Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ मङि्सर २०७९
प्रचलनमा:

पहिले प्रयोग गर्थे, अहिले प्रयोग हुन्छन् !

पहिले प्रयोग गर्थे, अहिले प्रयोग हुन्छन् !

रोपे पेड बबुरका आम कहाँ से पाए ? मधेसमा निकै लोकप्रिय यो लोकोक्ति कन्टिर–बाबू पनि बेलाबखत सम्झिन्छन् । यसको सामान्य अर्थ हुन्छ– रूख भने बबुर (काँडायुक्त पोथ्रा)को रोप्ने अनि फलचाहिँ आँप फलोस् भनी अपेक्षा गर्ने । यस्तो कसरी सम्भव हुन्छ ? कुरो क्लियर छ, जेको फल खाने इच्छा छ, बिरुवा त्यसकै रोप्नुपर्छ ।

कन्टिर–बाबू घुमाएर कुरा गर्न जान्दैनन्, जे भन्नु छ सोझै भन्छन् । कन्टिर–बाबूले प्रदेश २ को पछिल्लो राजनीतिक सन्दर्भ र त्यससँग जोडिएको इमान–जमानको कुरा गर्न खोजेका हुन् ।

पछिल्लो संसदीय निर्वाचनमा ६ वटा पार्टी मिलेर बनेको तत्कालीन राजपा र ससपा मिलेर सहभागी भएका थिए । यिनको गठबन्धनलाई कतै एमाले र कतै काङ्ग्रेसले घोषित–अघोषित सहयोग गरेका थिए ।

जे होस् त्यसबेला यो गठबन्धनले उपयोगितावादी राजनीतिका आधारमा अन्य दललाई आफ्ना पक्षमा उपयोग गरेको थियो । यसै आधारमा काङ्ग्रेस र एमालेले प्रदेशमा बेलाबखत ‘तर’ मार्ने गरेको कुरा चर्चामा आउने गरेको कन्टिर–बाबूलाई थाहा छ ।

चर्चा जे भए पनि चुनावमा मधेसी गठबन्धनले बहुमत प्राप्त ग¥यो र प्रदेश सरकार बनायो । पछि त यो दुवै घटकले औपचारिक रूपमै गठजोड गरे र ‘जसपा’ जन्माए । जसपा जन्मिन त जान्मियो तर राम्ररी हुर्किन पाएन ।

अहिले यी दुई घटकबीच सम्बन्ध राम्रो छैन भन्ने गाइँगुइँ चलेको छ । खासगरी सङ्घीय राजनीतिमा ओल्बालाई समर्थन गर्ने र नगर्नेबारे दुवैबीच विवाद छ । विवाद बढ्दै गएर गठजोडको गाँठो फुक्लिनै लागेको छ, जसको प्रभाव प्रदेश सरकारमा पनि चाँडै पर्दै छ ।

कन्टिर–बाबूका परिचितहरूका अनुसार प्रदेश २ मा पुरानो राजपाबाट (पहिलेको तमलोपा पृष्ठभूमिका) मन्त्री भएकालाई घरको बाटो सोझ्याउन लगाउने बारे सोचिँदैछ रे !

कन्टिर–बाबूका अनुसार यदि तमलोपावालालाई अलग्याइने हो भने मधेसमा मधेसवादी राजनीति निकै कमजोर हुनेछ । कन्टिर–बाबू यो चाहँदैनन् । प्रदेशमा प्रादेशिक र क्षेत्रीय दलहरू नै बलियो हुनुपर्छ भन्ने कन्टिर–बाबूको स्पष्ट मत छ ।

उनी थप्छन्– विकास र अधिकारको एजेन्डामा कोही पनि दलगत आग्रही हुनुहुँदैन । सबैलाई अपनत्वको बोध हुनेगरी काम गर्नुपर्छ । सबैको भावनालाई सम्बोधन गर्दै काम गरियो भने मात्रै राजनीति दरिलो हुन्छ भन्ने कन्टिर–बाबूलाई थाहा छ ।

तर ले घाँस, आफूलाई वैकल्पिक शक्ति भन्न रुचाउने यिनीहरूको काम गराइमा अरू पार्टीहरूभन्दा केही फरकपन देखिएन । एक समय अरूलाई उपयोग गर्नसक्ने क्षमता राख्नेहरू अहिले आफैँ अरूद्वारा उपयोग भइरहेको देखिँदै छन् ।

यस्तो समस्याग्रस्त अवस्था कसरी सिर्जना भयो ? कन्टिर–बाबू यस विषयमा थप केही टिप्प्णी गर्न चाहँदैनन् । भन्छ– सम्झनेवाले समझ गये, ना समझे वो अनाडी है… !

प्रतिक्रिया