ताजा अपडेट
बोलुँ भने मुख लागे जस्तो, नबोलुँ भने चुप लागे जस्तो
जतिसुकै तर्क–वितर्क गरे पनि सरकारको क्षमता मूल्याङ्कन कठिन समयमै हुने हो । सहजतामा त देश आफैँ चलिहाल्छ नि ! यो भनाइसँग कन्टिर–बाबू पूर्णतः सहमत छन् । वास्तवमा अप्ठेरोमा नै हो व्यक्तिलाई सहयोग र भरथेग चाहिने हो, सजिलो अवस्थामा त जनता आफैँ काबिल छँदै छन् नि !
सिद्धान्ततः जनताबीचको सम्झौताको उपज हो सरकार । सरकारको काम जनताको कल्याणका लागि क्रियाशील रहनु र यसबापत सत्ताको उपयोग गर्नु हो । तर नेपालमा सरकार भए पो सिद्धान्तका कुरा खोज्नु ! यहाँ त आत्मरतिमा रम्माउने हुल्लडबाजहरूको दबदबा छ । नेपालमा सिद्धान्तले लामो समयदेखि काम नगरेको कन्टिर–बाबूलाई अनुभूत भइरहेको छ ।
संसदमा प्रतिपक्षी सांसदले ‘नेपालीको रोगप्रतिरोधी क्षमता अरूभन्दा बढी छ भनेर कसले भन्यो ?’ भनी सोध्दा प्रधानमन्त्रीले ठाडै ‘सुन्न भएन अहिले भर्खर मैले भनेको !’ भनी ओठे–जबाफ फर्काएको हिजोजस्तो लाग्छ । तर एक वर्ष बितिसक्दा पनि नेतृत्वको मूर्खतापूर्ण प्रवृत्ति ज्युँका त्युँ छ ।
बोलुँ भने मुख लागे जस्तो ,नबोलुँ भने चुप लागे जस्तो । यतिबेला निकै सकस परिरहेको छ कन्टिर–बाबूलाई । नेताहरूको अनपेक्षित व्यवहार र जबाफदेहीविहीन राजनीतिले समाज र मुलुकको अवस्था कहाँ पुगिसक्यो कल्पना गर्न पनि गाह्रो छ !
केही दिनदेखि कन्टिर–बाबूजस्ता सामान्य कलमजीवीलाई त दिनमा चार–पाँच कल आउने थालेका छन्, आइसोलेसनमा ठाउँ, अस्पतालमा बेड, अक्सिजनको सिलिन्डर, प्लाज्मा, रेम्डेसिभिरका लागि भनसुन गरिदिनुपर्यो भन्दै । भने पछि सोच्नुहोस्, अवस्था कति भयावह भइसक्यो !
त्यसो त यो अकल्पनीय परिस्थितिको दोष सरकारलाई मात्र दोष दिने पक्षमा छैनन् कन्टिर–बाबू । अरे यार यहाँ त सबै दलको हालत उस्तै छ । पालैपिलो सत्ताको सुखभोग राम्रो, जनताको कष्टभोग नराम्रो । हे दैव ! के गर्ने होला ?
कन्टिर–बाबूलाई लाग्छ– कोरोना कहरको वास्तविक अवस्था सरकार र दलको नेतृत्वलाई थाहा नै छैन । यदि थाहा हुन्थ्यो भने उनीहरू यतिबेला नेपाली समाजले बेहोरिरहेको धरातलीय, तीतो यथार्थप्रति धेर–थोर जबाफदेही अवश्य हुन्थे ।
यस्तोमा कन्टिर–बाबू सरकार र दलका नेतालाई आग्रह गर्छन्– हे स्वनामधन्यहरू ! तपाईहरू कम से कम एक–दुई घण्टा समय निकालेर एक्ला–एक्लै वा सामूहिक रूपमा यसो एक–दुईवटा अस्पतालको अवलोकन भ्रमण गर्नुहोस् । भ्रमण गर्न डर लाग्छ भने फोन गरेर भए पनि बुझ्नुहोस् ।
कन्टिर–बाबू सोध्छन्– तर के कोरोना सङ्क्रमित व्यक्ति र तिनको परिवारको अवस्था बुझ्ने, आर्तनाद–चित्कार सुन्ने, तिनलाई सम्बोधन गर्ने समय र हिम्मत छ तपाईहरूसँग ?
प्रतिक्रिया