Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

भीमसेन स्तम्भ भर्सेस ओली टावर

भीमसेन स्तम्भ भर्सेस ओली टावर

कन्टिर–बाबू अहिले जुन सहरमा बस्छन्, त्यहाँ हिजो आज धरहराको बडो चर्चा छ । २०७२ को भूकम्पभन्दा पहिला पनि धरहरा थियो । भूकम्पमा गर्ल्याम–गुर्लुम भत्कियो । अहिले यही नाममा कङ्क्रिटको अर्को, पहिलेभन्दा अग्लो संरचना ठड्याइएको छ ।

तर आम जनतालाई के मतलब ? कोरोनाकालमा बेल पाक्यो कागलाई के स्वाद ! कन्टिर–बाबू हिजो पनि धरहरा उक्लिएका थिएनन्, उनले आज या भोलि यो टावर उक्लिने कुनै योजना पनि बनाएका छैनन् ।

धरहरा उक्लिँदा गति परिने अनि नउक्लिँदा बर्बाद हुने होइन भन्ने कन्टिर–बाबूको निष्कर्ष छ । भोलि यसको उद्घाटन हुने रे ! कोरोनाको बेलामा बिरामीलाई अक्सिजनको व्यवस्था गर्न छोडेर बडो धरहराको उद्घाटन गरेर फुर्ती हाँक्ने ? लाजको पसारो, कन्टिर–बाबूको एक मनले यस्तै भन्छ । फेरि अर्को मनले भन्छ– नेपालीको अन्तर्राट्रिय पहिचान बनेको यो मानव निर्मित संरचना ढिलो–चाँडो बनाउने पर्ने थियो, बन्यो राम्रै भयो ।

तर धरहराका नाममा बन्यो चाहिँ के ? धरहरै बन्यो कि अस्तै देखिने अरू नै कुनै संरचना ? कन्टिर–बाबूले देखेको भीमसेन स्तम्भ पनि भनिने धरहरामा त नौ तलामात्र थिए, अहिले बनाइएको संरचनामा २२ तला छन् । त्यसो हुँदा यसलाई धरहरा कसरी भन्ने ? कन्टिर–बाबू स्पष्ट छन्– अहिले धरहरा भनिएको संरचना ओली भ्यु–टावर हो, धरहरा हुँदै–होइन ।

कन्टिर–बाबूलाई मात्र होइन दुनियाँलाई थाहा छ– सय वर्ष कटेका कुनै पनि संरचना, पूरातात्विक सम्पदाको स्वरूपमा थप–घट वा परिवर्तन गर्न पाइँदैन । त्यसैले अहिले बनाइएको ओली टावरलाई धरहरा भन्दै प्रचार गर्नुमा सरकारी कमजोरी र आत्मरतिको मात्रा बढी देखिरहेका छन्, कन्टिर–बाबू ।

तर आत्मरतिमा लीन सरकारलाई यो कुरा कसले बुझाउने ? धरहरा भनिएको संरचना ठडिएपछि त सरकार यसलाई महानतम् उपलब्धिका रूपमा व्याख्या गर्न कम्मर कसेर लागिरहेको छ । सरकार ओली टावर उद्घाटनको तिथिलाई राष्ट्रिय उत्सवका रूपमा परिभाषित गरिरहेको छ । मानौँ, सरकारले अन्तरीक्षमा भू–उपग्रह प्रक्षेपण गरेको छ, मङ्गल ग्रहमा भर्खरै यान पठाएको छ ।

धरहरा नामको संरचना ठडिँदा देशका सबै समस्या समाधान भए त ? सुशासन र समृद्धिको सपना पूरा भयो ? कोरोना सङ्क्रमितले राहत र औषधि पाए ? के सम्पूर्ण देशवासीको स्वाभिमान ठडियो ?

कन्टिर–बाबूका मनमा यस्ता अनेक प्रश्न उठिरहेका छन् । तर उत्तर कसले दिने ? यस्ता भ्यु–टावर बनाउन पैसाको कमी अनुभव नगर्ने ओल्बा सरकार कोरोनाबाट ग्रस्त भुइँमान्छेको ज्यान बचाउन भ्याक्सिन खरिद गर्न, भ्यान्टिलेटरको सङ्रख्या थप्न, अक्सिजनको जोहो गर्न भने पैसाको समस्या देख्छ । विडम्बना यही छ ।

प्रसङ्गवश ‘राणाहरूले बनाएको महलमा बसेर टावर बनाएँ, धरहराको पुनःनिर्माण गरेँ भन्दै मक्ख नपर्नुहोस्, प्रोपोगान्डा नगर्नुहोस्,’ भन्दै कवि श्रवण मुकारुङले फेसबुकमा पोस्ट्याएको कुरा कन्टिर–बाबूलाई सही लागेको छ ।

कवि श्रवण मुकारुङले लेखेका छन्– अबका जनता लाटा छैनन् । धरहराका निर्माणका नाममा मैले पनि एक महिनाको पारिश्रमिक प्रदान गरेको छु । मेरो पनि नाम लिनुहोस् । अनि शिवलिङ्ग ढोग्नुहोस् ! तब तथास्तू भनुम्ला ! कोसी अनलाईन बाट धर्मेन्द्र झा को स्तम्भ 

प्रतिक्रिया