ताजा अपडेट
मेलम्चीको जस लिने कृतघ्न पुर्परो
कन्टिर–बाबू साहित्यप्रति सामान्य रुचि राख्छन् । कहिलेकाहीँ यसो गीत, कविता, कथा, गजल आदि पनि लेख्न खोज्छन् । यसै सन्दर्भमा आज उनलाई कविताको केही हरफ फुरेको छ -
तिम्रो बाटो कुरेको निकै दिन भो
उहिले जवानीमा बढी जरुरी थियो
तिमी आएनौ, घरजम खेर गयो
ऊ बेला २० को प्रेमिल उमेर थियो,
तिमीलाई पर्खिँदा–पर्खिदै ५० कट्यो
तिमी आउने बाटोमा भाँडो थापिरहेँ,
तर तिमी आएनौ ।
कस्तो लाग्यो तपाईलाई यो कन्टिर-काव्य ? सन्दर्भ बुझ्नुभयो ?
अरे यार, त्यही मेलम्चीको पानी क्या ! आज आउला, भोलि आउला भनेर दिन गन्दै कुरेको ३० वर्ष भयो । कति बेइमानी, कति निर्दयी ? यत्रो वर्ष कुरायो बेमतलबमा ।
अन्ततः सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौँ सुन्दरीजलसम्म २६ किलोमिटर छिचोल्न ३० वर्ष लागेको मेलम्चीको पानीयात्राको कैरन जोडेर, आश्वासन बाँडेर कति मालामाल भए, को–को के–के भए खुलासा हुन बाँकी छ । तर यसले कन्टिर–बाबूलाई भने सानोतिनो कवि नै बनायो ।
भन्छन् १२ वर्षमा खोलो फर्किन्छ, तर नेपाल मण्डलमा खोलाको एउटा भँगालो फर्काउन ३० वर्ष लाग्यो । १० वर्षलाई एउटा पुस्ता मानिन्छ । यस अर्थमा तीन पुस्ता मेलम्चीको सपना कल्पेर हुर्कियो । यस्तोमा कन्टिर–बाबू कवि हुनु अस्वाभाविक होइन ।
यो आयोजना प्रारम्भ हुँदाका बखत अधबैँसे रहेकाहरू आज धेरै यस धरामा नरहेका हुन सक्छन् । मेलम्चीको पानीको आस त्यही पुस्ताले सबैभन्दा बढी गरेको थियो । योगदान पनि मिसाएको थियो । तर उपभोग गर्ने बेलामा उनीहरूलाई सम्झिने कोही छैनन् ।
खासमा सन्त नेताको परिचय बनाएका किसुनजी अर्थात् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा देखेको मौलिक सपना थियो मेलम्ची । उनले यसलाई २०४८ सालको चुनावी घोषणापत्रमै राखेका थिए । तर विचरा आफ्नैहरूको अन्तर्घातले चुनाव हराइए । कन्टिर–बाबूलाई लाग्छ– उनी हारेपछि नै मेलम्ची तीनपुस्ते गफको विषय भएको हो ।
जुनबेला उनले यो सपना देखे र कार्यक्रम अघि सारे धेरैले उनलाई उडाउनुसम्म उडाए । झन् कम्युनिस्टहरूले त ‘मुख धुने पानी छैन, सडक धुने फुर्ती । केको सन्त, तन्त्र मन्त्र जनता ढाँट्ने जुक्ति,’ भन्दै चुनावी नारा नै बनाएका थिए ।
तर आज उनै छाता र सुराहीवाला नेता किसुनजीको मेलम्ची भिजन सार्थक भएको छ । निश्चय पनि यसले उपत्यकाको पानीको समस्या आगामी निकै दिनसम्म समाधान गर्नेछ भन्नेमा कन्टिर–बाबू आशावादी छन् ।
हिजो मेलम्ची नआउँदासम्म कन्टिर–बाबूलाई एउटा चिन्ता थियो, आज अर्को चिन्ता परेको छ । हिजो त्यत्रो हल्लखल्ल गरेर उपत्यका भित्र्याइएको ट्रलीबसको एउटा टुक्रो पनि आज भेटिँदैन । यस्तोमा कन्टिर–बाबू सोचिरहेका छन्– यसबेला ठुलै ढोल पिटेर ल्याएको मेलम्ची पनि त्यस्तै हुन के बेर ? भ्रष्टाचार र अनियमितताले गाँजेको, आज सडक बनायो भोलि खानेपानी र ढलका नाममा खन्ने र कमिसन खाने बानी परेको नेपाली समाजमा मेलम्ची पनि बाँदरको हातमा नरिवलसरह हुँदैन भन्ने के ग्यारेन्टी छ ?
यता मेलम्चीको जस लिन पाउने आधिकारिकता भने ओल्बाको पुर्परोमा लेखिएको रहेछ । यो खुसीमा उनले एक घण्टाभन्दा बढी वक्तव्यबाजी पनि गरे । तर त्यसबीचमा उनले दुई शब्द किसुनजीका बारेमा बोलेनन् । यो सन्दर्भमा ओल्बाको कृतघ्न स्वभाव राम्रै झल्कियो भनी सञ्जालमा भएको टिप्पणी कन्टिर–बाबूलाई पनि सही नै लागेको छ ।
कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ
प्रतिक्रिया