Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

पोखरीको सौन्दर्यसामु कोरोना महामारी ओझेल

पोखरीको सौन्दर्यसामु कोरोना महामारी ओझेल

तराई–मधेसमा एक लोकोक्ति बडो प्रचलित छ– जाने मधेसिया तोरे इमान ! जब कुनै व्यक्तिमाथि संशय हुँदाहुँदै पनि विश्वास गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुन्छ भने प्रायः यो लोकोक्तिको प्रयोग गर्ने गरिन्छ । कन्टिर–बाबू लाई कुनै संशय भएर होइन बरू अत्यधिक विश्वास लागेर हो प्रदेश २ को सरकार, जो मधेस र मधेसियाको नाममा अस्तित्वमा आएको हो, लाई भनिरहेका छन्– जाने मधेसिया तोरे इमान !

कन्टिर–बाबू प्रदेश २ सरकारले असार १ गते प्रस्तुत गरेको बजेटको सन्दर्भ उक्काउन चाहन्छन् । आखिर यो बजेटको एक जना सरोकारवाला आफूलाई पनि ठान्दछन् कन्टिर–बाबू । कन्टिर–बाबूको खुन–पसिना पनि मधेसिया नै हो ।

कन्टिर–बाबूले बुझेको कुरा बजेट भनेको राजनीतिक अर्थशास्त्र हो । तर एक जना जानकारको टिप्पणी अनुसार यस बजेटमा राजनीति त छ तर अर्थशास्त्र छैन । चुनावमुखी लोकप्रिय बजेटमा जताततै कमिलाको तालमा अनुत्पादक शीर्षकमा पैसा छर्न खोजिएको छ । खयर, अरूलाई कुनै मतलबै छैन खाली आफूमात्र किन छुच्चो हुने भन्ने सोचेर चुप लागेर बस्न सक्थे तर कन्टिर–बाबूको मनले मानेन ।

अरे यार बजेटको अहिलेको मुख्य प्राथमिकता शिक्षा र स्वास्थ्य हुनुपर्ने थियो । तर ले घाँस, प्रदेश २ को बजेट त अगडमबगडम झोलझाल केन्द्रित पो छ त । जस्तो कि – कोरोना रोकथाम २० करोड, पोखरी सौन्दर्यकरण ३२ करोड, मठ, मन्दिर, मस्जिद, गुम्बा संरक्षण १८ करोड, शालिक निर्माण तथा सौन्दर्यकरण आठ करोड ।

अब तपाई अनुमान गर्न सक्नुहुन्छ की प्रदेश सरकारको प्राथमिकता के हो ? दोस्रो लहरको कोरोनाको प्रकोप यथावत् छ । तेस्रो लहरको प्रकोप पनि अवश्यम्भावी नै छ । तर यता कोरोना रोकथामभन्दा पोखरी सौन्दर्यकरणलाई कति उच्च प्राथमिकता ? यस्तै मठ, मन्दिर, मस्जिद, गुम्बालाई पनि कोरोना रोकथाम हाराहारीकै पैसा ।

हे राम, यिनले सोच्या चाहिँ के हुन् ? कन्टिर–बाबूको समझमा केही आइरहेको छैन । होला, सरकारले यस प्रदेशलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने सोचेको हुन सक्छ । तर के यसका लागि यही नै सर्वाधिक उपयुक्त समय हो ?

कन्टिर–बाबूका अनुसार, यो अरू केही होइन, सबैजना मिलेर सजिलै भाग–शान्ति गर्ने उपाय रचेको हुनसक्छ । अरे पूर्वाधार विकास र सामाजिक रूपान्तरणलाई महत्त्व नदिने ? यस प्रदेशका मुर्धन्य व्यक्तिहरूलाई खाली स्मारकमा सीमित गर्ने ?

अरे जसको नाम र सिद्धान्तका आधारमा सत्तामा आएको हो, तिनलाई जनतासँग नजोड्ने ? तिनका नाममा कुनै कार्यक्रम नबनाउने ? त्यो त धन्य जे रामसरोजजी मन्त्री बने र तिनले महेन्द्रनारायण निधिका नाममा विपन्न आवास कार्यक्रम ल्याए । तर यी मधेसियाको नाममा राजनीति गर्नेहरूले गजेन्द्रनारायण बाबू, तिवारी बाबा, भद्रकाली मिश्र, वेदानन्द झा, दुर्गानन्द झा, रामचन्द्र मिश्र आदिलाई सम्झिनु पर्दैन ?

त्यसो त कन्टिर–बाबूको मुखै तित्रा, मनमा लागेको कुरा फ्याट्ट भनिदिइहाल्छन् । तथापि कन्टिर–बाबूलाई बजेट कार्यान्वयनको सन्दर्भमा लागिरहेको छ– अब यही बजेटमा पनि सत्तामा पहुँचवालाहरूले लार (र्‍याल) नटप्काइदिए हुन्थ्यो ।

प्रतिक्रिया