दादेवीले आफ्नो जीवन दाउमा राखेर वन संरक्षण गर्न पछि परिनन्। नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले यस वर्षको ‘नागरिक नायक–२०८२’ सम्मान तीन जनालाई प्रदान गरेको छ। आफ्नो १७औं वार्षिकोत्सवका अवसर पारेर कैलालीकी वन संरक्षण अभियन्ता नन्दादेवी कुँवरलाई नगदसहित नागरिक नायक सम्मान प्रदान गरिएको हो। नेपाल पुलिस क्लबमा शनिबार आयोजित एक समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीले संयुक्त रूपमा ‘नागरिक नायक’लाई सम्मान गरेका थिए।
डोटीमा जन्मिएकी र कैलालीको गोदावरी–३ ढकुवा गाउँमा बस्दै आएकी नन्दादेवी सानैदेखि वनजंगललाई माया गर्थिन्। माइतीको कमजोर पारिवारिक अवस्थाले विद्यालय शिक्षाबाट वञ्चित उनको कलिलो उमेरमै अछामका लक्षण कुँवरसँग विवाह भएको थियो। घरमै कखरा सिकेर उनी साक्षरसम्म बनिन्।
२०५२ सालमा कुँवर दम्पती सुखद जीवनको सपना साँचेर तराई झरेको थियो। त्यहाँ वन कर्मचारीले सत्तानजिकका शक्तिसँग साँठगाँठ मिलाएर तीव्र रूपमा जताततै वनको दोहन भइरहेको नन्दादेवीले देखिन्। यस्तै मालाखेतीनजिकको जंगलमा वन माफियाहरूको व्यापक अतिक्रमण र मनपरी फँडानी रोक्न कसैले आँट गरिरहेका थिएनन्। समय बित्दै गयो, नन्दादेवी तराईको वातावरणसँग घुलमिल हुँदै गइन्। त्यस्तैमा सानैदेखि वनजंगलको माया बोक्ने नन्दादेवीमा विद्रोहको चेतसहित आँट पलायो। त्यसपछि उनी प्रस्तावित मधुमालती सामुदायिक वनको अध्यक्ष बनेर अघि बढिन्। तर उनलाई सजिलो भने कहाँ थियो र ! २०६९ वैशाख ९ गते बिहानै उनको घरमा वन अतिक्रमण भइरहेको खबर पुग्छ। उनी हतारहतार बिहानको खाजा खाएर वन संरक्षण समर्थक जुटाउन गाउँ दगुर्छिन्।
समूह लिएर बिहान ११ बजेतिर अतिक्रमित क्षेत्रमा पुग्छिन्। त्यसपछि त्यहाँ नन्दादेवीको समूह घेरबार गर्न थाल्छ, त्यहीबेला एक हुल मानिस हातहातमा हतियार बोकेर त्यहाँ पुग्छ। त्यही भिडको एक मान्छेले उनीमाथि खुँडा चलाउँछ। ज्यान जोगाउन हातले खुँडा छेक्न खोज्दा दुवै हात काटिन्छन्। वन जोगाउन हिँडेका बेला त्यो घटनापछि उनका भान्जाले समयमै अस्पताल पुर्याएर जोगाए। संयोगले त्यो दिन बाँचेकी नन्दादेवीका हात शल्यक्रियापछि जोडिएका छन् तर ती पूर्णतः चल्दैनन्।
उनी त्यसपछि भने वन संरक्षणको अभियानमा झन् मुखरित भएर हिँडिरहेकी छन्। उनले रगत बगाएर जोगाएको सामुदायिक वनको नाम मधुमालतीबाट मधुमालती नन्दा महिला सामुदायिक वन बनाइएको छ। त्यसपछिको नन्दादेवीको नामको चर्चा संसारभर फैलियो। उनको सम्मानमा वनस्पति वैज्ञानिक समूहले दुर्लभ सुनाखरी फूलको २०७३ सालमा नामकरण गरे। ‘ओडोन्चिलस नन्देयी’ नामकरण गरिएको यो सुनाखरी कास्कीको पन्चासेबाट संकलन गरेर नौलो प्रजातिका रूपमा वैज्ञानिकले पुष्टि गरेका हुन्। नन्दादेवीमाथि ज्यानमारा आक्रमण गर्ने व्यक्ति १३ वर्षसम्म पनि फरार छन् तर नन्दादेवीको मनोबल घटेको छैन।
दुवै हात काटिएर अपांग बनेकी नन्दादेवीलाई घरधन्दा चलाउन सहज भएन। हात काटिएपछि पनि उनी वन संरक्षणमा त लागिरहिन् तर माफियाहरूले भने धम्की दिन छाडेनन्। धम्कीकै कारण मानसिक रूपमा लगातार तनाव भएपछि घरमा समेत कलह सुरु भयो। नन्दादेवीले पारिवारिक सम्बन्ध सुध्रन्छ कि भनेर सामुदायिक वन समितिको जिम्मेवारी त छाडिन् तर पतिसँगको सम्बन्धमा सुधार हुनै सकेन। उनीहरूको सम्बन्धविच्छेद भयो। पछिल्लो समय नन्दादेवी छोरीको घरमा आश्रय लिएर बसेकी छन्।
हत्याबाट जोगिएकी नन्दादेवीलाई संरक्षणमा लागेको भन्दै विभिन्न संघसंस्थाले सम्मान दिएका छन्। उनलाई नेपाल सरकार वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले ५० हजार रूपैयाँ नगद पुरस्कारसहित ‘वातावरण संरक्षण महिला पुरस्कार–२०६९’ले सम्मानित गरेको छ।
त्यस्तै सन् २०१२ मा विश्व वन्यजन्तु कोषबाट विशेष संरक्षण पदक, सेलिब्रिटी वुमनहुड नरदेवी सम्मान पाएकी छन्। जिल्ला वन कार्यालय कैलाली, पर्यावरण संरक्षण एवं वन पैदावार व्यवसायी संघ कैलालीले पनि उनलाई सम्मान गरेको छ। विश्व बैंकले सन् २०१८ मा सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा पनि नन्दादेवीलाई उत्कृष्ट १६ नायकका रूपमा छनोट गरेको थियो। यसबाहेक दर्जनौं पुरस्कार तथा सम्मान उनले पाएकी छन् ।
सत्ता, शक्ति, प्रहरी सबैतिर पहुँच मिलाएका गुन्डाहरूको अत्याचार, हिंसाले आजित अवधिमा कोही बोल्न नसकिरहेको अवस्थामा हतियारधारी गुन्डाहरूका बिचमा ज्यानको बाजी लगाउँदै न्यायका लागि एउटा नायक लडिरहेको दृश्य प्रायः चलचित्रमा देखिन्छ। वास्तविक जीवनमा यस्तो दृश्य दुर्लभ देखिन्छ। तर कैलालीमा ज्यादतीविरुद्ध लडेर विश्वलाई नै चकित पार्ने इतिहास एउटी महिलाले रचेकी छन्।
वनका कर्मचारी, सत्ता नजिकका शक्तिसँग साँठगाँठ मिलाएर जताततै वनको दोहन तीव्र रूपमा भइरहेको थियो। यस्तै मालाखेतीनजिकको जंगलमा वन माफियाहरूको व्यापक अतिक्रमण र मनपर्दी फँडानी रोक्न कसैले आँट गरिरहेका थिएनन्। वन जोगाउन चाहने सर्वसाधारण मूकदर्शक थिए। पहुँचवाला माफियाहरूका गुन्डा समूहले हतियार प्रदर्शन गर्दै वन फँडानीविरुद्ध आवाज उठाए ज्यान मार्ने धम्की दिइरहेका थिए। वन संरक्षण गर्ने नियामक मौन थिए।
यही बिचमा वन फँडानी सहन नसकेर संरक्षण गर्ने साहस र संकल्प लिएर नन्दादेवी कुँवर प्रस्तावित मधुमालती सामुदायिक वनको अध्यक्ष बनेर अघि बढिन्। वन फँडानी अतिक्रमण तीव्र रूपमा भइरहेकै बेला त्यसलाई रोक्न अघि बढ्दा उनलाई ज्यान मार्ने धम्की आउन थाल्यो। त्यसलाई बेवास्ता गर्दै केही महिला समर्थकका साथ आफैं अतिक्रमित क्षेत्रमा सीमांकन गर्न थालिन्। त्यही बिचमा हातमा खुँडा लिएको समूह नै उनको अगाडि आयो। घाँटी ताकेर हानेको खुँडा छेक्दा उनका दुवै हात काटिए। वन संरक्षणका लागि माफियाहरूको हतियारधारी समूहसँग लड्दै गर्दा हातै काटिएको घटना सायदै देशमै पहिलो हो। यसरी वनले जीवन जोगाएको कथामा एउटा कथा जोडियो, वन जोगाउन जीवन नै दाउमा राख्ने एक सशक्त व्यक्तित्व अर्थात् संरक्षणको अभियानमा होमिएकी जिउँदो सहिद नन्दादेवी कुँवर।
वैशाख ९ को त्यो त्रासद दिन
२०६९ वैशाख ९ गते बिहानै उनको घरमा वन अतिक्रमण भइरहेको खबर पुग्छ। उनी हतारहतार बिहानको खाजा खाएर वन संरक्षण समर्थक जुटाउन गाउँ दगुर्छिन्। समूह लिएर बिहान ११ बजेतिर अतिक्रमित क्षेत्रमा पुग्छिन्। महिला र पुरुषको समूह अतिक्रमित क्षेत्र हटाउँदै वन क्षेत्रको सीमा निर्धारण गर्न जुट्छन्। कोही काँडेतार तान्दै अगाडि बढ्छन्। कोही पोल गाड्न खाल्डो खन्न थाल्छन् त पुरुषहरू खनिएको खाल्डोमा पोल गाड्दै काँडेतार बेर्न थाल्छन्। महिलाहरूले आ–आफ्नो भागमा परेको ठाउँमा हातमा साबेल समातेर खाल्डो खनिरहेका हुन्छन्।
मधुमालती (प्रस्तावित) सामुदायिक वनकी अध्यक्ष नन्दादेवी कुँवर पनि हातमा साबेल समातेर पोल गाड्न खाल्डो खनिरहेकी हुन्छिन्। एक हुल मानिस जंगलको सीमा जोगाइरहेका संरक्षणकर्मी नजिक पुग्छ। होहल्ला गर्छन्। त्यही बेला नन्दादेवी आफ्नै सुरमा खाल्डो खनिरहेकी हुन्छिन्।
हातमा खुँडा बोकेको मानिस उनको अगाडि पुग्छ। खाल्डो खनेर माटो झिकिरहँदा उनको अगाडि उभिएको मानिसको खुट्टा देख्छिन्। उनी त्यहीबेला आफू अगाडि उभिएको को रहेछ भनेर माथि हेर्छिन्। त्यो व्यक्ति दुई हातले खुँडा समातेर माथिबाट घाँटी छिनाल्न प्रहार गर्छ। हत्तपत्त घाँटी जोगाउन दाहिने हातले खुँडा छेक्न खोज्छिन् नन्दादेवी। आफूमाथि प्रहार भएको खुँडा छेक्न थाल्दा उनको दाहिने हात छिनालिन्छ। त्यसपछि पुनः खुँडा टाउकोमा प्रहार हुनै लाग्दा बायाँ हातले छेक्न थाल्छिन्।
उनको बुढी औंला छिनालिन्छ। त्यतिन्जेल साथमा आएका समर्थकहरूको भागाभाग हुन्छ। उनी आफूलाई जोगाउन लडिरहेको ठाउँबाट उठ्न खोज्दा पुनः तेस्रो पटक हतियारधारीले खुँडा बर्साउँछ। उनको देब्रे हातको नाडी काटिन्छ। त्यसपछि उनी ज्यान जोगाउन जंगलतर्फ भाग्छिन्। एउटा ठुलो जाङ्ग्रेको रूखमा अडेस लाग्छिन्। नजिकै रहेको एक व्यक्तिसँग आफ्नो ज्यान जोगाउन गुहार माग्छिन्। गुन्डाहरूको यति हदसम्म भय थियो कि रक्ताम्य भएर ज्यानको भिख मागिरहेकी नन्दादेवीसँग एक शब्द पनि नबोली ती व्यक्ति आफ्नो बाटो लाग्छन्।
‘दुवै हातबाट भलभली रगत बगिरहेको थियो। मैले लगाएको धोती च्यातेर काटिएको ठाउँमा बाँधिदिन ती व्यक्तिलाई गुहारें,’ उनले भनिन्, ‘तर एक शब्द नबोली उनी आफ्नो बाटो लागे।’
त्यहीबेला असह्य पीडाले उनी त्यहीँ ढलिन्। त्यत्तिकैमा नन्दादेवीमाथि खुँडा प्रहार भएको भनेर गाउँमा हल्ला चल्यो। उनका भान्जा एक सहयोगीसहित माइजू (नन्दादेवी) खोज्न जंगल छिरे। रगतमा लतपत्तिएर ढलेकी माइजूलाई उठाएर मोटरसाइकलमा अस्पतालतर्फ लगे। निरन्तर बगिरहेको रगतसँगै उनको बाँच्ने आशा पनि कम हुँदै जान्छ।
‘मोटरसाइकलमा अस्पताल लैजाँदै गर्दा बाटोभरि रगतको धारो लागिरहेको थियो, मलाई बाँच्ने आशा नै थिएन,’ उनले भनिन्, ‘गोदावरी नदीको छेउमा पुगेपछि मैले भान्जालाई यही नदीको छेउमा राखिदिनुस्। म प्राण त्याग गर्छु। भान्जा अत्तालिएर र मोटरसाइकल कुदाउँदै अत्तरियास्थित पद्मा अस्पतालमा पुर्याए।’ भान्जाले समयमै उद्धार गरेर अस्पताल नपुर्याएको भए आज यो दिन देख्न नपाउने उनी बताउँछिन्।
अछामका लक्ष्मण कुँवरसँग उनको विवाह भयो। विवाहपछि पनि उनको जीवनमा खुसीका दिनहरू आएनन्। पारिवारिक समस्याले गर्दा उनी विद्यालय शिक्षाबाट समेत वञ्चित भइन्। घरमै कखरा सिकेर उनी साक्षरसम्म बनिन्। पहाडका बासिन्दाका लागि तराई झर्नु एउटा सपना हुने गर्छ। २०५२ सालमा उनी पनि परिवारसहित सपना साँचेर तराई झरिन्।
कैलालीको गोदावरी–३ ढकुवा गाउँमा सानो घर बनाइन्। तर सोचेजस्तो उनको जीवन सहज र सुखद भने भएन। गाउँकै वन जोगाउन खोज्दा हातसँगै खुसी पनि छिनालियो।
पहाडमा जन्मेहुर्केकी नन्दादेवी हुने बिरुवाको चिल्लो पात भनेझैं सानै उमेरदेखि वनजंगलप्रति उनको माया गाढा थियो। उनी भन्छिन्, ‘पहाडमा घाँस काट्न जाँदा कहिल्यै पनि रूखका डाला काटिनँ, भुइँ घाँस नै काट्थें। रूखका हाँगा काट्दा आफूलाई नै काटेजस्तो लाग्थ्यो।’
मेरो सानैदेखिको रुचि भनेकै हरिया बोटबिरुवा हेरेर रमाउनु थियो। गाउँमा भाइबहिनीले ‘हरियो वन नेपालको धन’ भनेर पढेको सुन्दा मन प्रफुल्ल हुन्थ्यो। पहाडमा लालीगुराँस, भुइँफूलहरू देख्दा औधी खुसी हुन्थे। बाल्यकालमा जंगलसँग बसेको प्रेमले तराई झर्दा पनि जंगल जोगाउनुपर्छ भन्ने उनको मनमा हुटहुटी चलिरह्यो। आफू बसेको गाउँमा रहेको प्रस्तावित वन रातिराति फँडानी हुन्थ्यो। फँडानी भएको वन देख्दा उनको मन दुख्थ्यो। उनले वन फँडानी र अतिक्रमण रोक्नुपर्छ भन्दै मधुमालती (प्रस्तावित) वनको नेतृत्व लिने विचार गरिन्। गाउँलेले समर्थन गरे। अध्यक्ष बनेर जंगल जोगाउने अभियानमा होमिइन्। त्यही वन संरक्षण गर्दागर्दै उनी काटिइन्।
त्यो समयमा शक्तिको पहुँचमा रहेका माफियाको समूहले धमाधम वन फँडानी गर्दै जमिन अतिक्रमण गरिरहेका थिए। माफियाको डरधम्कीले र्प्रस्तावित माधुमालती सामुदायिक वन संरक्षण गर्नेहरूले आँट कसैले गर्न सकेका थिएनन्। समितिका अध्यक्ष तथा पदाधिकारी पनि धम्कीका अगाडि निरीह बन्दै अतिक्रमण टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिरहेका थिएनन्। डरधम्की आउँदै गर्दा पदाधिकारीहरू एकएक गर्दै जिम्मेवारी छोड्न थाले।
असुरक्षाको कारण देखाउँदै जिम्मेवारी छोड्न थालेपछि साहसी र आँटिली नन्दादेवी अध्यक्ष बनिन्। माफियाकै दबदबाकै कारण त्यो वन लामो समयदेखि फँडानी मात्रै नभई दर्तासमेत हुन सकिरहेको थिएन। ‘मधुमालती वनलाई सामुदायिक वनमा दर्ता गर्ने र भूमाफिया र तस्करबाट फँडानी र अतिक्रमण बचाउन ठुलो चुनौती थियो,’ उनले भनिन्, ‘कसैले पनि वन जोगाउन नसक्ने भएपछि म आफैं स्सएकी थिएँ।’
वन दर्ता नहुँदा अतिक्रमण एकदमै बढेको बताउँदै उनले भनिन्, ‘माफियाले अतिक्रमण गर्दै जमिन बनाउन वनलाई च्याप्दै ल्याइराखेका थिए।’ त्यही बेला वन जोगाउन खोज्दा आफूलाई काटिएको सम्झँदै उनी भन्छिन्, ‘हात काटिएपछि पनि वन जोगाउने अभियान मैले छोडिनँ।’
शल्यक्रियापछि दुई हात घाँटीमा झुन्ड्याएर पनि दिनहुँ आफू वन रेखदेख गर्न गएको उनी स्मरण गर्छिन्। रगत बगाएको उक्त वन उनकै नन्दादेवीकै नामबाट स्थानीय, संरक्षणकर्मी र वन कर्मचारीले नामकरण गरेर दर्ता गराए। अहिले उक्त सामुदायिक वन मधुमालतीबाट मधुमालती नन्दा महिला सामुदायिक वनका नामले परिचित छ।
नन्दाकै नाममा सुनाखरी
पश्चिमको एउटा वन जोगाउन जीवन नै दाउमा लगाएर हात गुमाएकी नन्दादेवीको योगदानको संरक्षणका क्षेत्रमा संसारभरि चर्चा फैलियो। संरक्षणका क्षेत्रमा अतुलनीय योगदान गरेकी नन्दादेवीको योगदानको कदर गर्दै वनस्पति वैज्ञानिक समूहले दुर्लभ सुनाखरी फूलको २०७३ सालमा नामकरण गरे। ‘ओडोन्चिलस नन्देयी’ नामकरण गरिएको यो सुनाखरी कास्कीको पञ्चासेबाट संकलन गरेर नौलो प्रजातिका रूपमा वैज्ञानिकले पुष्टि गरेका हुन्। विज्ञहरूका अनुसार नन्दादेवी नामकरणबारे वनस्पतिबारेको अन्तर्राष्ट्रिय जर्नल ‘फाइटोट्याक्सा’ (न्युजिल्यान्ड) मा समेत समावेश गराइएको छ।
माफियाहरूको समूहले नन्दादेवीलाई हत्या गर्ने योजना बनाएर भारतमा बसिरहेका हरि भाटलाई बोलाए। योजनाअनुसार नै भारतबाट आएर हरिले नन्दादेवीलाई खँुडा प्रहार गरे। लगत्तै उनी फरार भए। हरिलगायत तीन जनामाथि संरक्षणकर्मीहरूले किटानी जाहेरी दिए। तर घटनाको १३ वर्ष भइसक्दा पनि अपराधीहरू समातिएका छैनन्। अपराधीलाई कारबाही नहुँदा माफियाहरूको मनोबल बढेको छ भने संरक्षकर्मीहरूमा त्रासदी कायमै छ। सरकारले वन संरक्षण गर्नेमाथि हत्या गर्नेगरी खुँडा प्रहार गर्नेलाई कारबाही गर्न गम्भीरता नदिनु दुःखद् कुरा हो। ‘अपराधी खोज्ने काम सरकारको हो,’ उनले भनिन्, ‘अहिलेसम्म खोजेकै छैन।’
न रह्यो घर, नरहे पति
वन संरक्षणमा दुई हात काटिएपछि उनी अपांग बनिन्। पाखुरा चलाएर घरधन्दा चलाउन उनलाई सहज भएन। त्यसपछि उनका दुःखका दिन सुरु भए। हात काटिएपछि पनि उनी वन संरक्षणमा त लागिरहिन्। तर माफियाहरूले भने धम्की दिन छाडेनन्। धम्कीकै कारण मानसिक रूपमा लगातार तनाव भएपछि घरमा समेत कलह सुरु भयो। २०७३ सालसम्म उनी सामुदायिक वनको अध्यक्ष बनेरै जंगल जोगाउन खटिरहिन्। एकातिर अपराधी नसमातिनु र अर्कोतिर लगातारको मानसिक यातना, धम्की खेपिरहेकी नन्दादेवीलाई राज्यबाट पनि उचित संरक्षण भएन। जसका कारण उनको घरमा विग्रह सुरु भयो।
नन्दादेवीले पारिवारिक सम्बन्ध सुध्रन्छ कि भनेर सामुदायिक वन समितिको जिम्मेवारी त छाडिन् तर पतिसँगको सम्बन्धमा सुधार हुनै सकेन। हात काटिएपछि घरधन्दाको काम गर्न नसक्ने भएको भन्दै उनका पतिले तनाव दिन थाले। लगातारको तनावपछि अन्ततः उनीहरूको सम्बन्धविच्छेद भयो। डभोर्सपछि गाउँ समाज, घर सबैबाट अवेहलना भएर विवाहित छोरीको शरणमा पुगेकी छन्, अहिले नन्दादेवी। विवाह गरेर गइसकेकी छोरीको भरमा बाँचिरहेको बताउँदै उनले भनिन्, ‘म काम गर्न सक्ने र सम्पत्ति भएको भए छोराले पनि हेर्थे होलान्, मसँग केही नभएपछि न घर रह्यो, न छोरा रहे, न त श्रीमान् नै रहे।’
उनलाई अहिले जीविकोपार्जन गर्न हम्मेहम्मे छ। वन संरक्षणका लागि सबैथोक गुमाएकी नन्दादेवीका लागि कसैले पनि ध्यान दिएको छैन। ‘हात काटिएपछि काम गर्न नसक्दा मागेर पेट पाल्नुपरेको छ,’ उनले भनिन्, ‘धन्न छोरी ज्वाइँले सहारा दिँदा बाँचिरहेकी छु।’
‘हरियो वन, तस्करको धन भयो’
वन जोगाउन जिउँदो सहिद बनेकी नन्दादेवीलाई तस्कर र माफियाहरूले जताततै रूख कटान गरेको कुराले पिरोल्ने गर्छ। सरकारले जुन रूपमा वनको संरक्षण ध्यान दिनुपर्ने हो, त्यो नदिएको उनको बुझाइ छ। ‘आज हरियो वन, तस्करको धन बनेको छ,’ उनले भनिन्, ‘सरकारले वन संरक्षण गर्नमा गम्भीर रूपमा ध्यान दिएको पाइँदैन।’
राज्य गम्भीर नभएसम्म एक/दुई जनाले जति टाउको फोडे पनि वन संरक्षण गर्न सम्भव नहुने उनी बताउँछिन्। आफूले संरक्षण गरेको वनमा हप्ता दिनमा कम्तीमा एकपटक नपुगी मन नमान्ने गरेको उनले बताइन्। ‘म मधुमालती नन्दा महिला सामुदायिक वनमा सातामा एक/दुई दिन पुगेकै हुन्छु,’ उनले भनिन्, ‘आफूले लगाएका र संरक्षण गरेका बिरुवा बढेको देख्दा मन फुरुंग हुन्छ।’
आफू विस्थापित भएर सीमापारि रहेको कञ्चनपुरमा भए पनि साइकल चढेर जंगलसम्म पुग्ने गरेको उनले बताइन्। ‘म अहिले गाउँबाट विस्थापित छु तर पनि साइकल चढेर जंगल पुगी रूखबिरुवा, चराचुरुंगी र जीवजन्तुसँग कुरा गर्छु,’ उनले भनिन्।
रूख काटेको देख्दा मन कुँडिने उनले बताइन्। कैलालीमा अन्य वन क्षेत्रमा काँचा राम्रा रूखहरू तस्करहरूले काटिरहेका हुन्छन्,’ उनले भनिन्, ‘तस्करले वन सिध्याउँदा मेरो मन रुन्छ। तर राज्यका निकायलाई मतलबै छैन।’
हत्या योजनापछिको दोस्रो जुनी पाएकी नन्दादेवीलाई संरक्षणमा लागेको भन्दै विभिन्न संघसंस्थाले सम्मान दिएका छन्। उनलाई नेपाल सरकार वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले ५० हजार रूपैयाँ नगद पुरस्कारसहित ‘वातावरण संरक्षण महिला पुरस्कार–२०६९’ले सम्मानित गरेको छ।
त्यस्तै सन् २०१२ मा विश्व वन्यजन्तु कोषबाट विशेष संरक्षण पदक, सेलिब्रिटी वुमनहुड नरदेवी सम्मान, जिल्ला वन कार्यालय कैलाली, पर्यावरण संरक्षण एवं वन पैदावार व्यवसायी संघ कैलालीबाट सम्मानित, विश्व बैंकले सन् २०१८ मा सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा पनि नन्दादेवीलाई उत्कृष्ट १६ नायकका रूपमा छनोट गर्नुका साथै दर्जनौं पुरस्कार तथा सम्मानबाट उनी सम्मानित भएकी छन्।
प्रतिक्रिया