Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

बाध्यताले भारत जाने बढ्दै

बाध्यताले भारत जाने बढ्दै

अछाम
कोभिड–१९ को संक्रमणले गर्दा भारतका विभिन्न उद्योग , कलकारखाना , होटेल व्यापार व्यवसाय बन्द भए । त्यसको प्रत्यक्ष असर नेपाललाई पर्यो । रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा भएका नेपालीहरु अलपत्रमा परे । लगभग सबैले रोजगारी गुमाए । कतिपय नेपाली यातायात खर्च जुटाउन नसकेर घर फर्निन समेत सकेनन् । तर , धेरै जसो कामदार भने घरमै फर्के ।

घरखर्च देखि छोराछोरीको पढाइ खर्चलगायत सबै गुजारा भारतमा काम गरेको कमाइले चल्ने भएपछि फेरी भारत फर्किने युवाहरुको संख्या अछाममा दिनप्रतिदिन बढी रहेको छ । कसैले गाउँमै कर्जा निकाले , कोहि मोबाइल बेचेर यातायात खर्च जुटाउछन् । अनि भारततीर लाग्छन् । भारतकै भरोसामा चलेका थुप्रै परिवारहरु अहिले समस्यामा परेका छन् । 

यस्तै समस्याको चपेटामा परेका ढकारी गाउँपालिका –१ का नयन बुढा कमलबजार बसपार्कमा भेटिए ।  रातो अक्षताले उनको निधार भरिएको थियो । कमलबजार बसपार्कमा भारत फर्किनेहरुको चहलपहल निकै बढेको छ । उनी पनि त्यहि भिँडमा थिए । मलिन अनुहार , गहभरी आँशु जम्मा गरेर उनी बसर्पासम्म पुर्याउन आएका परिवारलाई सम्झाउदै थिए । बिरामी आमालाई छोडेर महामारीको समयमा परिवारबाट छुट्टीनु पर्दाको पिडा उनको अनुहारमा झल्किन्थ्यो । ‘ घरमा बसेर पनि के गरौं । ८ महिना घरमा बस्दा धेरै समस्या भयो । बिरामी आमालाई उपचार गर्न पनि त पैसा चाहियो । साथिभाइ आफन्तसग धेरै सापटि  मागि हाले । अब त कसैले पत्याउदैनन् । माग्न पनि सकिदैन ’ उनी भारत जानु पर्ने आफ्नो विवशता सुनाउदै भन्छन् ,‘ महामारीले गर्दा धेरै गाह्रो भयो ।  उतिखेर रोगको डरले आइयो । अब परिवारको चिन्ताले फर्किदैछु ।’

कमलबजार नगरपालिका –१ मुलीका  ३४ वर्षीय रतन विष्टको समस्या पनि नयनबहादुरको जस्तै छ । भारतमा कामको खोजिमा १५ वर्षकै उमेरदेखि जान थालेका हुन् । यो अवधिमा उनी वर्षमा एक÷दुइ पटक घर आउने र फेरी भारतमै जाने गर्थे । झण्डै दुइ दशक बढी भारतमा जा“दा पनि एउटै जागिरको टुंगो थिएन । कहिले होटेलमा काम  गर्ने , कहिले गाडी धुने र कहिले सडक सफा गर्ने काम गर्थे । भारतमा कोरोना भाइरस संक्रमण महामारीको रुपमा फैलिन थालेपछि गत चैत ७ गते उनी जसोतसो आफ्नो घर पुगे । त्यसपछिका दिनहरु घरमै बसेर बिताउन उनलाई सहज थिएन । ४ छोराछोरी , श्रीमती , आमाबुवा सबैको खर्च उनैले बेहोर्न पथ्र्यो । घरमा बस्दा आम्दानिको स्रोत नभएपछि उनलाई छटपटि भयो । ८ महिना घरमा बस्दा साथिभाइ आफन्तसँग सापटी मागेर घर खर्च चलाए । गाउँमा काम पनि खोजे । तर केहि  भेटिएन । गरिबिले दिनप्रतिदिन अवस्था खस्कदै गएपछि बुधबार उनी फेरी कामको खोजीमा भारत तिर लागे । ‘पहिले भारतको पुणेमा एउटा होटेलमा काम गर्थँे , गाडि धुन्थेँ । अहिले साहुलाई  सम्पर्क गर्दा अवस्था सामान्य भएको छैन । काम दिन सक्ने अवस्था छैन भने ’ उनले भने ,‘ यता बसेर पनि के केहि गर्न सकिएन । आफूसग एउटा मोबाइल थियो । त्यहि बेचेर गाडीभाडा बनाए । अब काम पाइन्छ , पाइन्न केहि थाहा छैन ।’

भारत जानको लागि कमलबजार बसपार्कमै भेटिएका तुमाखा“दका दिपक नेपाली चिन्तित अवस्थामा थिए । पहिले भारत जानेबेला काम पाइहालिन्छ भनेर ढुक्क भएर जान्थे । तर अहिले भारत गए पनि काम पाइन्छ की पाइदैन भन्ने चिन्तामा छन् । ‘भारतको उत्तर प्रदेशमा रोजगारीको लागि गएको तिन महिना मै गत चैतमा घर फर्केँ । एक महिना काम खोज्दै बित्यो । दोस्रो महिना देखि एउटा होटेलमा काम पाए । अर्को महिना कोरोनाको त्रासले होटेल बन्द भयो ’ उनले घर फर्किनु परेको अवस्था सुनाउदै भने ,‘ होटेल बन्द भएपछि रोजगारी गुम्यो  । साँझ बिहान छाक टार्न समेत मुस्किल भयो ।’

घरमा आउदा झन् समस्या बढेको उनले बताए ‘ आफू मात्रै भए त जेनतेन गुजारा चल्थ्यो । नखाएरै बसे पनि तनाव हुन्थेन । आमा बुवा श्रीमती र छोराछोरीको चिन्ता लाग्छ ’ उनले भने ,‘ दुइ ÷तिन महिना खेतबारीको उब्जनीले गुजारा चल्यो । अब त चुल्होमा आगो बल्न नसक्ने अवस्था आयो । पर्याप्त जग्गा भएपनि त्यसैलाई उधिनेर गुजारा चलाउनु हुन्थ्यो । जग्गा पनि छैन ।’ घरको मुख्य कमाउने मान्छे नै घरमा बेरोजगार बसेपछि परिवारमा पनि चिन्ता बढेको उनले बताए । ‘सबै परिवारको पालनपोषण गर्न दुइचार पैसा कमाउने मान्छे नै बेरोजगार भएपछि अवस्था जटिल बन्दै गयो । भारत फर्किनुको विकल्प पनि त रहेन  ।’ उनले भने, लकडाउनको अवधिमा मात्रै अछाममा २५ हजार भन्दा बढि भारतबाट फर्किएको स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ । भारतबाट आएकाहरु फेरी फर्निन थालेको बस व्यवासायीहरु बताएछन् । अहिले दिनमै १ हजारभन्दा बढीको संख्यामा अछामबाट भारत जानेहरु रहेका छन् ।
 

प्रतिक्रिया