ताजा अपडेट
रामलीला, कृष्णलीला र चारित्रिक मायाप्रेम समेटिएका देउडा सहित अछाममा होलीको रौनक
शिव शंकरकी दरबार होरी खेलै...
चारै चार कुमार प्यारी दशरथकी चारै कुमार प्यारी...
वन बैरीनी बाँसुरी बाँजी रे...
वन बैरीनी बाँसुरी बाँजी रे...
अहिले यस्तै श्लोकहरू लय मिलाएर गाउन सुरु भएको छ । यी अछामी होरीका श्लोक हुन् । सेतो पहिरनमा छुट्टै पहिचान बनाएर अछाममा खेलिने होरी सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा खेलिने होरी शिवरात्रिका दिन उद्घाटन भए तापनि मंगलबारबाट औपचारिक रूपमा सुरु भएको हो ।
सेतै लुगा लगाएर पुरुषका दुई छुट्टाछुट्टै समूह बनाई गोलाकार आकारमा लाइन लागि फूलको माला पहिरिएर एउटै स्वर र लयमा देउडा गाई होरी खेल्छन् । होरीमा गाइने देउडा शिवको लीलाबाट सुरु गरिन्छ । अछामी होरीको सुरुवात अछामकै तत्कालीन कालीमाटी गढीका राजा भान शाहको पालाबाट सुरु भएको होलीका जानकार बताउँछन् ।
भान शाहको विवाह भारतको कुमाउँ गढवालबाट भएकाले त्यहिबाट दाइजोका रूपमा होरी भित्रिएको भनाई छ । मेलको हाँगा काटेर त्यसलाई चीरका रूपमा गाड्ने र यसमा रंगीचंगी ध्वजापताका लगाएर होरीको सुरुवात गरिन्छ । जसलाई चिरडालो भनिन्छ । यही चीरलाई पूर्णिमाको दिन होरी खेलेर अन्त्यमा आगोले जलाउने प्रचलन छ ।
होरीको इतिहासबारेका जानकार मंगलसेन नगरपालिका – ५ का उदयराम ढुंगानाका अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एकजना राक्षसको जन्म भएको थियो । हिरण्यकशिपुलाई भगवान् विष्णुले नरसिंह अवतार लिएर मारेका थिए । हिरण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । उनी भगवान् विष्णुका निक्कै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुलाई मान्ने गरेको पिता हिरण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उनले छोरा प्रह्लादलाई मार्न धेरै योजना बनाएका थिए ।
एक योजनाअनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलीकालाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलीकाले प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलीका जलेर नष्ट भइन् तर विष्णु भगवानका भक्त प्रह्लादलाई केही पनि भएन । त्यसैको खुशीमा प्रतीक स्वरूप होलीका दहन गरी खुशीयाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।
एउटा अर्को एक प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशक पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएका थिए । उनको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसीयाली मनाइएकाले पनि त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको जानकारहरू बताउछन ।
होली हिन्दुहरूको प्राचीन पर्व हो । धार्मिक जानकारहरू यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्तो प्राचीन हस्तलिपि र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा स्थित ईसाभन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख भएको भनाइ छ । होलीका मारेकै उत्सवमा फागु पूर्णिमाको दिन देशभर होली पर्व मान्ने गरेको पाइन्छ । ‘उत्सव मनाउन एकआपसमा रङ दलेर खुसीयाली मनाउदै रमाएर होली खेलिन्छ तर सेतो जामासहितको लुगा लगाएर रङ नलगाई खेल्नु भने होरी हो’ ढुंगानाले भने, ‘पहिले अछाममा रङ पाइँदैनथ्यो । वनमा पाइने बडुबुटीबाट रङ निकालेर टिका लगाउने गर्थे । अहिले त बजारमै पाइन्छ । होरी खेल्दै गर्दा देउडाबाटै रङ मागिन्छ ।’
उनका अनुसार रङसँगै उत्सव जोडिएको उनको भनाइ छ । होरीको देउडा गाउँदै गर्दा रङ यसरी मागिन्छ ः ‘अक्षि रङ भरा, अक्षि रङ भरा, आज कनैया रङ भरा’ राधिकाले कृष्णसँग रङ मागेर उत्सव मनाएको किंवदन्तीलाई आधार मानेर होरी खेल्नेहरूले आयोजक समितिसंँग रङ माग्छन् । र, आयोजकले सेतो लुगामा रङ नलाग्ने गरी गाला र निधारमा रङ लगाइदिन्छन् ।
होरीमा विभिन्न धर्मसंस्कृति, रामलीला, कृष्णलीला, चारित्रिक मायाप्रेमका कुरा समेटिएर लेखिएका देउडा गाउने प्रचलन रहेको होरीका जानकार सहदेव ढुंगाना बताउछन् । पछिल्लो समयमा मौलिक लोकसंस्कृतिअनुसार भन्दा पनि एकआपसमा रङ दलेर होरी खेल्ने प्रचलन बढ्न थालेपछि परम्परागत होरी लोप हुने सम्भावना बढेकाले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘देवीदेउताको गाथाहरू देउडामार्फत गाइन्छ’ उनले भने, ‘सेतो पहिरनमा खेलिने होरी सभ्य संस्कृतिको पहिचान हो ।’ तर, अहिलेका युवा पुस्ताले सेतो पहिरनमा होरी खेल्न अप्ठ्यारो मान्ने गरेकाले लोपोन्मुख अवस्थामा रहेको उनको भनाइ छ । ‘होरी पुरुषले मात्रै खेल्नुपर्छ भन्ने कुनै इतिहासमा लेखिएको छैन । महिलाले पनि खेल्न मिल्छ’ उनले भने, ‘यसको संरक्षण गर्ने हो र अर्को पुस्तालाई हस्तान्तरण गर्नको लागि भए पनि महिलाहरूलाई पनि होरी खेलाउनुपर्छ ।’
होरी देउडाको साथ पञ्चेबाजासमेत बजाइने गरेको पाइन्छ । विवाह, व्रतबन्धमा समेत अहिले पञ्चेबाजाको प्रयोग घट्दै गएकाले यसको संरक्षण गर्नुपर्ने मंगलसेन नगरपालिका –५ का लक्षे दमाईं बताउँछन् । ‘विवाह, व्रतबन्ध, होरीमा प्रयोग हुने पञ्चेबाजाको महत्त्व अहिलेका पुस्ताले बुझ्न नसक्दा संकटमा परेको छ,’ उनले भने, ‘संरक्षणका लागि पहल गरिएन भने संकटमा पर्छ ।’
प्रतिक्रिया