Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०५ बैशाख २०८१

सुरुमा अध्यादेश, त्यसपछि सिध्यादेश !

सुरुमा अध्यादेश, त्यसपछि सिध्यादेश !

ले घास, आखिर ओल्बाले जे कानेखुसी गरेका थिए रापबाट त्यही फरमान जारी भयो मध्यराति । अघिल्लो फरमानअनुसार बिहीबार दिउँसो विपक्षी दलहरू नयाँ सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर जुटाएर शीतलनिवास पुग्दा ओल्बा शीतल निवासबाट के–के कानेखुसी गरीवरी फर्किँदै थिए ।

त्यही बेला कन्टिर–बाबूलाई लागिसकेको थियो– बहुमत सिद्ध गर्न दलहरूलाई दिइएको चुनौती र समय नाटकमात्र थियो, भितरिया नौटङ्की त अर्कै छ । नभन्दै शुक्रबार मध्यरातपछि राति जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संसद् रापबाट हठात् विघटन र निर्वाचन गराउने फरमान जारी भयो ।

कन्टिर–बाबू भन्छन्– नेपालको राजनीतिक इतिहासमा प्रायः यस्ता जालझेल र षड्यन्त्रपूर्ण घटना मध्यरातमा नै हुने गरेको छ, त्यो पनि शुक्रबार नै । यसपटक पनि त्यस्तै भयो । ओल्बाले देशलाई पुस ५ गतेकै अवस्थामा फर्काए । यसका लागि राप देवी सहाय भइन् । जय हो देवी ।

बिहीबार दिउँसोसम्म ओल्बा पत्रकारहरू भेला पारेर आफू शासन सञ्चालन गर्न दिक्क भइसकेको र विपक्षीहरूले सक्छन् भने बहुमत पुर्‍याए नयाँ सरकारका लागि म सहयोग गर्छु भन्दै खोकिरहेका थिए । संसदको विश्वास गुमाएका ओल्बा दिउँसो आफूसँग बहुमत छैन भन्दै थिए ।

तर साँझ अचानक आफूप्रति बहुमत सांसदको विश्वास छ भन्दै आफूलाई प्रधानमन्त्री बनाइयोस् भनेर रापमा अर्जी चढाए । विचरा ओल्बाको दिउँसोसम्मको सबै हेकडी गुम भयो ।

उता विपक्षीले पनि बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गरे । तर विपक्षीको अहिलेसम्मको कुन चाहिँ कुरा सुनिएको थियो र यसपटक सुनिन्थ्यो ? मध्यरातमा रापको कार्यालयबाट विज्ञप्ति जारी भयो– सरकार बनाउने दुवैथरिको दाबी पुगेन । नयाँ प्रधानमन्त्री नियुक्त गर्न सकिन्न ।

कन्टिर–बाबू सोचिरहेका छन्– कस्तो थेथर पारा हो यो ? पत्रकारलाई नैतिकताको पाठ पढाउने, भित्रभित्र राजनीतिको हलो अड्काउने, एकैछिनमा संविधानको गोरु पड्काउने, केहीबेरमै सांसदको सङ्ख्या भड्काउने, दक्षिणको इशारामा राजनीतिक खिचडी छड्काउने ।

अरे वाह चित पनि आफ्नै, पट पनि आफ्नै । कन्टिर–बाबूहरू केटाकेटीमा पाँच पैसाको ढ्याक ओल्टाइ–पोल्टाई गाई कि त्रिशूल खेल्ने गर्थे । एकजना साथी थियो, सधैँ झेल्ला गर्थ्यो । गाई वा त्रिशूल जे जसलाई परे पनि खेल सुरु गर्ने मौकाचाहिँ उसले नै पाउनुपर्ने ।

कन्टिर–बाबूलाई थाहा थियो यस्तो हुँदैन । तर ऊ सधैँ आफ्नै नियम लागू गर्थ्यो । साथीभाइ सबै रिसाउँथे । तर रिसाएर के गर्नु ? ऊ सधैँ लट्ठी बोक्थ्यो र कसैले विरोध गरे त्यही लट्ठीले कुट्न झम्टिन्थ्यो ।

अहिले नेपालको पछिल्लो राजनीतिमा कन्टिर–बाबू त्यही गाई कि त्रिशूलवाला खेल र त्यही झेल्ला गर्ने साथी सम्झिरहेका छन् । अहिले त्यो साथी पनि ओल्बाजस्तै राजनीतिमा लागेर ठूलै मानिस भएको छ ।

ओल्बाको मध्यरातको सिफारिस स्वीकार्दै रापबाट कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा भएको छ । कन्टिर–बाबूलाई लाग्छ, यो सबै पहिलेदेखिकै सेटिङ हो ।

अरे यार, महाव्याधिमा मध्यावधि ? यो मिल्ने कुरा हो ? नेपाल अहिले सम्पूर्ण रूपमा कोरोनाको महामारीका कारण ग्रस्त र त्रस्त छ । विज्ञहरूले आगामी कात्तिक मङ्सिरमा कोरोनाको तेस्रो लहरको सम्भावना व्यक्त गरेका छन् ।

दोस्रो लहरको असर नसकिँदै तेस्रो लहरको उपस्थितिका बीच गर्ने भएको निर्वाचन कति युक्तिसङ्गत हुन्छ ? खाए खा नखाए घिच । अर्काे कुरा यो निर्वाचन पनि हुने हो कि होइन, शङ्कै छ । फ्याट्ट लाएर कोरोनाको नाममा भोलि स्वास्थ्य सङ्कटकाल लगाइउनुपर्‍यो भने चुनाव भा’को भै हो । त्यसपछि न संविधान, न लोकतन्त्र, न विधिको शासन ।

त्यसपछि के हुन्छ ? कन्टिर–बाबूका अनुसार ओल्बाका दुई प्राथमिकता हुनेछन्– सुरुमा अध्यादेश, त्यसपछि सिध्यादेश !

कोशी अनलाईनबाट 

प्रतिक्रिया