Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०९ जेठ २०८१

आयआर्जनमा जुट्दै मुसहर महिला

आयआर्जनमा जुट्दै मुसहर महिला

अरूको मेलापात गएर जीविका धान्दै आएका मुसहर समुदायका महिलां स्वरोजगार हुन थालेका छन् । सिरहा कल्याणपुर नगरपालिका–९ पिलुवाहाका भूमिहीन मुसहर महिलाले व्यावसायिक तरकारी खेतीबाट आयआर्जन गर्न थालेका हुन् ।

उनीहरूलाई मुक्ति नेपालले तीनमहिने व्यावसायिक तालिम दिएको थियो । तालिम पाएपछि १८ कट्ठा जग्गा भाडामा लिएर तरकारी उत्पादन गरे । त्यही तरकारी बेचेर नै उनीहरूको जीवनस्तर राम्रो हुँदै गएको छ ।

मुक्ति नेपालले सीमान्तकृत समुदायको सामाजिक तथा आर्थिक विकासका लागि व्यावसायिक तालिम सञ्चालन गर्न गुलाब महिला समूह गठन गरी तालिम दिएको हो । पिलुवाहामा ३४ घर मुसहर समुदायको बसोबास छ । सबै घरपरिवार व्यावसायिक तरकारी खेतीमा छन् ।

पिलुवाहाकी अनितादेवी सदाको परिवारको आफ्नो जग्गा छैन । ३ छोराछोरीसहित ५ जनाको परिवार छ । पहिले उनको छाक टार्ने मेलो दैनिक ज्याला मजदुरी थियो । अनियमित रोजगारी र कम ज्यालाले गर्दा परिवार धान्न धौधौ हुन्थ्यो । तरकारी उत्पादनसँगै बिक्रीबाट आम्दानी हुन थालेपछि छाक टार्ने चिन्ता हटेको अनितादेवीले सुनाइन् । उनीहरूको समूहले उब्जाएको तरकारी स्थानीय बजार डुम्री, कल्याणपुर, मिर्चैया, राघोपुरमा बिक्री हुने गरेको छ । ‘भिन्डी उत्पादन राम्रो भएपछि बजारमा बेच्न जाँदा छिमेकीले मेरो तरकारी पनि बेचिदेऊ भने,’ अनिताले भनिन्, ‘त्यसपछि तरकारी बेच्न थालें । आम्दानी पनि राम्रो भएको छ ।’ तरकारी बेचेर प्रत्येक २ दिन बिराएर ८ सयदेखि १२ सय रुपैयाँ आम्दानी हुन थालेको उनले बताइन् ।

बस्तीकी ४१ वर्षीया आशोदेवी सदा पनि तरकारी व्यापार गर्छिन् । ‘अरूको खेतखलियानमा मजदुरी गर्दा छाक टार्न मुस्किल पर्थ्यो,’ उनले भनिन्, ‘आफैं खेती र व्यापार गर्न थालेपछि आम्दानी राम्रो हुन थालेको छ ।’ महिलाहरू समूहमा आबद्ध भएर बचत गर्ने बानीको समेत विकास भएको छ । गुलाब महिला समूहकी अध्यक्ष मञ्जुकुमारी सदाका अनुसार समूहमा ४० हजार रुपैयाँ बचत भएको छ । बचत रकम तरकारी खेतीमा लगानी गर्छन् भने केही रकम समूहका महिलाहरूलाई आपत् पर्दा सस्तो ब्याजदरमा दिन्छन् गाउँका बालबालिकालाई समेत स्कुल पठाउन थालेका छौं,’ उनले भनिन् । गाउँमा जाँडरक्सी सेवन र बिक्रीवितरणमा समेत महिलाहरूले रोक लगाएका छन् ।

मुक्ति नेपालका जिल्ला संयोजक अशोककुमार कामतीले महिलाहरू व्यावसायिक तरकारी खेतीमा सक्रिय भएपछि आर्थिक उपार्जनसँगै सिंगो मुसहर बस्तीमै चेतना विकास भएको बताए ।

प्रतिक्रिया