Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

नगरकोटीको ‘कल्प-ग्रन्थ’माथि बुकाहोलिक्सको बहस

नगरकोटीको ‘कल्प-ग्रन्थ’माथि बुकाहोलिक्सको बहस

चर्चित आख्यानकार कुमार नगरकोटीको नयाँ कथा संग्रह ‘कल्पग्रन्थ’ प्रकाशन हुन लागेको खबरसँगै साहित्यक्षेत्रमा यसको प्रशंसा र आलोचना दुवै हुन थालेको छ ।

यस पुस्तकको मूल्यका कारण केहीले आलोचना गरेका छन् । सिर्जनाजस्तो कुरामा कर्पोरेटाइजेसन भएकोमा उनीहरूको असन्तोष देखिएको छ । खासगरी फेसबुकको बुकाहोलिक्समा यसबारे पक्ष र विपक्षमा धारणा राख्नेहरूको भिड छ । बुकहिलको यस कार्यको प्रशंसा गर्नेहरूले भने नेपाली साहित्य जगतमा यो नयाँ प्रयोग भएकोमा खुसी जनाएका छन् ।

बुकाहोलिक्समा सुनील देवकोटा लेख्छन्, ‘विद्यार्थीमा पठन संस्कृतिको विकास गर्नुपर्छ भनेर नेपालका धेरै विद्यालयमा विभिन्न कार्यक्रम गरिरहेको थिएँ । यो पुस्तकको मूल्य बढेको देख्दा मेरो मन दुख्यो । धनीले त जति मूल्य राखे पनि पढ्छ तर गरिबले ?’

अब्दुल कलामले लाइट फ्रम मेनी ल्याम्प्स, लिंकनले लाइफ अफ जर्ज वासिङ्टन, माइकल फराडेले कन्भर्सेसन विद केमेस्ट्रीजस्ता किताब पढ्न नपाएको भए उनीहरू त्यो उचाइमा पुग्ने थिएनन् । गरिब मेस्सीले जीवनमा एउटै मात्र किताब पढेका छन्, लाइफ अफ डिएगो म्याराडोना । त्यो किताबले मेरो अर्को दुई खुट्टा थपिदियो । यस्ता उदाहरण दिँदै देवकोटाले एउटै पुस्तकको यति धेरै मूल्य राख्नु भनेको नगरकोटीको प्रशंसक रहँदारहँदै पनि पुस्तक पढ्नबाट वञ्चित रहनु भएको टिप्पणी लेखेका छन् ।

मनोज बाबु पनेरूले भने यो किताब आफूले मरिगए पनि नपढ्ने घोषणा गरेका छन् । यस्ता मार्केटिङ स्टन्टले पुस्तकलाई उत्पादनमा सीमित राख्ने टिप्पणी गर्दै लेखकलाई आर्थिक उपार्जनको जुन मिथ बनाइँदैछ, यसको मूलमा वितरकले पाउने मुनाफाका लागि लुपहोल सिर्जना गरिएको टिप्पणी गरेका छन् ।

अर्का पाठक दीपक लामिछानेले पुस्तक किन्नेबारे अहिल्यै निर्णय नगर्ने तर लेखकको सम्मान गर्नु र मिहिनेतको कदर गर्नु राम्रो भएको टिप्पणी गरेका छन् । हुन त हामी नेपालमा यस्ता कुरामा अभ्यस्त भइसकेका छैनौँ भन्दै उनी पर्ख र हेरको अवस्थामा छन् ।

गीता रेग्मीले भने यस किसिमको प्रयोगलाई अतिवाद भनेकी छन् । रोशन खड्काले आफू नगरकोटीको प्रशंसक भए पनि यो मूल्य ठीक नलागेको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘संयोगले हात लागे जरूर पढ्नेछु ।’

यस्तै मनोज लुहारले हालै अमेजन प्राइममा रिलिज भएको वेबसिरिज मिर्जापुरको दोस्रो शृंखलाको संवाद उदाहरण दिँदै भन्छन्, ‘तपाईं राजनीतिज्ञ हो, म व्यापारी । बीचमा यो जेपी यादव दलाल के गरिराछ ? अबदेखि हामी सिधासिधा डिलिङ गर्नेछौँ ।’ लुहारले यो उदाहरण दिँदै लेखेका छन्, ‘तपाईं पाठक हो, प्रकाशकले किताब छाप्छ । बीचमा पुस्तक पसलेले वितरकको काम गर्छ । कल्पग्रन्थ किताबमा प्रकाशकले डाइरेक्ट डिल गर्न खोजेको हो । हार्ड कभरमा आएका अन्य किताबसँग तुलना गर्दा खासै आपत्तिजनक नहुनुपर्ने हो । सिधा पाठकसँग डिल गरी बेच्नु राम्रो हो । त्यसैले बजारले नगरकोटीलाई खायो भन्न हतार नगरौँ । सबै पुस्तक सबैका लागि हुँदैनजस्ता तर्क चाहिँ झूर नै हो ।’

अन्वेश थुलुङले सिधा पाठकसँग डिल गरेर बेच्नु राम्रो भएको तर पैसा एडभान्समा मागेर बेच्नु चाहिँ गलत भएको तर्क गरेका छन् ।

प्राध्यापक राम लोहनीले भने भर्खर उठ्न लागेको नेपाली साहित्य कर्पोरेट बिजनेस मोडलको चक्करमा पर्नु सही नभएको तर्क गर्छन् । उनी बुकाहोलिक्समा लेख्छन्, ‘मूल्य त लागत, लेखकस्व आदिले निर्धारण गर्ने हो । चल्छ भने बढी मूल्य राख्न सकिन्छ । पाठ्यवस्तुको पाठक निर्धारण गर्ने काम लेखक र प्रकाशको हो । जुन अन्तर्राष्ट्रिय प्रचलनको उदाहरण दिइएको छ, त्यो चल्तीका लेखक र लेखकको लागिभन्दा पनि विशिष्टीकृत पुस्तकको लागि हो । जसका पाठक सीमित हुन्छन् । विशेष संस्करण पनि निकाल्न सकिन्छ तर प्रयोजनसहित । पहिल्यै लागत उठाउन यस्ता योजना काम लाग्छन् । प्रकाशकलाई लगानीमा रिस्क हुन्न । तर लेखकले पाठकको ठूलो हिस्सा गुमाउने खतरा हुन्छ ।

सन् २०२१ मा बजारमा ल्याइन लागेको हुनाले यस कथासंग्रहको प्रिमियम संस्करणको मूल्य २०२१ राखिएको छ । ६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको यस संग्रह ७७७ पृष्ठको रहेको छ ।

“पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृन प्ले, ट्रान्स क्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन्,” बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्का भन्छन्, “नेपाली साहित्यमा नगरकोटीको यो किताब उच्चतम प्रयोग हो । पश्चिमा मुलुकहरूमा विशेष लेखकहरूका किताब विशेष तरिकाले प्रकाशन हुन्छन्, हामीले पनि लेखनमा सधैँ प्रयोग गर्दै आइरहेका नगरकोटीको यो किताबलाई विशेष तरिकाले प्रकाशन गर्न लागेका हौँ |”

‘एसिड फ्री’ कागजमा छापिने किताब हार्ड कभरमा बक्ससहित उपलब्ध हुनेछ | एउटा बुक-मार्क, केही विशेष पोस्टकार्ड र झोला किताबका कारण यसको मूल्य महँगिएको हो । हरेक ग्राहकले नगरकोटीको अटोग्राफसहित किताब प्राप्त गर्नु यसको अर्को विशेषता रहेको खड्का बताउँछन् |

बैंक खाता र इसेवामार्फत् प्रिअर्डर गर्नेहरूले मात्र यो पुस्तक पाउने बुकहिलले जनाएको छ । “यो पुस्तक जति ग्राहकले प्रि-अर्डर गर्छन्, त्यति ‘प्रति’ मात्र छापिनेछ, खड्का भन्छन्, देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुनेछैन | कुनै विक्रेताले बेच्न चाहेमा यो योजनामा सहभागी हुनुपर्नेछ | प्रि–बुकिङ गरेका ग्राहकका पुस्तक नेपालभित्र निःशुल्क र नेपालबाहिर ढुवानी शुल्कसहित डेलिभरी गरिनेछ,” खड्काद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

आगामी चैत १४ गते शनिबार लोकार्पण गरिने यस पुस्तकको अन्य कुनै संस्करण प्रकाशन नहुने बुकिहलले जनाएको छ । प्रिअर्डर गर्नेहरूले फागुन १ गतेसम्ममा गरिसक्नुपर्ने बताइएको छ ।

विदेशतिर भने यस किसिमको कार्य निकै अघिदेखि प्रचलित छ । १८५३ मा वाल्ट ह्विटम्यानले आफैँले प्रकाशन गरेको उनको प्रख्यात कृति ‘लिभ्स अफ ग्रास’ पनि छालाले मोरेको, यसका लागि विशेष टाइपसेट बनाउन लगाएको कारणले विशेष बनाएका थिए । ७९५ प्रति मात्र प्रकाशन गरेको सो संस्करण गत महिना बेलायतमा डाक बढाबढमा महँगोमा बिक्री भएको थियो । अहिले पनि यसलाई किन्नेहरूले ३ लाख ४० हजार ४ सय ३८ डलर किन्न सक्ने एबेबुक्सले जनाएको छ ।

प्रतिक्रिया