Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १२ साउन २०८१
प्रचलनमा:
ताजा अपडेट
बुढीगंगा नदि नजिकैको पुलबजारमा बाढी पस्यो बुढीगंगा नदि नजिकैको पुलबजारमा बाढी पस्यो एउटै विद्यालयमा ४१ बर्ष ७ महिना अध्यापन गराएर अवकास लिएका शिक्षक ललित बहादुर कुँवर एउटै विद्यालयमा ४१ बर्ष ७ महिना अध्यापन गराएर अवकास लिएका शिक्षक ललित बहादुर कुँवर मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर साँफेबगर नगरपालिकाको अगामी आर्थिक वर्षको बजेट पूर्ण बहुमतले पारीत साँफेबगर नगरपालिकाको अगामी आर्थिक वर्षको बजेट पूर्ण बहुमतले पारीत जन्मदिनमा नगर प्रमुख कुँवरद्वारा विपन्न बालबालिकालाई कपडा वितरण जन्मदिनमा नगर प्रमुख कुँवरद्वारा विपन्न बालबालिकालाई कपडा वितरण साँफेबगरको बुढीगंगा नदीमा मानव कङ्काल फेला साँफेबगरको बुढीगंगा नदीमा मानव कङ्काल फेला खप्तडमा विद्युत विस्तारको कार्य अन्तिम चरणमा, मिटर खरिदका लागी धरौटी रकम वडाले व्यहोर्ने खप्तडमा विद्युत विस्तारको कार्य अन्तिम चरणमा, मिटर खरिदका लागी धरौटी रकम वडाले व्यहोर्ने साँफेबगरमा डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्न अभियान संचालन साँफेबगरमा डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्न अभियान संचालन रन्जितालाई संसदीय दलको नेताबाट हटायो  नागरिक उन्मुक्तिले रन्जितालाई संसदीय दलको नेताबाट हटायो नागरिक उन्मुक्तिले साँफेबगर नगरपालिकामा मनाईयो धान दिवस साँफेबगर नगरपालिकामा मनाईयो धान दिवस

एक महिना भेन्टिलेटरमा श्रीमान् कुर्दाको अनुभव : कतिपटक त मैले माया नै मारेको थिएँ

एक महिना भेन्टिलेटरमा श्रीमान् कुर्दाको अनुभव : कतिपटक त मैले माया नै मारेको थिएँ

साँच्चै मान्छे कसरी मर्छ ? 

घोप्टो पर्न नसकेर, एउटै समयमा दुईजना सिकिस्त भएर, नर्सको नजर नपरेर, हुँदाहुँदैको अक्सिजन नपाएर, पाएको अक्सिजन थेग्न नसकेर, बाँच्ने मन हुँदाहुँदै खोइ कसरी मर्छ मान्छे ?

यी कुनै पनि कारण मृत्युको कारण बन्नलायकका कारण होइनन् । तर, कोभिड १९ को संक्रमणले मृत्युका अकारणहरू कारण भइदिए । मृत्युदेखि कहिल्यै नडराएका राजु बस्नेतको आँखामा मृत्यु भयानक बनेर उभिएको थियो आइसीयूमा । भेन्टिलेटरमा । मृत्युकै काखमा भएको मानिस कसरी निदाउन सक्नू ? 

राजु भन्छन्, ‘अर्को मान्छे मर्दै गरेको देख्दा निद्रा कसरी लाग्नू ? मलाई त अहिले पनि निद्रा लाग्दैन ।’

घोप्टो पर्न नसकेर मरेको दृश्य ! १०० लिटर प्रति मिनेटको दरमा आएको अक्सिजन थेग्न नसक्दा मरेको दृश्य ! आइसीयू र भेन्टिलेटरका यी तमाम मृत्युको ताण्डवयुक्त दृश्य देख्दा राजुलाई यस्तो लाग्थ्यो, ‘म जसरी पनि बाँच्नुपर्छ !’

नभन्दै एक महिने लामो आइसीयू र भेन्टिलेटरको बसाइपछि गएको २९ जेठमा राजु डिस्चार्ज भएका छन् । 

पानी झमझम परिरहेको छ । 

१०० लिटर प्रति मिनेटको अक्सिजन घटेर ० दशमलव १ मा झरेको छ । कुनै समय १२ मा झरेको अक्सिजन तह ९१ देखिएको छ ।

वरिपरि छन् भाउजू, श्रीमती, सालो, दिदी अनि साना दुई छोरीहरू । 

‘अस्पताल बस्दा दिन र रात थाहा हुँदैनथ्यो । हिजोआज थाहा हुन थालेको छ’, सुधार हुँदै गरेका राजु बाँच्नुको आभाष व्यक्त गर्छन् ।

सात दिनपछि मात्रै श्रीमान् भेन्टिलेटरमा भएको थाहा पाएँ

थाहा नपाउनुजस्तो आनन्द केही हुँदैन रहेछ । 

होइन भने कोटेश्वर काडाँघारीकी कविता बस्नेतलाई यति विघ्न पीडा हुँदैनथ्यो जब उनले एकाएक आफ्नो श्रीमानलाई कोभिड संक्रमणका कारण भेन्टिलेटरमा राखिएको सात दिनपछि मात्रै थाहा पाइन् ।

ज्वरो आएर रन्थनिएका श्रीमान् राजु (राजेन्द्र) बस्नेतलाई १९ वैशाखमा छिमेकी दाइले टेकु अस्पताल पुर्‍याएका थिए । घरमा भएका दुई साना नानी छाडेर श्रीमानसँग अस्पताल जाने स्थिति पनि थिएन । तर, अस्पताल गएको दुई दिनमा नै ज्वरो सन्चो भएर घर फर्किएका श्रीमान् संक्रमण बल्झिएर २२ वैशाखमा पुनः अस्पताल भर्ना हुन बाध्य भए । कोभिड निमाेनियाको संक्रमण देखिएकाले गएकै रात उनलाई आइसीयूमा राखियो । 

हत्तपत्त बिरामी नभइहाल्ने श्रीमानलाई केही हुँदैन भन्नेमा ढुक्क थिइन् कविता । 

ढुक्क भएको मन ढक्क भएर फुल्न पनि सक्थ्यो । तर, छिमेकी दाइले जटिल कुरा पनि यति सरल तरिकाले भनिदिएका थिए कि कविताले चिन्ता लिनुपर्ने खास कुनै कारण नै पहिल्याउन सकिनन् । ‘त्यति धेरै चिन्ता लिनुपर्दैन बहिनी । अलिकति गाह्रो भएकोले भाइलाई आइसीयूमा राखेको छ’, उनले गम्भीरतालाई सामान्यीकरण गर्दै भनेका थिए । त्यसैले निश्चिन्त थिइन् कविता । 

करिब एक हप्तापछि पहिलोपटक श्रीमानलाई भेट्न अस्पताल पुगेकी कविता एकाएक श्रीमान् भेन्टिलेटरमा भएको थाहा पाउँदा छाँगाबाट खसेजस्तै हुन पुगिन् ।

कुरुवा हुन बिरामी हुनजत्तिकै मुस्किल

हुन पनि राजु यस्तो बेला संक्रमित भएका थिए, जतिबेला संक्रमणको उच्च जोखिमले अस्पतालमा मृत्युको रजाइँ चलेको थियो । ‘हामी त यस्तो यस्तो चरण पार गरेर आयौँ कि अहिले सम्झँदा त सपना जस्तो लाग्छ’, लामो सुस्केरासहित कविताले भनिन् । 

कुरुवा हुन बिरामी हुनजत्तिकै मुस्किल रहेको अनुभव संगालेकी कविताले बडो यत्नले अस्पताल बसाइका अत्यासलाग्दा दिनहरू बिताएकी छन् ।

निमाेनियाले ग्रस्त शरीर । ज्वरोले आक्रान्त अनुहार । १०० लिटर प्रति मिनेटको दरले लिइरहेको अक्सिजन मास्क । सात दिनपछि पहिलोपटक अस्पताल पुग्दा श्रीमानकाे रूपरङ देखेर झसङ्ग भएकी थिइन् उनी ।

आइसीयूबाहिर कुरुवासँगको संवाद र संगतमा उनले दोस्रो दिनबाट आफैंले खाना लैजान थालिन् । र, तेस्रो दिनबाट भने उनी अस्पताल पेटीमा अन्य कुरुवासँगै रातदिन बिरामी श्रीमानलाई कुर्न थालिन् ।

हुन पनि कुर्नजस्तो कठिन काम केही हुँदैन । तर, बिरामी श्रीमानलाई २२ दिनसम्म कुरेकी कविताले प्रत्येक पटकको कुराइमा आँसु र आशालाई उत्तिकै घोलेर बिताएको बताउँछिन् ।

घरबाटै खाना लगिदिन थालेयता बिरामी श्रीमानले खाएको देखेर कतिपटक त पछुतो पनि लागेको कविता बताउँछिन् । श्रीमानले खाना खाएको देखेर सात दिनसम्म बूढालाई भोकै राखेर अन्याय नै गरेको ‘अपराधबोध’ पनि निश्चल हाँसोमा सुनाउँछिन् कविता । 

आफ्नो मान्छे संक्रमित हुँदा के गर्नुपर्छ, केही थाहा नभएकी कवितालाई अन्य कुरुवाहरू सहारा बनिदिएका थिए ।

२२ दिन लामो बसाइँमा मुस्किलले भेन्टिलेटरबाट एक जना मात्रै वार्डमा निको भएर फर्किएको देखेकी कवितालाई श्रीमान् निको भएर आउँलान् भन्ने पत्याउनै सकस पर्थ्याे । ‘एकपटक खाना खुवाएर भेट्न जाँदा अर्कोपटक यसरी नै भेट होला भन्ने नै लाग्दैन थियो’, कविता भन्छिन्, ‘मैले त कतिपटक माया नै मारेको हो उहाँलाई !’

कवितालाई यतिसम्म पनि गाह्रो हुन्थ्यो, कतिपटक त पकाएको खाना लिएर पनि भित्र श्रीमानकाे अवस्था देखेर  नखुवाइकन फर्किने गर्थिन् उनी । 

फर्किएर आएर भर्‍याङको सिढीमा घुँक्क घुँक्क रुँदै गर्दा अन्य कुरुवाहरू उनलाई सान्त्वना दिँदै ढाडस दिन आउँथे, ‘नरुनु न बहिनी । केही हुँदैन । ढुक्क हुनुस् । हेर्नु त हामी पनि आफ्नो मान्छे कुरेको यति दिन भइसक्यो । आत्तिनुहुँदैन आत्मबल बलियो बनाउनुपर्छ बावै ।’

रोएको देखेर कुरुवाहरू यसरी एकअर्कालाई सम्हाल्न आउने गर्थे ।  

विभिन्न परिवेश र ठाउँबाट एउटै पीडा र आशाको धागोले जोडिएका कुरुवाहरू एकअर्काको सहारा बनेको यस्तो दृश्य आइसीयूबाहिर अस्पताल पेटीको सबैभन्दा कारुणिक र दार्शनिक दृश्य हो । किनभने, अस्पतालमा बिरामीको सहारा बन्न कुरुवा बसेका स्वयं कुरुवा नै एकअर्काको सहारा बन्न पुग्छन् । 

आज राम्रो छ । मेरो बिरामीलाई खाना खुवाएर आएँ । यस्तो भन्नुभयो । भन्दै आउने कुरुवाको बिरामी एकैछिनमा सिरियस छ । बित्नुभयो भन्ने खबर कुरुवाको कानसम्म ठोक्किन आइपुग्थ्यो । एकपछि अर्को मृत्युको साक्षात्कार गर्दैगर्दा उच्च मनोबल बनाएर प्रार्थना गरिरहेका कुरुवाको मनोबल एकैछिनमा धमिलिन्थ्यो । 

‘पुक्लुकपुक्लुक मरेको देख्दा कस्तो भयो होला । म त २२ दिनसम्म रोएरै बिताएँ’, कविताले आफूलाई मुस्किलले सम्हाल्दै भनिन् ।

यी र यस्तै पीर चिन्ता र भयले मनमा ताना बुन्दै दिनरात कटाएकी कविता मुस्किलले अस्पतालको तीतो क्षण बिर्सन सक्छिन् । 

एकदिनको कुरा हो । कविता श्रीमानलाई खाना खुवाउन आइसीयू भित्र गएकी थिइन् । आइसीयूमा रहेका श्रीमानलाई दिइराखिएको पोर्टेबल भेन्टिलेटर हटाइएको थियो । अक्सिजन नपुगेर उनी फट्फटाइरहेका थिए । हलुका हुन उठेका श्रीमानकाे अक्सिजन घटेर १२ पुगेको थियो । श्रीमानकाे यस्तो अवस्था देख्न नसकेर आइसीयूभित्रै कविता केही अनियन्त्रित हुन पुगिन् । उनले ह्वारगुहार गरिन् । गुनासो पनि गरिन् । बल्लबल्ल श्रीमानकाे अवस्थामा सुधार आयो ।

आफ्नै आँखाअगाडि श्रीमानकाे दयनीय अवस्था देखेकी कविताले त्यसदिन लगेको खाना पनि नखुवाइ फर्किन् ।

‘अस्पताल बस्दा मन बिरामीमा भए पनि कान भने सधैँ आइसीयूको ढोकामा हुने गर्थ्याे’, कविता भन्छिन्, ‘डाक्टर र नर्सहरू आइसीयूको ढोकामा आएर बेड नम्बर यति भन्दा कुरुवाहरूको मन ढक्क फुल्थ्यो ।’

मृत्युको खबर बोकेर आउने सूचनामा अक्सर कुरुवालाई लाग्थ्यो, 'मेरो बिरामीको बेड नम्बर डाक्टरले नभनिदिए हुन्थ्यो !

२ घण्टा अक्सिजन पाइप नलगाइनकन सास फेर्नुको खुसी राजुको अनुहारभरि छचल्किरहेको छ ।

सास फेर्न नसकेर छटपटिएका राजुलाई स्याहारसुसार गरेकी श्रीमती कविता अझै आँसु लुकाउन सक्ने भएकी छैनन् ।
बाँच्ने हो कि होइन भन्ने दुविधाको नाउँ पार गरेर घर आइपुगेको यो खुसी कोठाभरि फिँजारिएको छ ।

आफैँसँगको गुनासो

भेन्टिलेटरमा मृत्युको मुखमै पुग्ने गरी कोभिड निमाेनिया भएका राजुले ठ्याक्कै कसरी संक्रमित भएँ भन्ने भेउ अझैसम्म पनि पाउन सकेका छैनन् ।

११ वैशाखको कुरा हो । घरमा होम कार्यलगायत पूजा आयोजना गरेका बस्नेत दम्पतिको कार्यक्रममा पूर्व झापाबाट समेत आफन्त आएका थिए । ‘त्यतिखेर हामीले न मास्क लगाएका थियौँ न सेनिटाइजर । सायद त्यति नै बेला सरेको हुनुपर्छ’, राजु लख् काट्छन्, ‘अफिसबाट पो आयो कि बाहिर बजारबाट पो लाग्यो कि !’ संक्रमणको यकिन स्रोत खुट्याउन जतिसुकै मुस्किल भए पनि लापारवाही नै यसको मुख्य कारक रहेको राजु बताउँछन् । 

त्यसो त पूजा सकिएलगत्तै राजुलाई भन्दा पहिले कवितालाई दुई दिन ज्वरोले गलाएको थियो । लगत्तै राजुलाई ज्वरो देखियो । त्यति मात्रै होइन, स्वाद पनि हरायो । 

कविता दुई दिनमा उठे पनि राजुलाई भने ज्वरोले अत्यधिक गलायो । कोभिड संक्रमण नै देखियो । यसरी हुँदाहुँदै उनी आइसीयू र भेन्टिलेटरको एक महिना गुप्तवासमा बस्न बाध्य भएका थिए । 

जीजीविषाको कथा

मृत्यु नै मृत्युले घेरिएर आफूलाई बचाउन लालायित राजु संक्रमित भएर मर्नेहरूको अनुहारले नसताओस् भनेर वरिपरिका बिरामीको अनुहार नियालेर कहिल्यै हेर्दैनथे । 

‘आफ्नो अक्सिजन कतिखेर सकिने हो । सकेपछि थाहै नपाएर म सुतेको सुत्यै भएँ भने ? नर्सले थाहा पाएनन् भने ? बाँच्ने रहर हुँदाहुँदै फर्किनँ भने ? बालबच्चाको बिचल्ली हुने हो कि ?’ यिनै प्रश्नहरूले उनलाई सुत्न दिँदैन थिए । आइसीयूमा छिनछिनमा आफ्नो निगरानी आफैँ गर्थे उनी । 

अस्पतालमा रहँदा नर्सहरूलाई उनी आफ्नो नियमित अनुगमन गरिदिन अनुरोध पनि गर्थे । नर्सलाई इसीजी पनि गराइ माग्थे ।

यतिसम्म कि, अस्पताल बस्दा बाँच्दिनँ कि भन्ने डरले राजुले भाकलसमेत गरेका छन् । भन्छन्, ‘मलाई सन्चो भयो भने अवश्य आउँछु भनेर अस्पतालबाटै पाथिभरा मातालाई भाकल पनि गरेको छु ।’

अस्पतालसँगको गुनासो 

अस्पतालमा राम्रो सुविधा हुँदाहुँदै पनि राजुलाई केही गुनासोहरू मनमा गढेका छन् । अस्पतालमा जनशक्तिको समस्या हुँदा एउटा बिरामीको उपचार गर्दा अन्य बिरामी छुट्ने समस्या भएको राजु बताउँछन् । अस्पतालले उपलब्ध गराउने खाना अपुग हुने गरेको पनि उनको गुनासो छ । 

घरको खानाले नै आफूलाई तङ्ग्रिन मद्दत गरेको उनकाे भनाइ छ । त्यसैले संक्रमितहरूले आफूलाई पोषणयुक्त खानेकुराले पेल्न सुझाउँछन् उनी । 

र सबैभन्दा लापारवाही मास्कमा गर्न नहुने राजु भन्छन्, ‘कपडाको मास्क लगाएर मैले गल्ती गरेँ । कुनै पनि हालतमा मेडिकल मास्क लगाउनुपर्दो रहेछ ।’

नाकमा लगाइएको अक्सिजन पाइप सकेसम्म चाँडै हटाएर काममा फर्किन लालायित छन् राजु यतिखेर । सिरानीमा भएको अफिसको फाइललाई बेलाबेला पल्टाउँदै गरेका उनी छिटोभन्दा छिटो नियमित दैनिकीमा फर्किन चाहन्छन् ।

उता कविता पनि ‘माया मारेको’ श्रीमानकाे उत्साह हेरेर दङ्ग छिन् ।

यत्तिकैमा कवितालाई अस्पतालबाट फोन आउँछ ।

‘कसरी स्याहारसुसार गर्नुपर्छ दिदी ? केके खुवाउने होला ?’

अस्पतालमा आफ्नी संक्रमित दिदीलाई कुरुवा बसेका दाङका भाइले कवितालाई फोन गरेका रहेछन् ।

अस्पतालबाट डिस्चार्ज भएर घर आए पनि कुरुवा बस्दा बनेका साथीसँग अटुट सम्बन्ध गाँसिदिएको छ । हिजोआज फोनमा आफ्नो अनुभव सुनाउँदै कुरुवालाई हौसला दिन्छिन् कविता । 

प्रतिक्रिया