Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ मङि्सर २०७९
प्रचलनमा:

दुःखको स्रोत खाँडोका नाममा घाँडो विज्ञप्ति

दुःखको स्रोत खाँडोका नाममा घाँडो विज्ञप्ति

कन्टिर–बाबूलाई लाग्दछ, यहाँहरूको सामान्यज्ञान राम्रै छ । कन्टिर–बाबू विश्वस्त छन्, सामान्यज्ञानका थुप्रै प्रश्नको उत्तर यहाँहरूलाई विदितै होला । 

तपाईहरूलाई चीनको दुःख ह्वाङहो नदी हो भन्ने पक्कै थाहा होला । यस्तै भारत बिहारको दुःख कोसी हो भन्ने पनि थाहा होला । यी त भए विदेशका कुरा ।

नेपालको सन्दर्भमा तपाईहरूलाई कन्टिर–बाबूको एक प्रश्न छन्– सप्तरी जिल्लाको चर्चित तिलाठी गाउँको दुःख के हो ? क–कसलाई थाहा छ ?

जानकारीको सिद्धान्त हो– कि त परेर जानिन्छ कि त पढेर जानिन्छ । कन्टिर–बाबूलाई राम्ररी थाहा छ, यो प्रश्नको उत्तर पढेर पाइन्न । कारण, यसबारेको पढाइ कहीँ पनि हुँदैन । न हिजो हुन्थ्यो, न आज हुन्छ । 

रह्यो परेर थाहा पाउने कुरा, दुःखको अनुभव हुने सबैलाई थाहा होला । सप्तरी जिल्ला, विशेषगरी तिलाठी क्षेत्रको दुःख हो– खाँडो । चुरेबाट सोहोरिएर बग्ने खाँडो खोला ।

पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर चुरेबाट प्रादुर्भाव भएर यो खोला महुलीभन्दा दक्षिण ओरालो झर्दै सप्तरीको सीमान्त गाउँ तिलाठी र कुनौलीसम्म पुग्छ । यसपछि भारतीय भूभागमा पस्छ । पहिले–पहिले अर्थात् परम्परागत रूपमा खाँडोको पानी भारततर्फ गएर कोसीमा मिसिन्थ्यो । तर अहिले पानी बहावको परम्परागत मार्गलाई बाँधले रोकेको छ । यहीँनिर खाँडोमा त्रियुगा खोला पनि मिसिन्छ ।

अन्य मौसममा त खासै फरक पर्दैन, खाँडोमा खासै पानी हुँदैन । तर वर्षाको समयमा यसले उत्पात मच्चाउँछ र महुलीपछिको यात्राका क्रममा कोइलाडी, बेलही, तिलाठी, सकरपुरा, कुनौलीजस्ता बस्तीमा पानी र लेदो होइन, दुःख थुपार्छ । यस्ता दुःखको साक्षी कन्टिर–बाबू स्वयम् पनि अनेकौँ पटक बनेका छन् । 

दुःखको कुरा छ, यो समस्या सम्बोधनका सम्बन्धमा सरोकारवाला सरकारलाई कुनै मतलब छैन । स्थानीय सरकार भन्छ– यो काम सङ्घीय सरकारको हो, हाम्रो दायित्व होइन । सङ्घीय सरकारका मान्छे भने कानमा रुइया कोचेर बसेका छन् ।

कन्टिर–बाबू भन्छन्– आ यो सङ्घ र स्थानीयको बात फेका–फेकवैलको दोमर्जीमा प्रत्येक वर्ष दुःखको डुबानमा पर्छ को ? सरकारी तहवालाहरू त आफूहरू उँचकामा छन्, तिनलाई त केही हुन्न । आ फँस्छ को ? जो खधियामा छ । स्थानीय जनता ।

त्यसो त, राजविराजमा खाँडोको नाम जोडेर एक कार्यालय पनि खुलेको छ– खाँडो नदी व्यवस्थापन आयोजना । यसले वर्षभरि केही कर्मचारीलाई तलब खुवाउनुबाहेक के काम गर्छ ? रामोेराम कन्टिर–बाबूलाई थाहा छैन । उनी यतिमात्र देख्छन् कि जब मौका आउँछ, आ जब स्थानीयलाई सबैभन्दा बढी यस कार्यालयको साथको जरूरी हुन्छ यसले चट्ट साथ छोडिदिन्छ । दुवै हात उठाइदिन्छ । 

कन्टिर–बाबूलाई यस्तो प्रकारको बेइमानी एकसुता मन पर्दैन । पछि काम लाग्छ भनी वर्षभरि खुवायो–पियायो आ जब काम देखाउनुपर्ने बेला हुन्छ, तब सरक्क हात उठायो । 

यो कुनै मिथ्या आरोप होइन, कन्टिर–बाबू सप्रमाण बोलिरहेका छन् । देख्नुभएन जब वर्षाको मौसम सुरू भयो, आ खाँडोको बाढी घाँडो बन्ने समय आयो राजविराजस्थित खाँडो व्यवस्थापन आयोजनाले बजेट नभएकोले केही गर्न सकिँदैन भन्दै हात उठाएर औँठाछाप देखाइदियो ।

ले घाँस, आयोजनाले त जेठ ३० गते ‘यस वर्ष आपतकालीन नदीनियन्त्रण कार्यहरू गर्न असमर्थ भएको’ शीर्षक राखेर खाँडो सेरोफेरोका गाउँपालिका, नगरपालिकाका नाममा विज्ञप्ति नै जारी गरेको छ । विचरा कार्यालय–प्रमुख रेवाकान्त यादवको हास्यास्पद इमानदारी हेर्नुस्, उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् कि विगत वर्षहरूभन्दा यो वर्षको स्थिति निकै जटिल हुनेछ । 

यस्तो धोकापूर्ण परिस्थितिमा कन्टिर–बाबू प्रश्न गर्छन्– जब यो कार्यालयका मान्छेलाई यो वर्ष विगत वर्षभन्दा भयावह अवस्था हुनेछ भन्ने थाहा थियो भने चैत–वैशाखतिर त्यहाँका कर्मचारी के घाँस काटेर बसे ? उनीहरूले समयमै पूर्व–तयारी कार्ययोजना बनाएर स्थानीय र सङ्घीय सरकारलाई किन सुझाएनन् ?

कन्टिर–बाबू भन्छन्– ल ठिक छ, सङ्घीय सरकारमातहत रहेको कार्यालय त पन्छियो रे ! यो विषयमा खाँडो सेरोफेरोका स्थानीय सरकारको पूर्वतयारी योजना र नियन्त्रणसम्बन्धी विशेष कार्यक्रम खोइ ? जब तिनीहरूले अहिलेसम्म खाँडोका नाममा घाँडोका रूपमा रहेको कार्यालयलाई समयमै जिम्मेबार बनाउन सकेनन्, आफू पनि जिम्मेबार बनेनन्  भने अरू के अपेक्षा गर्ने ?

स्पष्ट छ– खाँडो नदी नियन्त्रणका लागि समयमै योजनाबद्ध र ठोस काम गरेर भोटको राजनीति प्रभावित पार्न को चाहन्छ ? बाँकी कुरामा कन्टिर–बाबू कुनै टिप्पणी गर्न चाहँदैनन् । बेकारमा कुनै टिप्पणीले कसैको धेरथोर भोट यताउति भइहाल्ला, कन्टिर–बाबूले किन अपजस बोक्ने ?

प्रतिक्रिया