ताजा अपडेट
२० बर्षले पनि भर्न सकेन घाउ, अछाम आक्रमणको कालो दिन
आकाश गड्किएजस्तै गरी आएका बन्दुकका छर्रासँगै ऐया...मरे...आम्मा ... बचाओ ... नमार नमार ... बरु सिधै मारी देउ, यसरी नतड्पाउ भन्दै कोलाहल मच्चिएको २०५८ फागुन ४ को रात । मंगलसैन ५ कि ७३ वर्षीया रत्ना ढुंगाना कहिल्यै बिर्सन सक्दिनन् ।
ध्वस्त भएको अछाम दरबारनजिकै उनको घर छ । त्यो दिनबारे रत्नाले जति आँखाले देखिन्, जति दु:ख, पीडा पाइन् अरूले सायदै पाए होलान् । जसले आँखै अगाडि सयौं नेपाली सेना, कर्मचारी, प्रहरी र जनतालाई मारेको देखिन् ।
माओवादीले आक्रमण गर्ने कुराको सुइँको रामारोशनमा भएका आफन्तले रत्नाको परिवारलाई अघिल्लै दिन दिएका थिए । त्यहीअनुसार उनीहरू घरबाट बाहिर ननिस्किएरै बसे । नभन्दै राति १२ बजेदेखि कालो दिन सुरु भयो । ‘त्यो दिन शनिबार थियो । चारैतिर माओवादीले आक्रमण गर्ने हल्ला फैलिएपछि गाईबस्तुलाई पानीसमेत नदिईकन घरभित्र लुकिरह्यौं,’ उनले भनिन्, ‘माओवादीको निसानामा दरबार परेको थियो । त्यही दरबारसँगै मेरो घर भएकाले बाँच्ने आसै थिएन । कोठा भाडामा लिएर पुलिसहरू मेरै घरमा बस्थे । त्यही कारण पनि हामी असुरक्षित थियौं ।’
उनका अनुसार तत्कालीन विद्रोही माओवादीले सजिलै अछाम दरबार आक्रमण गर्न सकेका होइनन् । जिल्लाभर रहेका हजारौं माओवादी नेता कार्यकर्ता र जिल्ला बाहिरबाट आएकाहरूले समेत बन्दुक, बारुद र जनशक्ति प्रयोग गरी आक्रमण भएको थियो ।
‘बन्दुकसहितको समूहले बालमन्दिर, नाइके टुडो, खुल्लेतोला, साबिकको कारागार र कुडबस्तीको बीच गाउँबाट गरी ५ ठाउँबाट एकैसाथ दरबार ध्वस्त पारेका हुन्,’ उनले सुनाइन्, ‘बीचमा परेको परिवारलाई सेना, प्रहरी र माओवादी दुवै पक्षले आक्रमण गर्यो । त्यही दिन मेरो घरमा आफन्त आएका थिए । सबैको जमघट थियो । तर माओवादी पक्षले पुलिस लुकाएको भन्दै घरभित्रका भाँडाकुँडा सबै बाहिर फाले । छोराहरूलाई तानेर लगे । अन्तमा घरको पाखामा बन्दुक हाने ।’
मरे पनि सबैसँगै मरौंला भन्दै एकमाथि अर्को खापिएर बसेको दिन अहिले सम्झँदा झन् पीडा महसुस हुने गरेको उनी बताउँछिन् । ‘एकजना पुलिस मेरो घरमा परिवारसहित बसेको ५ वर्ष भइसकेको थियो । एकै परिवार जस्तो लाग्थ्यौं । उनी राति घरमा आउँथे । त्यो कुरा माओवादीले थाहा पाए । मैले मेरो जेठो छोरा हो भन्दै रोइकराइ गरँे । बचाएँ पनि । अहिले आमा भन्दै ती मान्छे भेट्न आउँदा खुुसी लाग्छ,’ उनले सुनाइन् ।
रत्नाकी बुहारी मुना त्यही बेला गर्भवती थिइन् । अप्ठ्यारो बेला सयजना बढी माओवादीको समूह घरभित्र पसेर लछारपछार गरेको उनले बिर्सेकी छैनन् । ‘माओवादीले घर घेरेपछि उनीहरूले बोल्ने आफ्नै भाषा हामीले पनि जान्यौं । ठूलो स्वरमा खुर्सानी भन्दै माओवादी कराउँथे त्यो भनेको आफ्नो मान्छे मर्यो भन्ने रहेछ । पिरो भन्दै कराउँदा शत्रु मार्यौं भन्ने रहेछन् । मामा भनेर कराउँदा म यहाँ छ,ु भन्ने रहेछ,’ मुनाले त्यो दिन सम्झँदै भनिन्, ‘मेरै अगाडि एक पुलिसलाई खुकुरी प्रहार गरे । उनकी श्रीमती नमारी दिनुस् भन्दै अँगालोमा थिइन् । माओवादीले काटेकै ठाउँमा नुन–खुसार्नी हाले तड्पाइ तड्पाइ मारे ।’
मुनाका अनुुसार उनको परिवारले २ महिनासम्म बाहिर निस्कनै पाएनन् । घरभित्रै शौच गरे । ‘त्यो परिवारका लागि अन्तिम भरोसा देवीदेवता र भगवान्कै थियो,’ मुना सम्झिन्छन्, ‘माओवादीले आर्मी, पुलिस लुकाएको भन्दै यातना दिने, आर्मी, पुलिसले तिमीहरू माओवादी हौ, भन्दै यातना दिने । दोहोरो मारमा पर्यौं । त्यही बेला गर्भमा भएकी मेरी छोरी अहिले अपांग जस्तै छ ।’
मंगलसैन ८ का मीनराज भण्डारी अछाम आक्रमणताका कार्यालय सहयोगीका रूपमा दरबारमै प्रहरीको खाना पकाउँथे । सँगै सुतेका ३ जनालाई उठाएर माओवादीले बन्दुक प्रहार गरी मारेको उनी झल्झली सम्झन् । ‘राति १ बजेर २२ मिनेटमा दरबारमा पहिलोपटक आक्रमण भएको हो । त्यहाँभित्र असुरक्षित महसुस हुने देखेपछि म लगायत टीकाराम जैसी, हर्क भण्डारी र टेकबहादुर थापा सहारा होटलमा गएर सुतेका थियौं । हामी त्यहीँ भएको थाहा पाएपछि आक्रमणकारीले सबैलाई समातिहाले । म फुत्किएर भागें । ३ जनालाई त्यहीँ मारे,’ उनले भने, ‘फागुन ४ गते मेरा लागि नयाँ जन्म पाएको दिन हो ।’ संयोगले यो वर्ष पनि फागुन ४ मा शनिबार परेकाले कालो दिनकै रूपमा मनाउनुपर्ने उनी बताउँछन् ।
तहसनहस भएको २० वर्ष
अछाम तहसनहस भएको बुधबार २० वर्ष पूरा भयो । आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिए । पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको मृत्यु भयो । क्याप्टेनसहित तत्कालीन सेनाको मंगलसेन गुल्म सखाप भयो । क्याप्टेनसहित ५३ सेना मारिए । जिल्ला प्रहरी कार्यालयका अनुसार सेनाका ५३, प्रहरीका ५९, निजामतीका २ र सर्वसाधारण ८ गरी मंगलसेनमा १ सय २२ जना मारिए ।
माओवादीले साँफेबगरमा समेत सोही रात आक्रमण गर्यो । विमानस्थल सुरक्षामा साँफेबगरमा कार्यरत २७ प्रहरी पनि त्यसै राति मारिए । १७ वर्षको अवधिमा मंगलसेनको भौतिक स्वरूप फेरिए पनि नागरिकलाई भने सास्ती थपिएको छ । बजारभन्दा एक घण्टामाथि ठाडो डाँडामा अधिकांश सरकारी कार्यालयका नयाँ भवनहरू निर्माण भएका छन् ।
शिक्षा कार्यालयबाट प्रशासन पुग्न घन्टौं हिँड्नुपर्ने अवस्थाबाट सर्वसाधारण आक्रोशित छन् । मुख्य आकर्षणका रूपमा रहेको दरबारको पुनर्निर्माण अलपत्र छ ।
आक्रमणबाट ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भएका थिए । ध्वस्त बनेको २० वर्ष र पुनर्निर्माण सुरु भएको १३ वर्षसम्म पनि दरबार निर्माणको काम अधुरै छ । पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भनी काम थालिए पनि जिम्मा लिने ठेकेदारको लापरबाहीले अलपत्र परेको हो ।
आवश्यक काठको अभाव देखाउँदै ठेकेदारले निर्माणमा ढिलासुस्ती गरिरहेको छ । दरबार पुनर्निर्माण अनिश्चित बनेको छ । अछाम दरबारमा सुरुमा जिल्ला प्रशासन कार्यालय, तात्कालीन जिल्ला पञ्चायत कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालतलगायतका कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने त्यहाँ जिल्ला प्रशासन सञ्चालनमा थियो ।
२० वर्षअघिको त्यो रात सम्झँदै मंगलसेनवासी अहिले पनि भक्कानिन्छन् । भएभरका सरकारी संरचना नष्ट भए । भयावह मानवीय क्षति भयो । जायजेथा सबै गुम्यो । बैंकमा राखेको नगद र गरगहना सबै माओवादीले लुटेर लिए । नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन । पहुँच हुने केहीले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि धेरैले अझै फिर्ता पाएका छैनन् ।
प्रतिक्रिया